काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन: ऊर्जामन्त्री खड्का
सारांश
- ऊर्जा मन्त्री दीपक खड्काले कर्मचारीलाई टाढा राखेर समृद्धि हासिल गर्न नसकिने बताए।
- मन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको बताए।
- उनले गरिब तथा विपन्न नागरिकलाई जलविद्युत् सेयरमा ऋण उपलब्ध गराउन सरकार लागेको कुरा उल्लेख गरे।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसकिने बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार प्राधिकरणमा कार्यरत कर्मचारीलाई दीर्घसेवा पदक, अवकाश पदक र अमर विद्युत्कर्मीलाई सम्मान कार्यक्रममा उनले काम गर्ने ज्यालादारी कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताए ।
“विद्युत् क्षेत्रको विकासका लागि ज्यालादारी कर्मचारीले धेरै काम गरेका छन्, ज्यालादारी कर्मचारीले राखेको माग सम्बोधन गर्न प्राधिकरण सञ्चालक समिति लागेको छ”, उनले भने । श्रमको सम्मान गर्न सञ्चालक समिति लागेको उनको भनाइ थियो । उनले विगतमा भएका निर्णयलाई क्रमशः कार्यान्वयन गर्दै लगिने स्पष्ट पारे ।
ऊर्जामन्त्री खड्काले सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले यसलाई पूरा गर्न विद्युत् प्राधिकरणको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
मन्त्री खड्काले छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा समेत विद्युत् बिक्री सुरू गरिएको बताउँदै आगामी दिनमा यसलाई झन् फराकिलो बनाउँदै अगाडि बढिने विश्वास व्यक्त गरे । छिमेकी मुलुकबाट विद्युत् आयत घटाउँदै निर्यातलाई बढाउँदै लगिएको उनको भनाइ थियो ।
मन्त्री खड्काले गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन नसकेसम्म मुलुकको विकास हुन नसक्ने भन्दै गरिबका लागि बिना धितो जलविद्युत्को सेयरमा ऋण उपलब्ध गराउन सरकार लागेको बताए। नेपालसँग भएको स्रोत साधनको उच्च प्रयोग गर्दै सरकार अगाडि बढ्न खोजेको मन्त्री खड्काको भनाइ थियो ।
ऊर्जामन्त्री खड्काले बूढीगण्डकी, अपर अरुण, तमोर, पञ्चेश्वर, दूधकोशी, पश्चिम सेतीलगायत ठूला जलविद्युत् आयोजनालाई सरकारले चाँडो अगाडि बढाउन खोजेको उल्लेख गरे । उनले प्राधिकरण स्थापनाको ४० वर्षमा पनि ऊर्जालाई सुरक्षित र भरपर्दो रूपमा विकास गर्न नसकिएको बताए ।
मन्त्री खड्काले उद्योगले प्रयोग गरेको बिजुलीको पैसा टिओडी मिटरका आधारमा असुल गर्ने काम नेपाल विद्युत् प्राधिकरणको भएको भन्दै डेडिकेटेड र ट्रङ्कलाइनको विषयमा अलमलिएर बस्ने कुनै ठाउँ नभएको उल्लेख गरे ।
कार्यक्रममा ऊर्जासचिव सुरेश आचार्य, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणलाई यस स्थानसम्म ल्याउन अहोरात्र खट्नुहुने कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ऊर्जामन्त्री खड्काले प्राधिकरणमा २० वर्ष निरन्तर काम गरेका पाँच सय ९४ कर्मचारीलाई दीर्घसेवा पदक, २९३ अवकाशप्राप्त कर्मचारीलाई अवकाश पदक र अमर विद्युत्कर्मीका परिवारलाई सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण