शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बक्स अफिसमा रजनीकान्तको ‘कुली’को तुफान : दुई दिनमा कति कमायो ?

शनिबार, ३१ साउन २०८२, १४ : ४६
शनिबार, ३१ साउन २०८२

सारांश

  • रजनीकान्तको नयाँ फिल्म 'कुली'ले बक्स अफिसमा दुई दिनमै २५० करोड भारु कमाएको छ।
  • 'कुली' रजनीकान्तको करियरकै ठूलो हिट बन्ने संकेत देखिएको छ, र यस वर्षको पहिलो तमिल फिल्म बनेको छ।
  • 'कुली'ले अजित कुमार र अन्य तमिल फिल्महरूलाई उछिनेर सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।

काठमाडौँ । सुपरस्टार रजनीकान्तले ७४ वर्षको उमेरमा पनि आफ्नो स्टारडम कायमै रहेको प्रमाणित गरेका छन् ।

उनको पछिल्लो फिल्म 'कुली'ले बक्स अफिसमा तहल्का मच्चाउँदै प्रदर्शनको दुई दिनमै विश्वभरबाट २५० करोड भारतीय रुपैयाँभन्दा बढीको कमाइ गरेको छ । यो आँकडा पार गर्ने 'कुली' यस वर्षको पहिलो तमिल फिल्म बनेको छ । 

स्वतन्त्रता दिवसको बिदाको फाइदा उठाउँदै फिल्मले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन जारी राख्यो । लोकेश कनगराजद्वारा निर्देशित यस फिल्मले रजनीकान्तको करिअरकै सबैभन्दा ठुलो हिट बन्न सक्ने संकेत देखाएको छ । 

‘कुली’को विश्वव्यापी बक्स अफिस रिपोर्ट

सामान्यतया दक्षिण भारतीय सुपरस्टारका फिल्महरूले पहिलो दिन बम्पर ओपनिङ गरे पनि दोस्रो दिन कमाइमा ठुलो गिरावट देखिने गर्छ । तर स्वतन्त्रता दिवसको बिदा र दर्शकबाट पाएको उत्कृष्ट प्रतिक्रियाका कारण 'कुली'को कमाइमा दोस्रो दिन केवल १७५ को सामान्य गिरावट आयो । 

फिल्मले पहिलो दुई दिनमा भारतभित्रै ११८ दशमलव ५० करोड भारु नेट (१४५ करोड ग्रस) कमाइ गरेको छ । विदेशमा पनि फिल्मले ऐतिहासिक सफलता हासिल गरेको छ । फिल्मले पहिलो दिन विदेशबाट ८ दशमलव ७५ मिलियन डलर कमाएको थियो, जुन कुनै पनि तमिल फिल्मको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो ओपनिङ हो । दोस्रो दिन विदेशमा बिदा नभएकाले कमाइ केही घटे पनि दुई दिनको कुल विदेशी कमाइ १३ मिलियन डलर (लगभग ११० करोड भारु) नाघेको फिल्म व्यापार विश्लेषकहरूको अनुमान छ । यससँगै फिल्मको कुल विश्वव्यापी कमाइ दुई दिनमै २५० करोड भारु नाघेको हो । 

यस वर्षको सबैभन्दा धेरै कमाउने तमिल फिल्म बन्यो ‘कुली’ 

पछिल्ला केही वर्षदेखि तमिल सिनेमामा अजित कुमार वा विजयले रजनीकान्तलाई उछिनेर 'नम्बर वन' स्टारको स्थान लिएको चर्चा चल्दै आएको थियो । तर, 'कुली'को प्रदर्शनले रजनीकान्तको राज अझै पनि कायमै रहेको देखाएको छ ।

'कुली'ले मात्र दुई दिनमा अजित कुमारका यस वर्ष रिलिज भएका दुवै फिल्म ‘विडामुयार्ची’ (१३८ करोड) र ‘गुड ब्याड अग्ली’ (२४८ करोड) को कुल कमाइलाई पछाडि पारेको छ । साथै, 'ड्र्यागन' (१५० करोड) जस्ता अन्य सफल तमिल फिल्महरूलाई उछिनेर 'कुली' यस वर्षको सबैभन्दा धेरै कमाउने तमिल फिल्म बनेको छ । 

व्यापार पण्डितहरूको अनुमानअनुसार फिल्मले सप्ताहन्तमा पनि यही गति कायम राख्न सक्यो भने यसले आफ्नो पहिलो सप्ताहन्तभित्रै ४०० करोडको आँकडा पार गर्न सक्छ । फिल्मले रजनीकान्तकै फिल्म '२.०' ले बनाएको ६९१ करोडको अहिलेसम्मकै सबैभन्दा ठुलो तमिल रेकर्ड तोड्ने लक्ष्य राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप