नेपालका पहिलो कृषिविज्ञ नारी
सारांश
- डा. केशरीलक्ष्मी मानन्धर माइक्रोबायोलोजीमा विद्यावारिधि गर्ने नेपालकै पहिलो महिलाविज्ञ हुन्, र कृषिमा उनको अतुलनीय योगदान छ।
- लेखमा डा. मानन्धरको जीवन, शिक्षा, र कृषि विकासमा पुर्याएको योगदानको बारेमा चर्चा गरिएको छ, जसमा उनले सामना गरेका चुनौतीहरू पनि समावेश छन्।
- लेखले नेपालको कृषि क्षेत्रको सम्भावना र चुनौतीहरूलाई उजागर गर्दछ, साथै कृषि विकासका लागि आवश्यक नीति र अनुसन्धानको महत्त्वलाई जोड दिन्छ।
हजारौँ वर्ष तपस्या गरी ज्ञान प्राप्त गर्ने ऋषि–महर्षिलाई पौराणिक कालका त्रिकालदर्शी भनियो । गार्गी पनि एउटा समयकी एक विदुषी हुन् । पहिले संसारमा सबै विषयमा ज्ञान प्राप्त भएको व्यक्तिलाई विद्वान् भन्ने गरिन्थ्यो । प्लेटो, सुकरात, एरिस्टोटल एक समयका विद्वान् हुन् । उनीहरू राजनीतिशास्त्र, भौतिकशास्त्रदेखि काव्यगुणसम्मको ज्ञान भएका विद्वान् हुन् । उनीहरूले थाहा नपाएको केही कुरै हुँदैन भनिन्थ्यो ।
पहिले ज्ञानको सिमाना धेरै फराकिलो थिएन । ज्ञानको परिभाषा नै स्पष्ट थिएन । त्यसैले विद्वान्हरूको संख्या पनि कम मात्रै थियो । १६औँ शताब्दीपश्चात् ज्ञान व्यापक रूपमा देखियो । दैवीय धारणा मानवीय भयो । शिक्षण संस्थानमा धर्मशास्त्र र भगवान्को विषय मात्र पढाउने र पढ्ने नभईकन मानव विषय पनि पढाउन थालियो ।
२०औँ शताब्दीमा विज्ञान तथा प्रविधिको धेरै विकास भयो, कोठामा बसेर संसारको कुरा थाहा पाइने भयो । बेलायती गणितज्ञ अलान टुरिङसहित धेरै वैज्ञानिकको प्रयासमा विद्युतीय कम्प्युटर आविष्कार भयो । सन् १९७६ मार्च १० को दिनमा अलेक्जेन्डर ग्राह्मवेलले टेलिफोन, सन् १९७५ मा कोजक कम्पनीका इन्जिनियर स्टेभन सासनले डिजिटल क्यामरा, सन् १९६७ मा जोन सेफडवारोनले एटीएम आविष्कार गरे । सन् १९९० मा टिम वरनर्स लीले पनि इन्टरनेट वल्र्ड वाई वेभका लागि सफ्टवेयर बनाउनुभयो । यस प्रकार वैज्ञानिक आविष्कार संसारमा परिवर्तन ल्यायो ।
सगरमाथामा पहिलोपटक पुग्ने नारी जुन्को ताबेइ, भौतिकशास्त्रमा दुईपटक नोबेल पुरस्कार प्राप्त गर्ने नारी वैज्ञानिक म्याडम क्युरी अर्थात् मेरी क्युरी, विश्वको सर्वाेच्च शिखर सगरमाथामा पासाङ ल्हामु शेर्पा, अन्तरिक्षमा पहिले पुग्ने नारी भ्यालेन्टाइन टेरिस्कोभा आदि संसारका प्रसिद्ध महिला हस्ती हुन् ।
पहिले नेपालमा आमाबुबाले आफ्ना छोरीहरूलाई बाहिर जान अनुमति दिँदैनथे । घरभित्रको आँखीझ्यालबाट बाहिरको संसार देख्नुपर्थ्यो । यस्तो समयमा पनि दुई–चार महिलाले सक्रिय भएर साहित्यिक सिर्जनाका आधारमा आफ्नो परिचय बनाए । राणा शासनकालको उत्तरार्द्धतिर गोरखापत्र र शारदा पत्रिका अध्ययन गरी लोकप्रिया देवी, कुसुम मोहिनी, बुद्धमोहन देवी, मधु धारा, प्रियदर्शनी, लोककुमारी देवी आदिले कविता लेखे । तारादेवीले चारवटा पुस्तक लेखिन् । पुण्यप्रभादेवी र सीतादेवीको लेख वि.सं. २००३ को गोरखापत्रमा ‘दिदीबहिनीको अभिलाषा’ शीर्षकमा प्रकाशित भयो । यस्तै समयकी केशरीलक्ष्मी विदेशमा गई शिक्षा हासिल गरिन् । उनले वि.सं. २०२६ मा बेलायतस्थित नटिंमघन युनिभर्सिटीबाट विद्यावारिधि गरिन् ।
केशरीलक्ष्मीले बाल्यावस्थामै मातृशोक खप्नुपर्यो । उनी मामाघरमा अर्थात् कविकेशरी चित्तधर ‘हृदय’को घरमा हुर्किएकी हुन् । मामा चित्तधरले नै उनलाई अक्षर चिनाए । शिक्षित तथा आधुनिक विचार बोक्ने परिवारले उनलाई विदेशमा अध्ययन गर्न जाने मौका मिलाइदिएको हो । उनका बुबाले पनि उक्त समयमा कलकत्ता गई आईए पास गरेका थिए । केशरीलक्ष्मीले बुबाका तर्फबाट पनि आफूलाई प्रेरणा प्राप्त भएको बताउँछिन् ।
डा. केशरीलक्ष्मी मानन्धर माइक्रोबायलोजीमा विद्यावारिधि गर्ने नेपालकै पहिलो महिलाविज्ञ हुन् । हामी सबैले जान्नुपर्ने महिला व्यक्तित्व हुन् उनी । नेपालमा कृषि उन्नति गर्नलाई उनको योगदान अतुलनीय छ ।
न्ह्यःखास्थित कन्यामन्दिर हाईस्कुलमा पढेकी केशरीलक्ष्मीले त्रि–चन्द्र कलेजबाट आईएससी पास गरेकी हुन् । उक्त समयमा त्रिभुवन विश्वविद्यालय स्थापना भइसकेको थियो तर बीएससीको पढाइ सुरु भएको थिएन । पछि पटना विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेपछि मात्रै बीएसएसी तहको पनि पढाइ सुरु भयो । त्यही केशरीलक्ष्मीले बायोलोजी अध्ययन गर्नुभयो । भारतस्थित आन्द्रा युनिभर्सिटीबाट एमएससी पास गरेकी केशरीलक्ष्मी एमसएसी गर्ने पहिलो नेपाली पहिलो हुन् । नेपालबाट जाने एक मात्र महिला विद्यार्थी भएकाले उनलाई त्यहाँ नेपाली चेली भन्थे ।
२०२० सालतिर एमएससी पास गरेर नेपाल फर्केकी केशरलक्ष्मी केही समय त्यसै बस्नुपर्यो । त्यही समयमा कृषि मन्त्रालय अन्तर्गत बालीरोग विज्ञान शाखालाई एमएससी पास भएको एक व्यक्ति आवश्यक पर्यो । विशेषज्ञको अभाव भइरहेका वेला एमएससी पास गरेकी केशरीलक्ष्मीलाई जागिर दिन सरकारी मान्छे घरसम्म आए । त्यसपछि उनले बालीरोग विज्ञका रूपमा रोजगारी सुरु गरिन् ।
जागिर भइसकेपछि पनि उनको अध्ययनप्रति रुचि हराएको थिएन । कोलम्बो प्लान अन्तर्गत छात्रवृत्ति प्राप्त भएपछि ढुङ्गा खोज्दा देउता पाएझैँ उनी खुसी भइन् । सरकारको अनुमतिमा उनी दुई वर्षका लागि पढ्नका लागि बेलायत गइन् ।
एमएससी पास भइसकेकी केशरीलक्ष्मीलाई नटिङ्घम युनिभर्सिटीका प्रोफेसरले विद्यावारिधि (पीएचडी) गर्ने सुझाव दिए । त्यसैले उनले त्यहाँ विद्यावारिधि नै अध्ययन गरिन् । उनको ‘पीएचडी’ अध्ययनप्रति कृषि विभागका तत्कालीन निर्देशक नेत्रबहादुर बस्नेत र त्यस मन्त्रालयका सचिव कृष्णबम मल्ल सकारात्मक भए, तर तात्कालिक कृषिमन्त्रीलाई चित्त बुझेको रहेनछ । त्यसैले उनले यस मन्त्रालयलाई ‘पीएचडी’ आवश्यक छैन भनेर नटिंघम युनिभर्सिटीमा पत्राचार गरे । सरकारी पत्रलाई वास्ता नगरी उनले आफ्नो अध्ययनलाई अगाडि बढाउँदै गइन् । आफ्नो अध्ययन बिदा स्वीकृत नगरेकामा पनि उनले ध्यान दिइनन् ।
त्यसै बेला तत्कालीन राजा महेन्द्र बेलायतको भ्रमण गए । बेलायतमा अध्ययनरत विद्यार्थीलाई राजाले भेट दिने कार्यक्रम आयोजना गरियो । त्यस कार्यक्रममा केशरीलक्ष्मीले राजालाई कृषिमन्त्रीले पत्राचार गरेको विषय बताइन् । नेपालमा शिक्षित महिलाको संख्या अत्यन्तै कम भइरहेका बेला बेलायतमा ‘पीएचडी’ गरिरहेकी केशरीलक्ष्मीको अध्ययन बिदा स्वीकृत गर्नलाई राजाबाटै आदेश भयो । ‘पीएचडी’ सकेर बेलायतबाट नेपाल आइसकेपछि मात्र उनको अध्ययन बिदा स्वीकृत भयो ।
केशरीलक्ष्मीले सबैभन्दा पहिले नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रतिष्ठान (रोनास्ट) मा दुई वर्षसम्म प्राज्ञका रूपमा काम गरिन् । ७००० उनले विज्ञान विषयको विज्ञका रूपमा काम गर्नु नेपाली महिला वर्गकै लागि प्रेरणाको विषय थियो । उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा बाली रोग विज्ञान महाशाखा प्रमुखको जिम्मेवारी समेत सम्हालिन् । उनका अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अवधारणा २०३५/०३६ पछि मात्र सुरु भएको हो ।
सरकारी सेवामा बढुवाका लागि २७ जना अधिकृतको सूची सार्वजनिक गरिन्छ । ‘पीएचडी’ को अतिरिक्त नम्बर प्राप्त भएकी केशरीलक्ष्मीको नाम सबैभन्दा माथि निस्कन्छ । भनसुन र चाकरी–चुक्लीको जमानामा योग्यताको कुनै कदर नहुने रहेछ । एक नम्बरमा नाम निकाल्न सक्षम केशरीलक्ष्मीको नाम हटाएर अर्कैको नाम निकालियो । त्यसको पाँच वर्षपछि मात्र उनी दोस्रो श्रेणी अनि त्यसभन्दा पछि मात्र प्रथम श्रेणीमा बढुवा भइन् । २०४९ सालमा उनले सरकारी सेवाबाट अवकाश लिइन् ।
केशरीलक्ष्मीले सरकारबाट ठुलो सम्मानको अपेक्षा गरेकी होइनन्, तर सम्मानका लागि योग्य नभएका व्यक्तिलाई गोरखा दक्षिणबाहु जस्तो उच्च सम्मान प्रदान गरेकाले उच्च सम्मानको अवमूल्यन भएको उनलाई लाग्छ ।
बालीरोग विज्ञान महाशाखामा उनी छँदा दक्ष प्राविधिक तथा पर्याप्त साधन–स्रोत उपलब्ध थिएन । पुल्चोकस्थित कृषि अनुसन्धान परिषद्को कार्यालय पछि खुमलटारमा सर्यो । त्यसपछि अध्ययन अनुसन्धान कार्य सहज भयो । काम गर्नलाई उपयुक्त वातावरण भएकाले अध्ययन अनुसन्धानको कार्यमा अवरोध पनि भएन ।
नेपाल कृषिप्रधान देश भनेर विश्वमा प्रसिद्ध छ । प्राकृतिक स्रोत–साधन प्रचुर मात्रामा उपलब्ध छ । विकसित मुलुकले विज्ञान र प्रविधिका माध्यमबाट कृत्रिम उपाय गरी कृषि उत्पादन बढाइरहेका छन् । नेपालमा प्रकृतिबाटै कृषिका लागि उपयुक्त हावापानी उपलब्ध छ, कृत्रिम उपाय आवश्यक छैन । हावापानीमा विविधता भएकाले नेपालमा कृषि विकासको धेरै सम्भावना भएको हो । यही कारणले अमेरिकी नियोग यूएनडीपीले कृषिसम्बन्धी अध्ययन अनुसन्धान गर्नलाई सहयोग दिएको हो । नेपालका लागि यो ठुलो उपलब्धि भएको छ ।
आफ्नो कार्यकालमै केशरीलक्ष्मीले नेपालमा बायो टेक्नोलोजी (जैविक प्रविधि), कृषि अनुसन्धान, भेटेनरी मेडिकल साइन्स आदि सुरु गरेकी थिइन् । उनले कृषि अनुसन्धान परिषदमा धेरै समय बिताइन् । उनले बालीको रोग चिन्न र रोग उन्मूलन गर्नका लागि काम गरिन् । च्याउ खेती र मकैको रोग पहिचान र नियन्त्रणमा संलग्न भइन् ।
रोग लागेको बालीको नमुना संकलन गर्न केशरीलक्ष्मी आफैँ नेपालका धेरै ठाउँमा गइन् । त्यसरी जाँदा उनले धेरै अनुभव पनि गरिन् । नमुना संकलनका क्रममा एकचोटि भक्तपुरमा पुगेकी थिइन् । त्यहाँका बासिन्दाले केशरीलक्ष्मीलाई एक कृषि विशेषज्ञ भनेर चिनेका थिएनन् । उनी मेडिकल डाक्टर होलिन् भन्ने ठानेका रहेछन् । त्यहाँ एकजना बच्चा बिरामी रहेछ । बच्चाका आमाबुबाले आफ्नो छोरीको उपचारका लागि उनलाई अनुरोध गरे । यो उनको जीवनको रमाइलो र अविस्मरणीय सम्झना हो ।
नेपालमा कृषि खेतीको धेरै सम्भावना भएर पनि विकास हुन सकेको छैन । केशरीलक्ष्मी यसैलाई ठुलो समस्या ठान्छिन् । आवश्यकता अनुसार अध्ययन अनुसन्धान नभएको, अनुसन्धान गर्नलाई स्पष्ट नीति निर्माण नभएको, विज्ञहरूले आ–आफ्नै तरिकाले काम गर्ने आदि कारणले धेरै सम्भावना भएर पनि नेपालमा कृषि उन्नति नभएको भन्ने केशरीलक्ष्मीको धारणा छ ।
आर्थिक उन्नतिविना देश विकास हुन सक्दैन । कृषि उत्पादन आर्थिक उन्नतिको मुख्य स्रोत हो । नेपालको वातावरणमा ठिकसँग फलफूल, तरकारी तथा अन्य बाली वर्षैभरि उत्पादन गर्न सकिन्छ ।
नेपालमा न्यून खर्चमा प्रशस्त आम्दानी हुने च्याउ, किबी उब्जनीको धेरै सम्भावना छ । जुम्लामा स्याउखेती धेरै भइरहेको छ तर स्याउ आयातबाट नेपालको पैसा विदेशमा गइरहेको छ ।
भूपरिवेष्ठित नेपालमा यातायातको असहजताले बजारको उचित व्यवस्था हुन सकेको छैन । त्यसैले उब्जनी भएको स्याउ जुम्लामा मात्र सीमित भएर अड्किरहेको छ । स्याउ तथा स्याउबाट निर्मित वस्तु निर्यात गर्न सकेमा नेपालको आर्थिक उन्नतिको मुख्य स्रोत हुन सक्छ ।
‘बत्तीमुनि अँध्यारो’ भन्ने नेपाली समाजमा प्रचलित उखान छ । संसारका आ–आफ्नो क्षेत्रमा योगदान दिने अग्रज महिलाका बारेमा धेरै चर्चा गरिरहेकी छु । उनीहरूको अनुकरण गर्नुपर्छ भनेर उदाहरण दिइरहेकी छु तर आफ्नै देशमा भएका महिलाको विषयमा हामीले त्यति चर्चा गरिरहेका छैनौँ ।
डा. केशरीलक्ष्मी मानन्धर माइक्रोबायलोजीमा विद्यावारिधि गर्ने नेपालकै पहिलो महिलाविज्ञ हुन् । हामी सबैले जान्नुपर्ने महिला व्यक्तित्व हुन् उनी । नेपालमा कृषि उन्नति गर्नलाई उनको योगदान अतुलनीय छ ।
कृषिविज्ञ केशरीलक्ष्मी प्राज्ञिक विज्ञ मात्र होइनन्, उनको योगदान छ र यो निरन्तर चलिरहन्छ । समाज सेवा तथा साहित्यिक क्षेत्रमा पनि योगदान दिइरहेकी छन् र यो निरन्तर चलिरहन्छ ।
केशरीलक्ष्मी ज्ञान, गुण, योग्यता भएकी महिला व्यक्तित्व तर उनका बारेमा मैले आफूले थाहा पाएको दुई–चार पंक्ति लेख्न आवश्यक ठानेर लेखेकी हुँ । बत्तीमुनि अँध्यारो देख्नुपर्ने मैले ठानेकी छु ।
(प्रधानको २०८२ मा प्रकाशित निबन्ध संग्रह ‘अक्षता’बाट ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण