बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

एक महिनामै १४ सयभन्दा बढीमा स्क्रब टाइफस, कसरी जोगिने ?

सोमबार, ०२ भदौ २०८२, १० : ००
सोमबार, ०२ भदौ २०८२

सारांश

  • मनसुन सक्रिय भएसँगै ५० जिल्लामा स्क्रब टाइफसका बिरामी देखा परेका छन्, जसमा एक महिनामा १४१४ जना सङ्क्रमित भएका छन्।
  • यो रोग माइट नामक सूक्ष्म किराको टोकाइबाट सर्ने गर्छ, र यसका लक्षणहरूमा उच्च ज्वरो, टाउको दुखाइ, र शरीर दुख्ने जस्ता समस्याहरू देखिन्छन्।
  • स्वास्थ्य विशेषज्ञहरूका अनुसार, झाडी, खेतबारी र घाँसे मैदानमा काम गर्ने व्यक्तिहरू यसको उच्च जोखिममा हुन्छन्, तर शहरी क्षेत्रमा पनि सतर्क रहनुपर्छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । मनसुन सक्रिय भएसँगै ‘माइट’ नामक सूक्ष्म किराको टोकाइबाट सर्ने स्क्रब टाइफसका बिरामी देशभरका ५० जिल्लामा देखिएका छन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक महिनायता मात्र यसबाट १ हजार ४ सय १४ जना सङ्क्रमित भएका छन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा यो रोगका बिरामी छिटपुट मात्रामा भर्ना भइरहेका अस्पतालले जनाएको छ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारण हुन्छ । मुसामा पाइने माइट (एक प्रकारको सानो सुलसुले) मार्फत यो ब्याक्टेरिया मानिसमा सर्ने गर्छ । 

महाशाखाका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा देशभर ८ हजार २४९ जनालाई यासको सङ्क्रमण भएको पाइएको थियो । 

  • कस्तो हो यो रोग ? 

सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनका अनुसार जब मानिस झाडी वा घाँस भएको ठाउँमा जान्छ, त्यहाँ रहेका माइटले टोकेपछि यो रोग लाग्ने गर्छ । महाशाखाका निर्देशक डा. चन्द्रभाल झा पनि विशेषगरी झाडी, खेतबारी र घाँसे मैदानमा काम गर्ने व्यक्तिहरू यसको उच्च जोखिममा रहने बताउँछन् ।

यो रोग खासगरी ग्रामीण क्षेत्रमा बढी देखिने उनको भनाइ छ । बर्खामा बस्तुभाउ चराउन लैजादाँ, जङ्गल खेतबारीमा दाउरा घाँस काट्न जाँदा स्क्रब टाइफसको सङ्क्रमण हुन सक्छ । गोठमा बस्तुभाउको स्याहार सम्भारका क्रममा पनि यो रोग लाग्न सक्ने चिकित्सकहरू सुनाउँछन् । 

मानिसहरू खेतीपाती, घाँस–दाउराका लागि झाडीमा जाने मात्रै जोखिममा नपरेर सहरी क्षेत्रका पार्क वा बगैँचामा बस्दा पनि यसको जोखिम हुन सक्ने डा.पुन सुनाउँछन् । 

 उनी भन्छन्, ‘विगतमा दाङबाट आएका एक बिरामी पार्कमा बस्दा सङ्क्रमित भएको उदाहरण छ । त्यसैले सहरमा पनि सतर्क रहनुपर्छ ।’

टेकुको सरुवा रोग अस्पतालहरूमा हल देखिने बिरामीहरूमध्ये धेरैजसो काठमाडौँ उपत्यका बाहिरका रहेका छन् ।

नेपालमा सन् २०१७ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ बालबालिकाको मृत्यु भएपछि स्क्रब टाइफस बारे जनचेतना फैलाउन सरकारले सुरु गरेको हो ।

रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिस गोठ, खेतबारी, झाडी र घरपालुवा जनावरको नजिक भएमा स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाले सङ्क्रमण हुन सक्ने चिकित्सकहरू सुनाउँछन् । 

 सरुवा रोग विशेषज्ञ पुनका अनुसार स्क्रब टाइफस भएका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने, लिम्फ ग्रन्थीहरू सुन्निने र सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छन् । 

यद्यपि यसको सबैभन्दा प्रमुख पहिचान भनेको माइटले टोकेको ठाउँमा बन्ने कालो दागजस्तै खटिरा (स्कार) हो । शरीरको कुनै भागमा यस्तो खटिरा देखिए स्क्रब टाइफसको सम्भावना उच्च हुने उनको भनाइ छ ।  

यस्तै, डेंगु सङ्क्रमण हुँदा ज्वरो आउने,टाउको दुख्ने,शरीरमा स–साना बिमिरा आउने लगायतका समस्या देखिन्छ । त्यसैले स्क्रब टाइफसको परीक्षणबारे जनचेतना फैलाउन आवश्यक रहेको चिकित्सकहरू सुनाउँछन् । जसका कारण स्क्रब टाइफस सङ्क्रमण र बिरामीको मृत्यु हुन नदिने मात्रै नभएर सङ्क्रमणबाट जोगाउन सकिन्छ ।   

डा.पुनले जङ्गल, झाडी वा घाँस भएको ठाउँमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउन, लामो जुता लगाउन, खाली खुट्टा नहिँड्न र कामबाट फर्केपछि शरीर राम्ररी जाँच गर्न सुझाव दिएका छन् ।  चिकित्सकहरूका अनुसार स्क्रब टाइफस मानिसबाट सर्दैन । 

उता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकी भने स्क्रब टाइफसको सङ्क्रमण तुलनात्मक रूपमा घातक जटिल रोग नभएको जिकिर गर्छन् । बर्खाको समयमा केही स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या बढ्नु स्वाभाविक भएकाले यसले महामारीको रूप लिइहाल्ने नभएको उनको ठम्याइ छ । 

सरकारले जिल्लामा मापदण्डमा आधारित भएर स्क्रब टाइफसका बिरामीको उपचार गराइरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप