बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल रुबेला रोग निवारण गर्न सफल

सोमबार, ०२ भदौ २०८२, २१ : ४४
सोमबार, ०२ भदौ २०८२

सारांश

  • नेपालले रुबेला रोग निवारण गरेको घोषणा विश्व स्वास्थ्य सङ्गठनले गरेको छ।
  • डब्लुएचओले खोप सेवाको निरन्तरता र प्रयासको प्रशंसा गर्दै यस सफलतालाई स्वीकार गरेको छ।
  • नेपाल दक्षिण–पूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ।

काठमाडौँ । नेपालले रुबेला रोग निवारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयद्वारा साेमबार जारी विज्ञप्तिमा नेपाललाई रुबेला रोग निवारण भएको घोषणा गरिएको छ ।

डब्लुएचओले नेपालले खोप सेवालाई निरन्तर एवं दृढ प्रयासबाट जारी राखेकाले सम्भव भएको जनाएको छ ।

डब्लुएचओको दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा क्याथरिना बोहमले दक्षिण–पूर्व एसिया क्षेत्रमा दादुरा र रूबेला निवारणका लागि क्षेत्रीय प्रमाणीकरण आयोगको सिफारिसलाई आधार मान्दै नेपालबाट रूबेला निवारण भएको प्रमाणित गरे ।

उनले भने, “नेपालले प्राप्त गरेको यो सफलता नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरूको लगनशीलता, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमजनसमुदायको चासो र सहयोगको परिणाम हो । यस उपलब्धिले शिशुहरूका लागि स्वस्थ जीवनको सुरुवात र रूबेलामुक्त भविष्य सुनिश्चित गरेको छ ।”

नेपाल डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा रूबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ । दादुराजस्तै देखिने रुबेलाअर्थात् जर्मन दादुरा, भाइरसको सङ्क्रमणबाट हुने अति सङ्क्रामक रोग हो ।

यो रोगले विशेषगरी गर्भवती महिलामा जटिलता निम्त्याउँछ । जसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने, वा बच्चालाई जीवनभर असर पार्ने अपाङ्गतालगायतका समस्या देखिन सक्छन् । तर, रूबेलालाई सुरक्षित र प्रभावकारी खोपबाट रोकथाम गर्न सकिन्छ । 

नेपालले सन् २०१२ मा नौ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रूबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो । 

नेपालले सन् २०२४ सम्ममा रूबेला खोपको पहिलो मात्रा ९५ प्रतिशतभन्दा बढी बालबालिकामा पु–याउन सफल भएको थियो ।

डब्लुएचओ नेपालस्थित कार्यालयका प्रमुख डा राजेश सम्भाजिराव पाण्डवले रूबेला निवारण गर्न सफल भएकोमा नेपाललाई बधाई दिँदै जनस्वास्थ्य क्षेत्रमा हासिल भएको यो सफलता महत्त्वपूर्ण उपलब्धि भएको बताए । 

नेपालले  सन् २०२६ सम्ममा दादुरा र रूबेला निवारण गर्ने लक्ष्य निर्धारण गरेका थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप