साना दलले दिएनन् उपसभामुख हटाउन सहयोग गर्ने वचन
काठमाडौँ । सत्ता सहयात्री दल नेकपा एमाले र नेपाली कांग्रेस उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयासमा छन् । पदीय मर्यादा विपरीतको आचरण गरेको आरोप लगाउँदै रानालाई हटाउने प्रयासमा दुवै दलले आफ्ना पार्टीका सांसदलाई हस्ताक्षर समेत गराएका छन् ।
उपसभामुखलाई पदबाट हटाउन प्रतिनिधिसभामा दुईतिहाइ मत चाहिन्छ, तर कांग्रेस-एमालेसँग मात्रै आवश्यक संख्या छैन । जसका लागि उनीहरुले मंगलबार सरकारमा रहेका र बाहिरका साना दलसँग छलफल गरे । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा साना दलले उपसभामुख हटाउने कार्यमा सहयोग गर्ने वचन भने दिएनन् ।
बैठकमा सरकारमा सहभागी जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी सरकारलाई समर्थन गरेको जनमत पार्टी र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनता समाजवादी पार्टी नेपाल सहभागी थिए । ती दलले हस्ताक्षर गर्ने वचन नदिएको र पार्टीले आवश्यक निर्णय गर्ने बताएको एक नेताले जानकारी दिए ।
बैठकमा सहभागी जसपा नेपालकी प्रमुख सचेतक रेखा यादवले बैठकपछि उपसभामुख रानालाई हटाउने विषयमा हस्ताक्षर नगरेको बताइन् । उनले हटाउन हुने नहुने विषयमा धारणा नदिएको र आवश्यक परेमा के गर्ने भन्ने विषयमा पार्टीले निर्णय लिने बताइन् ।
जनमतकी सचिव तथा सांसद अनिता देवीले उपसभामुखबारे कुनै कुरा आए त्यस विषयमा पार्टीले नै निर्णय लिने बताइन् । आज हस्ताक्षर नगरिएको उनको भनाइ थियो । उनले त आजको बैठकमा विधेयकहरूको विषयमा कुराकानी भएको बताइन् ।
बैठकमा सहभागी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले उपसभामुखलाई पदीय मर्यादा विपरीत आचरण गरेको अभियोगमा पदमुक्त गर्नेबारे आफ्नो पार्टीले निर्णय गरिनसकेको बताइन् । कांग्रेस-एमालेले हस्ताक्षर गरिसकेको र सहयोग गर्न आग्रह गरेको भन्दै श्रेष्ठले आफूले अहिल्यै निर्णय दिन नसक्ने बताएको बताइन् ।
संविधानको धारा ९१ को उपधारा ६ को (ग) मा प्रतिनिधिसभाका सभामुख र उपसभामुखको पद रिक्त हुनेसम्बन्धी व्यवस्था छ । त्यहाँ लेखिएको छ, ‘निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा ।’
२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ सांसद आवश्यक पर्छ । अहिले कांग्रेससँग ८७, एमालेसँग सभामुख बाहेक ७७ सांसद छन् । दुई पार्टीको संख्या जोड्दा १६७ मत पुग्छ । बाँकी १७ मत पुर्याउन साना दलहरूसँग कांग्रेस एमालेले छलफल गरेका हुन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा छ । उसका ७ सांसद् छन् । त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा छ । ऊसँग ४ सांसद छन् । सरकारमै रहेका दलहरूका सांसद जोड्दा १७८ सांसद छन् ।
बैठकमा जनमत र नागरिक उन्मुक्तिले मत दिएमा सत्ता गठबन्धनसँग दुईतिहाइ पुग्छ । जनमतसँग ६ र नागरिक उन्मुक्ति पार्टीसँग ४ सांसद छन् । जनमत मात्रैले मत दिए पनि उपसभामुख रानालाई हटाउन दुईतिहाइ पुग्छ । तर बैठकमा दुवै दलले सहयोग गर्ने वचन दिएनन् । उनीहरुले पार्टीबाट निर्णय गर्नुपर्ने बताएको बैठकमा सहभागी कांग्रेस-एमाले नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण