बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तिलोत्तमा नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट घोषित

बुधबार, ०४ भदौ २०८२, ११ : ५९
बुधबार, ०४ भदौ २०८२

सारांश

  • तिलोत्तमा नगरपालिका लगातार दोस्रो पटक उत्कृष्ट नगरपालिकाको सूचीमा परेको छ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमूल्याङ्कनमा तिलोत्तमा उत्कृष्ट ३ भित्र परेको हो।
  • भदौ ६ गते मन्त्रीले उत्कृष्ट पालिकाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ।

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका लगातार दोस्रो पटक देशभरको उत्कृष्ट नगरपालिकाको सूचीमा समावेश भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)को आर्थिक वर्ष २०८०/०८१ को नतिजामा कार्यसम्पादनमा आधारमा देशभरका उकृष्ट तीन नगरपालिकाको सूचीमा समावेश गरेको छ ।

उत्कृष्ट ३ नगरपालिकाको सूचीमा तिलोत्तमा नगरपालिकाका अतिरिक्त चितवनको खैरहनी र धादिङको नीलकण्ठ नगरपालिका छन् ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले तिलोत्तमालाई मन्त्रालयले देशभरको उत्कृष्ट ३ नगरपालिकाको सूचीमा राखेको बताए । ‘हामी उत्कृष्ट ३ भित्रचाहिँ परेका छौँ,’ उनले भने, ‘अल्फाबेटको आधारमा सूचीमा तीन नगरपालिकाको नाम क्रमशः लेखिएको हो । उत्कृष्ट ३ भित्र पनि को पहिलो, को दोस्रो र को तेस्रो भन्नेचाहिँ भदौ ६ गते टुङ्गो लाग्छ ।’

उक्त सूचीमा लुम्बिनी प्रदेशबाट अन्य नगरपालिका सामेल नभएका कारण तिलोत्तमा नगरपालिका लुम्बिनीकै उत्कृष्ट भनेर घोषणा गर्नचाहिँ मिल्ने नगरप्रमुख खाणले बताए ।

२०७९/०८० मा मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पनि तिलोत्तमा मुलुकभरको दोस्रो उत्कृष्ट नगरपालिका भएको थियो ।

मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंनको उत्कृष्ट तीनको नतिजा सार्वजनिक गरेको थियो ।

छनोट भएका पालिकाहरूलाई भदौ ६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्री भगवती न्यौपानेले सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

जनप्रतिनिधि, कर्मचारी र सबै सहयोगीको योगदानले लगातार उत्कृष्ट नगरपालिकाको उपाधि कायम राख्न सफल भएको तिलोत्तमा नगरपालिकामा फोहर मैला व्यवस्थापन, विकास निर्माण, नीति निर्माण र सामाजिक दायित्वका सेवाहरू शिक्षा, स्वास्थ्य, रोजगारी तथा विपद् व्यवस्थापनमा नगरपालिकाले गरेको कामले नतिजा दिएको नगरपालिकाका सूचना अधिकारी गङ्गाराम आचार्यले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप