शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अचेलका तिज गीत हेर्दा र सुन्दा मन कटक्क खान्छ

बिहीबार, ०५ भदौ २०८२, ०९ : ०६
बिहीबार, ०५ भदौ २०८२

मेरो विचारमा तिजका गीत मनोरञ्जनका लागि मात्र होइनन्, एउटा चेलीबेटीको मनको बह पोख्ने सशक्त माध्यम हो । हाम्रो समयमा सामाजिक परिवेश फरक थियो । छोरी–बुहारीले घरका दुःख–पीडा खुलेर भन्न सक्ने अवस्था थिएन । मनजति नै पीडाले भरिए पनि ओठमा मुस्कान बोकेर बस्नुपर्थ्यो । 

अहिलेजस्तो सञ्चारमाध्यमको बिगबिगी थिएन । बुहारीछोरी आफूले चाहेजसरी हिँडडुल गर्न पाउँदैन थिए । माइतीमा आफ्ना दुःख सुनाउँदा घरको कुरा लायो भन्लान् भन्ने डर, घरमा सुनाउँदा आफ्नो सम्मान घट्ला भन्ने चिन्ता । यस्तो अवस्थामा वर्ष दिनमा आउने तिजमा गाइने गीत उत्सव मात्र नभई, आफ्ना गुम्सिएका भावना र दबिएका आवाज बाहिर ल्याउने अवसर थियो ।

तिजको भाकामार्फत पीडा, दुःख पोखेपछि माइतीले नि बुझ्थे । परिवारमा नि व्यङ्ग्य हुन्थ्यो । गीतका हरेक शब्दमा उनीहरूका आँसु र हाँसो लुकेका हुन्थे । लय र भाकामा उनीहरूको वेदना, व्यथा र पीडा पोखिएको हुन्थ्यो । गीतमार्फत पोखिएको त्यो पीडाले साङ्केतिक रूपमा घर र माइती दुवैलाई एउटा गहिरो सन्देश पनि दिन्थ्यो । गीत सुनेरै माइतीले चेलीको अवस्था बुझ्थे, घरकाले पनि आफ्नो व्यवहारबारे सोच्न बाध्य हुन्थे । 

गीतहरू असाध्यै मौलिक हुन्थे, शब्दहरू मार्मिक हुन्थे । लयले सोझै मन छुन्थ्यो । सारी–चोलोमा सजिएर, एउटा सभ्य शैलीमा नाचगान हुन्थ्यो, जहाँ हरेक शब्दमा एउटा कथा, पीडा लुकेको हुन्थ्यो । मेरो विचारमा अहिले पनि तिज यसकै लागि बनाउने हो । जो बाहिर आउन सकेका छैनन्, दबिएर बसेका छन्, बोल्ने आट गर्न सक्दैनन् । उनीहरूकै विषयमा तिजका गीत बनाइनुपर्छ । 

हाम्रो संस्कार र संस्कृतिलाई विकृत तुल्याउने गीतलाई सम्बन्धित निकायले कडा निगरानी गर्नुपर्छ, आवश्यक परे सेन्सर नै लगाउनुपर्छ । नत्र हाम्रो पहिचान नै गुम्ने खतरा छ ।

हाम्रो समयमा गीत मात्र होइन, रेकर्डिङको माहौल पनि आजको भन्दा विल्कुलै फरक थियो । अहिलेजस्तो प्रविधिले सबै कुरा सहज बनाएको थिएन । आजभोलिजस्तो संगीत एरेन्ज गरेर, टुक्रा–टुक्रामा गाएर जोड्ने चलन थिएन । हामी सबै वाद्यवादक र गायक–गायिका एकै ठाउँमा, एउटै कोठामा बसेर ‘लाइभ’ गाउँथ्यौँ । बाजा बजाउनेदेखि गाउनेसम्म, सबै एकै पटक, एउटै तालमा हुन्थ्यो । कतै सानो गल्ती गर्‍यो भने फेरि सुरुदेखि नै सबैले मिहिनेतले गाउनुपर्थ्यो । त्यो प्रक्रियामा एकापसमा गहिरो सल्लाह र सहकार्य हुन्थ्यो, जसले सिर्जना अझै निखारिएर आउँथ्यो । त्यो सामूहिक प्रयासको आनन्द नै छुट्टै थियो । चारैतिरबाट वाहवाही हुन्थ्यो । यस्ता गीत वर्षौँसम्म पनि प्राथमिकतामा पर्थे, कालजयी हुन्थे । 

  • हराउँदै मौलिकता

हाम्रा पालामा तिज गीत थोरै निस्कन्थे । नाच्न र गाउन एउटै गीतको बाध्यता थियो । पछिल्लो समय धेरै तिज गीत आएका छन् । तर आजभोलिका तिज गीत हेर्दा र सुन्दा मेरो मन कटक्क खान्छ । समय बित्दै जाँदा मौलिकता हराउँदै गएको छ र छाडापनले त्यसको ठाउँ लिएको छ । यो सरासर विकृति हो, हाम्रो संस्कृतिमाथिको प्रहार हो । जे पायो त्यही शब्द, जस्तो पायो त्यस्तै नाच । यो हाम्रो संस्कृति होइन, यो हाम्रो पहिचान होइन । हाम्रो पहिचान हाम्रो मौलिक लोक संस्कृति हो, जसको जरा हाम्रो माटोमा गढेको छ । यो हामीले जोगाउनैपर्छ ।

अहिले समय फेरियो, महिलाहरू शिक्षित र स्वतन्त्र छन्, पीडा पोख्ने माध्यम धेरै छन्, त्यसैले अब तिजमा रमाइलो र माया–प्रेमका गीत गाउनुपर्छ । म यो तर्कसँग सहमत छैन ।

हाम्रो देश राम्रो र सुन्दर छ कि विश्वमा यस्तो सुन्दरता कहीँ छैन । न कोहीसँंग मिल्छ हाम्रो संस्कार र संस्कृति । त्यसैले म त भन्छु, हाम्रो संस्कार र संस्कृतिलाई विकृत तुल्याउने गीतलाई सम्बन्धित निकायले कडा निगरानी गर्नुपर्छ, आवश्यक परे सेन्सर नै लगाउनुपर्छ । नत्र हाम्रो पहिचान नै गुम्ने खतरा छ ।

मैले यस्तोभन्दा कतिपयको तर्क होला – ‘अहिले समय फेरियो, महिलाहरू शिक्षित र स्वतन्त्र छन्, पीडा पोख्ने माध्यम धेरै छन्, त्यसैले अब तिजमा रमाइलो र माया–प्रेमका गीत गाउनुपर्छ ।’ म यो तर्कसँग सहमत छैन । हो, समय फेरिएको छ, तर बाटो फराकिलो भयो भन्दैमा जथाभावी हिँड्न त मिल्दैन नि ? तिजको आफ्नो एउटा मौलिक मर्म छ, त्यो मर्मलाई मार्नु हुँदैन । रमाइलो गर्ने नाममा संस्कृतिलाई नै भुल्नु त भएन नि ? 

अहिले त पुरुषहरू पनि तिज गीतमा नाच्न र गाउन थाल्नुभएको छ । मेरो विचारमा तिज गीत मूलतः महिलाको कथा र व्यथा हो । पुरुषले गाउनै नहुने भन्ने होइन, तर गाउँदा पनि त्यसको मर्म बुझेर, एउटा मर्यादित र सभ्य तरिकाले प्रस्तुत हुनुपर्छ । मैले बजारमा आएका कतिपय गीतमा पुरुष कलाकारहरू सुट पाइन्टमा नाचिरहेको देखेकी छु । पहिलो कुरो, हाम्रो मौलिक पोसाक दौरा–सुरुवाल हो, सुट–पाइन्ट होइन । दोस्रो कुरो, दौरा–सुरुवालमा प्रस्तुत भएको भए पनि त्यसले हाम्रो संस्कृतिलाई सम्मान गरेको देखिन्थ्यो । यसरी आफ्नो मौलिकता बिर्सिँदै जानु, पश्चिमा संस्कृतिको नक्कल गर्नु अत्यन्तै दुःखद कुरा हो । 

नेपाली हुँ भन्दैमा हुने होइन; नेपाली संस्कार, आफ्नो पहिचान कसरी राखेको छु र कसरी राख्नुपर्छ भन्ने कुरा नि ध्यान पुर्‍याउनु महत्त्वपूर्ण हो ।

  • बिगार्ने छुट छैन 

तिज धेरै आउनु नराम्रो होइन, धेरै कलाकार आउँदा प्रतिस्पर्धा हुन्छ, श्रोताले रोज्न पाउँछन् । तर त्यो प्रतिस्पर्धा गुणस्तरमा हुनुपर्‍यो, छाडापनमा होइन । अहिले राम्रो प्रतिस्पर्धा भइरहेजस्तो मलाई लागेको छैन । त्यसैले सबै मिलेर हाम्रो मौलिकतालाई जोगाउन सक्यौँ भने मात्र हाम्रो लोक सङ्गीत जीवित रहन्छ र गर्वले शिर ठाडो पार्न सकिन्छ । हामीले सिर्जना गर्ने हरेक गीत हाम्रो संस्कृतिको ऐना हो, त्यो ऐनालाई धमिलो बनाउने अधिकार हामी कसैलाई छैन र हुनुहुँदैन पनि ।

मलाई धेरैले नेपालमा व्यावसायिक दोहोरी साँझको सुरुवात गर्ने पहिलो महिला भनेर चिन्नुहुन्छ । मैले सुरु गरेको त्यो अभियानले आज हजारौँ कलाकारलाई रोजगारी दिएको छ, एउटा प्रतिष्ठित प्लेटफर्म दिएको छ । त्यो वेला पनि मैले मौलिकतालाई नै पहिलो प्राथमिकतामा राखेकी थिएँ । मैले मेरो कलाकारिताको यात्रामा कहिल्यै गलत काम गरिनँ र आफ्नो मौलिकतासँग सम्झौता गरिनँ । म छातीमा हात राखेर भन्न सक्छु, म सधैँ आफ्नो संस्कृतिको पक्षमा उभिन्छु ।

त्यसैले म नयाँ पुस्ताका भाइबहिनीहरूलाई पहिला आफूलाई चिन्नुहोस् भन्छु । हतारमा नाम र पैसा कमाउने लोभमा आफ्नो संस्कृति र पहिचानलाई नबिर्सनुहोस् । म को हुँ, मेरो संस्कार के हो, मेरो जरा कहाँ छ भनेर बुझ्नुहोस् । 

आफ्नै घरमा, आफ्ना आमाबुबा, दाजुभाइ, दिदीबहिनीसँग बसेर हेर्न/सुन्न लाज लाग्ने गीत बनाएर के गर्नु ? त्यस्तो सिर्जनाको के अर्थ, जसले आफ्नै परिवारमा शिर निहुराउन बाध्य बनाओस् ? ।

थोरै सिर्जना गर्नुहोस्, तर वर्षौँसम्म चल्ने, सबैले सम्मानका साथ सुन्न सक्ने गुणस्तरीय सिर्जना गर्नुहोस् । ‘थोरै खानु, मीठो खानु’ भनेजस्तै हो यो पनि । व्यावसायिकताको नाममा आफ्नो मौलिकता र संस्कृतिलाई कहिल्यै नबेच्नुहोस् । हाम्रो पहिचान यति धनी र सुन्दर छ कि विश्वमा अन्त कतै यस्तो पाइँदैन । सगरमाथाको देशका हामी, हाम्रो कला र संस्कृति पनि सगरमाथाजस्तै उच्च र गर्व गर्न लायक बनाउनुपर्छ ।

(वरिष्ठ लोकगायिका देवी हमालसँग रातोपाटीका लागि कुबेर गिरीले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवी हमाल
देवी हमाल
लेखकबाट थप