बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नाउपाभित्रको विवाद

रुपन्देही उपनिर्वाचन : रेशमलाई मोर्चाको साथ, के गर्लिन् रञ्जिता ?

बिहीबार, ०५ भदौ २०८२, १६ : ५६
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • संयुक्त लोकतान्त्रिक मोर्चाले रेशम चौधरीलाई समर्थन गर्ने निर्णय गरेको छ।
  • मोर्चाले चौधरीले उठाउने उम्मेदवारलाई सहयोग गर्ने जनाएको छ, र रुपन्देही-३ मा चौधरीको उम्मेदवार जित्ने सम्भावना रहेको विश्वास छ।
  • नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण उपनिर्वाचनका लागि पार्टी दर्ता हुन सकेन, र दुवै पक्षले रुपन्देही-३ मा उम्मेदवार उठाउने बताएका छन्।

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मोर्चा नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको पक्षमा उभिएको छ । हिजो बुधबार बसेको मोर्चाको बैठकले चौधरीलाई साथ दिने निर्णय गरेको हो । 

मोर्चामा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले चौधरीको पक्षमा मोर्चा रहेको बताएका छन् । 'पार्टी कसको हातमा छ, कहाँ छ त्यो मोर्चाको सरोकारको विषय होइन, मोर्चाको साथमा को छन्, कसले साथ दिइरहेको छ, त्यो मुख्य कुरा हो,' उनले भने, 'मोर्चा गठनको प्रारम्भिक कालदेखि नै रेशम चौधरी मोर्चाको साथमा हुनुहुन्छ, मोर्चालाई अगाडि बढाउन उहाँले सहयोग गरिरहनुभएको छ, त्यसैले हाम्रो साथ उहाँलाई रहनेछ ।’ 

संरक्षक चौधरीले जसलाई उम्मेदवार बनाउँछन्, त्यसलाई सहयोग गर्ने मोर्चाले निर्णय गरिसकेको पनि उनले जानकारी दिए । 

मोर्चाका अर्का एक नेताले भने, ‘रेशमसँग थारू समुदाय छन्, रञ्जितासँग त्यो समुदाय छैनन्, त्यसैले रेशमलाई साथ दिने निष्कर्षमा पुगेका हौँ ।’ र रुपन्देही–३ मा पनि चौधरीले नै दिने उम्मेदवार विजय हुने सम्भावना धेरै रहेको मोर्चाको विश्वास छ । 

नाउपाभित्र एउटा पक्षको नेतृत्व चौधरीले गर्दा अर्को पक्षको अध्यक्ष रञ्जिता श्रेष्ठले गरिरहेकी छन् । यही विवादका कारण कात्तिक ३ गते हुने भनिएको उपनिर्वाचनका लागि आयोगले दिएको समयसीमामा दल दर्ता हुन सकेन । आयोगले साउन २१ देखि २७ गतेभित्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसक्न भनेको थियो । 

निर्वाचन आयोगले पार्टी दर्ताका लागि सूचना गरेका वेला नाउपाभित्र विवाद चुलिएको थियो । चौधरी पक्षको राष्ट्रिय भेलाले श्रेष्ठलाई पार्टीको सधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको थियो । श्रेष्ठको ठाउँमा लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो । तर निर्वाचन आयोगले लालवीरलाई मान्यता नदिएर श्रेष्ठलाई नै कायम राख्न भनेको थियो । र श्रेष्ठले मान्यता पाएको दिन साउन २८ गते थियो, जतिवेला आयोगले दल दर्ता गराउन दिएको म्याद गुज्रिसकेको थियो । 

पार्टीका संरक्षक चौधरी भन्छन्, ‘पार्टी दर्ता नहुनुमा मेरो दोष छैन, म पार्टीको अध्यक्ष होइन, रञ्जिताजी अध्यक्ष हुनुहुन्छ, उहाँले दर्ता गराउनुपर्थ्यो वा पार्टीको बैठक राखेर त्यसको छलफल गर्नुपर्थ्यो, त्यो गर्नुभएन र दल दर्ता भएन ।’ तर दल दर्ता नभए पनि रुपन्देही –३ मा भने उम्मेदवार उठाउने उनले बताए । त्यसकै परामर्शमा आफूहरू लागिसकेको र मोर्चाले पनि साथ दिएको उनको भनाइ थियो । 

यता श्रेष्ठले पनि रुपन्देही–३ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार उठाउने बताएकी छन् । ‘संयुक्त लोकतान्त्रिक मोर्चाले नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्ने निर्णय गरेको छ, त्यसको आधारमा हामीले उम्मेदवार दिन्छौँ, पार्टीभित्र त्यसबारे छलफल भइरहेको छ,’ उनले भनिन् । 

उपनिर्वाचनबारे छलफल गर्न बुधबार बसेको मोर्चाको बैठकमा आफू पनि जाने रातोपाटीसँग बताएकी श्रेष्ठ बैठकमा भने उपस्थित भएकी थिइनन् । तर उक्त बैठकमा पार्टीबाट संरक्षक चौधरी भने सहभागी थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप