बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘माग्ने राजा’ मेरो पुनर्जन्म हो : निर्देशक लामिछाने

शुक्रबार, ०६ भदौ २०८२, ०९ : ०४
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • निर्देशक ऋषि लामिछानेले 'माग्ने राजा' लाई पुनर्जन्मको संज्ञा दिएका छन्, जुन उनको ८ वर्षपछिको निर्देशनमा पुनरागमन हो।
  • उनले यो चलचित्र निर्माणको यात्रा चुनौतीपूर्ण रहेको र यसलाई आफ्नो जीवनको गहिरो मनोभावको रूपमा लिएको बताए।
  • 'माग्ने राजा' आजबाट सार्वजनिक प्रदर्शनमा आएको छ, र उनले दर्शकको मायाको अपेक्षा गरेका छन्।

काठमाडौँ । चलचित्र  निर्देशक ऋषि लामिछानेले नयाँ चलचित्र “माग्ने राजा” लाई आफ्नो पुनर्जन्मको संज्ञा दिएका छन्। आठ वर्षपछि चलचित्र निर्देशनमा फर्किएका लामिछानेले माग्ने राजालाई आफ्नो करिअरकै एक विशेष र भावनात्मक सिर्जना भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो कुरा राख्दै उनले भने, “८ वर्षपछि मैले फेरि एउटा सपना पर्दामा उतारेँ। यी वर्षहरूमा मैले धेरै चलचित्र र सिरियल बनाएँ, तर ‘माग्ने राजा’ मेरो लागि नयाँ जन्मजस्तै भएको छ। आज मलाई पहिलो फिल्म बनाएको दिनजस्तै छातीमा धड्कन चलेको छ।”

यो चलचित्र निर्माणको यात्रा निकै चुनौतीपूर्ण रहेको बताउँदै उनले असफलता र कठिनाइका बाबजुद पनि आफ्नो विश्वास कहिल्यै नडगमगाएको उल्लेख गरे। “यो यात्रा सजिलो थिएन। कहिले आँसुले अक्षर बगायो, कहिले असफलताले पाइलाहरू रोके, तर विश्वास कहिल्यै मरेन,” उनले भने, “मैले मेरो परीक्षा दिइसकेको छु, अब रिजल्ट तपाईँहरूको हातमा छ।”

निर्देशक लामिछानेले “माग्ने राजा” लाई केवल एक चलचित्र नभई आफ्नो जीवनको गहिरो मनोभाव भएको बताएका छन्। उनले चलचित्रको हरेक संवाद र दृश्यमा दर्शकले आफूलाई भेट्टाउने विश्वास व्यक्त गरे। 

“यो केवल एउटा फिल्म होइन, यो मेरो जीवनको सबैभन्दा गहिरो मनोभाव हो, जहाँ हरेक संवादमा तपाईँहरूको अनुहार भेटिन्छ र हरेक दृश्यमा तपाईँहरूको आशा र मायाको प्रतिविम्ब हुन्छ,” उनले भने।

टिजर र ट्रेलरमा दर्शकले देखाएको मायाप्रति आभार व्यक्त गर्दै उनले दर्शकको सानो प्रयासले आफूलाई संसारकै ठुलो खुसी मिल्ने बताए। चलचित्र आजबाट सार्वजनिक प्रदर्शनमा आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप