एकीकृत एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका जारी, छरिएका सेवा एउटै प्रणालीमा
सारांश
- स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवालाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ।
- निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने व्यवस्था गरेको छ, जसमा '१०२' मा सम्पर्क गर्न सकिनेछ।
- नयाँ निर्देशिकाले विद्युतीय एम्बुलेन्स सञ्चालन र 'हेली इमर्जेन्सी मेडिकल सेवा तथा एयर एम्बुलेन्स' को अवधारणालाई पनि समेटेको छ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ‘एम्बुलेन्स सेवा निर्देशिका, २०८२’ स्वीकृत गर्दै एकीकृत सेवाको सुरुवात गरेका हुन् ।
एम्बुलेन्स सेवालाई एकीकृत, व्यवस्थित र पारदर्शी बनाउन छरिएर सञ्चालनमा रहेका एम्बुलेन्स सेवा एउटै छातामुनि ल्याउने निर्देशिकामा उल्लेख गरिएको छ । अब एकीकृत आकस्मिक स्वास्थ्य सेवा प्रणाली निर्माणमा मदत पुग्ने छ ।
निर्देशिकाले देशभर सञ्चालित एम्बुलेन्सहरूलाई एकीकृत प्रेषण केन्द्रमार्फत सञ्चालन गर्ने गरी एकद्वार प्रणालीको व्यवस्था गरेको छ । साथै, जुनसुकै ठाउँबाट सेवा लिनका लागि पनि ‘१०२’ नम्बरमा सम्पर्क गर्न सकिने र सबै एम्बुलेन्स जीपीएस प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने छ ।
- के छ निर्देशिकामा ?
प्रविधि र एकीकृत प्रणालीमा जोड, एकीकृत सञ्जाल र टोल–फ्री नम्बर निर्देशिकाको व्यवस्थाअनुसार देशको कुनै पनि स्थानबाट एम्बुलेन्स आवश्यक परेमा एउटै टोल–फ्री नम्बर ‘१०२’ मा सम्पर्क गर्न सक्नेछन् । यो नम्बरमा आएको अनुरोधलाई केन्द्र, प्रदेश र जिल्लास्तरमा स्थापना गरिने छुट्टाछुट्टै प्रेषण केन्द्रले लिनेछ । उक्त केन्द्रले जीपीएस प्रणालीमार्फत बिरामीको सबैभन्दा नजिक रहेको उपयुक्त एम्बुलेन्सलाई तत्काल परिचालन गरी पठाउनु पर्नेछ ।
- गुणस्तरमा कडाइ
सेवाको गुणस्तरमा एकरूपता ल्याउन र नियमन गर्न निर्देशिकाले एम्बुलेन्सहरूको वर्गीकरण गरेको छ । एम्बुलेन्समा उपलब्ध सेवा र सुविधाको आधारमा ‘क’ र ‘ख’ वर्गमा विभाजन गरिनेछ । प्रत्येक वर्गका एम्बुलेन्सले मन्त्रालयले तोकेको मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ जसमा तोकिएको रङ, ‘स्टार अफ लाइफ’ लोगो, जीपीएस प्रणालीको जडान र बिरामीको आकस्मिक उपचारका लागि आवश्यक पर्ने न्यूनतम उपकरणहरू अनिवार्य गरिएको छ ।
- आर्थिक पारदर्शिताका लागि शुल्कमा एकरूपता
निर्देशिकाले एम्बुलेन्स सेवाबापत लाग्ने शुल्कमा एकरूपता र नियमनको व्यवस्था गरेको छ । अबदेखि हरेक जिल्लामा रहेको ‘जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति’ले सम्बन्धित जिल्लाको भूगोल, सडकको अवस्था, इन्धनको प्रचलित मूल्य र यात्राको दूरीजस्ता वैज्ञानिक आधारहरूमा टेकेर एम्बुलेन्सको सेवा शुल्क निर्धारण गर्नेछ र त्यसलाई सार्वजनिक गर्नुपर्नेछ । निर्देशिकामा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिब, असहाय तथा विपन्न परेका बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्नुपर्ने प्रावधान राखिएको छ ।
- वातावरणमैत्री स्वास्थ्य सेवाका लागि विद्युतीय एम्बुलेन्स र मापदण्ड
निर्देशिकाले वातावरण संरक्षण र दिगो यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले विद्युतीय एम्बुलेन्स सञ्चालन गर्न विशेष मापदण्डहरू तोकेको छ । व्यवस्थाअनुसार विद्युतीय एम्बुलेन्स सञ्चालन गर्नका लागि सवारीको ब्याट्री क्षमता न्यूनतम ७० किलोवाट–आवर हुनुपर्ने, एक पटकको चार्जमा कम्तीमा २५० किलोमिटरको रेन्ज दिन सक्ने र फास्ट चार्जिङ प्रणालीलाई सपोर्ट गर्ने हुनुपर्नेछ । यस्तै, एम्बुलेन्स सञ्चालन गर्ने संस्थाले आफ्नो सेवा क्षेत्रमा कम्तीमा एउटा फास्ट चार्जर सेन्टर भएको सुनिश्चित गर्नुपर्नेछ ।
- एयर तथा हेली–एम्बुलेन्सको अवधारणा
सडक सञ्जालको पहुँच नभएका र प्राकृतिक प्रकोपले प्रभावित दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै निर्देशिकाले पहिलोपटक ‘हेली इमर्जेन्सी मेडिकल सेवा तथा एयर एम्बुलेन्स’ को अवधारणालाई समेटेको छ । निर्देशिकामा यसको सञ्चालनका लागि भविष्यमा छुट्टै र विस्तृत व्यवस्था गरिने उल्लेख छ ।
- छिटो सेवाका लागि रणनीतिक पार्किङ र जियो–म्यापिङ
निर्देशिकाले वैज्ञानिक र तथ्याङ्कमा आधारित ‘जियो–म्यापिङ’ को अवधारणा अघि सारेको छ । यसअनुसार जिल्लास्तरीय समितिहरूले बारम्बार दुर्घटना हुने वा आकस्मिक घटना घट्ने सम्भावित ‘हटस्पट’ क्षेत्रहरूको पहिचान गर्नेछन् । पहिचान गरिएका यस्ता रणनीतिक स्थानहरूबारे जानकारी गराई एम्बुलेन्सहरूलाई आसपासमा तयारी अवस्थामा राख्नु पर्नेछ । प्रणालीले घटनास्थलमा एम्बुलेन्स पुग्न लाग्ने समय लाई उल्लेख्य रूपमा घटाउन मद्दत गर्नेछ ।
आकस्मिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन यो निर्देशिका जारी गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
‘विगतमा विभिन्न अस्पताल र स्थानीय निकायबाट समेत एम्बुलेन्स सञ्चालन हुने तर तीबिच प्रभावकारी समन्वय नहुँदा त्यसको एकीकृत व्यवस्थापन र प्रभावकारी कार्यान्वयन हुन सकिरहेको थिएन । यसरी छरिएर प्रदान गरिने एम्बुलेन्स सेवालाई एकद्वार प्रणालीमा ल्याउने, आकस्मिक उपचार सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने तथा आर्थिक पारदर्शिता कायम गर्ने उद्देश्यले यो निर्देशिका ल्याइएको हो’, उनले भने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण