शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आजपाका वरिष्ठ उपाध्यक्ष साह एमाले प्रवेश

शुक्रबार, ०६ भदौ २०८२, १७ : २३
शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा  शुक्रबार आयोजित कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्यसमेत रहेका साहसहितलाई प्रवेश गराएका हुन् । 

यस्तै आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाका पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाका पूर्व उपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेताहरू पनि एमालेमा प्रवेश गरेका छन् । 

अध्यक्ष ओलीले पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गर्दै गलत बाटो देखाउनेहरूको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घरमा आउनुभएकामा धन्यवाद दिए ।

‘हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौ । अपराध सोचेर बस्नेहरूको जञ्जालबाट तपाईँहरू मुक्त हुनुभएको छ’ अध्यक्ष ओलीले भने, ‘हामी एमालेको ठुलो परिवार भएर लागौँ । मिलेर देश बनाउँ । गलत काम नगरौँ ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम हुन नहुनेबारे एमाले केन्द्रीय कमिटीको निर्णयका सम्बन्धमा स्पष्ट हुन आग्रह गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले पूर्व राष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरू आएको छ । खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्य त्याग्नुभएको हो ।’ 

उनले हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम नहुने दाबी गरे । ‘उहाँले बाहिर बाहिर बोल्नुभएको छ । पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन । पार्टीमा असन्तुष्ट र एकाध जनसङ्गठनमा हारेकाहरूलाई जम्मा गरेर उहाँले पार्टी  एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ’, ओलीको भनाइ छ । 

कार्यक्रममा नेता उपेन्द्र साहले प्रभु साह नेतृत्वको आजपाले जनताको लागि काम गर्छ भन्नु भ्रम रहेको अनुभव लिएर जनताको पार्टी एमाले नै आफ्नो गन्तव्य भएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप