कोइकाको नेपालमा ३० वर्ष, २९ मिलियन डलर अनुदानका नयाँ सम्झौतामा हस्ताक्षर
काठमाडौँ । कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले नेपालमा आफ्नो विकास साझेदारीको ३० वर्ष पूरा गरेको छ । यही अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा तीन वटा महत्त्वपूर्ण परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको छ ।
पहिलो सम्झौताअनुसार गण्डकी प्राविधिक संस्थान स्थापना गर्न सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुने गरी नौ मिलियन अमेरिकी डलर सहयोगमा कार्यक्रम अघि बढाइने छ ।
उक्त सम्झौतामा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालस्थित दक्षिण कोरियाली राजदूत महामहिम पार्क ते–यङ्गले हस्ताक्षर गरेका थिए ।
त्यस्तै ‘फ्रुट्स एण्ड भेचिटेबल भ्यालु चेन डेभलपमेन्ट प्रोजेक्ट’ दोस्रो चरण हस्ताक्षर भएको छ । सन् २०२५ देखि २०३१ सम्म सञ्चालन हुने यस परियोजनाको बजेट १० मिलियन डलर रहेको छ ।
सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा हरिबहादुर केसी र कोइका नेपालका देशीय निर्देशक मूहन कोङले हस्ताक्षर गरेका थिए ।
सुदूरपश्चिम पोलिटेक्निक इन्स्टिच्युट स्थापनाको अर्काे परियोजनामा पनि हस्ताक्षर भएको छ । सन् २०२५ देखि २०३० सम्म कार्यान्वयन हुने यस परियोजनाको बजेट १० मिलियन डलर छ ।
सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र कोइका नेपालका निर्देशक मूहनले हस्ताक्षर गरेका थिए । समारोहमा निर्देशक मूहनले नेपाल र कोरियाबिचको दीर्घकालीन साझेदारी, समावेशी र दिगो विकासप्रतिको दृढ प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, कृषि र सुशासनजस्ता क्षेत्रमा कोइकाको प्राथमिकता रहेको बताए ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गानाले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोइकाले पुर्याएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै नेपालका दिगो विकास लक्ष्य हासिल गर्न यसले खेलेको भूमिकाको प्रशंसा गरे ।
नेपालका लागि कोरियाली राजदूत महामहिम पार्क ते–यङ्गले कोइकाको ३० वर्षे यात्रा नेपाल–कोरिया मित्रताको प्रतिविम्ब भएको बताउँदै नयाँ परियोजना सम्झौतालाई साझेदारी र प्रगतिका प्रतीकका रूपमा औँल्याए ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कोइकालाई यस ऐतिहासिक अवसरमा बधाई दिँदै नेपाल सरकार आगामी कार्यक्रमहरूको पहुँच र दिगोपन विस्तारमा सहकार्य गर्न तत्पर रहेको बताए ।
सन् १९९१ देखि कोइकाले नेपालमा स्वास्थ्य, शिक्षा, कृषि, प्राविधिक तालिम, ग्रामीण विकास, सूचना प्रविधि र पर्यटनलगायत क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।
हालसम्म कोइकाले दुई हजार ९२१ जना स्वयंसेवकलाई नेपालमा परिचालन गरेको छ भने दुई हजार २३० जना नेपाली निजामती कर्मचारीले क्षमता अभिवृद्धि कार्यक्रममा सहभागिता जनाएका छन् ।
सन् २०१० मा नेपाललाई प्राथमिकतामा राखेपछि दक्षिण कोरियाली सरकारमार्फत नेपालमा सहयोग उल्लेख्य रूपमा बढेको छ ।
सन् २०२५ सम्म आइपुग्दा कोइकाको कुल सहयोग २०० मिलियन अमेरिकी डलर नाघेको छ । विकास सहयोगसम्बन्धी नयाँ रूपरेखा सम्झौता प्रक्रियामा रहेको र यसले नेपाल–कोरिया मित्रतालाई अझ सबल बनाउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण