बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नौ प्रश्न

‘लोकप्रियता र साहित्यिक मूल्यबिचको द्वन्द्व आजको लेखकका लागि चुनौती छ’

शनिबार, ०७ भदौ २०८२, १८ : ००
शनिबार, ०७ भदौ २०८२

सारांश

  • लेखक नवीन अभिलाषीका कृतिहरू र लेखनबारे नौ प्रश्नहरूमा आधारित अन्तर्वार्ता प्रस्तुत गरिएको छ।
  • अभिलाषी आफ्नो लेखनमा समाजको विभेद, बहिष्करण र रूपान्तरणका विषयमा सचेत रहेको बताउँछन्।
  • उनले नेपाली साहित्यमा बजार र बहसको अवस्था, समकालीन लेखनका चुनौती र जीवनको अर्थबारे विचार व्यक्त गरेका छन्।

कोहलपुरमा बसेर पत्रकारिता गरिरहेका नवीन अभिलाषीका तीन कृति प्रकाशित छन्— ‘ईश्वरको अस्थिपञ्जर’ (कविता सङ्ग्रह २०७३),  ‘एकात्म’ (संयुक्त कविता सङ्ग्रह २०७५) र ‘मौलामा बाँधिएको राँगो’ (कविता सङ्ग्रह, २०७९) ।  कवितासँगै कथा र निबन्ध विधामा समेत कलम चलाउने अभिलाषीलाई यसपटक हामीले रातोपाटीको ‘नौ प्रश्न’ स्तम्भमा नित्याएका छौँ । 

१) तपाईं वास्तवमा किन लेख्नुहुन्छ ? लेख्नलाई कुन कुराले प्रेरित गर्छ ?

आजको समाजका लागि मेरा अभिव्यक्तिहरू कति जरुरी छन् भन्ने विषयमा म सचेत छु । दक्षिण एसियाली समाज र निर्धारित वर्गमा मेरोभन्दा तल अर्को तह छैन । सामाजिक घृणाका बाबजुद पनि समाज निर्माणको प्रथम हिस्सा ओगटेर बाँचेको मेरो समाज हाल संक्रमणकालीन स्थितिमा छ, बहिष्करणको नयाँ शैलीले अठ्याएको छ र आफूलाई पनि रूपान्तरणको सँघारमा उभ्याएको छ । 

नेपाली समाज विकासको इतिहासमा मेरो समुदायको म करिब करिब पहिलो पुस्ता हुँ, जसले साहित्यको सौन्दर्यशास्त्रलाई नजिकबाट अध्ययन गर्ने अवसर पाएको छ । यस्तो अवस्थामा मेरो पुस्तासँग व्यक्त गर्न तमाम मौलिक विषय बाँकी छन्, र नेपाली लेखनको इतिहासमा छुटेका महत्त्वपूर्ण विषयमध्ये मेरा अभिव्यक्ति पनि हुन् । 

नेपाली समाजलाई फूलबारी भन्ने र विविधता देखाउने गरी साहित्य नलेखिएका भने होइनन् तर विविधताभित्र विभेद र बहिष्करण स्पष्ट रूपले लेखिन बाँकी रहेछ । अबको लेखनमा रोचक के हुँदै छ भने नेपाली साहित्यका पुरातन मान्यता एकपछि अर्को गर्दै भत्किने अवस्थामा आइपुगेका छन् । हाम्रो नाममा अन्यत्रबाटै लेखिएका साहित्यले आफ्नो मतलाई कति अङ्गीकार गरेको छ भनेर कठोर समीक्षा भइरहेको छ । संयोगले धर्मशास्त्रका श्लोक सुन्न पुगेका कानमा सिसा गालेर हाल्ने समाज र शास्त्रको न्यायिक आँगनमा पहिलोपटक हामी आफ्ना आवेश, आक्रोश र आँसु अभिव्यक्त गर्ने घडीमा आइपुगेका छौँ । सम्भवतः यही कुराको बोधले गर्दा म लेख्छु । 

मेरो लेखनमा तीव्र आक्रोश आउँदो रहेछ, सँगसँगै उस्तै निराशा । कहिलेकाहीँ म अत्तालिने रहेछु । सामाजिक संरचनाले इतिहासदेखि बोकेर ल्याएको अनेक खालको विभेद, अन्याय र शोषण जब आफ्नै अघिपछि भइरहन्छ, त्यस्तो अवस्थामा आक्रोशका शब्द निर्माण हुने रहेछन् । 

२) अन्तिमपटक कुन कृति पढ्नुभयो ? यो कृति कस्तो थियो ? 

म गम्भीर पाठक त होइन, तर एकैपटक साहित्य, इतिहास, समाज र दर्शन लगायत पुस्तक पढ्न मन पराउँछु । किताबहरू पढ्ने मेरो कोसिस छ र सबै विधामा मेरो उत्तिकै रुचि पनि छ । नेपाली साहित्यका प्रायः सबै विधाका पुस्तक फुटकर रूपमा पढिरहेको छु । 

मेरो लेखनमा तीव्र आक्रोश आउँदो रहेछ, सँगसँगै उस्तै निराशा । कहिलेकाहीँ म अत्तालिने रहेछु । सामाजिक संरचनाले इतिहासदेखि बोकेर ल्याएको अनेक खालको विभेद, अन्याय र शोषण जब आफ्नै अघिपछि भइरहन्छ, त्यस्तो अवस्थामा आक्रोशका शब्द निर्माण हुने रहेछन् । 

मैले हालै पढेको विषय नेपालको उत्तरी छिमेकी भूगोल तिब्बत हो । त्यहाँको समाज, संस्कृति, इतिहास, आर्थिक तथा राजनीतिक विषयमा लेखिएका र प्राप्त गर्न सकिएका किताब मैले केही महिना लगाएर पढेँ । देवीचन्द्र श्रेष्ठको ‘हुम्ला बोल्छ मानसरोवरमा’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’, डोरबहादुर विष्टको ‘रिपोर्ट फ्रम ल्हासा’ र ‘सोताला’ उपन्यास, राहुल साङ्कृत्यायनको ‘मेरो तिब्बत यात्रा’, चीन अध्ययन केन्द्रले प्रकाशन गरेको ‘चीनको बदलिँदो अनुहार’ पुस्तकबाट तिब्बतप्रतिको बुझाइमा सुधार गर्न सकिन्छ । प्राचीन तिब्बत र बौद्ध दर्शनबारे मिलारेपा र मारपाको जीवनी लगायतका पुस्तकहरू पढ्न पाएँ ।

यी पुस्तकको आधारमा नेपालको उत्तरी छिमेकी भूगोलसँगको नेपाली सम्बन्धबारे धारणा बनाउन सहयोग पुग्छ । नेपाल–तिब्बतको सम्बन्ध दुई भूगोलबिचको सीमित सम्बन्ध मात्र होइन, बरु सांस्कृतिक, धार्मिक र आर्थिक धागोले गाँसिएको लामो इतिहास पनि हो । प्राचीन समयमा नेपाल र तिब्बतबिचको सम्बन्ध वाणिज्य र तीर्थ यात्राको बाटो हुँदै सुरु भएको थियो । नेपालका व्यापारीले नुन, ऊन, अन्न, धातुजस्ता वस्तुको आदानप्रदान गर्ने गर्थे भने तिब्बतीले नेपालका बाटो हुँदै भारतसम्म यात्रा गर्ने गर्थे । यो व्यापारिक सम्बन्धसँगै धर्मको सेतु पनि बलियो बन्यो, विशेष गरी बौद्ध धर्म । तिब्बतमा बौद्ध धर्म प्रवेश गर्दा नेपालका आचार्य, शिल्पकार र विद्वानहरूको ठुलो योगदान रह्यो । मारपाजस्ता महान् गुरुहरू नेपाल हुँदै भारत गएर ज्ञान ल्याउने र नेपाली कलाकारले ल्हासासम्म पुगेर कला–प्रतिमा निर्माण गर्ने उदाहरणले यसलाई स्पष्ट पार्छन् ।

राजनीतिक दृष्टिले हेर्दा पनि नेपाल र तिब्बतबिच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ । कतिपय समयमा द्वन्द्व भए पनि साझा आर्थिक र सांस्कृतिक हितले सम्बन्धलाई निरन्तरता दिएको छ । समसामयिक अवस्थामा, चीनको उदयसँगै तिब्बत नेपालका लागि अन्तर्राष्ट्रिय राजनीतिक प्रश्न बनेको छ । 

नेपाली साहित्य धेरथोर पढिसकेपछि अहिले देशबाहिरको साहित्यमा मेरो रुचि छ, प्रायः म हिन्दीभाषामा अनुवाद भएका किताब पढ्न खोजिरहेको छु । भारतीय साहित्य तथा गैरसाहित्यमा केही समय दिइरहेको छु भने चिनियाँ साहित्य तथा रुसी साहित्यको हिन्दी अनुवाद पनि पाएसम्म पढ्न मन पर्छ । यसले नेपाली समाज र साहित्यको चेतनातह, वैचारिक मूल्यहरूको निर्माणमा देखापरेका समानता र भिन्नताका विषय औँल्याउन सहज हुन्छ जस्तो लाग्छ । 

३) पछिल्लो समय नेपालको साहित्यिक बजार र बहस कस्तो पाउनुभएको छ ? बहस र बजारलाई हेर्दा हामी कुन दिशातिर गइरहेका छौँ भन्ने लाग्छ ?

नेपालको साहित्यिक बजार र बहसको स्वरूपलाई दुई तहमा बुझ्नुपर्छ भन्ने लाग्छ मलाई । बजारमा पुस्तक उत्पादन, वितरण र उपभोगका हिसाबले साहित्यलाई वस्तुमा रूपान्तरित गरेको छ । यो प्रक्रियाले साहित्यलाई पहुँचयोग्य र जनप्रिय बनाउन सहयोग पुगेको देखिन्छ, यसको प्रत्यक्ष लाभ लिनेहरूमा बढी प्रकाशकहरू नै होलान्, तर यस्तो प्रकारको वस्तुकरणले साहित्य अब ‘सांस्कृतिक–वस्तु’को रूपमा खपत हुँदै छ भन्ने जोखिम बढाएको छ । यसले पाठक र लेखकबिचको सम्बन्धलाई सौन्दर्य–अनुभूतिको भन्दा बढी लेनदेनमा आधारित बनाउने डर छ ।

अर्को कुरा, बहसको क्षेत्रमा अपेक्षित वैचारिक घनत्व भेटिँदैन । आजको बहस प्रायः व्यक्तिपरक रुचिमा र आजको लेखक प्रायः कृतिकेन्द्रित मूल्याङ्कनमा अड्किएको देखिन्छ । आलोचनात्मक संरचनावाद, उत्तर औपनिवेशिकता, नारीवाद वा समकालीन सामाजिक–राजनीतिक सिद्धान्तसँग जोडिएको गहिरो विमर्श दुर्लभ भइसकेको छ । यसरी साहित्यले समाजसँग वैचारिक संवाद गर्ने क्षमतामा ह्रास आइरहेको छ । 

साहित्य स्वतन्त्र सिर्जनात्मक चेतनाभन्दा बढी बजारको मूल्य अनुसार मूल्याङ्कन भइरहेको हो कि ! प्रकाशन गृह, वितरण प्रणाली र पुरस्कार–प्रशंसा सबै पुँजी र लोकप्रियताका आधारमा सिर्जनाको मापन भइरहेको देखिन्छ । जसरी पुँजीवादी उत्पादन सम्बन्धमा श्रम वस्तुमा रूपान्तरण हुन्छ, त्यस्तै साहित्यिक श्रम पनि पुस्तकको मूल्य–ट्याग र बिक्री संख्यामा सीमित छ । यस्तो बजार संरचनाले वर्गीय विभाजनको जोखिम बढाउँछ । आर्थिक रूपमा सम्पन्न लेखक वा सामाजिक पुँजी भएका व्यक्तिको पुस्तक सहजै छापिन्छ र प्रचार पाइन्छ तर श्रमिक, सीमान्तकृत वा ग्रामीण आवाज साहित्यिक बजारमा स्थान पाउन सङ्घर्ष गरिरहन्छ । यसरी बजारले अभिव्यक्ति स्वतन्त्रता देखाए पनि व्यवहारमा वर्ग पक्षपात कायमै राखेको भनेर तर्क गर्न मिल्ने ठाउँ छ ।

नेपाली साहित्यको बजारमा सुरु भएको बहस के हो भने लेखकहरू अन्तर्विरोधमा छन् । एकातिर लेखक सत्य र चेतना लेख्न चाहन्छन् तर बजारले बिक्ने र टिक्ने भाषाको माग गर्छ । यसरी साहित्यिक श्रम नै पुँजीवादी चक्रमा अड्किएको छ ।

उपभोगवादी साहित्यिक संरचना भत्काउने कसरी भनेर हामीले सोच्न जरुरी छ । हिजो जातमा आधारित ज्ञान निर्माणको परम्परामा आज वर्ग भेद देखिन थालेको छ । नेपाली साहित्यको भविष्य बजार र बहसबिचको सन्तुलनमा निर्भर छ, साहित्य उपभोग्य वस्तु होइन तर यो अधिक पाठकसमक्ष पुग्ने वातावरण राज्यले निर्माण गर्नुपर्छ । विमर्शीय चेतना निर्माण नगरेसम्म समाजको बलियो वैचारिकी बन्न सहज हुँदैन ।

४) लेखेर अहिलेसम्म के कति कमाउनुभयो वा के गुमाउनुभयो ? 

लेखेर कमाउने वा गुमाउने स्तरमा पुगेको छैन । म सधैँ भन्ने गर्छु, अहिले तयारी मात्रै छ, लेखन कार्य सुरु भएको छैन । लेख्नका लागि थुप्रै विषय छन्, लेख्नुपर्नेछ, सम्भवतः त्यसपछि पनि कमाउने र गुमाउने हिसाब मेरो बहिखातामा नहुन सक्छ । किनकि मलाई मेरो समाजले सिकाएको प्रेम, पीडा, आँसु, आक्रोश, आवेग, घृणा, तिरस्कार, बहिष्कार, लाञ्छना र थुकका छिटाहरू यही समाजलाई नै नाङ्गो रूपमा सुनाएर जाने योजना छ । मैले केही लिएर आएको छैन र जाँदा पनि मैले केही लैजानु छैन । मानवीय सम्मान होस् या ममाथि गरिएको अमानवीय विभेद र बहिष्करणका तमाम कथाहरू, सबै यतै छाडेर जाने भएकाले पाउने–गुमाउने हिस्सा म समाजलाई नै छाड्छु । 

५) समकालीन नेपाली साहित्यको अवस्था कस्तो देख्नुभएको छ ?

साहित्यको सतहमा विषयवस्तुका हिसाबले विविधता देखिन्छ, तर गहिराइमा पुग्दा वैचारिक मूल्यको तीव्र अभाव छ । आजका कथाहरूमा प्रेम, सहर, प्रवास, आत्मकथा, पहिचानजस्ता विषय चर्को गरी देखापरेका छन् तर श्रमिक, किसान, सीमान्तकृत वर्गको वास्तविक जीवन सङ्घर्षलाई गहन ऐतिहासिक र न्यायिक समाजशास्त्रीय विश्लेषण प्रस्तुत गर्ने साहित्य दुर्लभ छ । 

लेखकहरू अन्तर्विरोधमा छन् । एकातिर लेखक सत्य र चेतना लेख्न चाहन्छन् तर बजारले बिक्ने र टिक्ने भाषाको माग गर्छ । यसरी साहित्यिक श्रम नै पुँजीवादी चक्रमा अड्किएको छ ।

युद्धपश्चात्को केही लेखनले वर्गीय सङ्घर्षलाई आवाज दिन खोजेको देखिएको थियो तर साहित्यको ठुलो धार व्यक्तिगत अनुभूति वा मनोरञ्जनमुखी शैलीमा हराउन पुग्यो । साहित्यको आयु यति क्षणिक हुन थाल्यो कि एउटा कृति बजारमा आएको एक महिनापछि गुमनाम बन्न थाल्यो । बजारले कुन कृति भाइरल हुन्छ भन्ने निर्धारण गर्न थाल्यो । त्यसरी चर्चित हुने कृतिहरू प्रायः बिक्ने भावुकता वा व्यक्तिगत आत्मदर्शनमा रुमलिएका छन् । यसको सामाजिक भूमिकाले वर्गीय चेतना निर्माण गर्नुभन्दा बढी मनोरञ्जन र उपभोगमा योगदान गरेको छ ।

मलाई कहिलेकाहीँ लाग्छ, नेपाली साहित्यको वैचारिक मूल्य कमजोर मात्र भएको छैन, पुनरुत्पादन पनि गरिरहेको छ । साहित्यले नयाँ विचार वा नयाँ अवधारणामा काम गरिरहेको छैन । करिब–करिब पञ्चायतकालीन समयको वैचारिकीलाई हामीले लेखिरहेका छौँ । त्यसो त नेपाली समाज धेरै नलेखिएर पनि होला, मेरो समाजले साहित्यबाट वैचारिक अपनत्वको प्रतीक्षा गरिरहेको छ । मेरो समाजको मुक्ति कसरी सम्भव छ त ? त्यसको उत्तर साहित्यले मात्रै दिन सक्छ भन्ने लाग्छ । 

सम्भावना भने मरेको छैन, जब साहित्यले पुनः श्रमजीवी जनताको कथा प्रस्तुत गर्ने हिम्मत गर्छ, आलोचनात्मक यथार्थवादलाई पुनर्जीवित गर्ने समय आउँछ, अनि मात्र साहित्य समाज परिवर्तनको वैचारिक औजार बन्न सक्छ ।

६) यहाँलाई आख्यान र गैरआख्यानमध्ये कुन विषय लेख्न सहज लाग्छ, किन ? कथा लेखनमा तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण कुरा के लाग्छ ?

कुनै समय लाग्थ्यो, म जीवनभर कविता मात्र लेख्छु । समाज अध्ययन गर्दै जाँदा मेरा अभिव्यक्तिहरू कविताले मात्र धान्न नसक्ने भए । फलस्वरूप म आख्यानमा हाम फाल्न पुगेँ । कविताप्रतिको मेरो विश्वास र मोहमा ह्रास आएको त होइन, तर आख्यानको विराटतामा प्रशस्त भूगोल छ, जहाँ उन्मुक्त भएर हातगोडा फैलाउन सकिन्छ । कहिलेकाहीँ सीमित मात्रामा गैरआख्यान पनि लेख्छु । 

म अहिले यस्तो मोडमा छु, मलाई लेख्नमा आख्यान र पढ्नमा गैरआख्यान उपयुक्त छ । लेखकका लागि सबैभन्दा महत्त्वपूर्ण शैली र भाषागत सम्पन्नतासँगसँगै वैचारिक मूल्य पनि हो । आख्यान कल्पनाको बाटो भएर आउँछ र त्यसमा स्वेच्छाले कथाको स्वरूपनिर्माण गर्न स्वतन्त्रता छ, पात्र र प्रवृत्तिलाई निर्देशन गर्न सकिन्छ, मलाई यो रोचक लाग्छ । 

म नियमित लेख्दिनँ, तालिका छैन तर मस्तिष्कमा कथाहरू चलिरहेका हुन्छन् । जब त्यसको आकार बन्छ, त्यसपछि अक्षरमा रूपान्तर गर्छु । 

समाजबाट कथाहरू टिप्ने र बुन्ने लेखकका आ–आफ्नै शैलीहरू हुन्छन् । सैद्धान्तिक रूपमा चुनौतीको कुरा गर्दा समकालीन समाजको जटिलता, वर्गीय असमानता, प्रवास, पहिचान र सांस्कृतिक रूपान्तरणजस्ता विषयलाई आजको वैचारिकीसहित कथाभित्र समेट्न गाह्रो छ । नेपाली कथामा भाषाको नवीनता, कलात्मकता र सरलताबिच सन्तुलन राख्न कठिन छ । अत्यधिक जटिल कथालाई अपठनीय बनाउँछ भने अत्यधिक सरलताले साहित्यिक मूल्य घटाउँछ । त्यसैले भाषा, प्रतीक, शैली र कथनशिल्पलाई समयानुकूल प्रयोग गर्नु मेरा लागि ठुलो चुनौती हो । 

आजको साहित्यिक बजारमा बिक्ने र लोकप्रिय हुने कथालाई प्राथमिकता दिने प्रवृत्ति बढ्दो भएकाले म बेलाबखत आफ्नो लेखनप्रति कठोर समीक्षामा उत्रिन्छु । यस विषयले थुप्रै लेखकलाई आफ्नो वैचारिक गहिराइ र सौन्दर्यात्मक दृष्टिलाई सम्झौता गर्न बाध्य पारेको अनुभव गर्छु । लोकप्रियता र साहित्यिक मूल्यबिचको द्वन्द्व आजको लेखकका लागि ठुलो चुनौती छ ।

सरल के हो भने लेखनको निरन्तर प्रवाह नै हो । नदीले बग्दै जाँदा आफ्नो बाटो, आफ्नो धार स्वतः निर्माण गरेजस्तो लेखनको निरन्तरताले एउटा शैली निर्माण अवश्य गर्छ र त्यसले एउटा वर्गको पाठकलाई आकर्षण गर्छ । कम्तीमा एउटा लेखकले त्यहाँसम्मको स्वरूप निर्माण गर्नु पनि नेपाली समाजका लागि महत्त्वपूर्ण हो । 

७) ‘मौलामा बाँधिएको राँगो’बाट कस्तो प्रतिक्रिया पाउनुभयो ? पाठकले यो कृति किन पढ्नुपर्छ जस्तो यहाँलाई लाग्छ ?

यो कवितासङ्ग्रह मेरो कविता लेखन यात्राको सबैभन्दा बढी आक्रोश र सबैभन्दा बढी निराशाको संयोजनबाट निर्माण गरिएको हो । एक प्रकारले भन्ने हो भने मेरो अर्धजीवनीजस्तो भएर यो पुस्तक आएको छ । यसमा मेरो उदय कथा, वर्तमान आवरण, वैचारिकी र जीवन दर्शनका हिसाबले म मेरो समाज संसारप्रति कस्तो धारणा राख्छु भन्ने विषय हुन् । 

यो कविता सङ्ग्रहमार्फत मप्रति पाठकले देखाएको प्रेमले उत्साहित नहुने कुरा भएन । सँगसँगै म यतिवेला कथा सङ्ग्रहको अन्तिम तयारीमा पनि छु । 

जब पुस्तक बजारमा पुग्छ, त्यसले पुस्तकको स्तर अनुसारको पाठकलाई आकर्षण गर्छ तर पुस्तकले एउटा पाठकको स्तरलाई उछिनेर थप बौद्धिक पाठकसमक्ष पुग्न पाउँछ, त्यो समयमा पुस्तक आलोचनात्मक कठघरामा उभिनुपर्छ । त्यसको जवाफ पनि पुस्तकले नै दिनुपर्छ । मेरो कवितासङ्ग्रह आलोचनाबाट मुक्त भएन तर त्यसको स्पष्टीकरण पनि कविताभित्रै रहेको पाठकले अनुभूति गरे । 

यो पुस्तक कसैले किन पढ्ने भनेर सोध्यो भने वास्तवमा त्यसको जवाफ मसँग छैन तर सङ्ग्रहमा मैले नेपाली समाजका केही दुर्लभ स्वर मिसाएको छु, जहाँ आजको समाजको चरम निराशा पनि छ, त्यो आक्रोशमा पुगेर सकिएको छ । जसरी मौलामा बाँधिएको राँगो निःसन्देश, निर्विकल्प काटिनुपर्छ, त्यसरी नै समाजमा अनेक मौलाहरू छन्, जहाँ मानिसहरू धारिला खुँडाहरू खप्न तयार बाँधिएका छन् । त्यो समय कति भयग्रस्त हुन्छ, विलापपूर्ण हुन्छ, त्यही घडीमा बाँचिरहेका छौँ हामी । के आजको यस्तो समयको कविता पढ्नुपर्दैन ?

८) तपाईंलाई झकझकाएको कुनै एउटा साहित्यिक कृति सम्झिनुप¥यो भने कुनलाई सम्झिनुहुन्छ ? किन ?

त्यसरी त थुप्रै कृतिहरूको स्मरण हुन्छ मलाई, कृतिभन्दा बढि म पात्रहरू सम्झन्छु । पात्रहरूको प्रवृत्ति तथा मनोविज्ञानले मलाई बढि तान्छ । एउटा औसत स्तरको पुस्तकभित्र एउटा पात्र हुन सक्छ जसले तपाईंले भनेजस्तो झकझकाइरहन सक्छ । पारिजातको ‘शिरिषको फूल’भित्रको सकम्बरीलाई सबैले याद गर्छन् मलाई त्यो कथाको अन्त्यतिरको भूमिकामा बाँच्न विवश सुयोगवीरको स्वनिर्मित चरित्रले निकै हल्लाउँछ । सकम्बरीको मृत्युपश्चात् एउटा पुरुषत्वको अन्त्य कसरी हुन्छ ? त्यो निकै दर्दनाक लाग्छ । 

खगेन्द्र सङ्ग्रौलाको एउटा कथा छ ‘खरानीमुनिको आगो’ शीर्षकको । त्यसमा हरिदले नामको बालपात्र छ, त्यसले मेरो हृदय क्षतविक्षत बनाएको छ । त्यसको पात्रतामा मेरो एउटा अतीत लुकेको अनुभव हुन्छ । 

मलाई यतिबेला एउटा पात्रको याद आइरहेको छ, बङ्गलादेशी कथाकार सैयद वलि उल्लाहको ‘स्तन’ भन्ने कथामा मजिदा नामको एक महिला पात्र छे, भर्खर उसले नवजात शिशु गुमाएकी छे, संयोग कस्तो भने गाउँको धनाढ्य मालिकको श्रीमती मरेर उसको शिशुलाई मजिदाले दुध पिलाउनुपर्ने भएको छ, तर दुध आउँदैन । अन्त्यमा मजिदाले स्तनको निप्पलमा सियोले खोपेर दुध निकाल्छे, विडम्बना, त्यो दुध रातो हुन्छ । 

भाषागत सम्पन्नताको बलियो कृतिहरूमा बीपी कोइरालाको सुम्निमा उत्कृष्ट लाग्छ मलाई । सामाजिक सङ्घर्ष, पहिचान र लैङ्गिक÷मानवीय संवेदनाको चित्रण बलियो छ । सुम्निमाको कथानक र पात्र–रूपान्तरणले समाजको संस्कृति, पारिवारिक मूल्य र व्यक्तित्व विकाससँग सम्बन्धित विमर्शलाई उजागर गरेको छ ।

९) आखिर जिन्दगी के रहेछ ?

जीवन जन्मदेखि मृत्युबिचको यात्रा मात्र होइन, यो निरन्तर बोध, पीडा, खुसी, सङ्घर्ष र अर्थ खोज्ने प्रक्रिया हो । यसलाई निरन्तर रूपान्तरण गर्न सकिन्छ । 

जीवन सीमित र क्षणिक छैन, जीवनका लागि कर्म गर्ने समय भने सीमित छ । कर्मका आधारमा हामी सैयौँ वर्ष बाँचिरहन सक्ने रहेछौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप