कथा : दमाहा
सत्र दिनपछि थामियो झरी ।
र आकाशमा उज्याला किरणहरू देखिए ।
पूर्व फर्किएर सेते दमाईले टाउको उठायो । उदास आँखामाथि हत्केला राखेर बिहानी सूर्यको कलिलो प्रकाश छेक्यो र आकाश हेर्यो । लहरबाट छुटेका तालचरी जस्ता सेता बादलका केही टुक्रा देखिए पहाडमाथि ।
आँखीभौँ खुम्च्याएर पारी पहाडमा पनि नजर पुर्यायो । पहाडहरू स्निग्ध छन्, शान्त, सौम्य र निरव ।
तर सेते दमाई उभिएको आँगन ओभ्याएको छैन । आधा महिना लामो झरीले भिजेको जमिनमा अडिएका छन्, पैताला र टाउको ओत्ने छाप्रो । त्यो छाप्रो पनि पहिरो माथि कुन दैवको शक्तिले अडिएको छ कुन्नि ! थाहा छैन । गोठ बग्यो, ऋण काढेर किनेको नौ महिनाको पाडी र ओथारो बसेको पोथी समेत छैन । घरमुनिको एक सुर्को मकैले घोँगा हालेको बारी बग्यो र दाउराको खलियो पनि छैन ।
थारोमा झुन्ड्याएको एक सुली मकै, लत्ताकपडा र दुई जोर दमाहा पनि पहिरोको भयो । घरको सुरलाई छोएर पहिरोले सबै थोक लिएर गयो । पन्ध्र दिनअघिको मध्यरात । दम्पाटा बस्तीका एक्काइस घरहरू बगे ।
बाँकी तीनवटा घरका मानिस जिउँदा छन् । अरु कति मानिस पहिरोमा परे, कसले गनेर बस्नु ? कतिका हात मात्रै भेटिए, कतिका च्यातिएका खुट्टा । कतिको त हिलोमा पुरिएका धोती र सुरुवालका टुक्रा मात्रै । कसको घरको धुरीखाँबो कुन हो ? ढुङ्गाले थिचिएर मरेका केटाकेटी कसका ? कसैले छुट्ट्याउन सकेनन् ।
हरे ! नाता कुटुम्बहरूकै लासको हाट चलेका बेला वस्तुभाउको के गणना ? धनसम्पत्ति, अन्नपातको के औचित्य ? पहिरो बाहिर परेका लास पहिरोभित्रै दबाएर सेते दमाई र बाँचेकाहरूले सद्गत् गरे । धुप जलाए, ध्वजा चढाए । कसले खन्ने चिहान ? कसले गर्ने काजकिरिया ? कोरा कहाँ बार्ने ? छाक छाड्ने र नुन बार्न को जिउँदो छ र ?
यसअघि दम्पाटामा प्रकृतिले यस्तो रमिता देखाएको सेते दमाईलाई याद छैन । पहिरोमा दमाईका जहान, केटाकेटी र लालाबालाले मृत्युको अभिनय गरे । बाँकी अरु गाउँका मानिस दैवको लीला भन्ठानेर जिब्रोसम्म टोके । र फर्किए ।
०००
अर्वुनकोटको पश्चिम फेदीमा पर्छ दम्पाटा । यो दमाई बस्ने पाटा हो, मानिसहरू छिटोछिटो बोल्दै जाँदा दम्पाटा भन्न थाले । सेते दमाईका बाउबाजे र बराजुले कहिलेदेखि त्यो पाटालाई थातथलो बनाए, त्यसको कुनै साल सम्वत् र तिथिमिति अवगत छैन ।
दम्पाटाबाट अर्वुनकोट उक्लिनु र तल चिराङ खोला झर्नु उस्तै–उस्तै पर्छ । बैदारका रुखहरूको जङ्गलै जङ्गल दुई घण्टा झरेपछि चिराङ खोला पुगिन्छ । चिराङ खोला सुसाइरहन्छ । खोलाको उभारले बनाएको फाँट अभिरजङ्गका नाति त्रिलोकजङ्गको हो । अभिरजङ्ग तत्कालीन राणाका मामा खलकहरू हुन् भन्थे । यही फाँटको अन्नले अर्वुनकोटमा अभिरजङ्गका सन्तान दरसन्तानले हुकुम चलाइरहेका छन् ।
चिराङ खोलामा अर्वुनखोला पनि मिसिएको छ । त्यो दोभानलाई चिराङघाट भन्छन्, त्यही घाटमा सात गाउँका लास पोल्छन्, खरानी बनाउँछन् र पानीमा बगाउँछन् तर दम्पाटाका दमाईहरू चिराङघाटमा पोलिन पाउने हैसियत राख्दैनन् ।
यसपालि दम्पाटाका पौने सय दमार्ईका खलक र उनीहरूका नाल–नातेदारहरू पनि चिराङघाट पुग्न पाएनन्, पहिरोमै दबिए । मृत्युको प्रकृति अनुसार उनीहरूको घाट र किरियाकर्म टुङ्गो लाग्छ । दुई–चार गाउँका मानिसले दुई–चार दिन दुःख मनाउ गरे । रमिता हेरे । फर्किए । सैयौँ वर्षको दमाई बस्ती पहिरोले निल्यो । मानौँ, सपना पनि देख्न नसक्ने मानिस र उनका दुःखहरू निल्न प्रकृतिलाई सजिलो छ ।
अब सेते दमाईको बिँडी सल्काउन अगुल्टो माग्न जाने छिमेकीहरू छैनन् । खरानी भिजेको अगेनोजस्तो भयो, दम्पाटा । भित्रैदेखि आँत तातेको छ, बिहानै हप्प गर्मी छ सेते दमाईलाई । सेतेको निधारमा चिडचिड पसिनाका दानाहरू फले, हररर हावा चलेको थाहा छैन उसलाई । हावामा मरेका मानिस र भत्केको गाउँको नमिठो गन्ध छ ।
अर्को दिन बिहानै सेते दमाईको छाप्रोअगाडि घोडा हिनहिनायो । टापहरू बजेपछि सेतेको आँखा बाहिर परे । जुरुक्क उठेर दौडियो सेते । आँगनको डिलमा पुगेर निहुरियो ।
‘जदौ मालिक ।’ सेते थचक्क बस्यो । उसको अनुहार एकैपटक निलो भएर आयो ।
‘यो पूर्णेको दिन झ्याली ठोक्न आइज है, एउटै नाति हो, व्रतबन्धका लागि पुरोहित बोलाएको छु ।’ त्रिलोकजङ्गले लगाम खिचे । घोडा ओरालो हानियो । सेतेले हात उठाएर ‘ज्यू’ भनेको मालिकले सुनेनन् । सेतेले टाउको तन्काएर घोडाको सेतो पुच्छर हेर्यो ।
‘यो पूर्णेको दिन झ्याली ठोक्न आइज है, एउटै नाति हो, व्रतबन्धका लागि पुरोहित बोलाएको छु ।’ त्रिलोकजङ्गले लगाम खिचे । घोडा ओरालो हानियो । सेतेले हात उठाएर ‘ज्यू’ भनेको मालिकले सुनेनन् । सेतेले टाउको तन्काएर घोडाको सेतो पुच्छर हेर्यो ।
धान पसाएको फाँट हेर्न झरेका त्रिलोकजङ्गले सेतेलाई पहिरोमा कसरी बाँचिस् भनेर पनि सोधेनन् । मर्नेहरूको खबर सोध्ने कुरै भएन । पहिरोपछि पहिलोपटक दम्पाटाको बाटो झरेका त्रिलोकजङ्गलाई नातिको व्रतबन्ध उत्सवमय बनाउनु थियो ।
जनै पूर्णिमा आउन अब आठवटा दिन छन् ।
सेते दमाईको टाउको रनक्क तात्यो, रिसले होइन तनावले, लाचारीले र अन्योलताले ।
गाउँ नै पहिरोमुनि परेका बेला दमाहा र जम्मै बाजाहरूको बन्दोबस्त कसरी गर्ने ? कहाँ खोज्ने ट्याम्को, सहनाई, नरसिङ्गा र झ्याली ? सेतेको अनुहार झन् कालो भयो । पछाडि हात लाएर सेते टक्क उभिइरह्यो, आँखाहरू स्थिर भए, सोचमग्न सेतेले शोकमग्न समयबाट उठेर कसरी दमाहा बजाउने ? ऊ टोलाइरह्यो ।
सेतेले सम्झेको हुनुपर्छ, अर्वुनकोटदेखि छिमाली र बरबोटसम्मका सात गाउँमा जन्मदेखि मृत्युसम्म बाजा बजाउने काम हो दमाईहरूको । तर दम्पाटाका दमाईहरू कसको श्रापले एकै रातमा सकिए ?
नरेले सहनाईमा गीत उठाएपछि वीरेले ट्याम्कोबाट ताल भर्थ्यो । त्यसपछि सेतेको दमाहाले थर्काउँथ्यो मुटु । एक बटुका जाँड स्वाट्ट पारेपछि पैसठ्ठी वर्ष काटेका दुबे साइँलाले फुक्थे नरसिङ्गा । मान्छेहरू अचम्म पर्थे, यो बुढो दमैको फोक्सोमा कसरी अडेको होला यत्रो विधि श्वास ?
विडम्बना, पहिरोले न धुन राख्यो, न धुन निकाल्ने ती हसिँला मान्छेहरू । दम्पाटाको लय बगाएर गयो पहिरोले । यतिबेला सेते दमाईभित्र पनि पहिरो छ, अमिलो देखियो अनुहार, आँखाहरू रसिला भए ।
ढलोटको कराईमा भुटेको मकै सिल्पटको थालमा खन्याउँदै रुक्सीले आवाज निकाली, ‘माथ्लो बज्यैको घरमा के के छ सरसामान ?’
‘लोग्ने मान्छे नभएको घरमा के हुँदो हो र खै ?’ सेतेले श्रीमतीको आँखामा हेर्यो । र थालबाट एक पसर मकैका ठेट्ना उठाएर उक्लियो, बज्यैको छाप्रोतिर ।
०००
मूल ढोकाबाट धुवाँको मुस्लो निस्किएको छ । घर्किंदै छ बिहान । थाकलका पातले छाएको छाप्रोभित्र बज्यै खान्कीको बन्दोबस्तमा छिन । पिँढीमा थचक्क बसेर भित्र मन्टो तान्यो सेतेले । ‘हैन क्यार्न लायौ बज्यै ?’
‘पँधेरो सुक्यो, अब केले प्यास मेट्ने हो ?’ केही छिनपछि बज्यै बोल्दै बाहिर निस्किन्, ‘हेर्दाहेर्दै गाउँ नै मसानघाट भो, कसको मुख हेरेर बाँच्ने हो ।’ बज्यैले लामो श्वास फेरिन् । सात दशक बाँचेकी बज्यैको आँखामा नरेको सुर्ता छ । एउटै थियो नाति । बिहेपछि दम्पाटाको पुछारमा छाप्रो हालेको थियो । पुरियो ।
बाजाको हुटहुटी छँदै छ सेतेलाई ।
मृत्युको शोकले नै छाडेपछि अरु समस्या पनि के समस्या ? ‘बाजाहरू के के छन् कुन्नि ?’ सेतेले मसिनो स्वर निकाल्यो ।
‘हैन के भन्छ यो ? खलकै सोत्तर भएको भर्खर तेह्र दिन कटेको छ ।’ बज्यैका आँखाहरू ठुला भए । ‘देउता रिसाउँछन् बा, यस्तो बेला हर्ष गर्नु हुँदैन ।’
इस्टकोटको भित्री गोजीबाट पाते बिँडी निकाल्यो सेतेले, ‘बिस्टको नातिलाई जनै भर्ने खबर आयो त, के गर्ने ? आफैँले खबर छाडेर गए । फेरि नाइँ भन्न पनि सकिएन ।’
बिँडी खरानी भएपछि बज्यैसँगै भित्र पस्यो सेते । बाजेले थन्काएर मरेपछि कसैले नझिकेका नरसिङ्गा र सहनाई सेतेले निकाल्यो । फुटेको झ्याली पनि भेटियो अर्को कुनामा । मर्मतपछि बाजाहरू बज्छन् भन्ने लाग्यो सेतेलाई । धुलो पुछ्यो । अनुहार पनि टल्कियो सेतेको ।
तर दमाहा ? सेतेको हैरानी सकिएन ।
बाजा बोकेर झर्नुअघि बज्यैले भनिन्, ‘पहिरो मुन्तिर अर्को पँधेरो बनाउने हो कि सेते ।’ सेतेले सुन्यो तर प्रतिक्रिया दिएन ।
०००
सेतेको आकाशमा विस्मयका बादलहरू छन् अझै । अर्को चट्याङ पर्नु अघि जीवनको पुरानै लय समात्नु छ । आफ्नै छाप्रोको डिल मुनिबाट ढुङ्गाको गाह्रो उठाउनु छ । पहिरोबाट जोगाउनु छ घरको भविष्यलाई तर त्योभन्दा पहिले एउटा उत्सवको तयारी छ ।
निद छैन आँखामा । बेचैनी र छटपटीले भित्रभित्रै ह्वारह्वार बलेको छ सेते दमाई । यो कस्तो उत्सव हो, जसले दर्जनौँ आफन्तको शोकलाई बिर्साइ दिएको छ ? के मृत्युभन्दा कठिन छ जीवन ? यो दुर्बोध्य जीवनको निर्माता को हो ? किन अभिशप्त छ सेते आफ्ना सन्तापहरू बिर्सेर अर्काको खुसी सजाउन ?
पूर्णिमाको बिहान त्रिलोकजङ्गको आँगनमा सेते दमाई पुगेन भने के हुन्छ ? दमाहा बजेन भने यो संसार सकिन्छ ? यो प्रश्नको कल्पनाले मात्र पनि झस्किन्छ सेते । उज्यालोले पहाडको टाउको नटेक्दै कोदालो बोकेर पस्छ पहिरोमा ।
पूर्णिमाको बिहान त्रिलोकजङ्गको आँगनमा सेते दमाई पुगेन भने के हुन्छ ? दमाहा बजेन भने यो संसार सकिन्छ ? यो प्रश्नको कल्पनाले मात्र पनि झस्किन्छ सेते । उज्यालोले पहाडको टाउको नटेक्दै कोदालो बोकेर पस्छ पहिरोमा ।
उसले पहाड खनिरहेको छ, पहिरोको पहाड । भित्रभित्रै कामना गरिरहेको छ कसैको लास नभेटियोस् । भेटियोस् दमाहा । सेतेलाई पहिरो मुनिबाट दमाहा निकालेर बिस्टको आँगनमा ठोक्न मन छ । जसले मृत्युको खबर सोधेन, उसलाई सुनाउन सकियोस्, मरेका मानिसकै आवाज भन्ठानेर ।
भदौरे चर्को गर्मी । पहिरो कोट्याउँदा कोट्याउँदै थाक्यो सेते । एउटा अर्को निराशाले टुसा उमार्यो । पहाडजस्तो पहिरोभित्र एउटा दमाहाको डल्लो कहाँ पर्यो पर्यो । खुम्चिएका निधारबाट तरक्क पसिनाको धारो छुट्यो ।
सिनोको गन्धले हानेपछि निस्कियो घर । कोदोलोको बिँडमा कुर्कुच्चा अड्याएर सेते टुक्रुक्क बस्यो आँगनमै । अघिदेखि पिँढीमा बसिरहेको थियो सुरबिरे । ‘हैन केको मेलो सिध्याएर आयौँ ठुल्बा ?’
थाकेको स्वरमा सेतेले सिधा मुद्दा उठायो, ‘एउटा पुरानो भए पनि दमाहा खोज्नुपर्यो कान्छा ।’ रुक्सीले दिएको लोहोटाबाट पानी घुट्क्याएपछि सेतेले थप्यो, ‘पूर्णेको दिन बिस्टले खबर छाडेका छन् ।’
तीन प्राणीहरू नै चुपचाप छन् । केहीबेर सन्नाटा छायो । सबैको दिमागमा दमाहाको खोज छ । दमाहाको जोहो गर्न सकिएन भने ? एउटा क्रूर त्रासले झन्झन् साम्राज्य बनाउँदै छ । लामो खुइय्य गर्यो सेतेले । ‘यो कस्तो झमेला आइपर्यो, हरे !’
‘एउटा घम मसँग होला ठुल्बा ।’ सेते र रुक्सीले एकैपटक सुरबिरेको अनुहार हेरे ।
०००
पहिरोको असर देखिन थाल्यो दम्पाटामा । पहिरोले मूल तान्यो बिस्तारै र सुक्न थाल्यो । तीन घरलाई पनि नपुग्ने भयो पानीले । संसारमा पानीको भन्दा खतरनाक दुःख अर्को के छ ? माथ्लो बज्यै, सेते र सुरबिरेका परिवारले जीवन बाँच्ने पानी खोज्न थाले ।
पहिरो छिचोल्दै पौने घण्टा झरेपछि पानीको खाल्डोमा सेते र सुरबिरेको आँखा परे । ढुङ्गाको गाह्रो उठाए, केतुकेको पात हालेर धारो बनाए । धारोबाट पानी खस्यो । नयाँ पँधेरो बन्यो ।
तर सत्तरी वर्षीय बज्यैका लागि पानी बोक्ने दायित्व सुरबिरेको जहानमा आइपर्यो ।
दिनहरू सकिन थाले । दम्पाटामा कोही फर्किएर आएनन् । दुःख भोग्न तीन घर तयार भए, तर देख्ने कोही भएनन् ।
तामाको घम हात परेपछि सेतेको आँखा उज्यालिए । चुकपानीले घोटेपछि घमबाट रोशनी फुक्यो । तर छाला कहाँ खोज्ने ? सेते फेरि बादलहरूले घेरियो । सम्भव थियो भने आफ्नै छाला काढेर तामाको घम बेर्थ्यो र बर्ताले कसक्क कसेर गजाले ठोक्थ्यो— डम, डम, डम, डम । यो बेचैनी भन्दा आफ्नै छाला निकाल्नु सन्तोष थियो सेतेलाई ।
मध्यरातमा पनि रुक्सीका आँखाहरू बन्द छैनन् । पहिरो पारीको जङ्गलबाट फ्याउरो चिच्याइरहेको छ । रुक्सीको एक्कासि वाक्य फुट्यो, ‘पहिरोले पुरेको सिनो काढ्ने कि ?’
ओछ्यानबाट सेते जुरुक्क उठ्यो र धम्म बस्यो । सानो झ्यालको बाटो हुँदै जुन घर भित्रैसम्म पोखिएको छ । सेतेलाई अहिले नै सिनो उधिनेर छाला काढ्न गइहालौँ जस्तो भयो, तर बिहानसम्म कुर्नु बाध्यता छ । सेतेले बिँडी सल्कायो ।
बिहानै फेरि पहिरोमा पस्यो सेते । नाकमुख थुनेर सिनो कोट्यायो । श्वास रोकेर छाला हेर्यो । विजिङ विजिङ किरा परेको सिनोको छाला देखेर सेतेलाई पहिलोपटक लोभ लाग्यो । आफ्नै हातहरूले किरा पन्छ्यायो । आधा दर्जन गाईगोरुको सिनो निकाल्दा पनि काम लाग्ने छाला भेटिएन ।
सेतेको मनस्थिति अर्कोपटक खस्यो ।
दिनभर एउटा गाउँदेखि अर्को कोट चहार्यो सेतेले । आफ्नै पैतालाका छाला खिइयो, बेला न कुबेला भदौरे झरीको बेला कहाँ पाउने छाला ? एकपछि अर्को निराशाले सेते मलिन देखियो ।
‘यो गर्दा पनि भएन, त्यो गर्दा पनि भएन ।’ रुक्सीले सेतेको अनुहार हेरी, ‘के गर्ने अब ? कहाँ खोज्ने त्यसको बाउको छाला ?’ टुकीको उज्यालोमा रिसले रनक्क तातेको सेतेको अनुहार देखियो । रुक्सीको बोली निस्किएन ।
०००
बिहानै सुरबिरेले सेतेको ढोका हान्यो । ‘ठुल्बा ? ए ठुल्बा ?’
सेतेले आग्लो खोल्यो, ढोकाको पल्ला उघार्यो, ‘के बित्यो र एकाबिहानै ढोका हान्छ यसले ?’
‘तलको पधेँरोमा हैजा पसेछ, बज्यै त मर्नु न बाँच्नु छिन्, मेरो जहानको पनि बाहिरै बास छ, लौन बर्बाद भयो ठुल्बा ।’ अत्तालिएको स्वरमा सुरबिरे बोल्यो ।
‘हत्तेरिका !’ हत्केलाले निधार ठोकेर पिँढीमा बस्यो सेते । पुर्पुरोमा हात राखेर बर्बरायो, ‘के के हुन परेको यै दम्पाटामा, हरे !’ पहिरोबाट मान्छे र गाईवस्तुको सिनो कुहिएर पानीमा मिसिन्छ भन्ने पनि सेतेलाई हेक्का भएन । उसले फेरि अर्कोपटक पुर्पुरो ठोक्यो ।
त्यही दिन । मध्याह्नमा बज्यैले श्वास रोकिन । पखालाको दुर्गन्धले छाप्रोको नजिक पर्न नसकिएका बेला बज्यैको मोरो कसरी उठाउने ? सुरबिरेले माटो हाल्न थाल्यो भुइँमा । नाकमुख थुनेर दुवैले लास निकाले र पहिरोमुनि पुर्याएर गाडे ।
तल्लो पँधेरोले एउटा बुढो घर खोस्यो । सेतेले दिएको जडीबुटीले सुरबिरेको जहान केटाकेटीको आँखामा पानी भरियो ।
दुःखले दुःख तान्छ भन्थे । दुःखको यो सिलसिला कहिलेसम्म ? दम्पाटाका अब यी दुई घर नदुख्ने भइसके । पीरले नछुने भइसके । झमक्क साँझ पर्यो, बिहान भयो । आज अन्तिम दिन हो, भोलि जनैपूर्णिमा ।
बिहानैदेखि होस छैन सेतेको ।
घरी बाजाहरू छुन्छ, घरी बाहिर निस्किन्छ, कहिले पिँढीमै पल्टिन्छ, कहिलेमाथि अर्वुनकोटको डाँडामा हेरेर टोलाउँछ । के गर्ने के नगर्ने ? विलखबन्द छ सेते । दासताले निर्माण गरेको बाध्यताको परिबन्धमा सेतेले मुक्तिको बाटो भेट्न सकेन । बिस्टको आदेश सेतेका पुर्खाले अटेर गरेको इतिहास छैन । अटेरीको मूल्य कति खतरनाक हुन्छ ? सेतेले कल्पना गर्दैन ।
हरेक परिस्थिति उसको मुठीबाट फुस्किरहेको छ, भावहरू आन्दोलित छन् सेतेभित्र । ‘मैले नचाहेको हो ? हैन, नसकेको हो । जे गर्दा पनि नभएपछि कसको के लाग्छ ?’ सेतेको अर्को मनले भन्छ, ‘तर बिस्टले यो बुझ्दैनन्, उनलाई भोलि बाजा बज्नु छ ।’ जति समय घर्किंदै जान्छ, सेतेको मुटुले दमाहा ठोक्दै जान्छ । ताल बढ्दै जान्छ ।
पिँढीबाट उठेर सेते दमाईले आजै अर्वुनकोटको बाटो छोप्यो । दुई घाम उक्लिएर सेतेले त्रिलोकजङ्ग प्रधानको आँगनको डिल टेक्यो ।
अन्न पानीको बन्दोबस्त । नोकरचाकरको खटनपटन । पाहुनापाछाको बस्ने सुत्ने ठेगान । सुसारे, गोठालादेखि चौकिदारलाई समेत काममा भ्याइनभ्याई । रङ्गरोगन, लिपपोत, सरसजावट र झकिझकाउ । धपधप बलिरहेको घरको आँगनमा टेक्न पनि सेतेको आँट आएन ।
मचाईमा पल्टिएर हुक्का तानिरहेका त्रिलोकजङ्गले पर आँगनको छेउमा हात जोडेर बसेको सेतेलाई देखे । प्रशन्न मुद्रामा छन् प्रधान । हातको इसारामा सेतेलाई नजिक बोलाए ।
‘जदौ मालिक ।’ सेतेले घुँडा टेक्यो ।
‘के भन्न आइस् ।’ त्रिलोकजङ्गको आवाजबाट डरलाग्दो गर्जन बाहिरियो । यतिन्जेल पसिनाले भिजिसकेको थियो सेते ।
‘मालिकले अह्राइबक्सेको भोलिको काम गर्न नसक्ने भएँ मालिक, पहिरोले न बाजा राख्यो, न मान्छे । सिनोको समेत जोहो गर्न सकिनँ । मुलुक चहार्दा पनि छाला पाउन सकिनँ । के कसो गरुँ ? अब मर्जी होस् सरकार ।’ यति भनिनसक्दै सेतेको आँखा तिर्मिराए । शरीर तातो भयो । सेतेको आवाजले आँगनमा जो जहाँ थिए, त्यही अडिए, मानौँ सबै मूर्तिमा रूपान्तरण भए । सबै चुपचाप ।
त्रिलोकजङ्ग जुरुक्क उठे र दुई कदम चालेर सेतेको छातीमा लात्ती बजारे । सेते उछिट्टिएर आँगनको पर डिलमा पुग्यो । ‘सिनो खानेलाई छालाको सन्ताप ?’ त्रिलोकजङ्गको आवाजले हावा पनि टक्क रोकियो । बन्द पृथ्वीको एउटा मनुष्य सेतेको मुटु मात्र जोडजोडले धड्किन थाल्यो । ‘दमैको छाउरोले नुनमाथि मुत्ने ?’ रिसले थरर कामे त्रिलोकजङ्ग । उनी रोकिएनन्, ‘यो कुक्कुरलाई यहाँबाट लखेट् ।’
त्यतिन्जेल उठेर घुँडा टेकिसकेको थियो सेतेले । उसका आँखाहरू बल्दै गरेका कोइला भए तर नजर जुधाउन सकेन । सबैले देख्ने गरी आँगनको डिलमा थुक्यो र फर्कियो सेते । सेतेको थुकमा रगत देखियो ।
०००
काँचजस्तै चर्कियो सेते ।
अँगेनो बालेर कुरिरहेकी रुक्सीलाई नहेरी सेते कोठीमा पस्यो । सन्दुक खोल्यो । केही कपडा झिक्यो । झोलामा राख्यो । दिउँसो रुक्सीले पिसेर राखेको मकैको आटो पनि कुटुरो पार्यो ।
चट्याङले भत्किएजस्तो सेतेको अनुहार देखेर रुक्सीले केही सोध्ने हिम्मत गरिनँ । सेतेले एउटा कसौडी, कराई, थाल र केही भाँडाहरू राखेर अर्को थैलोको मुख बाँध्यो । हतास, उदाष, निराश र उत्तेजित सेतेका हातहरू थर्थराइरहे ।
बलिरहेको अँगेनामा सेतेले एक अम्खोरा पानी हाल्यो । पाकेको खान्की छाडेर ढोका ढप्कायो । घरपछाडि गएर सेतेले पहिरो हेर्यो । अँध्यारोमा लहराएको सिनोको दुर्गन्धले छोइयो । त्यो दुर्गन्ध, के मरेका आफन्तको बिदाइ थियो ? मसिना स्वर भएका साना नानीहरूको अनुहार उसको आँखामा आए । दुबे साइँलाको दुबीले भरिएको थुतुनो र उनले फुकिरहेको सहनाई कानमा ठोक्कियो ।
आँखाहरू भरिए सेतेका । ठिक पछाडि उभिएकी रुक्सीले सेतेभित्रको विह्वल भाव बुझिसकेकी थिई । तर अँध्यारोमा सेतेले आँखा पुछेको रुक्सीले थाहा पाइन ।
बिस्टको आँगनमा थुकेर सेतेले कुन विद्रोह देखाउन खोज्यो ? भावावेशको आगोमा पोलिएर तावाबाट अँगेनामा किन पर्न खोज्यो सेतेले ? नियमित जीवनशैलीमा एउटा क्रमभङ्गताले सेतेको जीवनलाई कहाँ पुर्याउने हो ।
सेते र रुक्सीले थैला बोके । आँगनको डिलमा पुगेर सेतेले पछाडि फर्किएर हेर्यो । त्यो घर, त्यो आँगन । बिहेको चार दशकसम्म जन्माउन नसकेको कुनै सन्तानको जस्तो माया लागेर आयो सेतेलाई । रुक्सीलाई के भयो थाहा छैन । भर्खरै फुटेको हिमतालजस्तै भयो सेते । पुर्खाले टेकाएको ठेगाना आफ्नो नभएको सेतेका लागि कुन ठेगाना आफ्नो हुने हो अब ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण