बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बर्का अट्वारी पर्वले मौलिक संस्कृति र परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेलेको छ : मुख्यमन्त्री आचार्य

आइतबार, ०८ भदौ २०८२, ०७ : २८
आइतबार, ०८ भदौ २०८२

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको बर्का अट्वारी पर्वको शुभकामना दिएका छन्।
  • मुख्यमन्त्रीले पर्वले भाइचारा, एकता र समृद्धिको भावना जागृत गरोस् भन्ने कामना व्यक्त गरे।
  • बर्का अट्वारी पर्व थारू समुदायमा मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण मानिन्छ।

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको महान् चाड बर्का अट्वारी पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन्। थारू समुदायले उल्लासपूर्वक मनाउने बर्का अट्वारी पर्वले सबैमा भाइचारा, एकता र समृद्धिको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

“प्रकृतिपूजक थारू समुदायले श्रद्धा र उल्लासका साथ मनाउने यस पर्वले मौलिक धर्म, संस्कृति र परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “प्रदेशभित्रका सबै जाति, समुदायका मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनप्रति प्रतिबद्धता छ ।”

उहाँले नेपाल बहुजाति, बहुसंस्कृति र बहुधार्मिक विशेषताले भरिपूर्ण मुलुक भएकाले यहाँका विविध धर्म, भाषा र संस्कृतिले नेपालको गौरवलाई अझ बढाएको  बताउनुभएको छ । त्यसैअन्तर्गत थारू समुदायमा परापूर्वकालदेखि निरन्तरता पाइरहेका मौलिक परम्परामध्ये बर्का अट्वारी पर्व महत्त्वपूर्ण  पर्वका रूपमा स्थापित भएको उनको भनाइ छ ।

बर्का अट्वारी पर्वमा विशेषगरी थारू पुरुषहरूले उपवास बस्ने, निराहार व्रतका साथ सूर्यको पूजा गर्ने धार्मिक र सांस्कृतिक परम्परा रहेको छ । थारू समुदायले सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीकका रूपमा मान्दै आएका छन् । यस पर्वले धर्म, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख छ ।

लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बसोबास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले मौलिक कला, धर्म र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निरन्तर प्रतिबद्धता जनाउँदै आएको उल्लेख गर्दै उनले यसले पर्यटन विकासमा समेत योगदान पुर्याउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप