युट्युबबाट हासिल गरेको ज्ञानले उद्यमी बनेकी सञ्जिता
सारांश
- कैलालीकी सञ्जिता रानामगरले एसआर चप्पल उद्योगमार्फत आत्मनिर्भर बन्दै अरुलाई रोजगारी दिएकी छन्।
- सञ्जिताले विभिन्न देशमा काम गरेर फर्केपछि चप्पल उद्योग सुरु गरिन्, र अहिले मासिक राम्रो आम्दानी गर्छिन्।
- उद्योग सञ्चालनका लागि उनले स्थानीय सरकारबाट सहयोग पाइन्, र अहिले थप महिलालाई तालिम दिने गरेकी छन्।
धनगढी । तिज र गौरा पर्वको रौनक छाएसँगै कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्याउलेमा बस्दै आएकी सञ्जिता रानामगरलाई चप्पल बनाउन भ्याइ–नभ्याइ छ । रानामगरले ‘एसआर चप्पल उद्योग’ सञ्चालन गर्दै आएकी छन्, जहाँ विभिन्न मोडलका चप्पल उत्पादन हुन्छ ।
यो उद्योग स्थापना गर्नुअघि उनले गुजाराका लागि निकै सङ्घर्ष गरिन् । भारतदेखि लिएर मलेसिया, जोर्डनसम्म उनी रोजगारीका लागि पुगिन् । अन्तिममा उनी आफ्नै घरमा चप्पल उद्योग खोलेर आत्मनिर्भरमात्र होइन, अरुलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी दिन सक्ने अवस्थामा पुगिन् ।
सञ्जिताले ७ कक्षासम्म मात्र अध्ययन गर्न पाइन् । १५ वर्षकै उमेरमा सोही वडाको अर्को गाउँमा उनको बिहे भयो । चाँडै बिहे गरेकाले जीवनमा धेरै समस्या भोग्नुपरेको उनी बताउँछिन् । सामान्य कृषक परिवारमा उनको बिहे भएको थियो । केही वर्षपछि पारिवारिक झैझगडाले उनलाई मानसिक रूपमा यति कमजोर बनायो कि उनी डिप्रेसन सामना गर्न बाध्य भइन् ।
त्यसैमाथि खुटिया नदीको छेउमै रहेको घरजग्गा पनि बाढीले कटान गरेर लगेपछि सञ्जिताले थप कठिन परिस्थितिको सामना गरिन् । ‘न बस्ने घर रह्यो, न पारिवारिक मेलमिलाप नै,’ उनले भनिन्, ‘उल्टै ऋणको भारी थपियो ।’
सन् २०१० मा उनका श्रीमान् कतार गए । वैदेशिक रोजगारबाट कमाएको पैसाले ऋण तिर्ने र घरजग्गा जोरजाम गर्ने उनको सपना थियो । त्योभन्दा ठुलो कुरा– टुक्रिएको परिवारलाई फेरि जोड्नु थियो ।
सबैकुरा सोचेजस्तो मात्र कहाँ हुन्छ र ! कतारमा श्रीमानको कमाइ राम्रो हुन सकने । उल्टै श्रीमानलाई घर फर्काउनका लागि ऋण काढेर पैसा पठाउनु पर्यो । बैंकबाट ऋण निकाल्न धितो थिएन । त्यसैले मिटरब्याजमा ऋण काढेर श्रीमानलाई घर ल्याउन विदेशमा पैसा पठाएको उनले बताइन् ।
‘एक लाख रुपैयाँ ऋण लिएकोमा तीन–चार वर्षमा बढेर ६–७ लाख ऋण भयो,’ सञ्जिताले भनिन् । श्रीमान कुलतमा फसेका कारण बेला–बेला सम्पर्कविहीन हुन्थे । घरको अवस्थाले उनी छोरीसहित माइत बस्न बाध्य भइन् ।
-(1)_vy7BIIr7Dd.jpg)
सधैँ माइत बस्न सक्ने अवस्था थिएन । श्रीमान् र घरपरिवारबाट सहयोगको आशा गर्न सक्ने अवस्था नरहेपछि उनले आफैँ कमाउने विकल्प रोज्न थालिन् । महिलालाई परदेश गएर काम गर्न समाजमा त्यति सहज परिस्थिति थिएन । सञ्जिताले यी कुराको वास्ता गरिनन् । मन बलियो बनाएर उनी आफन्त–साथीभाइ भएकै ठाउँमा काम खोज्दै भारत पसिन् । त्यहाँ उनले ९ वर्ष बिताइन् ।
‘बिचमा आउने–जाने हुन्थ्यो । भारतको कमाइले एउटा सानो जमिन किनेँ,’ सञ्जिताले भनिन् । ऋण तिर्न र घर बनाउन बाँकी नै थियो । छोरीलाई दिदीबहिनीको जिम्मा लगाएर उनी तेस्रो मुलुक जाने सोचमा पुगिन् । ‘महिलाहरू पनि काम गर्न विदेश गएको देखेकाले कमाउन साहस जुटाएर विदेश जाने निर्णयमा पुगेँ,’ उनले भनिन् ।
९० हजार रुपैयाँ खर्च गरेर सञ्जिता मलेसिया गइन् । त्यहाँ मेडिकल ग्लोभ्स बनाउने कम्पनीमा उनले प्याकिङको काम गर्थिन् । दिनमा १२ घण्टा काम गर्नुपर्थ्यो । पैसाको आवश्यकताले गर्दा उनी थप समय काम गर्थिन् । १८ घण्टा काम गरे बढी पैसा पाइन्थ्यो । ‘१२ घण्टा अनिवार्य थियो, मचाहिँ पैसाको आवश्यकता भएर ओभरटाइम काम गर्थें,’ उनले भनिन् ।
मलेसियामा कम्पनी राम्रो परेकाले उनलाई खासै समस्या भएन । त्यहाँ महिनाको ५७ हजारजति तलब र थप समय काम गरेबापत अतिरिक्त १० हजार रुपैयाँ आम्दानी हुन्थ्यो । तीन वर्ष मलेसिया बसेर उनी फर्किइन् र त्यही कमाइले घर बनाइन् । घरजग्गा जोडेपछि उनले सानो कपडा र चप्पलको पसल चलाइन् ।
ऋण तिर्न अझै बाँकी थियो । घरमै बस्ने आधार बलियो बनाउन अझै मेहनत गर्नुपर्ने ठानेर उनी जोर्डन गइन् । तर, यसपटक उनीसँग गार्मेन्टको सिप थियो ।
जोर्डनमा उनले कपडामा लगाइएका नम्बर ट्याग हेर्ने र अर्डर भएको कपडा छुट्ट्याएर प्याकिङ गर्ने काम गर्थिन् । त्यहाँ तलब ४० हजारभन्दा कमै हुन्थ्यो । उनी त्यहाँ पनि तीन वर्षजति बसिन् ।
नेपाल फर्केर उनले पहिलेको पसललाई नै निरन्तरता दिन थालिन् । यो वेलासम्म आइपुग्दा उनका श्रीमान पनि सम्पर्कमा आइसकेका थिए । चप्पल बेचेर एक जोरमा १५ रुपैयाँ फाइदा हुन्थ्यो । दैनिक १५ देखि २० जोर चप्पल बिक्री हुन्थ्यो ।
सानै लगानीबाट केही नयाँ व्यवसाय गर्ने सञ्जिताको सोच थियो । उनले चप्पल बनाउने कामबारे युट्युबमा एउटा सामग्री देखिन् । खोज्दैजाँदा युट्युबमै नेपालगन्ज, लम्की, अत्तरिया र धनगढीमा पनि चप्पल बनाउने काम भएको देखिन् । ती उद्योगीहरूसँग धेरैले अन्तर्वार्ता लिएका भिडियो हेरिन् । त्यसपछि उनी ती उद्योगमा पुगेर सल्लाह लिइन् र काम भइरहेको ठाउँमै केही दिन सिक्न गइन् ।
सञ्जिताले चप्पल बनाउने एउटा पुरानो मेसिन किनिन् । श्रीमानले पनि उनलाई सघाउन थाले । ‘एसआर चप्पल उद्योग’ सञ्चालनमा ल्याएकी उनका लागि यही उद्योग अहिले स्वदेशमा बस्ने प्रमुख आधार बनेको छ । पहिला एक जोर बिक्री गर्दा १५ रुपैयाँ कमाउने उनी अहिले आफैँले चप्पल बनाउन थालेपछि एक जोरमा ३० रुपैयाँसम्म फाइदा कमाउँछिन् ।
_ltIZpVtubO.jpg)
सुरुमा उनले दैनिक २ सय जोर फित्तावाला चप्पल बनाइन् । सिजनमा भने त्योभन्दा बढी उत्पादन गर्थिन् । उनी दैनिक २० देखि ३० जोर आफैँले बनाएको चप्पल बिक्री गरेर मासिक २७ देखि ३० हजारसम्म नाफा कमाउन थालिन् ।
चप्पल बनाउन चाहिने प्लास्टिकको म्याट उनी बुटवल र कैलालीकै अरू उद्योगीबाट किन्ने गरेकी छन् । ‘म्याटको क्वालिटी हेरेर चप्पलको फरक रेट छ । नेपाली कच्चा पदार्थ बलियो हुन्छ, त्यसैले चप्पल पनि बलियो हुन्छ,’ उनले सुनाइन् ।
आफूले उत्पादन गरेका चप्पल उनी आफ्नै पसलबाट खुद्रा र होलसेलमा बिक्री गर्छिन् । उनको गाउँ भारतसँगको सीमाना नजिकै छ । उनको चप्पल बलियो हुने भएकाले सुँडा, ढकियागाउँ लगायतका भारतीय गाउँबाट आफन्त भेट्न आएका बेला धेरैले परिवारका सबैलाई पुग्नेगरी किनेर लैजान्छन् ।
भारतको ढकियागाउँकी माधवी रानाले सञ्जिताले बनाएका चप्पल टिकाउ र बलियो भएकाले वर्षाका लागि ७ जोर किनेर लगेको बताइन् । फुलबारीकै सिता तामाङ पनि उनकै पसलको चप्पल लगाउने गरेकी छन् । उनले पनि चप्पल टिकाउ हुने गरेको बताइन् ।
सञ्जिताले चप्पल उद्योग चलाउन थालेपछि अरूले पनि सिक्न चाहेका छन् । धनगढी उपमहानगरपालिकाले व्यवसाय सञ्चालनमा सहजताका लागि उनलाई थप तालिम दियो । त्यसबाट आफूले व्यवसाय कसरी बढाउने, कसरी सुधार्ने लगायतका कुरा सिकेको उनले बताइन् ।
पहिला सादा चप्पलमात्र बनाउने सञ्जिता अहिले फेसनवाला, सेन्डिल गरी किसिमकिसिमका चप्पल बनाउन सक्छिन् । उनले थप सिक्न बुटवलमा १० दिनको तालिम लिएकी थिइन् । अहिले उत्पादन र मूल्य पनि बढेको छ । अहिले उनले अढाई लाख पर्ने डिजिटल मेसिन पनि खरिद गरेकी छन् ।
_G43XEpnlkq.jpg)
‘मलाई अहिले त धेरै डिजाइनका चप्पल बनाउन आउँछ । धेरै ठाउँमा मलाई अरू महिलाहरूलाई सिकाइदिनुपर्यो भनेर माग पनि आयो र म सुदूरपश्चिमका पहाडी जिल्लामा गएँ । तिज, तिहारपछि मसँग पैसा तिरेरै सिक्न आउनेहरू पनि छन्,’ उनले भनिन् । उनले बैतडी र दार्चुलाका केही स्थानीय तहमा १० दिनको तालिम दिएर आएकी छन् ।
धनगढी उपमहानगरपालिकामा सञ्चालित लघु उद्यम कार्यक्रमबाट उनको उद्योगका लागि सानो एककोठे घरको छाना बनाउन जस्तापाता सहयोग मिलेको थियो भने नेपाल घरेलु उद्योग कार्यालयले एउटा मेसिन दिएको थियो ।
अहिले उनले एक जना कर्मचारी राखेकी छन् । सानो उद्योग भएकाले बाह्रै महिना रोजगारी दिन नसकेको उनको भनाइ छ । सिप सिकेर आत्मनिर्भर हुन सकोस् भनेर उनले छोरीका लागि कस्मेटिक र ब्युटी पार्लर पसल दर्ता गराएर सञ्चालनमा ल्याएकी छन् । ‘आफूले केही काम गरे त वडा र उपमहानगरपालिकाबाट अवसर पनि आउने रहेछ,’ उनले भनिन् ।
सञ्जिता अहिले आफ्नो कामबारे सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटकमा विभिन्न सामग्री बनाएर राख्ने गर्छिन् । त्यही हेरेर उनीकहाँ सिक्न आउँछु भन्नेहरू धेरै छन् । अहिले उनको उद्योगमा पाँचदेखि ६ लाख रुपैयाँ लगानी पुगेको छ । पहिला उनी स्कुटीमा चप्पल लिएर बजार जान्थिन्, अहिले भने होलसेलमै लिन उनको पसलमै ग्राहक पुग्छन् ।
‘मेरो बजार भनेकै स्थानीय गाउँ हो । म स्थानीयकै लागि उत्पादन गर्छु । मेरो उत्पादन धनगढीको १४, १८, १९ वडामा बढी जान्छ । स्थानीय माग धान्न सकिएको छैन, बजारका लागि केही चिन्ता छैन,’ सञ्जिाले भनिन् ।
सामाजिक सञ्जाल युट्युब हेरेर सिकेको सिपले घरमै स्वरोजगार बनाउँदा उनी असाध्यै खुसी छिन् । उनका अनुसार युट्युबमा हेर्देमा पनि हुँदैन, त्यसलाई सिक्न तालिमसँगै रुचि पनि चाहिन्छ । सिप सिके कहिल्यै भोकै मर्नु नपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण