सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशीका तीन कविता

आइतबार, ०८ भदौ २०८२, १७ : ३५
आइतबार, ०८ भदौ २०८२

१) मृत्युलाई सम्झने ठाउँ काठमाडौँ

काठमाडौँ/एउटा तीर्थ/राँगाको रगतले नुहाएर
मृत्युलाई सम्झने ठाउँ/चिहान पेटमा घुसाएर हिँड्ने ठाउँ
मरेका मुसा/प्याट्ट प्याट्ट फ्याँकेका/
क्याच्च/मोटरले किचेका/
प्याच्च/गिदी निस्केका/पेट पड्केका/
घिनलाग्दो/मृत्यु सम्झने ठाउँ/काठमाडौँ/
तर मरेका कोही छैनन् यहाँ/
त्यसैले मृत्यु सम्झँदैन/यहाँ/कसैले/
कसैले देख्दैन मृत्यु, जीवन पर्दाको पछाडि/
मान्छे मारेर खान पुग्दैन देवताहरूलाई यहाँ/
जतिकै विकासे बिउ रोपोस्
यहाँ बाली उमार्न
धेरै युगअगाडि नै देवताहरूले परिवार नियोजन गरिसकेका छन्
चीनमा भएका जनताभन्दा धेरै संख्यामा रहेका देवता
अमर देवताहरू
बाँझो भइसके ती धेरै युग अगाडि नै/
तैपनि भाग पुग्दैन उनीहरूलाई/मानिसहरू मारेर खानलाई/
पालैपालो/चुस्नु मात्र चुसेका छन् यी मानिसहरूलाई
सुकेका मानिसहरू/दुब्ला मानिसहरू/
यहाँका मानिसहरूलाई मर्न पर्दैन/
त्यसैले चेत छैन उनीहरूलाई आफ्नो मृत्युको/
आफ्नो मृत्युको राजपथ
सडकमा फ्याँकिएको मृत्युलाई देखेर/
विष्णुमती/हाडको थुप्रो/मृत्युको विज्ञापन/
यमराजको विज्ञापन/
(सम्झनुस्, आफ्नो अमूल्य मृत्यु, आउनुस् लिन)
कुकुर मर्छ/आकास गन्हाउँछ/सडेको/
माइकबाट फुकिरहेको छ एडभर्टाइज त्यो मृत्युको/
कान बहिरो भइरहे पनि हुन्छ यहाँका मानिसहरूलाई/
उनीहरू कसैलाई मर्नु छैन
देवताहरू भोकै पर्नेछन् यहाँ मानिसहरू मरे भने
यो नेपालका एउटा मानिसलाई
तेत्तीस वटा देवता पाल्न
(१ कोटी जनता ३३ कोटी देवता)
देवताहरूले मार्दैनन् यिनीहरूलाई कहिल्यै पनि
आहा ! यी मानिसहरू सबै मरे भने
के गर्दा हुन् ती देवताहरूले
अमर/कहिल्यै मर्ननपर्ने देवताहरू/
भोकाउनेछन् उनीहरू असाध्य नै
तैपनि मर्नेछैनन् उनीहरू
आहा ! भोकै बस्नु पर्दा उनीहरूलाई सास्ती हुनेछ
कति सास्ती सहेर बस्नु पर्ने होला ती कहिल्यै मर्न नपर्ने जीवनले
आहा ! यी मानिसहरू एकचोटि सबै मरे भने कस्तो राम्रो हुने थियो... 

मरे भने
तर को छ यहाँ
मर्न सक्ने बहादुरहरू
मृत्युदेखि मोहित छैनन् यहाँकोही पनि
मृत्यु सम्झने ठाउँ हो यो काठमाडौँ
तर बाक्लो पर्दापछाडि 
झ्यालिंचा नाचजस्तो पनि देखिँदैन त्यो मृत्यु/मसानको आगोको राप
(पर्दा पछाडिबाट देखाइने नाचलाई के नाच भन्छ क्यारे बिर्सें मैले)
मर्न नपरेका/निचोरिएका/सुकेका/यिनीहरू/
यिनीहरूलाई एउटा वरदान छ देवताहरूको—
कसैको दुःख हेर्न नपर्ने
(सबै आफ्ना दुःख लुकाएर हिँड्छन्, इज्जतका साथ/)
नत्र आफ्नो दुःखमा मिसिन आउने/
अरूका दुःख/
कति चहर्‍याएर उठेर आउँदा हुन् प्रश्नचिन्हको प्रदर्शन
उनीहरूको मनमा
?????

ओ ! अनन्त संख्यामा ... .../अनि जुध्दैनन् त उनीहरू एकै ठाउँमा ?
स्वर्गीय हुन्छ/
शोक सभाका/शोक चिन्हहरूले !!!
यहाँ विद्रोह हुने गर्छ/देवताहरूको नाममा
कहिल्यै मर्न नपर्नेहरूको नाममा मर्नु पर्नेहरूले गर्ने विद्रोह
उह... ...
विद्रोहीलाई बढुवा गरिदिन्छ देवताहरूले (मर्नै नपर्ने पारिदिन्छ)
बुद्ध/विद्रोही/
प्रमोसन गरिदिएका छन् उनलाई ।
००

२) शोषणको अन्त

माग्नेहरूले विद्रोह गर्नुपर्छ
गरिबहरूले विद्रोह गर्नुपर्छ
कवि लेखकहरूको नाममा
कलाकारहरूको नाममा
धनाढ्य धनाढ्यहरूको मन बहलाउन
तिनीहरूको दुःखको टुप्पा खोज्यौ अहो !
तिनीहरूको कथा, नाटक बनाएर
विभूषण उनीहरूले लिए अहो !
पत्थरको मूर्तिबाट ए पत्थर निस्क
रङ्ग सबै ए चित्रबाट निस्क
अर्थ सबै ए कविताबाट निस्क
ज्यान भएका माग्ने गरिब हौ
आऊ नाटकको दुःखबाट बाहिर
एक्टिङ भन्दै छ नामै एक्टिङ
खिल्ली गरेको हो विद्रोह गर आऊ
दुःख दिएर दुःखमा पनि
नाटक बनाएर तिमीलाई अहो !
कतिसम्म मात्र शोषण हुँदो रहेछ
रहेनछ शोषणको अन्त अहो !
००

३) आगोले खाएपछि बलेर निस्केको छ सूर्य पनि

आगोले छोएपछि बलेर निस्केको छ सूर्य पनि
दुःख भएपछि रोएर निस्केको छ खुसी पनि
आऊ सबै सबै आऊ
जतिसुकै दुःखमा पनि हाँस्नु
वीरता होइन मूर्खता हो
आऊ सत्यलाई छोपेर बाँच्नु
धर्म होइन अपराध हो
आऊ स्वीकारौँ हाम्रो मुटु रोइरहेछ
आऊ हामी रोऔँ
थोत्रो जिन्दगी छोपिरहेको कपडा
धुजा धुजा पारी च्यातौँ आऊ
कस्तो आश्चर्य पर्दाले छोपेर
हामीलाई स्वीकार्न लगाएको छ कि
हामी धनी, हामीमा इज्जत छ
हामी ठूलो, हामीमा फुर्ति छ
आऊ, सत्यलाई स्वीकारौँ आऊ
घिनलाग्दो थोत्रो लुगा लगाई घुमौँ यो सहर आऊ
भोक भोकै पालिराखेको इज्जतलाई घोक्र्याएर निकालौँ आऊ
भोकै रहेर बनाएको सिक्री चुँडालौँ आऊ
कस्तो आश्चर्य सिक्रीले बाँधेर
स्वीकार गराएको छ कि
हामी धनी, हामी सुखी
आऊ दुःख भएपछि रोऔँ
जस्तोसुकै दुःखमा पनि हँसिलो मुहार देखाउनु
रित्तो अनुहारमा खोल हाल्नु हो
आऊ यो खोल च्यातौँ आऊ
आएको छैन नदी खोल ओढेर
फुलेको छैन फूल खोल ओढेर
लागेको छैन घाम खोल ओढेर
यो ओछ्यान हैन, सिरक हैन
यसमा खोल राख्नु पर्दैन यो तकिया हैन
आऊ धर्मको बोक्रा झिकेर हेरौँ
त्यहाँ तिमी एउटै पनि देवता देख्दैनौ
आऊ इज्जतको बोक्रा झिकेर हेरौँ
देख्दैनौ तिमी त्यहाँ मान्छे एउटै पनि
आऊ इतिहास चिरेर हेरौँ
देख्दैनौ त्यहाँ तिमी वीर एउटै पनि
सत्य शिव होस् या नहोस्
सत्य सुन्दर होस् या नहोस्
सत्य शक्ति हो
आऊ यसलाई नाङ्गो पारौँ
आगोले खाएपछि बलेर निस्केको छ सूर्य पनि... ।
०००

(नेपालभाषाबाट अनुवाद : डा. बालगोपाल श्रेष्ठ)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिजाप्रसाद जोशी
गिरिजाप्रसाद जोशी
लेखकबाट थप