शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

यथास्थितिमा बाँच्दैन वामपन्थ, विकल्प के ?

सोमबार, ०९ भदौ २०८२, १० : ४८
सोमबार, ०९ भदौ २०८२

अहिले सबै राजनीतिक पार्टी र नेता–कार्यकर्ताको मुखमा घोषित–अघोषित मिसन चौरासीको नारा छ । पार्टी सत्तादेखि राज्यसत्तासम्म कसरी नियन्त्रण कायम गर्ने भनेर जोडघटाउ चलिरहेको छ । केही ध्रुवीकरणका प्रयत्न पनि भइरहेको देखिन्छ । मुख्य रूपमा नयाँ र पुरानोका बिचमा, वामपन्थ र दक्षिणपन्थका बिचमा अनि अग्रगमन र पश्चगमनकै बिचमा कित्ताकाट हुने सम्भावना छ ।

नेपालको सन्दर्भमा चुनावी प्रक्रियामा सहभागी हुने र नहुने राजनीतिक पार्टीहरू सयौँको संख्यामा छन् । तिनीहरूले मूल रूपमा समाजवादी, पुँजीवादी, क्षेत्रीयतावादी र केहीले पुनरुत्थानवादी विचारको नेतृत्व गरिरहेका छन् । यही विचार र नेतृत्वको वरिपरि नै जनमत विभाजित भइरहेको छ ।

नेपालमा कम्युनिस्ट पार्टीहरूलाई नै वामपन्थी पार्टीको रूपमा चिन्ने गरिएको छ । अथवा वामपन्थी र कम्युनिस्टहरूलाई पर्यायवाचीका रूपमा लिने गरिन्छ । जनमनोविज्ञानको हिसाब गर्दा पनि आजको अवस्थासम्म बहुसंख्यक वामपन्थी जनमत देखिएको छ ।

करिब साठीको दशकसम्म संसदमा वामपन्थीले अल्पमतको रूपमा प्रतिनिधित्व गरिरहेका थिए भने संयुक्त दोस्रो जनआन्दोलन र गणतन्त्रको घोषणापछि भने संसदीय प्रतिस्पर्धामा पनि वामपन्थीहरू स्पष्ट बहुमत र कहिलेकाहीँ दुईतिहाइको नजिक पनि पुगेको अवस्था छ ।

नेपालको वाम आन्दोलनमा ठुलो विभाजन छ । गन्तव्यको विषयमा सबैको सैद्धान्तिक वैचारिक समानता नै देखिन्छ तर कार्यक्रम र कार्यनीतिको सन्दर्भमा केही मतभेद रहेका छन् । नेपाली समाजलाई समाजवादको दिशामा अग्रसर गराउनुपर्छ भन्ने आधारभूत कुरामा मतैक्यता नै छ तर कसरी गराउने, कार्यक्रमको र सङ्घर्षको स्वरूप के बनाउने भन्ने अन्त्यहीन बहसका कारण वाम आन्दोलनमा विभाजनको शृंखला निरन्तर चलिरहेको छ ।

नेपालको वाम आन्दोलनमा मुख्य दुई स्कुलिङ छन्— एउटा एमाले स्कुलिङ र अर्को माओवादी स्कुलिङ । यही स्कुलिङबाट उदाएका अन्य वाम शक्ति पनि राजनीतिक मैदानमा देखिन्छन् । यी फरक स्कुलिङबाट अगाडि बढेका पार्टीको आ–आफ्नै प्रकारको सङ्घर्षको गाथा र साङ्गठनिक अभ्यास र अनुभव छन् । यी फरक स्कुलिङका बिचमा सहकार्य, एकता र प्रतिस्पर्धाको शृङ्खला निरन्तर चलिरहेको छ ।

यी फरक दुई स्कुलिङबाट हुर्केका नेतृत्व र पार्टीहरूको आजको कम्युनिस्ट जनमत निर्माण गर्ने सन्दर्भमा ठुलो भूमिका रहेको छ । २०१५ सालको पहिलो आम निर्वाचनमा १०९ निर्वाचन क्षेत्रमध्ये ४७ स्थानमा उम्मेदवारी दिएर चार स्थानमा विजयी भई ८.५१ प्रतिशत जनमत बनाएको नेपाल कम्युनिस्ट पार्टीले त्यसको पाँच दशकको अवधिमा लोभलाग्दो र लोकप्रिय जनमत निर्माण गरेर वर्तमानसम्म टिकाइराख्ने साङ्गठनिक क्षमता कम महत्त्वको होइन ।

२०१५ सालको पहिलो आम निर्वाचनमा १०९ निर्वाचन क्षेत्रमध्ये ४७ स्थानमा उम्मेदवारी दिएर चार स्थानमा विजयी भई ८.५१ प्रतिशत जनमत बनाएको नेपाल कम्युनिस्ट पार्टीले त्यसको पाँच दशकको अवधिमा लोभलाग्दो र लोकप्रिय जनमत निर्माण गरेर वर्तमानसम्म टिकाइराख्ने साङ्गठनिक क्षमता कम महत्त्वको होइन ।

विभाजन, एकता र ध्रुवीकरण हुँदै अगाडि बढिरहेको वाम आन्दोलन आफैँमा चुनौतीपूर्ण भने छैन । सबैभन्दा पहिलो चुनौती नै सबै वामपन्थीलाई एउटै शक्ति बनाएर एकीकृत वाम आन्दोलनको निर्माण कसरी गर्ने भन्ने हो । त्यसै गरी दक्षिणपन्थ र पुनरुत्थानवादीसँग सैद्धान्तिक, व्यावहारिक तथा कार्यक्रमिक प्रतिस्पर्धाबाट अब्बल साबित हुने अर्को चुनौती छँदै छ । अर्को ठुलो चुनौती भनेको थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतिकूलताका बाबजुद सामाजिक न्यायसहितको आर्थिक, सामाजिक रूपान्तरणको विषयलाई सम्बोधन गर्ने गरी नेतृत्व गर्ने हो । जुन विषयमा नेपालका वामहरू बारम्बार चुकिरहेका छन् ।

अवसरहरू बारम्बार नआउन सक्छन् । आजको दुनियाँमा सानासाना मुद्दाले राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिमा प्रभाव पारिरहेका छन् । त्यसको असर हाम्रो घरेलु राजनीतिमा पनि परिरहेको छ । आजको नेपाली समाजले तीव्र रूपान्तरणको माग गरेको छ । वैकल्पिक शक्ति र नेतृत्वको खोज गरेको छ । त्यसका केही झिल्का पार्टीका आन्तरिक प्रतिस्पर्धामा देखिन थालेका छन् भने गत स्थानीय र संसदीय निर्वाचनमा पनि केही ट्रायल जनताले गरेका छन् ।

नेपालको राजनीतिक गर्भमा कहीँ न कहीँ केही पाकिरहेकै छ । त्यसले उपयुक्त मौका र बाटोको प्रतीक्षा गरिरहेको छ । यो अस्थिर र चञ्चल राजनीतिमा शान्तिपूर्ण रूपान्तरण र विकल्पको सम्भावनाको अन्त्यको महसुस हुनेबित्तिकै अप्रत्याशित घटना र परिणाम नदेखिएलान् भन्न पनि सकिँदैन ।

अस्थिरता नेपाली राजनीतिको महारोग बनेको छ । जसका कारण राज्यका सबै अङ्ग प्रभावित भएका छन् । ज्ञान उत्पादनको केन्द्र विश्वविद्यालयदेखि किसानको भान्सासम्म राजनीतिक छिनाझपटीको सिकार हुनुपरेको छ । अस्थिरता अन्त्यका सोझा र सरल उपाय पनि छन् । मुद्दा र विचारका आधारमा ध्रुवीकरण र प्रतिस्पर्धा गर्ने हो भने स्थिरता कायम गर्नलाई कुनै समस्या हुँदैन ।

समय गतिशील छ । मनुष्यको मनस्थिति परिवर्तनशील छ । समाजको आधारभूत चरित्र प्रगतिशील छ तर नेपाली वाम आन्दोलन निरन्तरतामा मात्र छ । सामाजिक आवश्यकता, चाहना र वाम आन्दोलनबिचको तालमेल नमिलेको यहीँनेर हो । समाजले चाहन्छ एकता, पार्टीहरू हुन्छन् विभाजित, जनताले चाहन्छन् स्थिरता र समृद्धि, अभ्यासमा भइदिन्छ अस्थिरता र दण्डहीनता, कार्यकर्ताले चाहन्छ आत्मसम्मान र जनवाद, लागु भइदिन्छ अर्कै थोक । वाम आन्दोलनमा समस्याको जड यही वरिपरि छ । शास्त्रीय शब्दजालबाट माथि उठेर आजको समाजको माग र आवश्यकताका बारेमा नीति निर्माण गरेर परिणाम दिन सकिएन भने अबको पुस्ताले वाम जनमत धान्ने वातावरण सायदै बन्न सक्छ ।

पुँजीवादी पार्टी र पुनरुत्थानवादी शक्तिभन्दा वाम पार्टीहरू फरक हुनैपर्छ । विचार र सङ्गठनमा भिन्नता भइसकेपछि चरित्र, प्रवृत्ति र कार्यक्रममा अन्तर हुनुपर्छ । बाघ साकाहारी भयो भने हरेक घरमा कुकुरलाई जसरी पाल्न सुरु हुनेछ । जसले गर्दा बाघले आफ्नो पहिचान गुमाउनेछ । वाम पार्टीहरूले पनि आफ्नो पहिचान जोगाउने हो भने अरू शक्तिभन्दा कसरी पृथक् हो, अग्रगामी प्रवृत्तिमार्फत पुष्टि गर्नुपर्छ ।
हिजोको वाम आन्दोलनसँग उद्देश्य थियो, कार्यक्रम थियो । त्यसका लागि त्याग र बलिदान गर्ने प्रवृत्ति थियो । त्यही कारणले नै आजको यति उत्साहपूर्ण जनमत निर्माण गर्न सफल भयो । तर आजको चरम उपभोक्तावादी समाजमा सामाजिक मनोकाङ्क्षालाई सम्बोधन गर्न सक्ने पार्टी र नेतृत्वको निर्माणको विषय प्रधान भएर आएको छ ।

आजका जनतासँग छनोटका थुप्रै विकल्प छन् । जनताको छनोट सधैँ सही हुन्छ भन्ने हुँदैन; सत्य कुरा के हो भने एउटा गलत छनोटले देश र जनताले लामो समयसम्म दुःख पाउनुपर्ने हुन्छ । वर्तमान आँखाले नेपाली समाज नियाल्दा अवसरहरूको अभाव देखिन्छ, सबैजसो क्षेत्रमा छरपस्ट समस्याहरू भेटिन्छन्, मौजुदा पार्टी र नेतृत्वप्रति प्रश्नहरूको चाङ छ र वितृष्णाले हद पार गर्न खोज्दै छ । यो परिस्थितिमा केही मानिस कुनै पनि प्रकारको समाजवादको नारा नेपालका लागि दुःख हो भनेर प्रोपोगान्डा चलाउन खोजिरहेका छन् ।

यस्तो अवस्थामा शक्तिशाली जनमत भएका नेपाली वामपन्थीहरूले राष्ट्रिय निकास दिन नसक्ने हो भने शक्ति सन्तुलनको बदलाब अवश्यम्भावी छ । वामपन्थ आफैँमा एक अग्रगामी आन्दोलन भएको हुँदा र जनमत पनि आफ्नो अनुकूलतामा भएको हुँदा अझै एकपटक अन्तिम अवसर प्राप्त हुन सक्छ । यो अवसरको सदुपयोग गर्न सकिएन भने पश्चिम बङ्गाल हुनबाट कसैले रोक्न सक्दैन ।

आजको नेपाली वाम आन्दोलन जनमत भएको तर देश र जनतालाई उचित नेतृत्व दिन नसकेको आन्दोलन बनेको छ । राजनीतिक आन्दोलनमा धेरै योगदान गरेका नेतृत्व पनि समय क्रममा असान्दर्भिक बन्ने रहेछन् भन्ने इतिहासमा अभ्यासले पुष्टि गरिदिएको छ । देश हाँकेका, हाँकिरहेका र हाँक्न तयार भएर बसेकाहरू जसले बारम्बार अवसर प्राप्त गर्दा पनि आफूलाई अब्बल साबित गर्न सकेनन् । त्यस कारण नेताहरू सैद्धान्तिक र कल्पनाशील बने तर समयचेत अनि युगलाई चिन्न नसक्दा व्यावहारिक रूपमा सफल बन्न सकेनन् ।

कुनै पनि क्षेत्र विकल्पविहीन हुँदैन । अहिलेको राजनीतिको पनि विकल्प छ, व्यवस्थाको विकल्प छ, नेतृत्वको विकल्प छ । वाम आन्दोलनभित्र पनि नेतृत्वका थुप्रै विकल्प छन् । एउटा निर्वाचनबाट अर्को निर्वाचनसम्म, निषेधबाट निषेधसम्म, बैठकबाट बैठकसम्म, परम्परागत ‘जार्गन’बाट ‘जार्गन’सम्म, सरकारबाट सरकारसम्म, मोलमोलाइबाट बढाबढसम्म मात्रको यात्राले अबको दुनियाँमा प्रतिस्पर्धा हुन सक्दैन ।

अब वामपन्थीहरूले ऐतिहासिक सिंहावलोकन गरेर नयाँ उपायहरूको खोजी र अनुसन्धान गर्न; वैचारिक आधारमा नयाँ एकता गर्न र विधिमा आधारित व्यवस्थित साङ्गठनिक अभ्यास गर्न आवश्यक छ । पार्टी, सत्ता र राज्यसत्ता बिचको भूमिकालाई स्पष्ट गरी आफ्नो वामपन्थी गुणप्रति जनतालाई विश्वस्त तुल्याउन नसक्ने हो भने अग्रगामी प्रवृत्ति हराएको यथास्थितिमा वामपन्थ बाँच्न सक्दैन ।

(गुरुङ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काजी गुरुङ
काजी गुरुङ
लेखकबाट थप