बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वीरगन्जमा हैजा नियन्त्रणका लागि एकद्वार नीति : औषधि वितरणमा सतर्कता

सोमबार, ०९ भदौ २०८२, १४ : २४
सोमबार, ०९ भदौ २०८२

सारांश

  • वीरगन्जका मेयर राजेशमान सिंहले हैजा नियन्त्रणका लागि एकद्वार नीति अपनाउन निर्देशन दिएका छन्।
  • निजी अस्पतालहरूले किट बिक्री गर्न खोजेको भन्दै सरकारले निःशुल्क उपलब्ध गराउने बताए।
  • स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज वीरगन्ज आउने र सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ।

वीरगन्ज । वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहले हैजा प्रभावित क्षेत्रमा जथाभाबी औषधीजन्य सामग्री वितरण नगरी एकद्वार नीति अवलम्बन गर्न निर्देशन दिएका छन् । साेमबार हैजाको सङ्क्रमण नियन्त्रणमा प्रभावकारिता ल्याउन उनले साे नीति अवलम्बन गर्न निर्देशन दिएका हुन् ।  उनले हैजालाई ‘हौवा’ बनाएर व्यापार नगर्न पनि सबैलाई आग्रह गरे ।

निजी अस्पतालहरूले परीक्षणको नाममा किट बिक्री गर्ने प्रयास गरेको देखिएको भन्दै सिंहले सरकारले नै किट निःशुल्क उपलब्ध गराउने स्पष्ट पारे ।  वीरगन्जमा आयोजित अन्तरक्रियात्मक छलफलमा स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ, प्रदेश स्वास्थ्य निर्देशनालय र महानगर स्वास्थ्य शाखाका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रमुख सिंहले हैजा नियन्त्रणका सबै कार्य एकीकृत प्रयासमार्फत गर्नुपर्नेमा जोड दिए ।

छलफलमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक विशाल सुवेदीले सरकारी स्वास्थ्य संस्थालाई नै उपचारको मुख्य केन्द्र बनाउनुपर्नेमा जोड दिँदै, निजी स्वास्थ्य संस्थाले झाडापखाला जन्य रोगको उपचारका लागि समान मापदण्ड अपनाउनु उपयुक्त हुने बताए । महानगरको समन्वयमा मन्त्रालयको टोलीले निजी अस्पतालहरूको अनुगमन गर्ने र त्यहाँ आइसियुमा उपचाररत बिरामीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने तयारी रहेको जानकारी दिइयो ।

त्यसैगरी स्वास्थ्य सेवा विभागका सरुवा रोग शाखाका प्रमुख डा.प्रवीण झाले हैजाको परीक्षण बारम्बार गर्न आवश्यक नभएको स्पष्ट पारे । ‘एउटा बिरामीमा हैजाको पुष्टि भइसकेपछि, त्यस्तै लक्षण देखिएका अन्य बिरामीको परीक्षण दोहोर्‍याइरहनु पर्दैन, बरु सीधा उपचारमा ध्यान दिनुपर्छ,’ भन्दै उनले स्वास्थ्यकर्मीलाई उपचारमा प्राथमिकता दिन आग्रह गरे ।

यसैबिच वीरगन्जमा फैलिएको हैजाको अवस्था प्रत्यक्ष अवलोकन गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेल आज दिउँसो वीरगन्ज आउँदैछन् । उनी दिउँसो २ बजे नारायणी अस्पताल पुग्ने कार्यक्रम रहेको छ । अस्पताल निरीक्षणपछि मन्त्री पौडेलले महानगर र सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागको उच्चस्तरीय टोली हिजोदेखि नै वीरगन्जमा खटिएको छ र हैजा नियन्त्रण तथा उपचारका गतिविधि नजिकैबाट अनुगमन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप