उम्मेदवार बन्नुअघि आन्तरिक परीक्षणमा रास्वपाका ९ आकांक्षी, को कस्ता ?
सारांश
- रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवार छनोट विधि सुरु गरेको छ।
- उम्मेदवार छनोटका लागि लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र प्राइमरी निर्वाचनलाई आधार मानिनेछ।
- रास्वपाबाट उम्मेदवार बन्न नौ जनाले आवेदन दिएका छन्, जसमा विभिन्न पृष्ठभूमिका व्यक्तिहरू छन्।
काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रारम्भिक उम्मेदवारहरुको बहुआयामिक पक्ष केलाउन व्यस्त छ । उम्मेदवार छनोट विधिअन्तर्गत साउन २७ गतेदेखि प्रारम्भिक उम्मेदवारहरूको ‘लिडरसिप एकेडेमी’ र ‘पोलिटिकल प्रोक्सिमिटी’ सहितका बहुआयामिक पक्षको मापन भइरहेको छ ।
कात्तिक १७ गते उपनिर्वाचनका लागि सोही श्रृंखलाको अर्को कडी ‘क्यान्डिडेट बेन्च’ सञ्चालन विधि र त्यसका विभिन्न पक्षबारे रास्वपाले सामाजिक सञ्जालमा सार्वजनिक गरिसकेको छ । उपसभापतिसँग उम्मेदवारको ‘वान टु वान’ छलफल सम्पन्न भएको लुम्बिनी प्रदेशका इन्चार्ज तथा सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीमा विशेषगरी सभापतिको पद, उपसभापति, महामन्त्री भनेको सम्पूर्ण पार्टीको अभिभावकत्व पनि हो । त्यो अभिभावकत्व ग्रहण गर्ने पदहरु ओगट्ने व्यक्तिमध्येको एकजना उपसभापतिसँग हरेक क्यान्डिडेटले फेरि वान–टु–वान अन द रेकर्ड र अफ द रेकर्ड छलफल पनि गर्नुभएको छ,’ उनले भने, ‘त्यो पनि हामीले सकायौं, त्यसको अन द रेकर्ड भिडियो एक–दुई दिनमा हामी सार्वजनिक गर्छौं ।’
रास्वपाबाट आधिकारिक उम्मेदवार बन्नका लागि नौ जनाले आवेदन दिएका छन् । सबैजना उम्मेदवारलाई रुपन्देही-३ को आफूले छानेको क्षेत्रमा गएर काम गर्न दिएका फरक–फरक कामहरूको पनि दस्तावेजीकरण सम्पन्न भएको आचार्यले बताए । उनका अनुसार पार्टीले दिएको आधारभूत ‘आउटलाइन’मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
राजनीतिक निकटताका केही प्राविधिक काम बाँकी नै भएकाले प्राइमरी निर्वाचनको अन्तिम परिणाम आएसँगै भदौ १५ गते उम्मेदवारहरूको अन्तिम परिणाम सार्वजनिक गर्ने आचार्यले जानकारी दिए ।
‘भदौ १२ र १३ गते प्राइमरी इलेक्सन हुन्छ । त्यसपछि त्यो प्राइमरी इलेक्सनको रिजल्ट र अहिलेसम्म जति पनि गरेका एक्टिभिटिजहरु छन्, जुन लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटीभित्र पर्छ, त्यो सबैलाई बेस बनाएर १५ गते सिधै हामी क्यान्डिडेट अनाउन्स गर्छौं’, उनले भने ।
२०८४ को आम निर्वाचनका लागि नमुना सर्वेक्षणका रुपमा प्रयोगमा ल्याएको रास्वपाको उम्मेदवार छनोट विधि अन्य दलको भन्दा फरक छ । रास्वपाले अघिल्लो निर्वाचनमा प्राइमरी विधिबाट मात्र उम्मेदवार छनोट गरेको थियो । देश बनाउन आउने व्यक्ति सामान्य विषय नभएकाले अयोग्य उम्मेदवार छनोट नहोस्, छनोट विधि र प्रक्रिया पारदर्शी होस् भनेर नै पार्टीले मापदण्ड बनाएको उनले दाबी गरे ।
रास्वपाले यसपटक दुई भागबाट उम्मेदवार छनोट मापदण्ड बनाएको छ । १०० पूर्णांकमध्ये ५० प्रतिशत लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी र समावेशितालाई छुट्याएको छ । ५० प्रतिशत प्राइमरी निर्वाचन विधि अपनएको छ । दुवै विधि र प्रक्रियाबाट जसले बढी अंकभार पाउँछ, उसले नै आधिकारिक उम्मेदवारको टिकट पाउँछ । यो विधिबाट जो विजयी भएपनि उपनिर्वाचनमा समर्थन गर्ने नौ जनाले नै लिखित प्रतिबद्धता जनाएका छन् ।
रास्वपाको अभिलेख अनुसार आकांक्षीहरूको परिचय यस्तो छ-
मधुप्रसाद अर्याल
अर्याल बुटवल उपमहानगरपालिका–१७ का स्थायी बासिन्दा हुन् । उनी शिक्षाविद् तथा समाजसेवी हुन् । अर्यालले अटिजम र भाषिक समानताको क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव हासिल गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गर्दै उनले अन्तर्राष्ट्रिय अनुसन्धान फेलोको सम्मान प्राप्त गरेका छन् ।
हाल उनी रास्वपाको रुपन्देही–३ का क्षेत्रीय सभापति र आसन्न उपनिर्वाचनका लागि पार्टीका एक प्रारम्भिक उम्मेदवार हुन् । उनको दृष्टि शिक्षित, समावेशी र आत्मनिर्भर रुपन्देही निर्माण गर्ने रहेको छ ।
सुलभ खरेल
बुटवल–१६ का स्थायी बासिन्दा अधिवक्ता खरेल कानुनी अभियन्ता र नागरिक अधिकारकर्मी हुन् । उनी सर्वोच्च अदालतमा चर्चित संवैधानिक र सार्वजनिक सरोकारका मुद्दाहरूमा वकालत गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटन प्रकरणमा वकालत गरेर खरेल चर्चामा आएका थिए ।
जनसेवा श्रीद्वारा विभूषित खरेल नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय कानुनी प्रणालीका बारेमा समेत जानकार छन् । हालै उनले अमेरिकाको मिसिगन विश्वविद्यालयबाट संवैधानिक तथा फौजदारी कानुनमा एलएलएम (स्नातकोत्तर) गरेका छन् ।
जितबहादुर गुप्ता
गुप्ता २०७९ को निर्वाचनमा रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा संकाय, अर्थशास्त्र र गणितमा स्नातक गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका गुप्ताले कूटनीतिक अर्थशास्त्रमा थेसिस गरिरहेका छन् ।
उनी विगत १५ वर्षदेखि काठमाडौं, बुटवल र भैरहवाका विभिन्न विद्यालय तथा कलेजहरूमा अध्यापन कार्य गर्दै आएका छन् । लेखक समेत रहेका गुप्ता २०७५ सालदेखि प्रकाशित आफ्नो पुस्तक ‘दी डाइमन्ड, स्टोरी क्यान चेन्ज लाइफ’ मार्फत बालबालिकालाई प्रेरणा दिने काम गर्दै आएका छन् ।
डा. लेखजंग थापा
सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन् । उनले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा लामो समय बिताएका छन् ।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्युरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।
अनुसन्धानकर्मी समेत रहेका उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत रहेका डा. थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा भूमिका खेलेका छन् । उनकै टिमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकल समेत जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत स्वीकृत गरेको छ ।
डा. थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत स्ट्रोकको पहिचान, उपचार र सचेतनासम्बन्धी तालिम दिँदै आएका छन् । उनी काठमाडौँको व्यस्त जीवनशैलीलाई छल्दै डेढ दशकयता हप्ताको दुई दिन जन्मभूमि भैरहवा पुगेर बिरामीको सेवा गर्दै आएका छन् । मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएका हुन् ।
पुनमकुमारी अग्रवाल
सिद्धार्थनगर–८ निवासी अग्रवाल उद्योगी र समाजसेविकाको रुपमा रुपन्देही जिल्लाबासीमाझ परिचित छिन् । उनी मान्छे र माटो जोगाउने उद्यमीको रुपमा पनि चर्चित छिन् ।
विगत १२ वर्षदेखि यस क्षेत्रका गरिब, विपन्न र असहायका लागि आर्थिक र सामाजिक सहयोग गर्दै आएकी छिन् । अग्रवाल सामाजिक व्यक्तित्वसँगै युवा उद्यमी र राजनीतिकर्मीको समेत परिचय बनाएकी छिन् । मेडिकल माइक्रोबायोलोजीमा स्नातकोत्तर गरेकी उनीसँग मेडिकल कलेजहरूमा अध्यापन गराएको अनुभव समेत छ ।
रचना क्षेत्री
रचना क्षेत्री पोखरामा जन्मिएकी हुन् । विवाहपछि सिद्धार्थनगर–३ की स्थायी बासिन्दा भएकी हुन् । प्रारम्भिक बालविकास शिक्षामा संलग्न रहँदै उनले विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छिन् । साथै, उनी सिद्धार्थ उद्योग वाणिज्य संघको निर्वाचित कार्यसमिति सदस्य समेत हुन् ।
महिला, युवा तथा बालबालिकासहित समाजका विभिन्न समुदायसँग सम्बन्धित सामाजिक सेवामा सक्रिय रहँदै क्षेत्रीले २०७९ सालमा संविधान दिवसको अवसरमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘समाज सेवा रत्न’ पदक प्राप्त गरेकी थिइन् ।
उनले २०८० सालमा रास्वपा प्रवेश गरेकी थिइन् । सिद्धार्थनगर नगरपालिका प्रशिक्षण विभाग प्रमुख रहेकी क्षेत्रीले हाल रुपन्देही जिल्ला कोषाध्यक्ष रहेकी छिन् । बालबालिकाको क्षेत्रमा विशेष चासो राख्ने उनी अटिजमसम्बन्धी अध्ययनमा सक्रिय छिन् ।
कुसुम महर्जन
मध्यपुर थिमि–६ भक्तपुरमा हाल बस्दै आएकी महर्जन सिद्धार्थनगर नगरपालिका निवासी हुन् । सामाजिक व्यक्तित्वको छवि बनाएकी उनी लामो समयदेखि शिक्षा, महिला, बालबालिका तथा सामाजिक विकास र समाजसेवामा सक्रिय रहँदै आएकी छिन् । साथै, देशका ५० भन्दा बढी जिल्लाको सामाजिक, भौगोलिक परिस्थिति र समस्यासँग परिचित छिन् । रास्वपाकी संस्थापक सदस्य रहेकी महर्जनले त्रिभुवन विश्वविद्यालयबाट बीबीएस र रुरल डेभलपमेन्टमा अध्ययन पूरा गरेकी छिन् । २०७९ सालमा रास्वपाको समानुपातिक सूचीमा रहेकी उनी रुपन्देही–३ मा उम्मेदवार बन्ने उद्देश्यका साथ राजीनामा दिएकी थिइन् ।
पार्थिवेन्द्र उपाध्याय
सिद्धार्थनगर–७ का उपाध्याय शिक्षक र सामाजिक अभियन्ता हुन् । उनी लामो समयदेखि शिक्षा र समाजसेवामा सक्रिय रहँदै आएका छन् । रुपन्देही क्याम्पसको प्रमुख भएर उनले संस्थालाई आर्थिक र शैक्षिक रूपमा पुनर्जीवित गर्ने काममा सक्रिय भूमिका खेलेका छन् । उपाध्यायले नर्वेबाट अंग्रेजी भाषाशास्त्रमा स्नातकोत्तर गर्नुका साथै राजनीतिशास्त्र र कानुनको अध्ययन गरेका छन् ।
ज्ञानु पौड्याल
पौड्याल सिद्धार्थनगर–८ की स्थायी बासिन्दा हुन् । महिला तथा बालबालिका अधिकार, भ्रष्टाचार विरुद्धको अभियान, शान्ति, उत्पादनमूलक क्षेत्रमा लगानी गरी आत्मनिर्भर बनाउने अभियान, सहकारीको विकास जस्ता क्षेत्रमा योगदान गर्दै आएकी छिन् ।
तीन दशकभन्दा बढी समयदेखि उनी सक्रिय सामाजिक अगुवा बनेकी छिन् । जनउत्थान सहकारीकी अध्यक्ष भएर ३९ हजारभन्दा बढी सदस्यलाई आर्थिक तवरले सशक्तीकरण गराएकी छिन् । नेपाल सरकारले प्रदान गरेको सुप्रबल जनसेवा श्री पदकसहित विभिन्न पुरस्कार–सम्मानले विभूषित भएकी पौड्याल अन्तर्राष्ट्रिय क्षेत्रमा पनि अमेरिका, जापान, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया लगायत दर्जनौं मुलुकमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै आएकी छिन् । पौड्याल दक्षिण एसियाको लैङ्गिक समानता पुरस्कारबाट समेत सम्मानित भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण