रुपन्देही-३ उपनिर्वाचन : कांग्रेस-एमालेलाई धक्का दिने रणनीतिमा रास्वपा
काठमाडौँ । कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनले प्रमुख राजनीतिक दलहरूको शक्ति परीक्षण पनि गर्नेछ । २०८४ को आम निर्वाचन आउन २७ महिना बाँकी छ । त्यसअघि हुन गइरहेको उपनिर्वाचन कुन दलको शक्ति कति छ भन्ने मत सर्वेक्षण गर्ने एक माध्यम हो ।
यस निर्वाचनले सत्ता समीकरणमा खासै प्रभाव नपार्ने भएपनि दलहरूको लोकप्रियता मापन हुने हुँदा सबैको चासो देखिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत परम्परागत दल र आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस निर्वाचनलाई प्रतिष्ठाको विषय नै बनाएको देखिन्छ । अहिले संघ र सबै प्रदेशमा दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार रहेको छ ।
गठबन्धन सरकारले सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर थुनामा राखेको आरोप रास्वपाले लगाएको छ । सहकारी ठगीको आरोपमा लामिछानेमाथि सरकारले रुपन्देही, कास्की, चितवन, काठमाडौँ र पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा पुर्पक्षका लागि भैरहवा जेल चलान भएका लामिछाने १३१ दिनपछि ललितपुरस्थित नख्खु जेल सरुवा भएका छन् । राजनीतिक प्रतिशोध विरुद्ध रास्वपाले देशभर हस्ताक्षर अभियान चलाएको छ । हस्ताक्षर अभियानको प्रभाव रुपन्देही–३ मा परेको विपक्षी दलका नेताहरूले पनि स्वीकारेका छन् । पुराना दलहरूप्रति आम नागरिकको वितृष्णा, सत्तामा बसेर कांग्रेस र एमालेप्रति बढ्दै गएको अलोकप्रियताको फाइदा उठाउने दाउमा रास्वपा देखिन्छ ।
उम्मेदवार छनोटका लागि आन्तरिक तयारीमा जुटेका कांग्रेस र एमालेका नेताहरूले यसपटक एक्लाएक्लै उम्मेदवारी उठाउने बताएका छन् । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा फिल्ड रिपोर्टिङका लागि दुई पटक रुपन्देही पुगिसकेका छन् । तर कांग्रेस र एमालेको पक्षमा यो पटक उभार नदेखिएको स्थानीय नेताहरूले बताएका छन् ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीका एक नेताका अनुसार उपनिर्वाचनमा कांग्रेस र एमालेलाई ठुलो धक्का लाग्ने देखिएको छ । माओवादीको हकमा पहिले पनि कमजोर जनाधार भएको क्षेत्र भएकाले यसपटक जित्नेभन्दा पनि अघिल्लो निर्वाचनको तुलनामा मत बढ्ने ती नेताको दाबी छ ।
‘रास्वपाको भोट सबै ठाउँमा बढ्ने देखिन्छ । हस्ताक्षर अभियानमा कांग्रेस र एमालेका चिनिएका नेताहरूले पनि सहभागी भएका छन् । स्थानीय संघसंस्था, खानेपानी, टोल विकास समिति लगायतमा विद्रोह गरेर रास्वपा गएका छन्,’ त्यहाँको वस्तुगत अवस्थाबारे जानकारी दिँदै ती नेताले भने, ‘तिलोत्तमा नगरपालिकाको कांग्रेस जिल्ला सभापतिको वडा, एमाले अध्यक्षको टोलमा समेत रास्वपाले ठुलो मार्जिन स्थानीय संघसंस्थामा जितेको छ । त्यसको प्रभाव प्रत्यक्ष रुपमा कांग्रेस र एमालेमा पर्ने देखिन्छ ।’
लामिछानेलाई भैरहवामै राखेर निर्वाचन गर्दा कांग्रेस र एमालेलाई धक्का लाग्ने देखेर नै जेल सरुवा गरिएको रास्वपाका नेताहरूको बुझाइ छ । त्यस क्षेत्रबाट निर्वाचन लड्न रास्वपाबाट ९ जनाले पार्टीको केन्द्रीय निर्वाचन समितिमा निवेदन दिएका छन् । तीमध्ये कुसुम महर्जन बाहेक सबै स्थानीय व्यक्ति रहेका छन् । पार्टीको आधिकारिक उम्मेदवार छनोटका लागि रास्वपाले भदौ १२ र १३ गते प्राइमरी निर्वाचन गर्दैछ । आकांक्षीमध्ये कुनै एक उम्मेदवार भएमा बागी उम्मेदवारी नदिने र पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउने लिखित प्रतिबद्धता जनाइसकेको छ ।
रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेशका इन्चार्ज विपिनकुमार आचार्य निर्वाचन जित्ने हिसाबले नै तयारीमा जुटिरहेको दाबी गर्छन् । तर जित्ने आधार के–के हुन् भन्ने विषयमा अहिले नै भन्नु परिपक्व हुने उनी बताउँछन् ।
‘तर यति भन्न सकिन्छ कि सत्ताधारी कांग्रेस र एमालेले हाम्रा सभापतिमाथि राजनीतिक पूर्वाग्रह तथा प्रतिशोध राखेको कुरा जनताले स्पष्ट बुझेका छन्,’ उनी भन्छन् ।
२०७९ को निर्वाचनमा रुपन्देही–३ बाट राप्रपाका नेता दीपक बोहरा निर्वाचित भएका थिए । बोहराको निधन भएपछि निर्वाचन अयोगले उपनिर्वाचन घोषणा गरेको हो । उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा २६ दलले दर्ता गरेका छन् । निर्वाचन प्रयोजनका लागि आयोगले असोज २१ गते उम्मेदवारहरूको मनोनयन दर्ता खुला गरेको छ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
कुन दलबाट को-को छन् आकांक्षी ?
कांग्रेस स्रोतका अनुसार पूर्वमन्त्री तथा सोही निर्वाचन क्षेत्रमा २०७९ को निर्वाचनका प्रत्यासी बालकृष्ण खाण उम्मेदवार बन्न चाहे उनलाई नै प्राथमिकतामा राखेको छ । खाण उम्मेदवार बन्न नचाहे पहिलो नम्बरमा रामचन्द्र ढकाल छन् । २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यमा ढकाल पराजित भएका थिए । संस्थापन इतर पक्षका पुराना नेता ढकाल युवापुस्ता आकर्षित हुन नसक्ने नेता तथा कार्यकर्तामा आशंका छ ।
दोस्रो नम्बरमा विमल ढकाल छन् । त्यही क्षेत्रका महासमिति सदस्य/महाधिवेशन प्रतिनिधि ढकाल व्यवसायी र युवा हुन् । उनी भने अहिलेसम्म निर्वाचन नलडेका ‘अनटेस्टेड’ अनुहार हुन् । विमल इतर समूहका नेता डा. शेखर कोइरालासँग निकट भए पनि रुपन्देहीमा बालकृष्ण खाणसँगै छन् ।
तेस्रो नम्बरमा पुष्पा थरुनी छिन् । थरुनी जनजाति महिला र २०७४ सालको निर्वाचनमा लुम्बिनी प्रदेशमा समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य थिइन् । महिला र जनजाति पनि भएकाले थरुनीको सम्भावना देखिन्छ ।
रुपन्देही–३ का क्षेत्रीय सभापति रहेका सुशील गुरुङ पनि उम्मेदवारको आकांक्षी छन् । गुरुङ सार्वजनिक निर्वाचनमा नहोमिएका ‘अनटेस्टेड’ अनुहार हुन् ।

एमालेबाट सोही क्षेत्रको इन्चार्ज समेत रहेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई आकांक्षी छन् । २०७९ को निर्वाचनमा रुपन्देही–५ बाट उम्मेदवारी दिन उनले राष्ट्रियसभा एमाले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । तर तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरेलाई पहिल्यै टिकट दिएकाले भट्टराईको उम्मेदवारी रद्द भएको थियो । सिद्धार्थनगर नगरपालिकाका पूर्वमेयर हरि अधिकारी पनि आकांक्षी रहेका छन् । यस्तै व्यवसायी शशी पौडेल र भैरहवाका यज्ञजीत शाहले उम्मेदवारमा आकांक्षी छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति सदस्य हकिकुल्लाह मुसलमानलाई प्राथमिकतामा राखिएको भएपनि कुनै निर्णयमा नपुगेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । उनले उम्मेदवार बन्न नचाहेमा कसलाई बनाउने भन्ने विषयमा छलफलकै क्रममा रहेको बताए । यसपटक माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपा, नेकपा (एकीकृत समाजवादी), रास्वपा वा अन्य कुनै दलसँग सहकार्य नगर्ने उनले स्पष्ट पारे ।
एकीकृत समाजवादीको तर्फबाट को उम्मेदवार बन्ने भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन । अन्तिम समयमा समाजवादी मोर्चामा आबद्ध दलहरूसँग चुनावी तालमेल हुन सक्ने नेताहरूले बताएका छन् ।
यो क्षेत्रमा माओवादीको जनमत तुलनात्मक रुपमा कमजोर नै छ । ‘अघिल्लो निर्वाचनमा संघ र प्रदेश दुवैमा उम्मेदवार नहुँदा जनमत खस्किएको हो । यो पटक मत बढाउने पक्षमा छौँ,’ बरालले भने, ‘तर कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफलकै क्रममा छ । कुनै पार्टीसँग पनि चुनावी सहकार्य गर्दैनौँ ।’
यता रास्वपाबाट सुलभ खरेल (बुटवल–१६), पार्थिवेन्द्र उपाध्याय (सिद्धार्थनगर–७), डा. लेखजंग थापा (सिद्धार्थनगर–९), ज्ञानु पौड्याल (सिद्धार्थनगर–८), जितबहादुर गुप्ता (सिद्धार्थनगर–१), कुसुम महर्जन (मध्यपुर ठिमी–६ भक्तपुर), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८) र मधुप्रसाद अर्याल (बुटवल–१७) आकांक्षी देखिएका छन् ।
राप्रपाले अघिल्लो निर्वाचनमा विजयी भएका दिवंगत नेता बोहराकै परिवारका सदस्यलाई उम्मेदवार बनाउने सम्भावना छ । बोहराका दुई श्रीमतीमध्ये जेठी मञ्जुतर्फका छोरा गौरव, कान्छी श्रीमती उन्नतितर्फका छोरा प्रज्ज्वल बोहरा उम्मेदवारी बन्न इच्छा देखाएका छन् । गौरव पेशाले पाइलट हुन् भने प्रज्ज्वल इन्जिनियर हुन् । नातिनी स्वाती थापा पनि राजनीतिमा आउन इच्छुक देखिएकी छिन् । राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी उनी पार्टीका हरेक कार्यक्रममा सक्रिय सहभागी हुने गरेकी छिन् । यस्तै राप्रपा जिल्ला अध्यक्ष एवं सिद्धार्थ नगरपालिका पूर्वमेयर सागरप्रताप राणा, बसन्तविक्रम शाही र दिलीप मल्लिक पनि आकांक्षी छन् ।
रुपन्देही–३ मा उम्मेदवार बन्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश शर्माको पनि चर्चा चलेको छ । अर्याल महानगरपालिकाबाट अलग भएर चुनावी मैदानमा उत्रिने तयारी गरिरहेको बुझिएको छ । बालेनका खाद्य सल्लाहकार सन्तोष गिरीको पनि चर्चा छ । यद्यपि बालेनको तर्फबाट छुट्टै उम्मेदवार उठाएमा रास्वपाको मत काट्ने हुँदा त्यसको फाइदा परम्परागत दलहरूलाई हुने सत्तापक्षका स्थानीय नेताहरूको बुझाइ छ ।
यसैगरी मधेस केन्द्रित तथा क्षेत्रीय दलहरू नाउपा, जसपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी (राजेन्द्र महतो), जनता प्रगतिशील पार्टी (हृदयेश त्रिपाठी), लोसपा, तमलोपा (वृजेशचन्द्र लाल) रहेको सात दलीय मोर्चाले साझा उम्मेदवारी दिने प्रयास गरेका छन् ।
नाउपाको आन्तरिक विवादका कारण निर्वाचन अयोगमा दल दर्ता नभएपछि पार्टीले स्वतन्त्र उम्मेदवारी दिने संरक्षक रेशम चौधरीले बताएका छन् । मधेसी मोर्चाले चौधरीले उठाएको उम्मेदवारलाई समर्थन गर्ने सम्भावना छ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि छुट्टै उम्मेदवारी दिने तयारी गरेका छन् । सरकारमा रहेको अशोक राई नेतृत्वको जसपाले एकल उम्मेदवारी दिन्छ कि कांग्रेस र एमालेका कुनै उम्मेदवारलाई समर्थन गर्छ भन्नेमा खुलेको छैन ।
अघिल्लो चुनावी परिणामको समीक्षा
२०७९ को निर्वाचनमा रुपन्देही–३ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादीतर्फबाट साझा उम्मेदवार थिए । विपक्षमा एमाले र राप्रपाको साझा उम्मेदवार थिए । त्यतिबेला सत्तापक्षबाट माओवादी र एकीकृत समाजवादीले कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई समर्थन गरेको थियो । एमालेले राप्रपाका उम्मेदवार बोहोरालाई समर्थन गरेको थियो । बोहराले ३६ हजार ७१७ मत ल्याएर विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खाणले ३४ हजार ३६ मत पाएका थिए । निर्वाचनमा पहिलोपटक भाग लिएको रास्वपाका जितबहादुर गुप्ता तेलीले ५ हजार ६९६ मत पाएर तेस्रो स्थान ओगट्न सफल भएका थिए ।
यसैगरी नाउपाका तुल्सीप्रसाद थारुले ४ हजार ७५१, जपाका प्रमोदकुमार साउतले ३ हजार ३१७, हाम्रो नेपाली पार्टीका प्रख्यात बन्जाडेले एक हजार ३८४, स्वतन्त्र उम्मेदवार केशवविक्रम खड्का एक हजार ५६ र अन्य पार्टीका उम्मेदवारले जम्मा एक हजार १५५ मत पाएका थिए ।
प्रत्यक्षतर्फ व्यक्तिको प्रभाव र दलीय गठबन्धनका कारण अत्यधिक मत ल्याए पनि प्रमुख दलहरूले समानुपातिकतर्फ प्रत्यक्षको तुलनामा निकै कम पाएको देखिन्छ । कांग्रेसले २० हजार २८९ मत ल्याउँदा एमाले १६ हजार ९८६ र रास्वपाले रास्वपा १४ हजार १५४ मत पाएको छ । समानुपातिकमा कांग्रेस, एमाले र रास्वपा तीन दलको प्रतिस्पर्धा रहेको मतले देखाउँछ । प्रत्यक्षतर्फ अत्यधिक मत ल्याएर जितेको राप्रपा समानुपातिकतर्फ जम्मा ९ हजार १८३ मत ल्याएर चौथो स्थानमा रह्यो । प्रत्यक्षमा तेस्रो स्थानमा रहेको रास्वपाले प्रत्यक्षको तुलनामा आठ हजार ४५८ बढी मत पाएर चौथो स्थानमा छ । रास्वपाका उम्मेदवार भन्दा पनि दल लोकप्रिय रहेको मतले देखाउँछ ।

यस्तै पाँचौँ स्थानमा रहेको नाउपाले ६ हजार १०, छैटौँ स्थानमा जसपा नेपालले ५ हजार २९१ र सातौँ स्थानमा रहेको लोसपाले ५ हजार ५३ मत पाएको छ । आठौँ स्थानमा जपाले ३ हजार ७३२ मत पाउँदा माओवादीले जम्मा २ हजार ६३७ मत पाएर नवौं स्थानमा छ । प्राप्त मतपरिणाम अनुसार यो क्षेत्रमा माओवादी निकै कमजोर देखिएको छ ।
यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार ९२७, हानेपाले एक हजार ३४७, एकीकृत समाजवादीले ७८१ मत पाउँदा अन्य दलले जम्मा एक हजार ६०८ मत पाएका छन् ।
स्थानीय तहमा दलहरूले पाएको मत
रुपन्देही–३ मा बुटवल उपनगरपालिकाका १४, १५, १६, १७, १८ र १९ वडा, मायादेवी गाउँपालिकाका ७ र ८ वडा, ओमसतिया गाउँपालिकाका २ नम्बर वडा पर्छ । यसैगरी सिद्धार्थ नगरपालिका, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिका १४ र १५ नम्बार वडा पर्छ । यस निर्वाचन क्षेत्रभित्रका हरेक नगरपालिका, गाउँपालिका वडाहरूमा मिश्रित चुनावी परिणाम रहेको देखिन्छ । स्थानीय तह निर्वाचनमा रास्वपाको जन्म नै नभएकाले उम्मेदवारी छैन । माओवादीले एउटा सिट पनि जितेको देखिँदैन ।
बुटवल उपमहानगरपालिका
वडा नम्बर १४ मा एमालेका उम्मेदवार विजयी भए । यहाँ कांग्रेस दोस्रो र राप्रपा तेस्रो स्थानमा थियो । वडा नम्बर १५ कांग्रेसका उम्मेदवार विजयी भए । एमाले दोस्रो, राप्रपा तेस्रो स्थानमा रहे । वडा नम्बर १६ मा पनि कांग्रेसका उम्मेदवार विजयी भए भने एमाले दोस्रो, राप्रपा तोस्रो, स्वतन्त्र चौथो स्थानमा थिए ।
यस्तै वडा नम्बर १७ मा कांग्रेसका उम्मेदवार विजयी हुँदा एमाले दोस्रो, जसपा नेपाल तेस्रो र राप्रपा चौथो स्थानमा छ । वडा नम्बर १८ मा एमालेका उम्मेदवार विजयी भएका थिए । कांग्रेस दोस्रो, एकीकृत समाजवादी तेस्रो र राप्रपा चौथो स्थानमा रहे । वडा नम्बर १९ मा पनि एमालेका विजयी भए भने कांग्रेस दोस्रो, राप्रपा तेस्रो र माओवादी चौथो स्थानमा थिए ।
मायादेवी गाउँपालिका
यस निर्वाचन क्षेत्रमा मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८ पर्छ । अघिल्लो निर्वाचनमा वडा नम्बर ७ मा लोसपाका उम्मेदवार एक हजार ३४९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका उम्मेदवारले ८६७, राप्रपाका उम्मेदवारले ३००, माओवादी लगायत अन्य उम्मेदवारले ४० मत पनि कटाउन सकेका छैनन् । यसैगरी वडा ८ मा एमालेका उम्मेदवारले ७४२ मत ल्याएर विजयी भए भने कांग्रेसका उम्मेदवारले ५३५, राप्रपाले २७५, लोसपाले २५६, जसपा नेपालले १७०, माओवादीले २८ र अन्यले ९७ मत पाएका थिए ।
ओमसतिया गाउँपालिका
ओमसतिया गाउँपालिकाका वडा नम्बर २ मात्र यो क्षेत्रमा पर्छ । यहाँ कांग्रेसका उम्मेदवारले ८६१ मत ल्याएर विजयी भएका थिए । एमालेले ६३६, जपाले ५४३ र राप्रपाले ४०४ मत पाए ।
सिद्धार्थनगर नगरपालिका
अघिल्लो निर्वाचनमा यो नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार इस्तियाक अहमद खान नौ हजार १३४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागरप्रताप राणाले आठ हजार १३७ मत पाए । एमालेका डा. रामप्रसाद बस्यालले सात हजार ३०५ मत पाउँदा जसपा नेपालका उम्मेदवारले एक हजार ९८९, एकीकृत समाजवादीका उम्मेदवारले ४७३, लोसपाका उम्मेदवारले ३६१, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले २७४ र जनमतका उम्मेदवारले २५९ मत पाएका थिए ।
उपप्रमुखमा एमालेकी उमा अधिकारी विजयी भइन् । प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार थिए । तेस्रो स्थानमा माओवादीका उम्मेदवार रहे भने चौथोमा जसपा नेपालका उम्मेदवार थिए ।
वडातर्फ १ मा जसपा नेपाल, २, ३ र ४ मा राप्रपाका उम्मेदवार विजयी भए । वडा नम्बर ५, ६, ७, ८ र १३ कांग्रेसले जितेको थियो भने वडा नम्बर ९, १० र ११ एमालेले जित्यो ।
सियारी गाउँपालिका
सियारी गाउँपालिकाका वडा १ मा राप्रपाका उम्मेदवार विजयी भएको थियो । एमाले दोस्रो, कांग्रेस तेस्रो, राष्ट्रिय जनमुक्ति पार्टी चौथो र जनमत पाचौँ स्थानमा रहे । वडा नम्बर २ मा एमालेका उम्मेदवार विजयी भए । यहाँ कांग्रेस दोस्रो, जनमत तेस्रो, राप्रपा चौथो, जसपा नेपाल पाचौँ स्थानमा रहे । वडा नम्बर ३ मा कांग्रेसकै उम्मेदवार विजयी भएका थिए । यहाँ एमाले दोस्रो, राप्रपा तेस्रो र जनमत चौथो स्थानमा रहेका थिए । वडा नम्बर ६ मा पनि एमालेका उम्मेदवार विजयी भए । कांग्रेस दोस्रो, राप्रपा तेस्रो स्थानमा रहे । वडा नम्बर ७ मा कांग्रेसका उम्मेदवार विजयी भए भने एमाले दोस्रो र राप्रपा तेस्रो स्थानमा रहे ।
शुद्धोधन गाउँपालिका
अघिल्लो निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारले सात हजार ९८३ मत ल्याएर विजयी भए । एमालेका उम्मेदवारले ६ हजार २७०, जसपा नेपालका उम्मेदवारले दुई ६२८, राप्रपाका उम्मेदवारले दुई ३४०, स्वतन्त्र उम्मेदवारले ४८४ र जनमतका उम्मेदवारले १३६ मत पाए ।
उपाध्यक्षमा एमालेका उम्मेदवारले ६ हजार ६८२ मत ल्याएर विजयी भएका थिए । माओवादीका उम्मेदवारले तीन हजार २५५, जसपा नेपालका उम्मेदवारले दुई ७६०, राप्रपाका उम्मेदवारले दुई हजार ५५० र जनमतका उम्मेदवारले ११२ मत पाएका थिए ।
यस पालिकाका वडातर्फ वडा नम्बर १ जसपा नेपालका उम्मेदवार विजयी भए । दोस्रो कांग्रेस, तेस्रो राप्रपा, चौथो एमाले र पाँचौँमा माओवादी थियो । वडा नम्बर २ कांग्रेसका उम्मेदवारी विजयी भए भने दोस्रो एमाले र तेस्रो राप्रपा छ । वडा नम्बर ३ एमालेका उम्मेदवार विजयी भए । कांग्रेस दोस्रो र राप्रपा तेस्रो स्थानमा थियो । वडा नम्बर ४ कांग्रेसका उम्मेदवार विजयी भए ।
एमाले दोस्रो र राप्रपा तेस्रो स्थानमा थिए । वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार विजयी भए । एमाले दोस्रो, जसपा नेपाल तेस्रो र राप्रपा चौथो स्थानमा थियो । वडा नम्बर ६ मा कांग्रेसका उम्मेदवार विजयी भए । जसपा नेपाल दोस्रो, एमाले तेस्रो स्थानमा थियो । वडा नम्बर ७ मा कांग्रेसका उम्मेदवार विजयी भए । जसपा नेपाल दोस्रो, एमाले तेस्रो, राप्रपा चौथो स्थानमा थियो ।
तिलोत्तमा नगरपालिका
तिलोत्तमा नगरपालिकाका १३ र १४ नम्बर वडा मात्र यो निर्वाचन क्षेत्रमा पर्छ । अघिल्लो निर्वाचनमा वडा नम्बर १३ मा कांग्रेसका उम्मेदवार एक हजार ३४४ मत ल्याएर विजयी भए । एमालेका उम्मेदवार ९३२ र राप्रपाका उम्मेदवारले २८१ मत पाए ।
यस्तै वडा नम्बर १४ मा पनि कांग्रेसका उम्मेदवारले एक हजार २७२ मत ल्याएर विजयी भए । राप्रपाका उम्मेदवारले एक हजार ४१, एमालेका उम्मेदवारले ७५४, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले ७४५, माओवादीका उम्मेदवारले २५० र जनमतले १६८ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण