शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
बेथिति

धितोपत्र बोर्डबाट एक महिनासम्म पनि स्वीकृत भएन ‘आइजिन’सम्बन्धी नयाँ निर्देशिका

बुधबार, ११ भदौ २०८२, ०८ : ०८
बुधबार, ११ भदौ २०८२

सारांश

  • CDSC ले पुँजी बजारलाई व्यवस्थित बनाउन नयाँ निर्देशिका ल्याएको छ, जसमा सेयर अभौतिकीकरण सम्बन्धी व्यवस्था छ।
  • नयाँ निर्देशिकामा सेयरको लागि छुट्टाछुट्टै आइजिन दिने प्रस्ताव आएपछि निजी क्षेत्र र लगानीकर्ता संघबीच विरोध र समर्थन देखिएको छ।
  • धितोपत्र बोर्डले निर्देशिकामाथि छलफल गरिरहेको छ र लगानीकर्ता संघहरूले यसलाई छिट्टै कार्यान्वयन गर्न माग गरेका छन्।

काठमाडौँ । पुँजी बजारलाई व्यवस्थित बनाउन भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ नयाँ निर्देशिका ल्याएको छ । सीडीएससीले एक महिनाअघि साउन ११ गते आइतबार बोर्ड बैठकले निर्देशिका पारित गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको थियो ।

तर सीडीएससीले बोर्डमा पठाएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ले एक महिनासम्म स्वीकृत हुन सकेको छैन । सीडीएससीको बोर्ड बैठकबाट सर्वसम्मत पारित भई धितोपत्र बोर्डमा पुगेको उक्त निर्देशिका बोर्डमै अध्ययन भइरहेको बुझिएको छ ।

करिब पाँच महिना लामो समय छलफल र धितोपत्र बोर्डको निर्देशनअनुसार सीडीएससीले सेयर अभौतिकीकरण गर्दा प्रदान गर्ने इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजिन) सम्बन्धमा कार्यविधि बनाएर स्वीकृतिका लागि बोर्डमा पठाएको थियो । तर उक्त निर्देशिका बनाउन लागेसँगै सरोकारवालाहरूको व्यापक विरोधका कारण पनि बोर्डले अहिले अध्ययन गरिरहेको भन्दै स्वीकृत गरेको छैन । 

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले अहिले उक्त निर्देशिका बोर्डको कार्यसमितिमा प्रवेश गरेर छलफल भइरहेको जानकारी दिए । निर्देशिकाका विषयमा सीडीएससी र सरोकारवालाहरूसँग पनि छलफल गर्ने तयारी रहेको बताए । 

प्रवक्ता घिमिरेले भने, ‘निर्देशिका सामान्य विषयमा बोर्डमा छलफल भइरहेको छ । सीडीएससीले पठाएको प्रस्तावका विषयमा व्यापक छलफल गरी स्वीकृत गर्न सक्छ । अहिले बोर्डले छलफल र अध्ययनको प्रक्रियामा छ ।’

उनले सीडीएससीले पठाएको निर्देशिकाको प्रस्ताव संशोधनभन्दा पनि नयाँ निर्देशिका भएकाले छलफल अध्ययन गरेर मात्रै स्वीकृत गर्ने बताए । 

बोर्ड प्रवक्ता घिमिरेले भने, ‘बोर्डबाट अध्ययन भएपछि बोर्डको सञ्चालक समितिमा गएपछि त्यहाँ छलफल हुन्छ । सञ्चालक समितिमा छलफल भएर सकेसम्म चाँडै स्वीकृत हुन सक्छ । कहिले जान्छ त्यो भने भन्न सकिँदैन । तर धेरै ढिलो हुँदैन ।’

निर्देशिका प्रस्तावपछि विरोध र समर्थन दुवै 

सीडीएससीले ‘धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका–२०८२’ स्वीकृतका लागि धितोपत्र बोर्डलाई पठाएसँगै निजी क्षेत्रले व्यापक विरोध जनाएको छ । तर लगानीकर्ता संघहरूले भने समर्थन जनाउँदै तत्काल कार्यान्वयन गर्नु पर्ने माग गरेका छन् । 

ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सबैभन्दा पहिला उक्त निर्देशिकाको विरोध गरेको छ । त्यस्तै, अन्य धेरै संस्थाहरूले पनि विरोध गरेका छन् भने ठुला व्यवसायीहरूले समेत सार्वजनिक कार्यक्रमहरूमा समेत विरोध जनाउँदै आएका छन् । त्यसले पनि बोर्डले तत्काल निर्देशिका स्वीकृत गर्न नसकेको स्रोत बताउँछ ।

स्रोतका अनुसार धितोपत्र बोर्डका अध्यक्ष तथा अन्य निकायहरूमा समेत आइजिन नम्बर कार्यान्वयन रोक्न आग्रह गर्दै व्यवसायीहरू लागेका छन् । त्यसले पनि बोर्डले तत्काल निर्णय लिन नसकेको स्रोतको भनाई छ । 

इप्पानले उक्त प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्योल र अस्पष्टता पैदा भएको जनाएको छ । 

धितोपत्र बजारमा सेयरको सार्वजनिक निष्कासन गरी सूचीकृत हुने प्रक्रियामा रहेका कम्पनीहरूको संस्थापक सेयर डिजिटाइजेसन प्रक्रिया लम्ब्याउँदै सबै कम्पनीहरूको संस्थापक र सर्वसाधारणतर्फ जारी भएको सेयरको छुट्टाछुट्टै आइजिन नम्बर जारी गर्ने व्यवस्था व्यावहारिक नभएको इप्पानको दाबी छ ।

नियामक निकायहरूलाई बजारको पारदर्शिता र लगानीकर्ताको विश्वास कायम राख्न यथाशीघ्र साविककै व्यवस्था अनुसार सबै सेयर सदस्यहरूलाई एउटै नम्बर राखेर डिजिटाइजेसन गर्न/गराउने व्यवस्था गर्न इप्पानले माग गरेको छ । हाल सीडीएससीले प्रस्ताव गरेको छुट्टाछुट्टै नम्बरको प्रस्ताव फिर्ता लिन आग्रह गर्दै यसको कार्यान्वयन प्रक्रिया अघि नबढाउन धितोपत्र बोर्डसँग माग गरेको छ ।

इप्पानले उक्त प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, सेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्योल र अस्पष्टता पैदा भएको जनाएको छ । 

तर इप्पानलगायत अन्य संस्था र व्यवसायीहरूल विरोध गरिरहँदा लगानीकर्ताहरूको संघ–संगठनहरूले भने कार्यान्वयन गर्न आवश्यक रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

जनरल इन्भेस्टर एसोसियसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघलगायत पाँच वटा लगानीकर्ता संघका अध्यक्षहरू क्रमशः दिपक कार्की, घनश्याम पाण्डे, ऋतुजंग जिसी, प्रकाश रजौरे र डा केशव प्रसाद श्रेष्ठले आइजिन नम्बर तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

उनीहरूले विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही कम्पनीका संस्थापकहरूले कर्मचारीसँगको मिलोमतोमा आफ्नो सेयर अवैध रूपमा दोस्रो बजारमा बिक्री गरिरहेको आरोपसमेत लगाएका छन् । पाँच संस्थाहरूले त्यस्ता कम्पनीहरूलाई तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। 

ISIN विज्ञप्ती -anish

पुँजीबजारको शुद्धता र पारदर्शिताका लागि यस्ता गलत क्रियाकलाप तत्काल रोक्न नियामक निकाय नेपाल बोर्ड र सीडीएससीको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत नहुँदै एउटै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर आइजिनको दुरुपयोग गरी उच्च मूल्यमा बिक्री गरिएको भन्दै त्यसलाई रोक्न आइजिन नम्बर उपयुक्त माध्यम भएको जनाएका छन् ।   

विज्ञप्तिमा भनिएको छ, ‘लगानीकर्ता संघहरूले यस्तो ठगी रोक्न सीडीएससीले तयार पारेको फरक प्रकृतिका सेयरलाई छुट्टाछुट्टै आइजिन दिनेसम्बन्धी निर्देशिकाको मस्यौदाको पूर्ण समर्थन छ । उक्त निर्देशिकालाई बोर्डले कुनै ढिलासुस्ती नगरी तत्काल स्वीकृति प्रदान गरी अविलम्ब कार्यान्वयनमा ल्याउनुपर्छ । संस्थापक र सर्वसाधारण सेयरका लागि अलग–अलग आइजिन नम्बर प्रयोग गर्ने व्यवस्थाले बजारलाई थप पारदर्शी, स्थिर र विश्वसनीय बनाउनुको साथै यो कदमले बजारमा हुने भित्री कारोबार र जालसाजीलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ ।’

निर्देशिकामा यस्तो छ सीडीएससीको प्रस्ताव 

नयाँ निर्देशिकाले पुँजी बजारमा हुने अपारदर्शी अभ्यासलाई पूर्णरूपमा रोक्ने सीडीएससीले विश्वास लिएको छ । 

अब कुनै पनि कम्पनीले प्रमोटर सेयरलाई सर्वसाधारण सेयरमा बदल्न चाहेमा साधारणसभाबाट निर्णय गराई सार्वजनिक सूचना प्रकाशनपछि मात्रै सीडीएससीलाई आग्रह गर्नुपर्ने व्यवस्था गरेको छ ।

निर्देशिका अनुसार कुनै संगठित संस्थाको अनुरोधमा सीडीएससीले आवश्यकता अनुसार आइजिन मिश्रण (मर्जर) गर्न सक्नेछ । यसका लागि सम्बन्धित संस्थाले देहाय बमोजिमका कागजात तथा प्रमाण सहित निवेदन दिनुपर्नेछ । 

निर्देशिकामा एउटै अन्तर्राष्ट्रिय परिचयपत्र नम्बर (आइजिन नम्बर) लिएका कम्पनीहरूलाई अब फरक–फरक आइजिन दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघि संस्थापक र साधारण सेयर मिसाएर एउटै आइजिन लिएका कम्पनीहरूले पनि निर्देशिका लागू भएपछि दुई वटा आइजिन पाउने व्यवस्था छ ।

निर्देशिकाको दफा ७ (२) मा भनिएको छ, ‘यस निर्देशिका लागु हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रको लागि एउटै आइजिन दिई लकइन अवधिमा रहेका धितोपत्र समेतलाई निर्देशिका लागु भए पश्चात् फरक–फरक आइजिन प्रदान गरिने छ ।’

साथै, कुनै धितोपत्रलाई फरक आइजिन दिइएको भए पनि आवश्यक नपर्ने देखिएमा सीडीएससीले मर्जर गर्न सक्ने व्यवस्था पनि छ ।

सीडीएससीले धितोपत्रको लागि प्रदान गरिने अन्तर्राष्ट्रिय पहिचान नम्बर (आइजिन) लाई गाभ्न (मर्जर गर्न) र छुट्ट्याउन सकिने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । 

निर्देशिका अनुसार कुनै संगठित संस्थाको अनुरोधमा सीडीएससीले आवश्यकता अनुसार आइजिन मिश्रण (मर्जर) गर्न सक्नेछ । यसका लागि सम्बन्धित संस्थाले देहाय बमोजिमका कागजात तथा प्रमाण सहित निवेदन दिनुपर्नेछ । 

आइजिन मिसाउने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको साधारण सभाबाट पारित गरेको निर्णयको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने छ । त्यस्तै, आइजिन मिश्रण गराउने सम्बन्धमा राष्ट्रिय स्तरको दैनिक पत्रिका तथा अन्य सञ्चारका माध्यममा कम्तिमा दुई पटक सूचना प्रकाशन गरेको प्रमाण,आइजिन मिश्रण गराउने सम्बन्धमा बोर्डको सहमतिको प्रमाण, धितोपत्र बजारलाई जानकारी गराइएको प्रमाण, प्रचलित कानुन बमोजिम फरक आइजिन आवश्यक नपर्ने सम्बन्धमा सम्बन्धित संगठित संस्थाको स्वघोषणा गर्नु पर्ने व्यवस्था गरेको छ । 

त्यस्तै, निर्देशिकाले आइजिन गाभ्ने मात्र नभई आवश्यक परेमा छुट्याउने प्रक्रिया पनि तोकेको छ । कुनै धितोपत्रलाई एउटै आइजिन प्रदान गरिएकोमा प्रचलित कानुनबमोजिम फरक आइजिन आवश्यक परेमा त्यसलाई छुट्ट्याउन सकिने व्यवस्था गरिएको छ ।

यसका लागि सम्बन्धित संगठित संस्थाले आवश्यक कागजातसहित सीडीएससीमा निवेदन दिनुपर्नेछ । निवेदन प्राप्त भएपछि सीडीएससीले आवश्यकताअनुसार प्रदान गरिएको आइजिनलाई टुक्र्याएर फरक फरक आइजिन प्रदान गर्न सक्नेछ ।

सीडीएससीको यो नयाँ व्यवस्थाले धितोपत्र बजारको अभौतिक कारोबारलाई थप व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप