खेलमा समर्पित हुन्छौँ भन्नेका लागि खेल्ने मैदान खोइ ?
सारांश
- बझाङका खेलाडीहरू खेल पूर्वाधारको अभावका कारण समस्यामा छन्, मैदान नहुँदा उनीहरू अभ्यास गर्न र आफ्नो खेल विकास गर्न संघर्ष गरिरहेका छन्।
- युवा खेलाडीहरू क्रिकेट र अन्य खेलमा करियर बनाउन चाहन्छन्, तर उचित मैदान र प्रशिक्षणको अभावमा उनीहरूले कठिनाइको सामना गरिरहेका छन्।
- स्थानीय सरकार, प्रदेश सरकार र संघसंस्थाहरूले सहयोगको आश्वासन दिए पनि व्यवहारमा खेलाडीहरूले आवश्यक सहयोग र सम्मान पाएका छैनन्।
कुनै पनि खेलका लागि भौतिक पूर्वाधार महत्त्वपूर्ण हुन्छ । नेपालमा फुटबल, भलिबल, क्रिकेटजस्ता खेलप्रति युवाको आकर्षण बढ्दो छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यी खेलमा नेपाली खेलाडीले गरेका प्रतिस्पर्धा र हासिल गरेका उपलब्धिकै कारण युवामा यस्ता खेलप्रति क्रेज बढ्दो छ ।
कतिपय युवा आफूले रुचाएको खेलमै समर्पित हुन तयार पनि छन् । उनीहरू खेलाडीका रूपमा यस्ता खेलमै जीवन समर्पित गर्न चाहन्छन् तर त्यसका लागि राज्यले भौतिक पूर्वाधारको क्षेत्रमा पर्याप्त काम गर्न सकेको देखिँदैन ।
मैले क्रिकेटलाई नै करिअर बनाउन चाहेकी छु । मेरो घर (बझाङको तलकोट गाउँपालिका–२, धमेना) नजिकै गतिलो मैदानसमेत छैन । खेलाडीका लागि खेल मैदान भनेको विद्यार्थीका लागि विद्यालयजस्तै हो । विद्यालय नै छैन भने विद्यार्थीले कहाँ पढ्ने ? मैदान नहुँदा एउटा खेलाडीले कहाँ गएर अभ्यास गर्ने ? यस्तो समस्या मैलेमात्र झेलेको होइन, मजस्ता कैयौँको मनमा खट्किएको विषय हो यो । पालिकास्तरमा खेलकुदका लागि मैदान हुने हो भने घरमै बसेर आफ्नो प्रतिभा तिखार्ने, नियमित अभ्यास गर्ने र गाउँघरका युवालाई आकर्षित गर्ने बाटो खुल्न सक्थ्यो ।
छोरी मान्छेले घरको काम पनि गर्नुपर्छ । कहिलेकाहीँ घरबाट घाँस काट्न जान्छु भनेर निस्किन्छु र गाउँका दाइ–भाइहरूले क्रिकेट खेलेको ठाउँमा गएर खेल्न थाल्छु ।
म एक वर्षदेखि क्रिकेट खेल्दै आएकी छु । प्रदेशस्तरमा यू–१९ र यू–१८ जस्ता प्रतियोगितामा सामेल भएर मैले खेलेकी छु । मैले मेलापात जाँदा चौर तथा खेतका गरामा क्रिक्रेट खेल्न सुरु गरेँ । मेरो गाउँमा अहिले पनि कसैले खेल्ने रुचि राख्यो भने खाल्टाखुल्टी भएको चौर र खेतका गराबाटै सुरुवात गर्नुपर्छ । पूर्वाधार अभावका कारण कतिपयले त रुचि हुँदाहुँदै पनि खेललाई आफ्नो करिअर बनाउन सकेका छैनन् ।
छोरी मान्छेले घरको काम पनि गर्नुपर्छ । कहिलेकाहीँ घरबाट घाँस काट्न जान्छु भनेर निस्किन्छु र गाउँका दाइ–भाइहरूले क्रिकेट खेलेको ठाउँमा गएर खेल्न थाल्छु । घर फर्किंदा सानो घाँसको भारी लिएर आउँछु । खेल्ने इच्छा र जाँगर त भित्रैबाट आउँछ, तर वातावरण नहुँदा यसरी चोरेर, लुकेर खेल्नुपर्ने अवस्था छ । हामी आफैँ मिलेर सामान्य फिजिकल अभ्यासहरू गर्छौं ।
बझाङमा खेलाडीले सिक्ने र अभ्यास गर्ने वातावरण नै छैन । खेलाडीका लागि एउटा गतिलो खेल मैदानसमेत छैन । जब खेल्ने ग्राउन्ड नै हुँदैन, अभ्यास गर्ने ठाउँ नै हुँदैन भने खेलाडीहरूले कसरी सिक्छन् ? कसरी आफ्नो खेल सुधार गर्छन् ? कसरी सफलता हासिल गर्न सक्छन् ? हामीसँग इच्छाशक्ति र प्रतिभा भएरमात्र के गर्नु ? त्यसलाई निखार्ने ठाउँ नै छैन ।
जब कुनै प्रतियोगिताको तयारी हुन्छ, तबमात्रै हामीलाई गुरु (कोच)हरूले फोन गर्नुहुन्छ । अभ्यास गर्नुभन्दा केही दिन अघि खबर आउँछ । हामी हतारहतार सदरमुकाम चैनपुर जान्छौँ । त्यहाँ बाउलीगाडमा एउटा क्रिकेट एकेडेमी त छ, तर त्यो नाम मात्रको छ । त्यो कुनै ठुलो मैदान होइन । त्यहीँ जाली (नेट) लगाएर अभ्यास गर्छौं ।
सानो ठाउँ भएकाले त्यहाँ अभ्यास गर्दा पनि समस्या हुन्छ । ब्याटले अलिकति जोडले बल हान्यो भने नजिकैका घरमा पुग्छ । अर्काको घरमा बल पुग्दा स्वाभाविक रूपमा घरधनीले गाली गर्छन् । अर्कातिर नदी छ । नदीतिर बल पुग्यो भने ल्याउन सकिँदैन । बझाङमा एउटा राम्रो खेल मैदान आवश्यक छ । यहाँका खेलाडीहरू खेल्न तयार छन्, तर उनीहरूलाई खेल्ने ठाउँ नै छैन ।
खेलाडीले प्रतियोगिता आउनु अघिमात्र होइन, नियमित अभ्यास गर्नुपर्छ । जति धेरै अभ्यास गरिन्छ, खेलमा त्यति नै दक्ष हुन सकिन्छ । कहिले महिनौँसम्म अभ्यास गर्न पाइएको हुँदैन । प्रतियोगिता आउनुभन्दा दुई–चार दिनअघि मात्रै अलिअलि अभ्यास गरेर खेल्न जाँदा आत्मविश्वास नै हुँदैन । त्यस्तो अवस्थामा हामी प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सक्दैनौँ । अनि कोचहरू ‘तिमीहरूले यस्तो खेल्यौ, उस्तो खेल्यौ’ भनेर रिसाउनुहुन्छ, तर हाम्रो बाध्यता कसले बुझिदिने ?
सदरमुकाम चैनपुरमा रहेको ठुलो चौरलाई खेल मैदान बनाउनका लागि एक करोडभन्दा बढी बजेट आएको थियो भन्ने सुनिएको थियो । त्यो बजेट कहाँ गयो, के भयो भन्ने केही थाहा छैन ।
बाहिर खेल्न जाँदा त मनमा पहिल्यै डर पसिसकेको हुन्छ । अरू ठाउँका खेलाडीहरूले वर्षभरि राम्रो मैदानमा, राम्रो एकेडेमीमा अभ्यास गरेका हुन्छन् । उनीहरूको तयारी देखेर हाम्रो मानसिकता पहिल्यै पराजित भइसक्छ । मनले नै हार खाइसकेको हुन्छ । यस्तो अवस्थामा आफ्नो वास्तविक खेल देखाउन सकिँदैन । यदि हामीले पनि नियमित अभ्यास गर्ने ठाउँ पाएका हुन्थ्यौँ, राम्रो ट्रेनिङ पाएका हुन्थ्यौँ भने जस्तोसुकै खेलाडीसँग पनि डराउनु पर्दैनथ्यो । हामीले पनि अरुले जस्तै मेहनत गरेका छौँ भन्ने आत्मविश्वास हुन्थ्यो ।
सहयोग गर्छौं भनेर स्थानीय तह, प्रदेश सरकार र विभिन्न संघ–संस्थाले आश्वासन त दिन्छन्, तर व्यवहारमा त्यस्तो सहयोग देखिँदैन । भर्खरै सम्पन्न १५ औँ राष्ट्रपति रनिङ शिल्डको जिल्लास्तरीय प्रतियोगितामा हाम्रो तलकोट गाउँपालिकाको महिला भलिबल टिम प्रथम भएको थियो । उहाँहरूलाई सम्मान कार्यक्रम गर्छौं, हौसला दिन्छौँ भनेको कैयौँ महिना बितिसक्यो, तर बिचरा ती खेलाडीहरूले अहिलेसम्म कुनै सम्मान पाएका छैनन् । सम्मानपत्रसम्म दिइएको छैन । अरु खेलमा पनि अवस्था यस्तै हो ।
सदरमुकाम चैनपुरमा रहेको ठुलो चौरलाई खेल मैदान बनाउनका लागि एक करोडभन्दा बढी बजेट आएको थियो भन्ने सुनिएको थियो । त्यो बजेट कहाँ गयो, के भयो भन्ने केही थाहा छैन । त्यो बजेट सदुपयोग गरेको भए आज त्यो मैदान बझाङको सबैभन्दा राम्रो क्रिकेट मैदान बन्थ्यो होला । खेलाडीहरूले अभ्यास गर्ने ठाउँ पाउँथे ।
खेलाडीहरू भनेका देशका गहना हुन् । उनीहरूले आफ्नो लागिमात्र होइन, आफ्नो गाउँ, पालिका, जिल्ला र राष्ट्रलाई चिनाउनका लागि खेल्छन् । त्यसैले खेलाडीहरूको पिरमर्कालाई तीन तहकै सरकारले बुझिदिनुपर्छ । उनीहरूलाई मान, सम्मान र सबैभन्दा महत्त्वपूर्ण त खेल्ने वातावरण बनाइदिनु पर्यो ।
हाम्रो बझाङमा प्रतिभा भएका खेलाडी धेरै छन् । यदि यहाँ एउटा राम्रो खेल मैदानमात्रै बनाइदिने हो भने बझाङले एकसे एक खेलाडी उत्पादन गर्न सक्छ । मेरो सपना क्रिकेटमा नै भविष्य बनाउने हो, आफ्नो करियर बनाउने हो, तर मैदान नहुँदा मन दुख्छ । यो मेरोमात्र होइन, बझाङका सम्पूर्ण खेलाडीको साझा पीडा हो । सरकारले खेल पूर्वाधार निर्माण गर्ने, खेलाडी उत्पादन गर्नेतिर ध्यान दिन जरुरी छ ।
(क्रिकेटमा आफ्नो भविष्य खोजिरहेकी रिमासँग गरिएको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण