सुशासनको मलामी !
बिहानीपख पशुपतिनाथको दर्शन गर्न जाँदैथेँ । एक पन्थ दुई काज भने झैँ स्वास्थ्यलाई पनि राम्रो पशुपतिनाथको पनि दर्शन । बाटामा एउटा पहेँलो कपडाले छोपेको लास बोकेर चार जना हिँडिरहेका थिए । मनमा लाग्यो यो कसको लास रहेछ ? तर मेरो आँखामा भ्रम भएर हो कि मैले त्यो कपडामुनिबाट बारबार कोही उठ्न खोजेको हो कि जस्तो देखिन्थ्यो ।
म अलमलमा परेँ । कपडा नजिक पुगेँ । अचम्म लाग्यो, त्यो कपडामा त सुशासन मर्यो भनेर मात्रै लेखिएको देखेँ । म झन् चकित ? के हो ? लास त होइन ।
रामनामीकै सट्टा सुशासन मर्यो भनी लेखिएको पहेँलो कपडा छ । कपडामुनि अलिअलि हल्लिएको पनि देखिन्छ । यो के हो ? म अलमलमा परेँ ।
बाँसको चिर्पट बोक्नेलाई सोधेँ- ‘यो के हो ? को मर्यो ।‘
उसले भन्यो- ‘देख्नु भएन । हामी मलामी लास जलाउन हिँडेको ।‘
मैले भने- ‘लास रे ? सेतो कपडामा सुशासन मर्यो भनेको छ, यो के मजाक हो ?’
जिब्रोबाट निस्कियो- 'खबरदार सुशासन जलाउन पाउँदैनस् ।'
हरि नामको मलामीले भन्यो- ‘यति पनि नबुझ्ने ? हो मर्यो । मान्छे मरेको होइन । मान्छेको विवेक मर्यो, इमान मर्यो, सिद्धान्त मर्यो, विचार मर्यो, देशप्रति माया मर्यो ? यत्रो भयंकर मृत्यु भएपछि आर्यघाट गएर जलाउनु परेन त ?’
मैले भने- ‘सुशासन मरेको छैन । हेर्नुस् त कपडामुनि अलिअलि हलचल गर्दैछ ।‘
अब श्याम नामको मलामी बोल्यो- ‘ए ! त्यसलाई वास्ता नगर । सुशासन र विद्युत त शवगृह पुगुञ्जेलसम्म मरिसक्छ । यो पक्का हो । गौशाला आइसक्यो । अब धेरै छैन । सात मिनेट मात्रै बाँकी छ ।‘
मलाई चित्त बुझेन र भनेँ- ‘तर सुशासन त मान्छे होइन ।‘
चौथो मलामीको नाम गोकुल, उसले मतिर हेरेर आश्चर्य मानेर भन्यो- ‘सुशासन उज्यालो हो । गरिबको बाँच्ने आधार हो । न्यायको जग हो । देशको सुरक्षा हो । विकासको लहर हो । नेपालीको अधिकार हो । अब यो सबै हामीले खतम गरिसक्यौँ । त्यसैले यो सुशासनलाई अब धेरै दुःख किन दिने ? हामी अग्रगमनमा विश्वास गर्ने जमात हौँ । अब यो सुशासनलाई दुःख दिनु सट्टा यसलाई चाँडै खरानी पार्नु न्याय हुन्छ भनेर विद्युत शवदाह गृहतिर हिँडेको । हामीलाई माथिबाट यही निर्देशन छ । अब खरानी पार्ने काम पनि अग्रगामी र वैज्ञानिक तरिकाले गर्छौँ । आवश्यक परे वैदेशिक सहयोग पनि माग्छौँ । तर यसबारे हामी चारमा अझ कुरा मिलेको छैन ।‘
विद्युत शव गृह अगाडि मैले नेपाली जनता देखेँ । कुरेर बसेका रहेछन् । सबैका हातमा राष्ट्रिय झण्डा थियो । आँखामा आगो थियो । जिब्रोबाट निस्कियो- खबरदार सुशासन जलाउन पाउँदैनस् । हजारौँ हजार मान्छेबिच चार जनाको लास बोक्ने टोली रोकियो । जनता अगाडि बढे र कराए ।
‘नवसामन्तवादीको कालरात्रीको अन्त गर्छौं ।‘
‘कुशासनका नाइकेहरुलाई अदालत पुर्याउँछौँ ।‘
अचानक पूर्व-पश्चिम, उत्तर-दक्षिण सबैतिरबाट एकै पटक हुरी आयो । म बाध्य भएर एकछिन आँखा बन्द गरेँ । आँखा मिचेर खोल्दा पहेँलो कपडामा लेखेको थियो- ‘जनता कहिले हार्दैन, नवसामन्तवाद उज्यालो हुन सक्दैन ।‘
त्यहाँ कोही थिएनन् । दायाँबायाँ हेरेँ । सबै शान्त र सौम्य थियो । बागमती नदी आफ्नो गतिमा बग्दै थियो । नदीको पानी यस्तो सफा मैले कहिले देखेको थिइनँ । पानीमा तल रहेको बालुवा पनि चम्किलो, उज्यालो र प्रसन्न देखिन्थ्यो ।
पशुपतिनाथ स्लेसमान्तक वनतिर घुम्दै थिए । म हात हल्लाउँदै घरतिर हिँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण