हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका बिरामीको एनएमसीमा सफल उपचार
काठमाडौँ । हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका काभ्रेपलाञ्चोकका विजय तामाङलाई नेपाल मेडिकल कलेज(एनएमसी)का चिकित्सकले नयाँ जीवन दिएका छन् ।
मुटु रोग विशेषज्ञ डा.अर्जुन बुढाथोकीको नेतृत्वमा रहेको टोलीले उनलाई सफलतापूर्वक बचाएको हो ।लामो समयदेखि रक्सी तथा चुरोट सेवन गर्दै आइरहेका तामाङलाई साउन २६ गतेदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौँ ल्याइएको थियो ।
सुरुमा पाटन अस्पताल र शहीद गंगालाल हृदय केन्द्रमा भेन्टिलेटर तथा आईसीयू खाली नभएपछि, र निजी अस्पतालको खर्च धान्न नसकेपछि उनलाई नेपाल मेडिकल कलेज ल्याइएको थियो ।
केएमसी पुग्दा उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल थियो र डाक्टरहरूले बाँच्ने सम्भावना २० प्रतिशत मात्रै रहेको चिकित्सकहरूले बताएका थिए ।
डा.बुढाथोकीको टोलीले तामाङलाई मुटुको औषधी, दुई पटक डायलाइसिससहित सघन उपचार कक्ष अर्थात आईसियूमा राखेर १० दिनसम्म उपचार गरिएको अस्पतालले जनाएको छ ।
यस अवधिमा उनको मिर्गौलामा पनि समस्या देखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आयो र अस्पतालले उनलाई डिस्चार्ज गरिसकेको छ ।
मृत्युको मुखबाट जोगिएका विजय तामाङले अब रक्सी सेवन नगर्ने प्रतिबद्धता जनाउँदै नेपाल मेडिकल कलेजका चिकित्सक र नर्सहरूलाई धन्यवाद दिएका छन् ।
डा. बुढाथोकीले ब्लड प्रेसर, सुगर, मद्यपान, धुम्रपान, शारीरिक व्यायामको कमी र चिल्लो पदार्थको अधिक सेवनले मुटु रोगको जोखिम बढाउने भन्दै स्वस्थ जीवनशैली अपनाउन सल्लाह दिएका छन् ।
नेपाल मेडिकल कलेजले निकट भविष्यमा मुटु रोगको उपचारका लागि अत्याधुनिक क्याथल्याब स्थापना गर्ने योजना पनि जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण