नजिकिएका अशोक राई र राजेन्द्र महतो
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का अध्यक्ष राजेन्द्र महतोको निकटता बढेको छ । आफू नेतृत्वका पार्टीबिच कार्यगत एकता गरेर जाने उनीहरुले केही दिनअघि नै घोषणा गरिसकेका छन् ।
दुवैको वैचारिक धार फरक छ, तर पनि पछिल्लो समय ‘केमेस्ट्री’ गज्जबले मिलेको देखिन्छ । यतिसम्म कि कार्यगत एकता हुँदै पार्टी एकतासम्म जाने उनीहरुको तयारी छ ।
राई २०३३ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीतिमा प्रवेश गरेका हुन् भने २०४६ को जनआन्दोलनताका उदाएको गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीबाट महतोले राजनीतिक यात्रा सुरु गरेका हुन् ।
सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल हुँदै महतोले अहिले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने लक्ष्यसहित राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गरेका छन् । उनी पटक-पटक मन्त्री भइसकेका छन् ।
‘विचारसहितको विकल्प, विकल्पसहितको विद्रोह’ लाइनबाट आफ्नो राजनीति यात्रा सुरु गरेका महतो जसपा अध्यक्ष राईसँग एकता उन्मुख कार्यगत एकता गर्ने निर्णयमा पुगेका छन् ।

नेकपा एमालेको उपाध्यक्षसम्म भएका राईले पटक-पटक चुनाव जितेका छन् । उनी एमालेबाटै थुप्रैपटक मन्त्री बने । पहिचानको मुद्दामा कुरा नमिलेपछि २०६९ सालमा उनले एमालेबाट विद्रोह गरी आफ्नै नेतृत्वमा नेपाल संघीय समाजवादी पार्टी स्थापना गरे ।
२०७० सालको दोस्रो संविधानसभा चुनावपछि राईले उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालसँग पार्टी एकता गरे । पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखियो ।
त्यसपछि विभिन्न पार्टीसँग एकीकरण हुँदै फोरम जनता समाजवादी पार्टी नेपाल बन्यो । २०८१ वैशाखमा जसपा नेपाल फुटाएर राईले जनता समाजवादी पार्टी (जसपा) गठन गरेका छन् । पार्टी गठन गरेको दुई वर्ष नपुग्दै उनी राजेन्द्र महतो नेतृत्वको रामुपासँग एकता गर्ने तयारीमा लागेका छन् ।
वामपन्थी स्कुलिङका राईले कम्युनिस्ट पार्टी छाडे पनि वामपन्थी विचार नछाडेको धेरैको बुझाइ छ । उनलाई नजिकबाट चिनेका राजनीतिक विश्लेषक एवं प्राध्यापक भोगेन्द्र झा भन्छन्, ‘राजनीतिक रुपमा अशोक राईले कम्युनिस्ट विचार छाडे पनि उहाँले वामपन्थ छाड्नुभएको छैन । त्यो कुरा उहाँको क्रियाकलाप र व्यवहारबाट प्रष्ट बुझ्न सकिन्छ ।’
तर रामुपाका उपाध्यक्ष डा. राजीव झा भन्छन्, ‘अशोक राईले वामपन्थी विचार त्यागेर नै उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गर्नुभएको थियो । उहाँले वामपन्थी विचार त्यागेका कारण हामी कार्यगत एकताका लागि तयार भएका हौं ।’
त्यसो भए राई र महतोको केमेस्ट्री कहाँ गएर मिलेको छ त ?
राजनीतिक विश्लेषक झा भन्छन्, ‘अशोक राई वामपन्थी विचारधाराको भए पनि उहाँ पहिचान पक्षधर हुनुहुन्छ । एमालेमा पहिचानको कुरा उठाउने एक मात्र नेता उहाँ नै हुनुहुन्थ्यो । त्यही भएर एमालेमा जहिले पनि उहाँले संघर्ष गरिरहनुभयो । अहिले आएर त्यही पहिचानको कुरा राजेन्द्र महतोजीसँग मिलेको छ ।’
जसपाका उपाध्यक्ष परशुराम बस्नेत समाजवादी यात्राका लागि कार्यगत एकता भएको बताउँछन् । ‘दुवै जना संघीयता, लोकतन्त्र र समाजवादी आन्दोलनमा अगाडि रहनुभएकाले मिलन सम्भव भएको हो । विगतमा को-कुन स्कुलिङबाट आउनुभयो, त्यो बेग्लै कुरा हो,’ उनी भन्छन् । समयक्रममा विचारमा पनि परिवर्तन हुने भन्दै उनी कार्यगत एकतामा वामपन्थी र लोकतान्त्रिक नहेरी अधिकार र पहिचानका लागि एक ठाउँमा आएको बताउँछन् ।
रामुपा उपाध्यक्ष झा स्वदेशवाद र बहुल राष्ट्रिय राज्य निर्माणका लागि दुवैले संघर्ष गरिरहेकाले ‘केमेस्ट्री’ मिलेको बताउँछन् ।
दुवै पार्टीले सहभागितामूलक समावेशी लोकतन्त्रसहितको सामाजिक, आर्थिक तथा राजनीतिक प्रणालीको विकास गर्ने र त्यसको माध्यमबाट नेपालको आर्थिक विकास, सुशासन, सामाजिक आर्थिक न्याय, समृद्धि र समतामूलक समाजको सुनिश्चित गर्ने लक्ष्यका साथ कार्यगत एकता गरेको बताएका छन् ।
संघीयता, लोकतन्त्र, गणतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको राज्य व्यवस्था स्थापना गर्न सरकार, संसद र सडक तीनै ठाउँमा क्रियाशील हुने उनीहरुले बताएका छन् ।
राजनीतिक विश्लेषक झा राई र महतो पहिचानको मुद्दाले एक ठाउँमा आए पनि दुवैलाई राजनीतिक अस्तित्वको संकटले पनि निकट बनाएको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण