बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बाढी पहिरोको असर

दसैँको मुखमा उत्तरी नाका ठप्प : १५ सय कन्टेनर रोकिए

‘तिज सकिँदा पनि आएनन् तिजका सामान’
बिहीबार, १२ भदौ २०८२, १७ : १२
बिहीबार, १२ भदौ २०८२

सारांश

  • दसैं, तिहार र छठ पर्व लक्षित अर्बौंको सामान तातोपानी र रसुवागढी नाकामा रोकिएको छ।
  • बाढीपहिरोका कारण तातोपानी नाका बन्द भएको चार दिन भयो भने रसुवागढी नाकामा पनि सामान रोकिएका छन्।
  • सडक विभाग र व्यवसायी मिलेर सडक खुलाउन पहल गरिरहेका छन्, तर वर्षाले समस्या भइरहेको छ।

काठमाडौँ । नेपालका मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी  अवरुद्ध हुँदा दसैँ, तिहार र छठ पर्वलक्षित अर्बौँ रुपैयाँका आयातित सामान रोकिएका छन् । बारम्बारको सडक अवरोधले चाडपर्व लक्षित व्यापार पूर्णतः ठप्प भएको व्यवसायीहरूको गुनासो छ । 

बाढी पहिरोका कारण तातोपानी नाका पूर्ण रूपमा बन्द भएको चार दिन भइसकेको छ भने रसुवागढी नाकामा पनि डेढ महिनादेखि ठुलो सङ्ख्यामा सामान रोकिएका छन् । 

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार तातोपानी नाकाको खासा (चिनियाँ) खण्डमा करिब १५ सय कन्टेनरहरू रोकिएका छन् । यसअघिको अवरोधपछि ३ दिन बाटो खुल्दा ६३ वटा कन्टेनर मात्र नेपाल भित्रिएका थिए ।

यसअघि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा (साउन १८ गते) खसेको पहिरोले करिब २५० मिटर सडक प्रभावित भएको थियो । जसकारण पूर्ण रूपमा अवरुद्ध भएको यो सडक मर्मतपछि भदौ ५ गते सञ्चालनमा आएको थियो । फेरि भदौ ८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो । 

‘अहिले कोदारीमा पानी परेपछि सडक बगेको बग्यै गर्छ । दुई–तीन दिन बाटो खोल्ने अवस्था छैन,’ अध्यक्ष कार्कीले रातोपाटीसँग भने । उनका अनुसार कोदारी क्षेत्रमा पहिरोका कारण सडकको झन्डै ५०० मिटर खण्ड प्रत्यक्ष प्रभावित भएको छ, जसमा २५० मिटर भाग पूरै बगेको छ ।

दसैँ, तिहार र छठका लागि आयात गरिएका लत्ताकपडा, फलफूल, लसुन–प्याजलगायत दैनिक उपभोग्य वस्तु तथा चाडपर्वमा अत्यधिक खपत हुने सामानहरू अलपत्र परेका छन् । खासगरी फलफूल र तरकारीजन्य वस्तु कुहिने र बिग्रिने जोखिममा छन् । 

‘दसैँ, तिहारको मात्र होइन, तिजलाई ल्याइएका सामग्री पनि उतै रोकिए । अब तिज गइसक्यो । अहिले फलफूल बोकेका मात्रै ३०–४० वटा कन्टेनरहरू माथि छन्,’ कार्कीले भने, ‘अरू करिब १५ सय होलान् । यद्यपि तत्काल बिग्रिन सक्ने लसुन, प्याज, स्याउ, अनारजस्ता सामानलाई भने अहिले मानिसले बोकेर वारपार गराउने प्रयास भइरहेको छ ।’

साथै सडक खुलाउन सडक विभागका कर्मचारीसँगै व्यवसायी पनि खटिएका उनले बताए । ‘सडक विभागले बाटो सञ्चालन गर्न नसकेपछि अहिले व्यवसायीहरू नै सडक विभागसँग समन्वय गरेर पहिरोस्थलमै खटिएका छन् । आफ्नो सामानको सुरक्षा र यथाशीघ्र ढुवानीका लागि उनीहरूले पहल गरिरहेका छन्,’ कार्कीले जानकारी दिए । 

काठमाडौँमा मात्रै सामान डम्पिङ गरेर नहुने र देशभरका ७७ वटै जिल्लामा सामान पुर्‍याउनुपर्ने भएकाले लामो समय नाका बन्द हुँदा ठुलो आर्थिक क्षति हुने कार्कीले बताए । उनले राज्यले यो विषयमा छिटोभन्दा छिटो पहल गर्नुपर्नेमा जोड दिए ।

डेढ महिनादेखि अड्किए केरुङमा ५ सय कन्टेनर

रसुवागढी नाकाअन्तर्गत केरुङमा डेढ महिनादेखि करिब ५ सय वटा कन्टेनर रोकिएका छन् । गत असार २४ गते चीनतर्फबाट लेन्दे खोलामा आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएपछि यो नाका पूर्ण रूपमा अवरुद्ध छ । त्यसअघि चीनतर्फबाट सामान लोड भएर केरुङ आइपुगेका कन्टेनर रोकिएका हुन् । 

रसुवागढी नाका खुलाउन अहिले मितेरी पुल भएको स्थानमा चीनले बेलिब्रिज जडान गर्ने तयारी गरेको छ । साथै स्याफ्रुबेंसी–टिमुरे सडक पनि बिहीबार (आज) बाट ट्«याक खुल्ने भनिए पनि बेलिब्रिज नबनेसम्म कन्टेनर ल्याउन नसकिने कार्कीले बताए ।

चिनियाँ सरकारले रसुवागढीमा बेलिब्रिज निर्माणका लागि भदौ ३१ गतेसम्मको समय सीमा तोकेको थियो । तर, वर्षा र बाढीका कारण केही दिन ढिलाइ हुन सक्ने संकेत देखिएकाले रसुवागढीबाट चाडपर्वलक्षित सामग्री आयात गर्ने आशा नभएको तर्क गरे ।

  • कोदारीको पहिरो व्यवस्थापनमा चुनौती 

तातोपानी नाकाको कोदारी खण्डमा निरन्तरको वर्षा र पहिरोले गर्दा सडक मर्मतमा कठिनाइ भइरहेको छ । सडक डिभिजन चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनका अनुसार, यो सडक चार दिनदेखि पुनः अवरुद्ध छ । जसकाकारण दसैँ, तिहार र छठका लागि आयात गरिएका सामग्रीहरूको ढुवानीमा गम्भीर असर परेको छ ।

‘हिजो पनि पानी पर्‍यो, आज बिहानसम्म पनि पानी परिरहेको थियो । अहिले मौसम अलि सुधार भएको छ,’ इन्जिनियर महर्जनले रातोपाटीसँग भने, ‘प्रयास गरिरहेका छौँ, भोलिसम्ममा खोल्न सकिएला कि ।’

उनले यो पहिलेकै ठाउँमा गएको पुरानो पहिरो भएको र बारम्बार पहिरो जाने समस्या रहेकाले मर्मतमा चुनौती रहेको बताए ।

इन्जिनियर महर्जनका अनुसार, तातोपानी क्षेत्र नेपालकै अत्यधिक वर्षा हुने तेस्रो स्थानमा पर्छ ।  यसकारण पनि सडक मर्मत र दिगो समाधानमा चुनौती रहेको उनले बताए । ‘पानी परिरहने हुँदा यो समस्या समाधान गर्न गाह्रो छ । यसबाट चाडपर्वको आयातमा निरन्तर प्रभाव पर्ने देखिन्छ,’ उनले भने ।

पहिरो गएको स्थानमा सडकको करिब २५० मिटर खण्ड पूर्ण रूपमा भासिएको छ । यो खण्डलाई अस्थायी रूपमा मर्मत गर्न ढुङ्गा, माटो भरेर ट्र्याक खोल्ने प्रयास भइरहेको छ । तर, निरन्तरको वर्षाले गर्दा काममा बाधा पुगेको छ ।

‘वाल लगाउने अहिले वर्षाको समयमा सम्भव छैन । ठुलो पहिरो छ र माथि बस्तीहरू पनि भएकाले भित्ता काट्न मिल्दैन,’ महर्जनले भने, ‘त्यहाँ वाल लगाउँदा पनि अर्थ छैन, पानीले बगाइहाल्छ । त्यसैले अहिले टेम्पररी रूपमा ढुङ्गा माटो भरेर ट्र्याक निकाल्ने हो । एकचोटि सञ्चालनमा आयो दुई–तीन दिनमा चाहिँ कति बस्छ । फेरि वर्षा भयो भने त्यो फेरि बाटो गइहाल्छ अनि फेरि बनाउनुपर्छ । वर्षातको सिजनमा यो सडक सधैँ यस्तै हो । ’ 

  • कहिले खुल्छ रसुवागढी सडक ? 

रसुवागढीनाका जोड्ने स्याफ्रबेंसी–रसुवागढी सडकखण्डमा बाढीपहिरोले क्षति पुर्‍याएपछि करिब एक महिनादेखि पुनः अवरुद्ध छ । गत साउन १४ गते चीनतर्फबाट पुनः आएको बाढीले सडक कटान गरेको थियो । यो सडक नयाँ डाइभर्सन बनाएर खुलाउने कार्य भइरहेको छ  । बिहीबार साँझसम्म साना सवारी साधन आवतजावत हुने गरी सडक खुल्ने आयोजनाले जनाएको छ । 

स्याफ्रबेंसी–रसुवागढी सडक आयोजनाका इन्जिनियर रुपनारायण पौडेलका अनुसार सडकको बिग्रिएको खण्डमा द्रुत गतिमा काम भइरहेको छ ।

‘आज हामी तिमुरेसम्म चाहिँ लाइट भेइकलहरू पास गराउन सकिन्छ कि भनेर तीव्रसाथ काम गरिराखेका छौँ,’ इन्जिनियर पौडेलले रातोपाटीसँग भने । उनले बाइकजस्ता हल्का सवारी साधनहरूका लागि बाटो लगभग खुलिसकेको भए पनि सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै पूर्ण रूपमा खुला नभएको बताए । 

पौडेलका अनुसार बुधबार साँझसम्म पहिरोबाट रोकिएका मेसिनहरूलाई समेत पास गराएर वारि ल्याइएको छ । यसले गर्दा मेसिनको सहायताले बाटो खुलाउने काममा थप सहजता आएको छ । ठुला तथा हेभी गाडीहरूलाई वारपार गर्ने बनाउन अझै समय लाग्ने उनले बताए ।

  • बेलिब्रिजको फाउन्डेसन निर्माण गरिँदै

बाढी पहिरोका कारण क्षति पुगेको पुलको स्थानमा बेलिब्रिज निर्माणको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ । इन्जिनियर पौडेलका अनुसार बेलिब्रिजको चिनियाँ साइडको फाउन्डेसन लगभग आधा बनिसकेको छ ।

नेपालतर्फको काममा भने खोलालाई डाइभर्सन गरेर हिमपाइपहरू हाल्ने काम भइरहेको छ । ‘एक हप्ताभित्र नेपालतर्फबाट पनि फाउन्डेसनको काम सुरु हुन्छ होला,’ उनले भने । यद्यपि, दसैँअगाडि पुल खोल्ने तत्परताका साथ काम भइरहेको उनले जानकारी दिए ।

‘खोला ठुलै छ, पानी परिरहेको छ । खोलालाई डाइभर्सन गरेर काम गर्न समय लाग्छ,’ उनले भने, ‘बेलिब्रिज निर्माण सम्पन्न हुन अझै केही समय लाग्ने संकेत देखिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप