पुराना भ्रष्टको विरोध गरेर नयाँ भ्रष्ट आए, जनताका लागि को आए ?
आज समाजमा उकुसमुकुस यति तीव्र छ, जसले सबैतिर प्रभाव र प्रतिक्रिया सिर्जना गरेको छ । राजनीतिक रूपमा भन्ने हो कम्युनिस्ट आन्दोलनको विघटनबाट चिन्तित देश–विदेशका कमरेडहरूमाझ एउटा तरङ्गसँगै नयाँ प्रवाह सिर्जना गरेको छ । यस अर्थमा, आजको छलफल एक प्रकारको सुरुवात हो ।
अरूले पनि यसलाई सकारात्मक रूपमा लिँदै यस्तो छलफल चलाउनुपर्छ । हामीले राम्रो गर्यौँ भन्ने होइन, इतिहासमा यस्तो सङ्कल्प गर्ने हामी मात्रै छौँ भन्ने पनि होइन । यदि हामीले नै गरेनौँ भने मुलुकका कोही न कोही वामपन्थी, कम्युनिस्ट र क्रान्तिकारीले यो बहसलाई अगाडि बढाउनैपर्ने हुन्छ । र, त्यसलाई निष्कर्षमा पुर्याउनुपर्छ ।
निष्कर्षमा पुर्याउनु भनेको नेपालको कम्युनिस्ट आन्दोलनलाई फेरि नयाँ शिरा र नयाँ उचाइबाट ध्रुवीकृत तथा एकीकृत गर्नु हो । त्यो ध्रुवीकरण मान्छे जुटेर मात्रै होइन, यसको ज्ञान, यसको सङ्गठन र यसको राजनीति हरेक हिसाबले आफूलाई पुनर्गठित गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।
यस अर्थमा यो कार्यक्रम आगामी दिनमा पनि हामी तीन जना (विप्लव, जनार्दन शर्मा, घनश्याम भुसाल)ले मात्रै गराउने भन्ने होइन । देशभरि जो–जो यो कुरामा सहमत हुनुहुन्छ, आजको स्थितिको बारेमा चिन्तित हुनुहुन्छ, खासगरी कम्युनिस्ट आन्दोलनप्रति चिन्ता राख्नुहुन्छ, हामी सबैको बहस होस् । र, हामी सबैले माथिदेखि तलसम्म, पालिका र वडा तहसम्म यसलाई कसरी अगाडि लैजान सकिन्छ भनेर पहल गरौँ । परिस्थिति र वस्तुगत अवस्था निकै पाकिसकेको छ । यसलाई एउटा सङ्गठित शक्तिले साँच्चै खुट्टा टेकेर, सङ्कल्प गरेर, त्यो कार्यक्रम अगाडि सारेर हिँड्दा हामीले विगतका क्रान्तिकारी आन्दोलनहरूभन्दा अझ तीव्र र सहज गतिमा आफ्नो आन्दोलनलाई ध्रुवीकृत गर्न सक्छौँ भन्ने लाग्छ ।
अब रह्यो आजको परिस्थितिको बारेमा धेरै चर्चा नै गर्नुपर्दैन । आजको जुन परिस्थिति छ, यसलाई हेर्दा यो आज मात्रै सिर्जित अवस्था होइन । अन्तरविरोधको जालो धेरै अगाडिदेखि समाजमा गुम्सिएर बसेको थियो । अब यो थेग्न सकिँदैन, पुरानोले चल्दैन, पुरानो तरिकाले हुँदैन भनेर समाजले बुझिसकेको छ । तर नयाँ नजन्मिसकेको अवस्था छ ।
पुरानोले काम नगरेको तर नयाँ नबनिसकेको यो एउटा अवस्था हो । यो भनेको सर्पले काँचुली फेर्दै गरेको अवस्था हो । भन्छन् नि, सर्पले काँचुली फेर्दा भयंकर दुख्छ रे । त्यो छटपटीले यताउता माडिन्छ र अनि त्यसले काँचुली फेर्छ । आज जुन छटपटी छ, यसले हामी नयाँ इतिहासको प्रसव पीडामा छौँ देखाउँछ ।
यो बीचमा भत्केका छन् भने माओत्सेतुङले भनेजस्तै ‘भत्केको छ त ठीक भयो भन्नुहोस् ।’ पुराना मान्यता भत्केका छन्, नालायकी भत्केका छन्, तिनका स्वार्थ भत्केका छन् । धेरै कुरा भत्केका छन् ।
जतिखेर नेता भनेको समाजमा देवताजस्तो थियो । सबै मान्छेले त्यसरी माने । पार्टीभित्रको संरचनामा त त्यो अझ स्थापित थियो । आज ती भ्रमहरू टुट्दैछन् । यो नेतृत्वले व्यवस्थापन गर्न नसकेको र असफल भइरहेको अवस्थाको प्रभाव हो । तर पनि नेतृत्वले आफ्नो आशा बचाउन प्रयत्न गरिरहेको छ, जुन आफैँ छटपटीमा छ ।
राज्यले खाएका कसम, तिनले समाजमा पारेको प्रभाव, यसबाट उत्पन्न प्रतिक्रिया तथा समाजमा क्षेत्र, जाति र विभिन्न वर्गका हिसाबले उत्पन्न अन्तरविरोधहरू अहिले अझ तीव्र भइरहेका छन् । यसबाट निराश हुनुपर्ने कुरा छैन ।
जहाँसम्म परिस्थितिको कुरा छ, हामीले आफ्नै आँखा अगाडि पञ्चायत फाल्यौँ । एउटा ठूलो राष्ट्रिय आन्दोलन भयो र हामी आफैँ संलग्न भएर पञ्चायतको अन्त्य गर्यौँ । पछि राजतन्त्र फाल्यौँ । राजनीतिक हिसाबले नयाँ संविधान, पछिल्लो पटक तीनवटा संविधान हामीले लेखिसक्यौँ । यिनमा परिवर्तन भयो । तर खासगरी नेपाली इतिहासको विकास र राजनीतिको हिसाबले भन्ने हो भने एउटा कुरा बदलिएन- पार्टीको ढाँचा, संरचना र पार्टी चल्ने तरिका ।
यसमा पुरानै मानसिकता रह्यो । पार्टीहरूको ढाँचा बदलिएन । त्यो नबदलिँदा सङ्क्रमणकालीन राजनीतिक चरणदेखि रहेको दलाल पुँजीवाद पनि जीवितै रह्यो ।
त्यसकारण यदि पार्टी बदलिएको भए, पार्टीहरू सही मार्गमा रहेको भए, यो ठुलो दाबीका साथ भन्न सकिन्छ, यदि कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीकै हिसाबले रहेको भए र हाम्रो नेतृत्वले गल्ती नगरेको भए, विगत आठ वर्षमा हाम्रो देशमा कम्तीमा दलाल पुँजीवादको प्रभुत्वलाई विस्थापित गरेर अहिले मुलुक श्रमजीवी वर्गको प्रष्ट कार्यक्रमका साथ राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारीतिर लम्किरहेको हुन्थ्यो ।
मुलुकको एउटै नारा हुन्थ्यो- ’हामी अब त्यो आधारलाई अझ समृद्धितर्फ लैजान्छौँ र अर्को दशकमा समाजवादतर्फ अगाडि बढ्छौँ ।’ यसरी मुलुकलाई सम्पूर्ण हिसाबले एकताबद्ध पारेर अगाडि बढाउन सकिन्थ्यो । त्यो सङ्कल्पका आठ वर्षमा हामीले जे गर्नुपर्थ्यो, त्यो गरेको भए यो क्षति त्यहाँनेर छ । यो क्षतिको मूल्य असाध्यै ठूलो छ । यो आठ वर्षमा, आठ वर्षका चलखेलमा, आठ वर्षको राजनीतिक चलखेलले हामीले ठुलो कुरा गुमाएका छौँ । आज हामी त्यो भन्न सक्ने अवस्थामा हुन्थ्यौँ ।
- आज पनि यो अवस्था किन छ ?
हाम्रो मुलुकमा कम्युनिस्ट पार्टीका दुईवटा ठुला स्कुल छन्, नेकपा एमालेको स्कुल र नेकपा माओवादी केन्द्रको अर्को स्कुल, अथवा भनौँ नेकपा माओवादीको स्कुल । ती दुवै स्कुलले हिजो जे गरे, त्यसलाई फर्केर हेर्दा ’म नेकपा एमालेको स्कुलिङको हुँ’ भनेर कुनै पर्खाल खडा गर्नु वा ’म नेकपा माओवादी स्कुलिङको मान्छे हुँ’ भनेर अर्को कसैसँग दूरी राख्नुको कुनै अर्थ छैन । किनभने सत्ताको बहुदलीय जनवाद कहाँ पुग्यो ? भन्दा त्यो दलाल पुँजीवादको कैदी बन्न पुग्यो । त्यत्रो रोमाञ्चक युद्ध आन्दोलनको भेल, त्यो असाधारण प्रवाह दलाल पुँजीवादका भित्तामा ठोक्किएपछि कसरी निस्तेज भयो ? त्यो पनि त्यही अवस्थामा पुग्यो ।
आज के छ ? फर्केर हेर्नुहोस् त । माओवादी भएर हेर्नुहोस् वा एमाले भएर हेर्नुहोस् । कोही बङ्करमा लडेको थियो, कोही सडकमा लडेको थियो । कसैले बन्दुक उठाएर लडिरहेको थियो, कसैले नारा जुलुस गर्दै थियो, अर्को केही गर्दै थियो, अर्को भोट माग्दै थियो ।
आम रुपमा ती स्कुलिङमा के फरक छ ? अहिले मुलुकलाई दिनुपर्ने राम्रो कुरा, त्यस अर्थमा हेर्नुहुन्छ भने ती मानिसहरूलाई राखेर हेर्नुहुन्छ भने ती दुवै मूलभूत रूपले दलाल पुँजीवादको कब्जामा परिसकेका छन्, त्यहाँ कैद भइसकेका छन् । यस अर्थमा एउटा क्रान्तिका पक्षमा आएको मान्छेका हिसाबले, हामी हरेकले व्यक्तिगत रूपमा हेरौँ । आफ्नै पसिनाको मूल्य र आफ्ना सपनाहरूको कुरा हेर्नुहुन्छ भने आज हामी त्यही सपनाले थिचिएर छट्पटिने अवस्थामा छौँ । यस अर्थमा यसमा हामीले यसको विकल्प खोजेको हो ।
हामी त्यत्रो आन्दोलनबाट आएर, दलाल पुँजीवादसँग जुधेर त्यत्रो जनयुद्ध हार्यो, जनताको बहुदलीय जनवादको नाममा गरिएको त्यत्रो मेहनत, त्यो पसिना, त्यो जनसागर र त्यसले जगाएका मानिसहरूको सङ्कल्प दलाल पुँजीवादका भित्तामा ठोक्किएर आज घाइते अवस्थामा बसेको छ । चुनौती यो हो । यस अर्थमा, कुनै नेता वा कसैको विरोध वा समर्थनको कुरा होइन । यहाँ त यो मुलुकको भाग्यको कुरा हो, मुलुकको भविष्यको कुरा हो ।
- अब हामी कसरी जाने होला ?
पहिलो कुरा त हामी किन विभाजित भयौँ ? ती दलाल पुँजीवादसँग हारेर पछारिएका छौँ, एउटै कुरा रहेछ । हिजो हामीले समाजवादको उच्च मुक्तिको परिकल्पना देखेका हौँ, कुरा उस्तै रहेछ । आजको विभाजन कति ठूला छन् भन्दा मूलभूत रूपले स्कुलिङका, हिजोको हुर्काइका र अनुभवका छन् । युद्ध लडेका साथीहरूका केही अनुभव छन् । त्यो अनुभवका आँखाबाट अलिकति समाजलाई परिवर्तनलाई हेर्ने कुरा स्वाभाविक हो । शान्तिपूर्ण आन्दोलनबाट आएका साथीहरूका पनि आफ्ना बुझाइ छन् । यस्ता हुर्काइ, इतिहास, सन्दर्भ र संस्कारका कुरा बाहेक अरू धेरै कृत्रिम सीमाहरू कोरिएका छन् । र, ती रेखाहरू नेतृत्वले खासगरी दलाल पुँजीवादसँगको साठगाँठमा आज जुन सत्ता कायम गरेको छ, त्यसलाई बचाउन कोरेका धेरै सीमा छन् ।
अन्यथा कार्यकर्ताको कारणले कुन पार्टी फुटेको थियो ? योद्धाहरूको कारणले कुन पार्टी फुटेको थियो ? कार्यक्रमगत विषयमा कुरा नमिलेर कुन पार्टी फुटेको थियो ? यी सीमाहरू, विशेषगरी पछिल्लो विभाजनका धेरैजसो सीमा सचेत रूपमा कोरिएका छन् । यसो गर्दा आजको पहिलो काम क्रान्तिकारीहरूले अरूद्वारा कोरिएका नक्कली लक्ष्मणरेखाहरू मेटाउनुपर्छ । चाहे त्यो एमाले होस् वा माओवादी (माओवादीभित्रका विभिन्न घटक, एमालेबाटै निस्किएर पछि विभाजित भएका दलहरू), एकीकरण र समाजवादी लक्ष्यका लागि यी सबैमाथि यो कोणबाट हेर्दा तयारी हुनुपर्छ ।
पहिलो त यी नक्कली सीमा हामीले भत्काउनुपर्छ । इतिहास अब इतिहास भइसक्यो, त्यसलाई हामीले सन्दर्भ मात्र बनाउने हो । लडेका र लड्दाका अनुभवहरूले हाम्रो बाटो छेक्नुहुँदैन, अगाडिको भविष्य रोक्नुहुँदैन । हामी यी सबै सीमाहरू भत्काऔँ, भत्काउँदै जाऔँ । भत्काउनका लागि छलफल सुरु गरौँ, त्यसका लागि एजेन्डा तयार गरौँ र अगाडि बढौँ । आजको क्रान्तिको पहिलो काम यो होला भन्ने लाग्छ ।
सङ्कट कहाँ छ ? सन्तुष्टिको कुरा छोडिदिनुस् । मुलुक नै असन्तुष्ट छ । सडकमा किसान, मजदुर, बुद्धिजीवी, उद्योगी र व्यवसायी सबै असन्तुष्ट छन् । देउवा, ओली, प्रचण्ड, माधव नेपाल, रविजी समेत असन्तुष्ट हुनुहुन्छ । को चाहिँ सन्तुष्ट छ र ? कोही पनि सन्तुष्ट छैन । यसैलाई फेर्न खोजेको हो । यो असन्तुष्टिले केही नयाँ कुरा खोजेको छ । यदि एउटा मात्रै ठाउँमा असन्तुष्टि भएको भए त्यसलाई मलमपट्टी गर्ने कुरा हुन्थ्यो । तर यो सर्वव्यापी असन्तुष्टिलाई एउटै राष्ट्रिय कार्यभार बनाउनुपर्छ । त्यो कार्यभार खासगरी वामपन्थीहरूका हिसाबले बन्छ । किनभने नेपाली काङ्ग्रेस अब इतिहासमा धेरै पछाडि परिसक्यो । उसलाई चुनाव हुने व्यवस्था चाहिएको थियो, त्यो भयो ।
देउवा, ओली, प्रचण्ड, माधव नेपाल, रविजी समेत असन्तुष्ट हुनुहुन्छ । को चाहिँ सन्तुष्ट छ र ? कोही पनि सन्तुष्ट छैन ।
१८ वर्षकाले भोट हाल्न पाउने व्यवस्था भएपछि कांग्रेसको सबै विचार, नीति र सिद्धान्त पुग्यो । अब अगाडि जान काङ्ग्रेससँग न विचार छ, न सिद्धान्त छ । अगाडि जान त दलाल पुँजीवादसँग लड्नुपर्छ । कोही काङ्ग्रेस दलाल पुँजीवादसँग लड्छु भनेर काङ्ग्रेसमा गएको छ वा त्यो पार्टी स्वयं दलाल पुँजीवादसँग लड्छु भनेर बनेको पार्टी हो ? होइन । यदि यसो होइन भने यो दायित्व कम्युनिस्टहरुको हो । यस अर्थमा कम्युनिस्ट पार्टीभित्र हामीले इतिहासका यी जञ्जीरहरू चुँडाल्दै अगाडि बढ्नुपर्छ ।
मलाई लाग्छ, हामीसँग एउटा ठूलो वैचारिक र सैद्धान्तिक समस्या थियो । खासगरी २०६२/६३ को क्रान्तिपछि त्यसलाई बुझ्ने र त्यसको दिशा निर्धारण गर्ने कुरामा समस्या थियो । जसले गर्दा स्वयं राजतन्त्र सकिसकेपछि, गणतन्त्र आइसकेपछि पनि एमालेले जनताको बहुदलीय जनवादको कुरा गरिरहेको थियो ।
त्यस अर्थमा, हिजो भनिएको जनवादी क्रान्ति सम्पन्न भयो, पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो । आफैँ लागेर जनताको बहुदलीय जनवादी क्रान्ति सम्पन्न गरिसकेको एमाले फेरि पनि जनताको बहुदलीय जनवाद खोज्दै भौंतारिरहेको थियो, एउटा भयंकर ठूलो सैद्धान्तिक सङ्कटमा थियो । माओवादी पनि सैद्धान्तिक रूपले अन्योलमा परिरहेको थियो, अब के गर्ने भन्नेमा । हिजो सारा जनयुद्ध राजतन्त्रका विरुद्धमा थियो, जनवादी क्रान्तिका लागि थियो । त्यो जनवादी क्रान्ति भयो कि भएन भन्ने कुराको विश्लेषण गर्न नसक्दा ऊ फेरि पनि विद्रोहको कुरा गरिरहेको थियो । यो सैद्धान्तिक जुन अन्योल थियो, त्यो अन्योललाई हामीले समाधान गरिसकेका छौँ । र, अब हामी जाने भनेको समाजवादतिर हो । समाजवादतिर आज ढोकामा त्यो पुँजीवाद, पुँजीवादीहरूले भनेजस्तो पुँजीवाद छैन, हाम्रोमा ‘थेमा पुँजीवाद’ छ, जुन दलाल पुँजीवाद हो । पहिला त्यसैसँग हिसाबकिताब चुक्ता गर्नुपर्छ । किनभने नेपालमा पुँजीवादको खिन्चो, त्यो थेमा भएर आएको छ, त्यो दलाल पुँजीवाद हो । यसलाई हामीले अन्त्य गर्नुपर्छ ।
यसलाई अन्त्य त गरौँला, तर कसरी गर्ने ? सरकारमा गएपछि मात्रै हुन्छ भन्ने हो भने सबैभन्दा धेरै प्रधानमन्त्री कम्युनिस्टहरु नै बनिसके । सरकारमा गएर मात्रै हुँदो रहेनछ, बहुमत ल्याएर पनि हुँदो रहेनछ । मूल कुरा त दलाल पुँजीवाद स्वयंबाट मुक्त हुने कुरा रहेछ ।
हाम्रा आजका पार्टीहरूलाई दलाल पुँजीवादसँग लड्न सक्ने बनायौँ भने त्यसपछि त्यो कार्यक्रमले नै हामीलाई सबैलाई एक ठाउँमा ल्याउँछ नि । त्यस्तो कम्युनिस्ट पार्टी जसका नेताहरूले घुस नखाऊन् । मैले कार्यकर्ताको कुरा गरेको होइन, नेताले घुस नखाए कार्यकर्ताले खाँदैनन् ।
घुस नखाने नेताहरूको कम्युनिस्ट पार्टी बन्यो भने के सम्भव छ ? भन्दा पाँच–सात वर्षभित्रमा नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सम्भव छ । सबै किसान परिवारका घरमा कम्तीमा ४० हजार रुपैयाँ नगद पुर्याउन सम्भव छ । अलिकति यो वर्ल्ड बैंकले के भन्छ, यो आईएमएफले के भन्छ । हुन त हाम्रो अर्थमन्त्री हुनुभएको छ, उहाँले यस विषयमा बढी व्याख्या गर्नुहोला ।
हाम्रो सम्पूर्ण बजेट प्रणाली कस्तो छ भने बजेट कसरी बनाउने भन्ने कुरा उनीहरूले यसरी निर्धारण गरेका छन् कि आजको राज्यसत्तामा बसेका करिब ६–७ लाख मानिसहरूलाई पहिला कसरी तलब खुवाउने भनेर उनीहरू सुरक्षित गर्न चाहन्छन् । त्यसपछाडि त्यसका लागि चाहिने सारा कर कहाँ–कहाँबाट असुल गर्न सकिन्छ, भन्सार कहाँ–कहाँ लगाउन सकिन्छ, उनीहरुको ध्यान त्यहाँ हुने गर्छ ।
त्यसैले म भन्छु, नेपालमा अहिलेसम्मको व्यवस्थामा अर्थमन्त्री भनेको भन्सार मन्त्री र कर मन्त्री बाहेक केही पनि होइन । वर्ल्ड बैंक र आईएमएफको ऋण तिर्न कति कर लगाउँदा पर्याप्त हुन्छ भन्नेमा उनीहरूको ध्यान केन्द्रित हुन्छ । यो तरिकाले बजेट बनेको छ, बनाइएको छ । दलाल पुँजीवादले कसरी विकास गर्न सकिन्छ, कृषि कसरी आधुनिकीकरण गर्न सकिन्छ, कृषिमा कसरी आत्मनिर्भर हुन सकिन्छ र उद्योगमा कसरी आत्मनिर्भर हुन सक्छौँ भन्ने कुरा सोच्दैन ।
यसरी हाम्रो बजेट प्रणालीमाथि यसलाई पुनर्गठित गर्नैपर्छ । कृषिमा बजेट बढाउँदा पाँच वर्षभित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुनसक्छ । त्यसका लागि कृषकले उत्पादन गरेको उत्पादन बिक्रीको ग्यारेन्टी गरिदिनुपर्छ ।
मङ्सिरमा धान धेरै हुन्छ । हामी चैत/वैशाखदेखि नै किन्न थाल्छौँ । त्यसलाई भण्डारण गरी सहज बनाइदिनुपर्छ । यो व्यवस्था हुने बित्तिकै यसले औद्योगिकीकरणको बाटो समात्छ । उद्योग, यो भ्रमबाट मुक्त हुनुपर्छ । उद्योग भनेको निजी क्षेत्रले मात्रै गर्छ । निजी क्षेत्र आफैँले केही गर्दैन । हाम्रैमा देखियो नि, सबै अर्थतन्त्र निजी क्षेत्रकै हातमा त छ ।
एकचोटि १३–१४ प्रतिशत राष्ट्रिय आयमा योगदान गरेको उद्योग आज ५ प्रतिशत, सवा ५ प्रतिशतमा खुम्चिएको छ । यिनै नीति, दलाल पुँजीवादको बजेट, त्यसको अर्थनीति र त्यसका आर्थिक संरचनाका कारण यो अवस्था सिर्जना भएको छ । यसमाथि पुनर्विचार, क्रान्तिकारी पुनर्विचार गर्ने बित्तिकै हामीकहाँ धेरै उद्योग खुल्न थाल्नेछन् ।
पुँजीपति वर्ग आफैँले समाजवादको ग्यारेन्टी गर्दैन । चिनियाँहरू यही बाटो हिँडे, भियतनामीहरू यही बाटोमा हिँडे । लाओस, कम्बोडिया यही बाटोमा हिँडे । अरू पुँजीवादी मुलुकहरू पनि आत्मनिर्भर भए, तिनीहरू पनि पुँजीवादी भएको हुनाले, तिनको उद्देश्य नै पुँजीवादी भएको हुनाले तिनी साम्राज्यवादका दलाल भए ।
मैले यसो भन्दा केही साथीहरूले भन्छन्- ‘उद्योगपतिका लागि तपाईँहरूले काम गर्ने हो ?’
यो बेलामा नेपालको उद्योगको विकासको जिम्मेवारी कम्युनिस्ट पार्टीले नै लिने हो, वामपन्थी पार्टीले नै लिने हो । निजी क्षेत्रले तीन–चार उद्योग खोल्ला । हामीले राम्ररी काम गर्न सक्यौँ भने अरू चार–पाँच लाख, छ–सात लाख उद्योगहरू खुल्नेछन् । छ–सात लाख मान्छे पुँजीपति त हुनेछन् । तिनीहरूबाट हामी ट्याक्स लिनेछौँ । ती छ–सात लाख, १० लाख नयाँ अलि ठूला उद्योगहरूले ३० जना, ५० जना, सय जना काम गर्न सक्ने ती उद्योगहरूमा सङ्गठित श्रमजीवी वर्गमा कम्युनिस्ट पार्टीको जुन सङ्गठन हुनेछ, त्यसले हो समाजवादको ग्यारेन्टी गर्ने ।
पुँजीपति वर्ग आफैँले समाजवादको ग्यारेन्टी गर्दैन । चिनियाँहरू यही बाटो हिँडे, भियतनामीहरू यही बाटोमा हिँडे । लाओस, कम्बोडिया यही बाटोमा हिँडे । अरू पुँजीवादी मुलुकहरू पनि आत्मनिर्भर भए, तिनीहरू पनि पुँजीवादी भएको हुनाले, तिनको उद्देश्य नै पुँजीवादी भएको हुनाले तिनी साम्राज्यवादका दलाल भए ।
दक्षिण कोरियाको कुरा हेर्नुहोस् । तर दक्षिण कोरियाले पनि अमेरिकाका सबै कुरा मानेको भए दक्षिण कोरियामा आज यो विकास हुँदैन थियो । दक्षिण कोरियाकै विश्वप्रख्यात अर्थशास्त्रीहरूले यसका सयौँ, हजारौँ उदाहरण दिएका छन्, किताबहरू लेखेका छन् । त्यो पढ्दा थाहा हुन्छ । अझ एक जना नामुद कोरियन जो क्याम्ब्रिजका प्रोफेसर हुन्, हा जुन चाङ्ग, उनले भनेका छन्- ‘अमेरिकाले भनेको मानेको भए हाम्रो कोरिया आज माग्नेहरूको देश हुन्थ्यो ।‘ उनीहरूले अनेक अपमान सहेर पनि आफ्नो विकासको बाटो लिए, उद्योगको संरक्षण गर्ने बाटो लिए ।
कृषि र उद्योगलाई हामी १० वर्षमा कायापलट गर्न सक्छौँ । त्यस्तो कम्युनिस्ट पार्टी, जसको नेताले घुस नखाऊन् । यति भयो भने हामी त्यहाँ जान सकिन्छ ।
सबै निजी स्कुल सार्वजनिक गर्न खोजियो भने त्यसले राष्ट्रिय बजेटको कति प्रतिशत खोज्छ र त्यो हामीले कसरी पूरा गर्न सक्छौँ भनेर हेर्ने हो भने डरलाग्दो चित्र छ । आज गर्ने भनेको हामीले उत्पादनमा जोड दिँदै त्यसबाट राष्ट्रिय वैभव सिर्जना गर्दै ५–१० वर्षभित्रमा स्कुललाई, शिक्षालाई, स्वास्थ्यलाई राज्यको जिम्मा लिने हो । त्यो गर्न सकिन्छ ।
१० वर्षभित्रै कृषि, उद्योग, शिक्षा र स्वास्थ्यमा फड्को मार्न सकिन्छ । हामीले यो छलफल चलाउनुको अर्थ, तीन जना मिलेर फेरि अर्को पार्टी बनाइहाल्ने होइन । अहिले २४ वटा पार्टी छन्, २५ औँ बनाउनु होइन । यो तीन जनाको अलग पार्टी बन्दैन । अर्को पार्टी थपिँदैन । यो प्रष्ट छ । हामीले त जो जहाँ क्रान्तिकारीहरू छन्, हामीले त जोड्न खोजेको हो, फुटाउन खोजेको होइन । सही सिद्धान्त, सही नीतिमा आधारित कम्युनिस्ट पार्टीको निर्माण गर्ने भनेको हो, फुटाउने भनेको होइन ।
हाम्रो पार्टी संरचना, राज्य, सत्ता, सरकार, प्रधानमन्त्री, नेता, तिनका गुटहरूले जनतालाई धेरै अपमानित हुने काम गरेका छन् । धेरै झुट बोलेका छन् । यिनका अपमान र यसका झुटबाट मान्छे तरङ्गित भएको छ । मैले समाज बहुलाएको छ भन्छु । कसैलाई नटेर्ने भएको छ । बरु यिनलाई सजाय दिनका लागि चाहे त्यो पासपोर्ट घोटालामा परेको होस्, नागरिकता घोटालामा परेको होस् वा सुन घोटालामा परेको होस् । हेर्नु त कस्तो डरलाग्दो छ ? जनतालाई विकल्पै छैन ।
पुराना भ्रष्टहरू त छन् नै, पुराना भ्रष्टहरूको विरोध गरेर आएका नयाँ भ्रष्टहरू पनि छन् । यी दुवै भ्रष्टहरू बाहेक भ्रष्टाचार नगर्ने, त्यो व्यवस्था, त्यो पार्टी, त्यो राजनीति खोइ जनताका अगाडि ? आजको राजनीतिमा यो भयंकर ठुलो अत्याचार हो ।
यस अर्थमा, हामीले यस्तो विमर्श चलाउनु भनेको इतिहासका यी बन्धनहरू चुँडाल्दै अब मुलुकलाई केन्द्रबिन्दुमा राखेर दलाल पुँजीवादको प्रभुत्वलाई १० वर्षभित्र विस्थापित गर्छौँ । सबै नेपाली छोराछोरीलाई यहीँ जागिर उपलब्ध गराएर उनीहरूलाई कतै जानु नपर्ने अवस्था सिर्जना गर्ने कसम खाएर त्यही कार्यक्रम र योजना दिएर अगाडि बढ्ने हो ।
यदि यसो हो भने हाम्रो पार्टी आफैँ त्यस्तो हुनुपर्छ । प्रधानमन्त्री आफैँ त्यस्तो हुँदैन । किनभने हामी यस्तो अवस्थामा छौँ कि पार्टी संसद्मुखी छ । संसद् सरकारमुखी छ र सरकार दलाल पुँजीवादको झोले बनेको छ । यसलाई ब्रेक गर्नुपर्नेछ ।
हामीले साँच्चै यही कार्यक्रम दिएर अगाडि जाने हो भने जनताका लागि नयाँ भ्रष्ट पनि होइन, पुराना भ्रष्ट पनि होइन, भ्रष्टाचार नगर्ने, सुशासनको ग्यारेन्टी भएको मुलुकको विकास गर्ने, समृद्धि समाजवादतर्फ जाने बाटो भनेर हामीले प्रष्ट भन्न सक्यौँ भने आजका यी सारा समस्याको समाधान गर्न सक्छौँ ।
यही सङ्कल्पका साथ हामी तयार हौँ । कसैले यसलाई ’मिसन ८४’ भनेका छन् । यदि यो मिसन ८४ हो भने पनि समाजवादका लागि, श्रमजीवी वर्गका लागि, काम गरेर खाने वर्गका लागि, किसानहरूका लागि, मजदुरहरूका लागि, बुद्धिजीवीहरूका लागि, युवाहरूका लागि, महिलाहरूका लागि, जाति-जनजातिहरूका लागि, दलितहरूका लागि, मधेसीहरुका लागि विकल्प दिन सक्छौँ भनेर अगाडि बढ्न यो बहस सुरु गर्नुपर्छ ।
(नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बिहीबार बुटवलमा आयोजित ‘वर्तमान राजनीतिक सङ्कट र निकास’ विषयक अन्तरक्रियाका क्रममा राखेको धारणाको सम्पादित सार)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण