सङ्गम ८२ : गुरु–चेलाका कलाहरू
सारांश
- नेपाल आर्ट काउन्सिलमा 'सङ्गम ८२' नामक कला प्रदर्शनी सम्पन्न भयो, जसमा १५ कलाकारका विविध कलाकृतिहरू थिए।
- प्रदर्शनीमा भुवन थापाको फलामका पाताबाट बनेको 'लयको यात्रामा' इन्स्टलेसन, र सागर मानन्धरले काठमाडौँका ध्वनिहरूलाई कलामा ढालेका थिए।
- प्रदर्शनीमा विभिन्न कलाकारहरूले आ-आफ्ना कलामार्फत मानव भावना, अनुभव र विचारहरूलाई प्रस्तुत गरेका थिए।
नेपाल आर्ट काउन्सिलमा भर्खरै (जुलाई १२ देखि १८ सम्म) ‘सङ्गम ८२’ नामक कला प्रदर्शनी सम्पन्न भयो । काठमाडौँ युनिभर्सिटी (केयू) को कला सङ्कायका विद्यार्थी र गुरु कलाकारहरूको यस सामूहिक कला प्रदर्शनीमा १५ कलाकार सहभागी थिए— भुवन थापा, अनिल शाही, विपिन श्रेष्ठ, विभास राई, मनुकुमार चौधरी, ओमप्रकाश श्रीस, प्रफुल्ल शिल्पकार, प्रतिमा थकाली, सागर मानन्धर, सगुन थापा, सञ्जीव महर्जन, सरना श्रेष्ठ, सिद्धार्थ शाक्य, सुदीक्षा डङ्गोल र सुरज शिल्पकार ।
विभिन्न कलाकार भएकाले स्वभावतः कलामा पनि विविधता र नयाँ–नौला प्रवृत्ति पनि देखिए । सबै कला अब्बल रूपमा देखापरेका छन् ।

भुवन थापाको ‘लयको यात्रामा’ नामक कला अनौठो प्रकारले देखापरेको छ । ठुला र बाक्ला फलामका पाताले बनेको मूर्तिमा ‘इन्स्टलेसन’ आकर्षक ढङ्गबाट देखापरेको छ । ठुला र बाक्ला फलामका पाता किसिम–किसिमका पोस्चरमा ढसमस्स भई बसिदिँदा पनि यो कलाको कलागत संरचना अद्भुत देखापरेको हो । फलामका पातामा खोपिएका मान्छेको मुटुको धड्कन, हातका पन्जा र पैताला नैसर्गिक र स्वाभाविक देखिन्छन् । अमूर्तताले वशीभूत यी कलामार्फत कलाकारले आफ्ना भावना व्यक्त गरेका छन्, जुन भावनासँग दर्शक सहजै जोडिन सक्छन् । कडा–कठोर फलामका पातामा पनि उनले मानवीय संवेदना उतार्न सफल भएका छन् । यही नै यस कलाको मूल विशेषता पनि हो ।
भुइँ, भित्ता अनि प्रकाश सबै उनैका कलाको अभिन्न अङ्ग भएर देखापरेको छ । भुइँ स्वयं आफैँमा यी इन्स्टलेसन मूर्तिका लागि ‘पेडस्टल’ बनिदिन्छ । अनि समग्र कक्ष नै उनको कृतिमा परिणत हुन्छ ।
फलामका पातामा खोपिएका मान्छेको मुटुको धड्कन, हातका पन्जा र पैताला नैसर्गिक र स्वाभाविक देखिन्छन् । अमूर्तताले वशीभूत यी कलामार्फत कलाकारले आफ्ना भावना व्यक्त गरेका छन्, जुन भावनासँग दर्शक सहजै जोडिन सक्छन् ।
भुवन आफैँ दशकौँदेखि यस्तायस्तै अत्याधुनिक कलाहरू बनाउँदै आएका सशक्त कलाकार हुन् । लामो समयदेखि उनी केयूको कला सङ्कायमा पढाउने गर्छन् । आज सयौँ कलाकारका उनी प्रिय गुरु पनि हुन् । झन्डै १५–२० वर्षदेखि यस्तायस्तै अनेकानेक प्राकृतिक वस्तुहरूसँग उनको सामञ्जस्य रह्यो । साधारण वस्तुहरूलाई खेलाई–खेलाईकन कलाको निर्माण गर्ने उनको स्वभाव रह्यो । एकताका कडा ढुङ्गाहरू उनका कलामा बलियो पात्र बनेका हुन्थे । एकपटक त ढुङ्गामा धातुहरू मिसिएर पनि उनको कला देखापर्यो । कहिले काठका ठुल्ठुला मुढालाई सिलिङमुनि झुन्ड्याएर पनि उनले कलाका रुपमा प्रस्तुत गरे । यस्तै विकट गाउँमा पर्यटकलाई आकर्षक कला ध्येयले चौरमाथि काँचो बाँसमै डोकोहरू बनाएको पनि उनको कलागत इतिहास छ ।
यसपालि इन्स्टलेसन मूर्तिमार्फत उनले मानव अस्तित्वको गति, मनोभाव र विचारहरूलाई प्रस्तुत गरेका छन् । उनका कला नियाल्दा अजङ्गको फलामको पातामाथि पनि मनोभावको ढुकढुकी सुनेझैँ लाग्छ । हामी कहाँ, कता जाँदै छौँ ? के महसुस गर्दै छौँ ? के सोच्दै छौँ आदि–इत्यादिलाई महसुस गर्न सकिन्छ, उनका कलामार्फत ।

केयू कला सङ्कायका गुरु सागर मानन्धर यसपटक थोरै अलग काम लिएर देखा परेका छन् । उनले काठमाडौँ सहरभित्र बगिरहेका विभिन्न प्रकारका ध्वनिहरूलाई आफ्नो कलामा समावेश गरेका छन् । काठमाडौँ सहरभित्र गुन्जिरहेको ध्वनिलाई ताल र लयमा मिसाउँदै रङहरूको होली खेलेजस्तो बनाएका छन् । रङका थुप्रै तह थुप्रिन्छन् उनका क्यानभासमा, अनि आफैँ सम्मिश्रण हुँदै कवितात्मक भावाभिव्यञ्जना जन्मन पुग्छ । यसो हुँदा ध्यानको अथाह भवसागरमा पुगेजस्तो भएर उनको कला देखिन्छ । यसैलाई भावकले मिठो स्वादका रूपमा रसास्वादन गर्ने गर्छन् ।
अमूर्ततामा सधैँजसो चहकिला आला रङहरूसँग मात्र खेली बस्ने सागरले यसपटक त्यसमाथि भाव र अनुभवलाई गाँसेर देखा परेका छन्, जसले गर्दा उनका कलामा अझ तिखो स्वाद थपिएको छ । सफा, शुद्ध, चहक रङहरूसँग अनुशासनबद्ध भएर खेल्ने यिनको कलागत स्वभाव हो । यसैमाथि चित्रपटमा ठुला, मोटा, बाक्ला तुलिकाघातहरू कुदी बसेको देखिन्छ; जसले भावकलाई भावविभोर बनाउँछ । उनका रङहरू जहाँ जसरी बसे पनि मनमोहक नै देखिन्छन् । यसमाथि उनी रङका बाक्ला लेयरसँग खेल्न थालेका छन्, यसले उनका कलालाई थप आकर्षक बनाएको छ । उनका कलामा प्रयोगात्मक रूपमा रङ थोरै अलग संरचनामा देखिन्छन् । सानो प्लाइउडमा एकमाथि अर्को गर्दै रङहरूलाई थुपार्दै जाँदा जन्ती निस्किएको भाँतीमा अनेकानेक अमूर्त आकृतिहरू निर्माण भएका छन् । यसबारे उनी भन्छन्, ‘हरेक दिन नयाँ–नयाँ रङ थप्दै जाँदा चित्र तयार हुनै झन्डै नौ महिना लागेको थियो ।’ समसामयिक अमूर्त कलालाई यतिविघ्न समय लगाएको सम्भवतः अन्यत्र कतै देखिएको छैन ।
‘ट्रेसेज अफ टुडे’ नामकरण साथ देखा परेको उनको मूलतः एउटै कला दुईवटा भएर उदाएको देखिन्छ । सिसामाथि बनेका ड्रइङहरूलाई भित्तामा नटाँसी अलग झुन्ड्याइएको छ, भित्तामा भने त्यसैको छाया परी समग्रमा दुईवटा काम देखिन पुगेको हो । यसो हुँदा अर्को एउटा थप आकृति बनेको छ ।
सागरले यस प्रकारले कलागत संयोजन गर्न थालेको धेरै भएको छैन । झट्ट हेर्दा यसपालिका उनका कला अर्कै स्वरूपमा देखिन्छ, यद्यपि यही कलामा पुरानै लयले छाडेको भने देखिँदैन । यही नै उनको खासियत पनि हो ।
प्रफुल्ल शिल्पकार आफ्ना कलामार्फत आफू र आफ्ना दृष्टिकोणबिचको नातालाई केलाउन लागिपरेको देखिन्छ । कलाले भावसँगै दृष्टिकोण, सोच अनि आफैँभित्र पल्लवित अन्योललाई पनि बोकी हिँड्नु आफैँमा नौलो अवधारणा हो । यही अवधारणा उनका कलामा देखिन्छन् अर्थात् आफ्नो मनमा खेलिरहने भावनालाई उनले कलामार्फत प्रस्फुटन गरेका छन् । आफूभित्र रहेको अन्योल वा भ्रम समेतलाई उनले चित्रमार्फत व्यक्त गरेझैँ देखिन्छ । उनी यसो भन्छन्, ‘आफैँले आफूलाई खोज्ने क्रममा म सोच्छु— म यहाँ किन छु ? यो भौतिक रूपमा देखिएको दृश्य साँचो हो या भ्रम हो ? किन सबै कुरा छरपस्टिएको देख्छु ? भावनाको भारीले घरीघरी मलाई किन थिचिरहन्छ ? यस्तै प्रश्न र मनभित्रका भावनालाई दृश्यमा ल्याउन खोज्दा यी मूर्ति बनेका हुन् । यी कलामा यो हो कि त्यो हो जस्तो अन्योल पनि देखिन्छ ।’

मनभित्रका अन्योल र भ्रम दृश्याङ्कन हुँदा वा भइदिँदाखेरि आफू हलुका हुँला भन्ने सोचका साथ उनका कला बनेका देखिन्छन् । काठको प्यानल वा मिरर स्ल्याबमाथि सेरामिकका कामहरू गरी उनले ‘अनित्य’ नाम दिएका छन् । कलाको भाषामा यस्ता कामलाई ‘स्मोक फाइरिङ सेरामिक’ भन्ने चलन छ । यही शैलीमा उनले प्रस्तुतिमा थोरै अलग ढाँचा अपनाएका छन् । उनको यस कामलाई चित्रात्मक–मूर्तिको रूपमा पनि लिन सकिन्छ । हुन त उनको काम मूर्तिकै रूप हो तर चित्रात्मक स्वभावमा यसलाई भित्तामा झुन्ड्याइएको छ, जसले गर्दा थोरै नौलोपन थपिएको छ ।
मूर्तिलाई सिङ्गै भुइँ वा पेडस्टलमा प्रस्तुत गर्ने जुन परम्परा थियो, त्यसमाथि पनि यो एक प्रकारको विद्रोह हो । मूर्तिलाई भित्तामा झुन्ड्याउनु सिर्जनशील प्रयोग नै हो । यो कला मूर्त हुँदाहुँदै थोरै अमूर्ततामा ढल्केको देखिन्छ । फूल, पात, डण्डी नै उनका सबल पात्र हुन्, जसलाई किसिम–किसिमबाट संयोजन गरी उनले आकर्षक ढङ्गले पस्कन खोजेका हुन् । यी अनेक वस्तुहरूलाई लिएर गरिएको सङ्गठित काममा स्वादिलो प्रकारको सौन्दर्य वशीभूत छ, हेर्दा रमाइलो लाग्छ । सजाउने वस्तुजस्ता भई देखा परेका उनका कला गहिरो विचार बोकेर दृश्यावलोकन भएका छन् । नितान्त कालो, गाढा र अँध्यारो पृष्ठभूमिमाथि फूल र पातको अनौठो संयोजन उनको काममा देखिन्छ ।

अनिल शाहीको कामको प्रस्तुति थोरै अलग छ । ‘ट्रेसेज अफ टुडे’ नामकरण साथ देखा परेको उनको मूलतः एउटै कला दुईवटा भएर उदाएको देखिन्छ । चित्र एउटै हो, तापनि एउटै चित्र देखिँदामा दुईवटा देखिन्छन् । यो दृष्टि–भ्रम होइन, यथार्थ हो । उहिले हाम्रा पुर्खाले बनाएको ढुङ्गेधारा र खानेपानीको व्यवस्थामाथि घोत्लिँदै उत्खनन गर्ने क्रममा उनका यी काम जन्मेका हुन् । सिसामाथि बनेका ड्रइङहरूलाई भित्तामा नटाँसी अलग झुन्ड्याइएको छ, भित्तामा भने त्यसैको छाया परी समग्रमा दुईवटा काम देखिन पुगेको हो । यसो हुँदा अर्को एउटा थप आकृति बनेको छ । कलालाई प्रस्तुतिका क्रममा अलिकति नयाँ प्रयोग गर्ने सोच आफैँमा अर्को कला हो । समग्रमा हेर्दा भने दुईवटा अलग–अलग कला देखिँदा दृष्टिभ्रमको अनौठो स्वादलाई रसास्वादन गर्न सकिन्छ ।

विभास राईको ‘इथोस अफ किरात’ नयाँ ढङ्गले देखापरेको छ । उनले आफ्नै समुदायको अर्थात् किराती लोकगाथालाई कलाको मूल आधारभूमि बनाएका छन् । अझ भनौँ, किराती लोकाचार नै एक अभिन्न अङ्ग भएर उनको कलामा बसेको छ । किराती लोकगाथामा अनेक प्रतीकात्मक विम्ब हुन्छन् । थुप्रै जनावरका अनेकानेक प्रतीकात्मक विम्ब लोकगाथामा प्रयोग भएका हुँदा हुन् । तथापि यसपटक उनले आफ्नो कलामा बँदेल, सुँगुर र बाघलाई विशेष पात्रका रूपमा समावेश गरेका छन् । यी जनावर फूल र पातहरूसँगै आधुनिक संरचनामा संयोजन भएको देखिनु विशेष लाग्छ । थोरै यथार्थ हुँदाहुँदै कल्पनामा अनेक कथा उन्दै गरेको देखिनु यो उनको कलाको विशेष विशेषता देखिन्छ ।
उनको कलामा विशेष गरी जनावरहरू र बुढीबज्यैको दिनचर्यालाई सगोलमा प्रस्तुत गरिएको छ । उनका चित्र नियाल्दा लोककथाजस्तो बेग्लै संसार अनुभूत हुन्छ । सुपर–रियालिस्टिक फर्ममा देखिँदा देखिँदै पनि स्वभाव नमिल्ने पात्रहरू एकै ठाउँमा देखिन्छन्, जुन उनको कलाको अर्को विशेषता बन्न पुगेको छ । आफूले सुन्दै आएको लोककथा वा गाथालाई उनले आफ्नै ढङ्गले चित्रमा प्रस्तुत गरेका छन्, जसमा समुदायको विश्वास र परम्परा समेत घोलिएको अनभूति हुन्छ ।
मनुकुमार चौधरीले आफूले बाल्यकाल गुजारेको गाउँ, गाउँमा प्रकृति र मानवीय जीवनको नाता आदिलाई सम्झनामा ल्याउँदै ‘इचिङ’ नामक चित्र बनाएका छन्, जहाँ भेडाबाख्रा चराउँदै गरेको अनि झुपडीभित्र डोरीमा टाँगिएका लालटिन, मकैका झुत्राहरू अनि मुसाको बिगबिगीलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।
प्रतिमा थकालीले ‘मेकिङ अफ होम’ सिरिजमा सेतोमाथि सेतो घरको आकारलाई चित्रण गरेकी छन् । उनको काममा स्पष्ट घर देखिँदैन, तथापि नदेखिँदा नदेखिँदै घरलाई अनुभव र महसुस गर्न भने सकिन्छ । घरभित्रको कवितात्मक भावलाई भावकले मजाले महसुस गर्न सक्छन् । प्रतीकात्मक विम्बद्वारा देखिने–नदेखिने मर्म र दुःख–सुखका अमूर्त क्षणहरूलाई देखाउन होइन, महसुस गराउन उनको कला उद्यत देखिन्छ । उनको काममा पेपरमाथिको इम्बोस अनि क्रस–स्टिचको माध्यम पनि थोरै नौलो ढङ्गबाट दृष्टिगोचर हुन्छ ।
सुदीक्षा डङ्गोलले ‘हजुरआमासँगको याद’ सिरिजमा स–साना पाँचवटा काम गरेकी छिन् । उनलाई सानैदेखि हजुरआमाले हुर्काइन्, बढाइन् र एउटा संस्कार दिइन् । यसैको प्रतिविम्बका रूपमा उनका काम बनेका हुन् । जे भोगिन्, जे देखिन्, जसरी जीवनयापनका तौरतरिका सिकिन्— त्यसलाई उनले क्यानभासमाथि स्टिचिङ गरेर कला बनाएकी छिन् । मूलतः उनका कला फ्याब्रिक र धागोको सहयोगले बनेको छ । ‘आजी’, ‘एभ्री नाइट सावर’, ‘अलवेज देयर फर मी’, ‘अन हर ब्याक आई ग्रो’, ‘हजुरआमाको चिठी’ आदि–इत्यादि स–साना कलाहरूमा उनले आफ्ना पुराना सम्झनालाई पस्कने कोसिस गरेकी छन् ।

कालो बोल्ड रेखाहरूले मानवको अमूर्त आकारलाई खेलाएर भावक स्वयंलाई सोच्न बाध्य बनाउँदै खोजमाथि अर्को खोजको विम्बलाई निर्माण गरेका छन् सिद्धार्थ शाक्यले । उनी भन्छन्, ‘मेरा काम हेरिदिनका लागि मात्रै नहेरिदिनुस्, यसले मेरा लागि के अर्थ राख्छ ? मेरो काम हेर्दा यो काम किन हेरिरहेको छु, यसबारे म कलाकारलाई के प्रश्न किन गरिरहेको छु, यसबारे पनि खोज गर्ने प्रक्रिया आरम्भ होस् ।’
सञ्जीव महर्जनले ‘कठघरा’ नामक मूर्ति लिएर देखा परेका छन् । रेजिन र आइरन अक्साइड माध्यमबाट बनेको कृतिमार्फत उनले मूलतः परम्परागत देवी–देवतालाई आकर्षक पोस्चरमा पस्कने ध्येय राखेको देखिन्छ । पानीको गति सँगसँगै हावाका तत्त्वहरू बारम्बार घुमिरहनु अनि निरन्तरताको एहसास भइरहनु नै उनको कलाको वास्तविक पहिचान देखिन्छ । यही निरन्तरतालाई राम्रो पकडमा राख्ने उनको चाहना, सँगसँगै माइन्डको कथा, हार्मोनीमाथिको पकड अनि पानी र हावाबिचको अन्तक्र्रिया नै उनको कलागत विशेषता पनि हो ।
ओमप्रकाश श्रीसको ‘आइडिया अफ अपोजिट’ शीर्षकको काम थोरै अनौठो रूपमा देखिन्छ । जोडीको सन्दर्भ उठाउँदै उनी भन्छन्, ‘काउन्टरपार्टविना एउटा अवयवले कसरी आफूलाई सम्पूर्णता महसुस गर्छ र ?’
‘दिस एन्ड द्याट’ नामक उनको काममा गोलाकारभित्र त्रिभुज अनि यसभित्र पनि अर्को त्रिभुज अस्तव्यस्त भएको फ्रेममा देखिन्छ । भताभुङ्ग जीवनको यो एउटा प्रतिविम्ब पनि हो । समग्रमा भन्दा यही हाम्रै परम्परागत अवयवको प्रतीकात्मक विम्बले जोडीको महत्त्वलाई राम्रै गरी उजागर गरेको महसुस पनि हुन्छ ।
सुरज शिल्पकारको मूर्ति बच्चा बेलाको सम्झनाको प्रतीकात्मक विम्ब हो, जुन बेला हरेक वस्तु नै एउटा खेलौना हुन्थ्यो र खेलिबस्दै आनन्दको अनुभूत हुन्थ्यो, जसलाई उनले ‘मचा खासा’को नाम दिएका छन् । सगुन, सरना र विपिनका कामहरू पनि अनेक–अनेक रूपमा देखिन्छन् ।
(मल्ल कलाकार तथा कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण