गणतन्त्र र संघीयता गरिब र जनतालाई अधिकार दिन आएको हो – मुख्यमन्त्री बानियाँ
सारांश
- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय गणतन्त्र गरिब र आम जनतालाई अधिकार सम्पन्न बनाउन स्थापना भएको बताए।
- उनले सामाजिक सञ्जालमा गणतन्त्र र संघीयतालाई कमजोर पार्ने नकारात्मक कुरा फैलाइएको प्रति सचेत रहन आग्रह गरे।
- मुख्यमन्त्री बानियाँले हेटौँडामा नेपाल स्काउटको कार्यक्रममा संघीयता, स्वतन्त्रता र समावेशी व्यवस्थाबारे धारणा राखे।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय गणतन्त्र आमजनता र गरिबलाई अधिकारसम्पन्न बनाउन स्थापना गरिएको बताएका छन् । संघीय गणतन्त्र कसैलाई बिगार्न वा विनास गर्न नभई नागरिकका हक अधिकार स्थापित गर्न स्थापना भएको उनको भनाइ थियो ।
हेटौँडामा शनिबार आयोजित नेपाल स्काउटको एक कार्यक्रममा मुख्यमन्त्री बानियाँले लामो संघर्ष र शान्ति प्रक्रियाबाट प्राप्त यो समावेशी व्यवस्थालाई कमजोर पार्ने गरी सामाजिक सञ्जालमा फैलाइने नकारात्मक भाष्यप्रति सचेत रहन आग्रह गरे । उनले संघीयता र गणतन्त्रले नै महिला, दलित, जनजाति र पिछडिएका वर्गसहित सबैलाई समावेशी र समानुपातिक हिसाबले राज्यमा समान अस्तित्व र अवसर सुनिश्चित गरेको दाबी गरे । वर्तमान व्यवस्थालाई कमजोर देखाउन खोज्ने प्रवृत्ति बढेको उनले बताए ।
‘गणतन्त्र जनताको, गरिबको व्यवस्था हो । यो व्यवस्था राजा–महाराजा र तानाशाहको शासन मन नपराउनेहरूका लागि आएको हो, यदि यो व्यवस्थालाई स्वीकार नगरिएको भए महिलाहरूको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुने थिएन,’ उनले भने, ‘जति राम्रो गर्दा पनि राम्रो कुरालाई होइन, नराम्रो कुरालाई सामाजिक सञ्जालमा अफवाह फैलाउने किसिमको गतिविधि बढेको छ । यो संघीयता, स्वतन्त्रता र समावेशी व्यवस्था समाजलाई गतिशील बनाउन र प्रगति गर्नका लागि ल्याइएको हो । संघर्ष गरेर ल्याएको यो व्यवस्थामा समस्याहरू आउन सक्छन्, तर त्यसलाई समाधान गरेर अघि बढ्नुपर्छ । हाम्रो पुस्ताले यो व्यवस्थामाथिको भ्रमलाई चिर्ने काम गर्नुपर्छ ।’
मुख्यमन्त्री बानियाँले संविधानले दिएको हक अधिकारको रक्षा गर्ने तर अराजकता र छाडातन्त्रलाई कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिए । स्काउटले सिकाउने अनुशासन र धैर्यलाई देशको राजनीतिक व्यवस्थाको रक्षासँग जोड्दै उनले स्काउटका लागि तालिम केन्द्र र कार्यालय स्थापना गर्ने घोषणा गरे ।
'विकासका लागि राजनीतिक दलहरू एक हुनुपर्छ'
त्यसअघि मुख्यमन्त्री बानियाँले हेटौँडा उपमहानगरपालिका-१४ लक्ष्मीचोक स्थित साङ्गदो पाल्की गुम्बा र गण खड्केश्वर मन्दिरको शिलान्यास गरेका थिए । उक्त कार्यक्रममा उनले राजनीतिक आस्थाभन्दा माथि उठेर सामाजिक सद्भाव र विकासका लागि सबै एकजुट हुनुपर्ने बताए । चुनावका बेला फरक–फरक झण्डा र चुनाव चिह्न लिएर जनतामा गए पनि चुनाव सकिएपछि सबै मिलेर गाउँको विकासमा लाग्नुपर्नेमा उनले जोड दिए ।
धार्मिक सहिष्णुता सहित मठ, मन्दिर, गुम्बा वा चर्च सबैको संरक्षण र जगेर्ना गर्नु सबैको साझा दायित्व भएको मुख्यमन्त्री बानियाँले बताए ।
‘लोकतन्त्रमा हारजित स्वाभाविक प्रक्रिया हो । जित्नेले अहंकार र हार्नेले प्रतिशोधको भावना राख्नु हुँदैन । चुनाव सकिएपछि हामी सबै एउटै मञ्चमा बसेर विकासका लागि काम गर्नुपर्छ,’ उनले भने, ‘धर्म व्यक्तिले धारण गर्ने आस्थाको विषय हो र सबैले आफ्नो संस्कृतिअनुसार शान्तिपूर्वक मान्न पाउनुपर्छ । एउटै परिसरमा मन्दिर र गुम्बाको शिलान्यास हुनु धार्मिक सहिष्णुताको अनुपम उदाहरण हो ।’
भगवान् बुद्धको शान्ति र अहिंसाको सन्देशलाई स्मरण गर्दै समाजमा द्वन्द्व र हिंसाको अन्त्य गरी शान्तिपूर्ण समाज निर्माणमा लाग्न उनले सबैलाई आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण