शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

घण्टाैसम्म सोधपुछ पछि पनि अमेरिकाले देशमा छिर्न दिएन विदेशी विद्यार्थीलाई

आइतबार, १५ भदौ २०८२, १६ : २८
आइतबार, १५ भदौ २०८२

सारांश

  • अमेरिकामा अध्ययन गर्न आएका एक चिनियाँ विद्यार्थीलाई ५ वर्षका लागि अमेरिका प्रवेशमा रोक लगाइएको छ।
  • विद्यार्थीलाई विमानस्थलमा घण्टौँ सोधपुछपछि ‘अपर्याप्त कागजात’ देखाउँदै चीन फिर्ता पठाइयो।
  • चिनियाँ दूतावासले अमेरिकी अधिकारीहरूले चिनियाँ विद्यार्थीहरूलाई लक्षित गरेको आरोप लगाएको छ।

वासिङ्टन डीसी । अमेरिकामा पढ्न भनेर आएका २२ वर्षीय चिनियाँ विद्यार्थीको सपना एक्कासि चकनाचुर भयो । चीनबाट २९ घण्टा लामो यात्रापछि ती विद्यार्थी टेक्सस विमानस्थल पुगेका थिए ।

विमानस्थलमा घण्टौँसम्म सोधपुछपछि गु थर गरेका  ती  विद्यार्थीलाई चीन फिर्ता पठाइयो । यति मात्र होइन, उनलाई पाँच वर्षसम्म अमेरिका प्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको छ । 

आफूसँग सबै कागजातहरू पूरा भएको गु भन्छन् । उनी ह्युस्टन विश्वविद्यालयमा दर्शनशास्त्र पढ्न आएका थिए । पहिले उनले विद्यार्थी आदानप्रदान कार्यक्रम अन्तर्गत कर्नेल विश्वविद्यालयमा अध्ययन गरिसकेका थिए ।

त्यतिबेला उनले कुनै समस्याको सामना गरेनन् । तर यसपटक उनी विमानस्थल पुग्ने बित्तिकै भन्सार अधिकारीहरूले रोके, उनको इलेक्ट्रोनिक उपकरणहरू खोसे र घण्टौँसम्म निरन्तर सोधपुछ गरे । 

सोधपुछको केन्द्रबिन्दु चिनियाँ कम्युनिस्ट पार्टीसँगको उनको सम्बन्ध र चीनको छात्रवृत्ति परिषद् थियो । आफू कहिल्यै चिनियाँ कम्युनिस्ट पार्टीमा सामेल नभएको गु बताउँछन् । तर उनका आमाबाबु भने पार्टीका सदस्य हुन् । लगभग हरेक चिनियाँ युवाहरू जस्तै उनी भने पार्टीको युवा शाखाको हिस्सा रहेका थिए । 

भन्सार अधिकारीहरूले उनलाई १० घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरे । ३६ घण्टापछि उनलाई देश निकालाको सूचना दिए र चीन फिर्ता पठाइदिए ।

यसो गर्नुको आधिकारिक कारण ‘अपर्याप्त कागजात’ भनिएको थियो । आफूलाई निकै चिसो कोठामा कठ्याङ्ग्रिएको अवस्थामा राखिएको अनि ४० घण्टाभन्दा बढी समयसम्म आफूलाई निदाउन नदिइएको उनको भनाइ थियो । 

यस घटनाले अमेरिका र चीन बिचको तनावलाई अझ गहिरो बनाएको छ । हालैका समयमा १० भन्दा बढी विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई यस्तै तरिकाले रोकेर फिर्ता पठाइएको चिनियाँ दूतावासले दाबी गरेको छ । अमेरिकी अधिकारीहरूले चिनियाँ विद्यार्थीहरू विरुद्ध भेदभावपूर्ण र राजनीतिक रूपमा प्रेरित कारबाही गरिरहेको उनीहरूको आरोप छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केहीअघि चिनियाँ विद्यार्थीको भिसा खारेज गर्ने अभिव्यक्ति दिएका थिए । पछि उनले ‘हजारौँ चिनियाँ विद्यार्थीहरूलाई स्वागत गर्ने’ बताए । तर अर्कोतर्फ विमानस्थलमा यस्ता घटनाहरूमा बढिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप