शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
विचार

मानव समाजलाई किन चाहिन्छ शासन ?

सोमबार, १६ भदौ २०८२, १४ : ०५
सोमबार, १६ भदौ २०८२

मानव समाजलाई शासन आवश्यक छ कि छैन भन्ने प्रश्न हजारौँ वर्षदेखि केन्द्रमा रहँदै आएको छ । के हामी शासनविनै स्वतन्त्र र सामञ्जस्यपूर्ण रूपमा बाँच्न सक्दैनौँ ? के हामीमध्ये अधिकांश मानिसहरू विवेकी छैनौँ र अरूबाट शासित हुनु आवश्यक छ ? वा शासन केवल मानिस स्वभावत: अपराधी, चोर, हिंस्रक वा अनैतिक हुने भएकै कारण चाहिन्छ ?

यी प्रश्नहरूको जवाफ सजिलो छैन । तर बौद्ध धर्मको आगञ्ञ सुत्त र ताओ दर्शन दुवैले शासनलाई शक्ति वा प्रभुत्वको रूपमा होइन, समाजलाई सेवाको रूपमा हेर्छन् । जसरी ढल सफा गर्ने कामदारले घिन लाग्ने तर जीवनोपयोगी काम गर्छ । पितृसत्तात्मक संरचनामा भने शासन प्रायः नियन्त्रण र दमनको उपकरण बन्न पुग्छ ।

शासन कसरी जन्मियो ? आगञ्ञ सुत्तको दृष्टि

आगञ्ञ सुत्त (डीघ निकाय २७) अनुसार प्रारम्भमा मानिसहरू स्वाभाविक सामञ्जस्यमा बस्थे । भूमिको आहार स्वतः उपलब्ध हुन्थ्यो, सम्पत्ति वा सीमाको झगडा थिएन, कोही कसैलाई न ठग्थे, न अन्याय गर्थे ।

तर समयसँगै लोभ, इर्ष्या र स्वार्थ बढ्दै गयो । मानिसहरूले चोरी गर्न थाले, झगडा गर्न थाले, एकअर्कालाई पीडा दिन थाले । समाजले महसुस गर्‍यो कि यो अवस्था नियन्त्रणबाहिर जाँदैछ ।

लाओत्सेले ताओ ते छिङ मा भन्छन्- ‘सर्वश्रेष्ठ शासक त्यो हो, जसको अस्तित्वलाई जनताले मुस्किलले मात्र महसुस गर्छन् । त्यसपछि माया गर्ने शासक आउँछ । त्यसपछि डर उत्पन्न गर्ने शासक हुन्छ र सबैभन्दा खराब शासक भनेको जनताले घृणा गर्ने शासक हो ।‘

त्यसपछि मानिसहरूले सामूहिक निर्णय गरे- ‘हामीमध्ये एकलाई चयन गरौं, जसले गलत गर्नेहरूलाई चेतावनी देओस्, अपराधीलाई दण्डित गराओस् र समाजलाई सन्तुलनमा राखोस् । उसको मेहनतको बदलामा हामी हाम्रो अन्न वा उत्पादनको अंश दिन्छौँ ।‘

यसरी पहिलो राजा जन्मियो- महासम्मत । उनी कुनै दैवी आदेशले होइन, सामाजिक करार मार्फत चुनिएका थिए । शासकले न्याय कायम राख्ने जिम्मेवारी पाएका थिए, जसको बदलामा समाजले उनलाई अंश दिने व्यवस्था गर्‍यो ।

यस दृष्टिमा शासन मानिसहरूको नैतिक अपूर्णता (लोभ, क्रोध, मोह) को उपचारको रूपमा देखिन्छ ।

ताओ दर्शनको दृष्टि : कम शासन, उत्तम शासन

‘ताओ’ शब्दको अर्थ ‘मार्ग’ वा ‘सत्यको प्राकृतिक क्रम’ हो । ताओ दर्शनमा ताओलाई सृष्टि र जीवनको मूल प्रवाह, सबै कुराको प्राकृतिक नियम र सामञ्जस्यको स्रोतको रूपमा बुझिन्छ । ताओसँग सामञ्जस्यमा रहँदा मानिसले बल प्रयोग नगरी जीवन सरल, सन्तुलित र शान्तिपूर्ण बनाउँछ ।

ताओ दर्शनमा शासनलाई फरक ढङ्गले बुझाइन्छ । लाओत्सेले ताओ ते छिङ मा भन्छन्- ‘सर्वश्रेष्ठ शासक त्यो हो, जसको अस्तित्वलाई जनताले मुस्किलले मात्र महसुस गर्छन् । त्यसपछि माया गर्ने शासक आउँछ । त्यसपछि डर उत्पन्न गर्ने शासक हुन्छ र सबैभन्दा खराब शासक भनेको जनताले घृणा गर्ने शासक हो ।‘

लाओत्से थप भन्छन्- ‘न्यूनतम शासन नै सर्वोत्तम शासन हो ।‘ यसको अर्थ हो- शासकले केवल आवश्यक काम मात्र गर्नु, जनताको स्वाभाविक जीवनमा कम हस्तक्षेप गर्नु र समाजको प्राकृतिक सामञ्जस्यलाई बाधा नपुर्‍याउनु ।

यसलाई स्पष्ट बुझ्ने हो भने सर्वश्रेष्ठ शासक भनेको जनताले अस्तित्व मुस्किलले मात्र महसुस गर्ने (अदृश्य, हस्तक्षेप नगर्ने) हो ।  

जनताले सम्मान र माया दिने शासक अर्को हो । जनतामा डर र आतंक सिर्जना गर्नेलाई डर उत्पन्न गर्ने शासकको रुपमा लिइन्छ । जनताले घृणा गर्ने शासक सबैभन्दा खराब शासक हो । 

ताओ दर्शनमा शासकको आदर्श व्यक्तित्व पानीसँग तुलना गरिएको छ ।

मृदु : पानी कडा हुँदैन, बाधा आए पनि संघर्ष नगरी बाटो खोज्छ । शासक पनि कडा आदेश वा दमनबाट होइन, मृदु र समझदारीले समाजलाई मार्गदर्शन गर्छ । 

विनम्र : पानी तलतिर बग्छ, आफूलाई माथि देखाउँदैन । शासकले पनि शक्ति प्रदर्शन गरेर डर वा घमण्ड उत्पन्न गर्दैन । 

तलतिर बग्ने : पानी सबै स्थानमा पुग्छ । शासकले पनि समाजका सबै तहमा पहुँच राखेर आवश्यक सहयोग पुर्‍याउँछ, तर आफूलाई अगाडि राख्दैन । 

सबैलाई जीवन दिने : पानीले सबै जीवलाई जीवन दिन्छ, बदला माग्दैन । शासकले पनि स्वार्थविहीन सेवा गर्छ । 

प्राकृतिक प्रवाहलाई सहज बनाउने : पानीले आफ्नो बाटो बनाउँछ, तर प्राकृतिक प्रवाहलाई रोक्दैन । शासकले पनि जबर्जस्ती नियन्त्रण नगरी समाजको स्वाभाविक नियम र सामञ्जस्यलाई समर्थन गर्छ ।

सारमा, सर्वश्रेष्ठ शासक त्यसरी शासन गर्छ, जसरी पानी बग्छ । मृदु, विनम्र, सबैको भलो गर्ने र प्राकृतिक क्रमलाई बाधा नपुर्‍याउने । न्यूनतम हस्तक्षेप नै सर्वोत्तम शासन हो ।

पितृसत्तात्मक समाजमा शासन किन आवश्यक हुन्छ ?

सबै समाजलाई शासन आवश्यक छ भन्ने होइन । पितृसत्तात्मक समाजमा शासन प्रायः स्रोत र शक्ति नियन्त्रणका लागि आवश्यक ठानिन्छ ।

जमिन, नदी, वनजंगल, श्रमशक्ति यी सबैलाई नियन्त्रण गर्न शासन प्रयोग हुन्छ । कानुन, दण्ड र प्रशासनको माध्यमबाट मानिसहरूलाई आज्ञाकारी बनाइन्छ । 
प्रचार गरिन्छ- ‘विना शासन समाज अराजक हुन्छ, मानिस अपराधी बन्छ ।‘ तर यो सधैँ सत्य हुँदैन ।

सत्य शासक त्यो हो, जसले आफूलाई राजा होइन, जनताको सेवक मानेर ढल सफा गर्ने कामदार झैँ आवश्यक, घिन लाग्ने तर जीवनदायी काम गर्छ । उसले जित्ने होइन, समाजलाई सुचारु बनाउने हो ।

शासनविनै बाँच्ने समुदाय

आज पनि पृथ्वीका धेरै ठाउँमा शासनविनै वा राज्य संरचनाविनै जंगल, टापु वा दुर्गम क्षेत्रमा बाँचिरहेका समुदाय पनि छन् । उनीहरू आपसी सहमति र साझा संस्कृतिमा जीवनयापन गर्छन् । 

अपराध भए पनि कठोर दण्ड होइन, सामाजिक संवाद र मिलापमार्फत समाधान खोजिन्छ । प्राकृतिक स्रोतहरू सामूहिक उपयोगमा छन् ।

यसबाट देखिन्छ, शासन अनिवार्य रूपमा नैतिकताको रक्षा वा अराजकता रोक्ने मात्र उपाय होइन ।

शासनको वास्तविक अर्थ सेवा, शक्ति होइन । जहाँ शासन छ, त्यसको उद्देश्य सेवा हुनुपर्छ, शक्ति प्रदर्शन होइन ।

शासक मालिक होइन, सेवक हुनुपर्छ । शासक समाजलाई हाबी भएर चलाउने होइन, बिग्रिएको प्रवृत्ति सफा गर्ने हो ।

त्यसैले शासकलाई ढल सफा गर्ने कामदारसँग तुलना गर्न सकिन्छ । ढल सफा गर्नेले अदृश्य तर अपरिहार्य काम गर्छ । उसको योगदानविना समाज अस्वस्थ र अस्वच्छ हुन्छ । शासकको भूमिका पनि त्यस्तै हुनुपर्छ । 

शासनको आवश्यकता मानिस स्वभावत: दुष्ट भएकै कारण होइन । बरु समाजमा रहेको असन्तुलन, लोभ र स्वार्थका कारण हो । पितृसत्तात्मक समाजमा शासन अझ बढी आवश्यक देखिन्छ, किनभने यसले स्रोत–साधन र जनतालाई नियन्त्रण गर्न सजिलो बनाउँछ ।

तर शासनविनै पनि सामञ्जस्यपूर्ण जीवन बाँच्ने समुदाय छन् भन्ने तथ्यलाई नजरअन्दाज गर्नु हुँदैन । त्यसैले ‘विना शासन समाज अराजक हुन्छ’ भन्ने प्रचार सधैं सत्य होइन ।
सत्य शासक त्यो हो, जसले आफूलाई राजा होइन, जनताको सेवक मानेर ढल सफा गर्ने कामदार झैँ आवश्यक, घिन लाग्ने तर जीवनदायी काम गर्छ । उसले जित्ने होइन, समाजलाई सुचारु बनाउने हो ।

लाओत्सेको शिक्षा अनुसार न्यूनतम हस्तक्षेप र कम शासन नै सर्वोत्तम शासन हो ।

शासन रहिरहन्छ जबसम्म मानिसहरू संकीर्ण र स्वार्थी छन् । जब मानिसहरू नैतिक, करुणामय र ताओसँग सामञ्जस्यमा बाँच्न सक्छन् त्यतिबेला शासन आफैँ अनावश्यक हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुनिलबाबु पन्त
सुनिलबाबु पन्त
लेखकबाट थप