जिल्ला प्रशासन कार्यालय बैतडीद्वारा उच्च सतर्कता अपनाउन आग्रह
सारांश
- बैतडी जिल्ला प्रशासनले बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- आकस्मिक अवस्थाबाहेक यात्रा नगर्न र जोखिमयुक्त स्थानमा नबस्न जिल्लाबासीलाई आग्रह गरिएको छ ।
- रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ, र प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ।
बैतडी । लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आकस्मिक अवस्थाबाहेक यात्रामा नगर्न र जोखिम भएका स्थानमा नबस्न जिल्लावासीलाई आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । उनले भने, “अविरल रूपमा वर्षा भइरहेको छ । यस्तो अवस्थामा यात्रा नगर्न र विपद्जन्य घटना भएको अवस्थामा तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा रहन जिम्मेवार निकाय तथा सरोकारवाला सबैलाई भनेका छौँ ।”
मनसुनजन्य विपद्का सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, अत्यावश्यकबाहेक यात्रा नगर्न, रातको समयमा जोखिमयुक्त स्थानमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कतापूर्वक यात्रा गर्न सबैलाई आग्रह गरिएको छ । यसका साथै बाढीपहिरोको जोखिम हुनसक्ने भएकाले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक पनि लगाइएको छ ।
विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र यात्रा नगर्न अनुरोध गरिएको प्रजिअ पौडेलले बताए । जिल्ला प्रहरी कार्यालयले पनि अविरल वर्षाका कारणले बाढीपहिरो आई बाटोघाटो अवरुद्ध हुनसक्ने भएकाले बाहिर निस्कँदा र लामो तथा छोटो दूरीका सवारीसाधन चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ ।
बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले विपद्बाट बच्नका लागि सावधानी अपनाउन र आआफ्नो गाउँघर छरछिमेकीमा बाढीपहिरोसम्बन्धी क्षति हुन वा सक्ने सम्भावित क्षेत्रबारे नजिकको प्रहरी एकाइमा जानकारी दिन अनुरोध गरेका छन्।
यसका साथै महाकाली नदीको सतह बढेकाले नजिकका बस्तीमा जोखिम बढी हुने भएको हुँदा सुरक्षा सावधानी अपनाउन पनि आग्रह गरिएको छ । गत तीन दिनदेखिको लगातारको वर्षाका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण