बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्पका सल्लाहकारले भने – सी र पुटिनसँग मोदी उभिएको देख्नु 'लज्जास्पद'

मङ्गलबार, १७ भदौ २०८२, १९ : ५०
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • अमेरिकी व्यापार सल्लाहकारले मोदीको रुस र चीनसँगको निकटताप्रति आपत्ति जनाए।
  • उनले भारतले रुसी तेल खरिद गरेर युक्रेन युद्धलाई सघाएको आरोप लगाए।
  • अमेरिकी अर्थमन्त्रीले भारतलाई 'खराब खेलाडी' को संज्ञा दिए, एससीओ बैठकलाई लिएर।

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नवारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस र चीनका नेताहरूसँगको निकटतामाथि आपत्ति जनाएका छन्। नवारोले मोदी, सी जिनपिङ र भ्लादिमिर पुटिनसँग उभिएको देख्नु 'लज्जास्पद' भएको बताएका हुन्।

उनले मोदीले के सोचिरहेका छन् भन्नेमा प्रश्न गर्दै भारतले रुसको सट्टा अमेरिकाको पक्षमा हुनुपर्ने आशा व्यक्त गरे। नवारोले सोमबार भारतीय ब्राह्मणहरूमाथि रुसी तेल खरिद गरी नाफाखोरी गरेको आरोप लगाए। उनले भने, ‘भारतका ब्राह्मणहरू रुसी तेलबाट मुनाफा कमाइरहेका छन्, जसको मूल्य पूरा भारतले चुकाइरहेको छ।’

नवारोले थपे, ‘भारतले रुसबाट तेल खरिद गरेर युक्रेनमाथि आक्रमण गर्न पैसा दिइरहेको छ। यसले गर्दा सबभन्दा बढी ट्यारिफको मार भारतले नै झेलिरहेको छ। यसले रुस र अमेरिकालाई होइन, सामान्य भारतीयलाई नोक्सान पुऱ्याइरहेको छ। यो कुरा उनीहरूले बुझ्न जरुरी छ।’

नवारोले भारतलाई 'रुसको लुगा धुने मेसिन' बनेको आरोप लगाए । उनले भने, ‘भारतले व्यापार असन्तुलन मात्र बढाइरहेको छैन, तर अमेरिकाको हितविरुद्धका गठबन्धनहरू पनि बलियो बनाइरहेको छ।’

यसैबिच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि भारतले रुसबाट कच्चा तेल खरिद गरेकोमा प्रश्न उठाउँदै यसले मस्कोको युद्ध मेसिनलाई शक्ति दिइरहेको बताए। उनले भारतलाई 'खराब खेलाडी' को संज्ञा दिए।

फक्स न्युजसँगको कुराकानीमा बेसेन्टले प्रधानमन्त्री मोदीको हालैको एससीओ बैठकलाई देखावटी भनेका छन्। यद्यपि, उनले अमेरिका र भारत दुवै बलियो लोकतन्त्र भएको र मतभेदहरू समाधान गर्न सक्ने बताए।

सोमबार चीनको तियानजिनमा एससीओको बैठक भएको थियो। बैठकअघिको फोटो सेसनमा भारतीय प्रधानमन्त्री मोदी, चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिन एकसाथ देखिएका थिए। तीनै नेताहरूले एक-अर्काको हात समातेको पनि देखिएको थियो। यसबाहेक, मोदी द्विपक्षीय वार्ताका लागि रुसी राष्ट्रपति पुटिनको कारमै चढेर गएका थिए। दुई नेताबिच करिब एक घण्टासम्म गोप्य कुराकानी भएको थियो।

यी तस्बिरहरूलाई ट्रम्पविरुद्ध तीनै देशको एकताको रूपमा प्रस्तुत गरिएको छ। बैठकमा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ पनि सहभागी थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप