शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
विद्यार्थीकाे ‘फट्याइँ’

गृहकार्य नगरेपछि अपहरणमा परेको नाटक, तीन जिल्लाका प्रहरीलाई तनाव

मङ्गलबार, १७ भदौ २०८२, २० : ३९
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • गुल्मीको एक विद्यालयका कक्षा ७ का विद्यार्थी अपहरणमा परेको हल्ला चल्यो, तर पछि नाटक भएको पुष्टि भयो।
  • विद्यार्थीहरूले शिक्षकलाई झुक्याउन अपहरणको नाटक रचेको र गृहकार्य नगरेको कारणले यस्तो भएको खुल्यो।
  • प्रहरीले अपहरणको हल्लापछि खोजी कार्य गर्दा विद्यार्थी मन्दिर नजिकै लुकेको अवस्थामा फेला परे।

बुटवल । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित पृथ्वी माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्ने एक विद्यार्थी (छात्र) अपहरणमा परेको खबर विद्यालयका प्रधानाध्यापकलाई मंगलबार बिहान ११ बजेतिर पुग्यो । त्यसपछि प्रधानाध्यापक मदनबहादुर कुँवरले आत्तिँदै इलाका प्रहरी कार्यालय पुर्कोटदहलाई खबर गरे । त्यसपछि गुल्मी जिल्ला प्रहरी कार्यालयले सक्रियता बढायो । 

विद्यार्थीलाई अपहरणजस्तो गम्भीर विषय भएपछि जिल्ला प्रहरी कार्यालयले तालुक निकाय लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई पनि जानकारी गराएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं डीएसपी गङ्गाबहादुर सारूले रातोपाटीलाई बताए । 

उनले पुर्कोटदह प्युठान र अर्घाखाँचीको पनि सीमा क्षेत्र भएकोले तीन जिल्लाको प्रहरीलाई करिब ३ घण्टा खटाउनुपरेको बताए । 

गुल्मी जिल्ला प्रहरीलाई १२ बजेतिर खबर आएपछि अन्य जिल्लाका नाकाहरूमा चेकजाँचमा कडाइ गरियो । स्थानीय प्रहरी चौकीबाट बाइकमा ३-४ जना प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट समेत टोली खटाइएको थियो । यस्तै, ५-७ ठाउँमा प्रहरीको सानो टुकुडी पनि राखेर अपहरण गरिएको भनिएका विद्यार्थी र अपहरणकारीलाई प्रहरीले खोज्ने काम गरेको थियो । गाउँका पालिका अध्यक्षसहित अन्य प्रशासन क्षेत्र पनि विद्यार्थीको अपहरण घटनाको खोजीका लागि दौडधुप गर्नुपरेको विद्यालयका प्रअ मदनबहादुर कुँवरले बताए । 

वास्तविकता भने अर्कै 

विद्यालयका प्रधानाध्यापक मदनबहादुर कुँवर क्षेत्रीका अनुसार कक्षा ७ मा अध्ययनरत ती विद्यार्थी सोही गाउँपालिका भनभने बाँसडाँडास्थित घरबाट विद्यालयतर्फ जाँदै थिए । उनको समूहमा अन्य ७ जना विद्यार्थीहरू जम्मा भए । ८ जनाको समूह विद्यालय समयभन्दा ढिलोसम्म त्यही जङ्गलमा बस्यो । विद्यालय जान ढिला भएको थियो, तीमध्ये केहीले गृहकार्य पनि गरेका थिएनन् । स्थानीयले विद्यार्थीहरू त्यहाँ बसेको देखेपछि विद्यालयमा फोन गरे । 

अनि विद्यालयका एक जना शिक्षक विद्यार्थीहरू बसेको ठाउँतर्फ आइरहेको देखेपछि अपहरणमा परेको नाटक रचियो । 

कक्षा ७ मा पढ्ने उनी केही परको मन्दिरतिर लुकेर बसे । त्यहाँ रहेका विद्यार्थीहरूमध्ये अर्की छात्राले आफूहरूलाई मार्ने र किड्नी निकालेर लैजाने धम्की दिएको भन्दै साथीलाई अपहरण गरिएको नाटक शिक्षकलाई बताएपछि शिक्षकले तत्काल प्रधानाध्यापकलाई फोन गरे । त्यसपछि विद्यार्थीहरू अपहरणमा परेको हल्लाखल्ला भयो । 

विद्यार्थीहरूले रुँदै अपहरणमा परेको बताएपछि यो घटनाले गम्भीर मोड लिएको थियो । इलाका प्रहरी कार्यालयबाट खोजतलासका लागि आवश्यक प्रहरी, विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीहरू पनि सहभागी रहे । तर, २ घण्टापछि अपहरणमा परेका भनिएका छात्र ३०० मिटर पर मन्दिर नजिकै झाडीमा लुकेर बसेको अवस्थामा फेला परे । अनि वास्तविकता खुल्यो – विद्यार्थीहरूले शिक्षकलाई बेवकूफ बनाएका रहेछन् ।

उक्त घटना गृहकार्य नगरेका विद्यार्थीका कारणले भएको विद्यालयले प्रेस विज्ञप्ति नै जारी गरेर उल्लेख गरेको छ । प्रहरीले अपहरण नभई विद्यार्थीहरूको नाटकका कारणले तीन घण्टा आफूहरूलाई अनावश्यक तनाव भएको निष्कर्ष निकालेको गुल्मीका डीएसपी गङ्गाबहादुर सारूले बताए । 

यसअघि  भुलवश प्रयोग भएको तस्बिर हटाएर सांकेतिक तस्बिर प्रयोग गरिएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप