शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्री-सचिव विवाद

मन्त्री हाङ्गामले भने, ‘सरुवा भइसकेको सचिवले मन्त्रालयको गाडी प्रयोग गर्न मिल्दैन’ (भिडियाेसिहत)

मङ्गलबार, १७ भदौ २०८२, २२ : ५८
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • मन्त्री खगेनसिंह हाङ्गामले आफूले सचिवको गाडीको चाबी नखोसेको र सुशासन कायम गर्न चाबी फिर्ता बोलाएको बताए।
  • सचिवको सरुवा भएपनि मुख्यमन्त्रीसँगको समन्वयमा सरुवा रोकिएकोमा मन्त्री असन्तुष्ट देखिए।
  • मन्त्री र सचिवबीच लामो समयदेखि द्वन्द्व चलिरहेको र कर्मचारी संगठनहरूले घटनाप्रति आपत्ति जनाएका छन्।

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले सञ्चार माध्यममा आएजस्तो आफूले सचिवको गाडीको चाबी नखोसेको बताएका छन् ।

मंगलबार साँझ एक भिडियो सन्देश जारी गर्दै उनले मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेसँग जोडेर गरिएको प्रचार सही नभएको बताएका हुन् । ‘उहाँ (सचिव) को साउन २६ गते चाहिँ सरुवाको निर्णय भयो । त्यसपछि २८ गते मन्त्रालयको प्रमुख भएको हुनाले उहाँलाई सिस्टममा रमना पत्र आयो । मेरो बुझाइमा उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारको सह–सचिवको रूपमा उहाँ सरुवा हुनुभयो,’ हाङ्गामले भने, ‘सरुवा हुँदै गर्दाखेरि र उहाँ सह(सचिवको रूपमा सरुवा भइसकेपछि उहाँले फेरि भदौ १३ गते चाहिँ कोशी प्रदेशमा मुख्यमन्त्री कार्यालयमा रहने गरी उहाँ प्रदेश सचिव बन्नुभयो । तर प्रदेश सचिव बन्दै गर्दाखेरि २६ गतेदेखि १३ गतेसम्म चाहिँ हाम्रो मन्त्रालय उद्योग कृषि सहकारी मन्त्रालयको गाडी, चालक, क्वाटर सबै उहाँले उपयोग गर्दै आउनुभयो ।’

सेवा सुविधा मन्त्रालयबाट लिएर सचिव पाण्डे बाहिर(बाहिर हिँडेको र आफूसँग सम्पर्कमा नआएको मन्त्री हाङ्गामले बताए । ‘मसँग नभेटेको लगभग(लगभग २० देखि २५ दिन भयो । अहिले उहाँ कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयको सचिव हो । उद्योग कृषि सहकारी मन्त्रालयको उहाँ सचिवको रूपमा कामकाजमा अहिलेसम्म खटिएको छैन,’ मन्त्री हाङ्गामले भने, ‘त्यो हिसाबले आम नागरिकले तपाईँको पूर्व(सचिवले चढेको गाडी, चालक र क्वाटरहरू कस्तो अवस्थामा छ भन्ने प्रश्न आयो भने जवाफ दिनुपर्छ भनेर जिन्सी शाखामा चाबी बुझाउन लगाइएको हो ।’

मुख्यमन्त्री कार्यालयको सचिव रहँदै गर्दा उद्योग कृषि सहकारी मन्त्रालयको गाडीहरू दुरुपयोग गर्न पाइन्न भन्ने हिसाबले सुशासन कायम गर्नको लागि मात्रै फिर्ता बोलाएको उनले बताए । सचिव वा अरू कर्मचारीसँग आफू कुनै पूर्वाग्रही नभएको र कर्मचारीले हेर्ने दृष्टिकोण सधैँ(सदा एउटै किसिमको हुने उनको भनाइ छ।

मन्त्री हाङ्गामले सोमबार मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चाबी चालकमार्फत खोसेपछि विवाद चर्किएको थियो ।

सरुवा भइसकेको भए पनि सचिवले मुख्यमन्त्रीलाई रिझाएर आफ्नो सरुवा थमौती गरेको भन्दै मन्त्री हाङ्गाम असन्तुष्ट छन् ।

सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग छलफलका लागि भन्दै मुख्यमन्त्री कार्यालय पुगेका पाण्डेको गाडी मन्त्रीले खोसेका थिए । 

गत साउन २६ गते सचिव पाण्डेको सरुवा भएको थियो । तर, उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग समन्वय गरेर आफ्नो सरुवा थमौती गरेका छन् ।

मन्त्री हाङ्गाम र सचिव पाण्डेबिच लामो समयदेखि द्वन्द्व चलिरहेको मन्त्रालय स्रोत बताउँछ । 

मन्त्री खगेनसिंह हाङ्गामले सचिवले प्रयोग गरेको सवारी साधनको साँचो सवारी चालक मार्फत खोसेको विषयमा विभिन्न कर्मचारी संगठनहरूले आपत्ती जनाएका छन् । नेपाल फिसिरिज टेक्निसियन एसोसिएसन, नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएशनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाले सार्वजनिक सेवा प्रवाहमा नकारात्मक सन्देशका साथै प्रतिकूल असर पुर्‍याउने प्रस्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप