पार्टी एकताबारे आलोकनगरमा प्रचण्ड–माधवको ‘झालेमाले’ जवाफ
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताको विषयमा पटक-पटक छलफल भएको छ, तर निष्कर्ष निस्किएको छैन।
- छलफलमा प्रचण्डले पार्टी एकताका लागि जोड दिएका थिए भने नेपालले वैचारिक, राजनीतिक र सांगठानिक रूपमा कुरा मिलेपछि एकता गर्न सकिने बताए।
- दुवै पार्टीका नेताहरूले एकता तत्कालका लागि संकटमोचनका लागि हो वा दीर्घकालीन भन्ने प्रश्न उठाएका थिए, जसको स्पष्ट जवाफ आएन।
काठमाडौँ । आफ्नै पाटीभित्र किचलो भोगिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच पार्टी एकताबारे पटक पटक छलफल हुँदै आएको छ । तर, ती छलफलहरू निष्कर्षमा पुग्न सकेका छैनन् ।
दुवै पार्टीभित्र माओवादी र एकीकृत समाजवादीमात्र नभएर वाम एकता नै गर्नुपर्ने आवाज बलियो भइरहेका बेला प्रचण्ड–माधव भने दुई पार्टीमात्रै भएपनि एकता गरेर जानुपर्ने पक्षमा छन् ।
यसैक्रममा मंगलबार अध्यक्ष प्रचण्ड र नेपालले आफू निकटका केही नेताहरूलाई सँगै राखेर एकताबारे छलफल गरेका छन् । एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा प्रचण्ड र नेपालले केही नेताहरू सहभागी गाएर भएको छलफल पनि ठोस निष्कर्षविनै सकिएको नेताहरूले बताएका छन् । छलफलमा प्रचण्डसहित माओवादीका देव गुरुङ र जयपुरी घर्तीलगायत माओवादी सम्पर्क समन्वय, उपत्यका विशेष कमिटीका केही नेताहरू सहभागी थिए । त्यस्तै एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालबाहेक नेताहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल, रामकुमार भट्टराई र बागमती प्रदेश, सम्पर्क समन्वयका नेताहरू सहभागी थिए ।
छलफल क्रममा अध्यक्ष प्रचण्डले नेकपाकालमै विचार र दस्ताबेजहरू टुंगिसकेको भन्दै संगठन पनि मिलाउन कुनै समस्या नरहेकाले चाँडो एकता गर्नुपर्नेमा जोड दिएका थिए ।
‘हाम्रो विचार पनि नेकपा कालमै मिलेको हो, जनताको जनवादलाई मानेर अहिले जान सकिन्छ’, प्रचण्डले छलफलमा भनेका थिए, ‘केही नमिलेको विषय भए मिलाउँदै जाऔँला ।’
छलफलमा सहभागी एकीकृत समाजवादीका एक नेताका अनुसार एकतामा जति ढिलो भयो त्यति समस्या थपिँदै जाने भन्दै प्रचण्डले कन्भिन्स गर्ने प्रयास गरेका थिए । ‘यता हाम्रोमा पनि भँडुवाहरु छन्, भाँड्न देशी विदेशी लागेकै छन् । तपाईंहरुकोतिर (एकीकृत समाजवादीमा) पनि छन् । यसलाई चिरेर ‘सर्प्राइज’ एकता गर्नुपर्छ’, प्रचण्डको भनाइ थियो । प्रचण्डपछि माधव नेपाल बोलेका थिए । त्यसक्रममा उनले वैचारिक राजनीतिक र सांगठानिक रूपमा कुरा मिलेपछि एकता गर्न कुनै कठिनाइ नहुने बताएका थिए ।
‘अझै पनि मिलाउनुपर्ने विषय धेरै छन्, मोर्चालाई सक्रिय बनाउँदै र अघि बढ्दै गएपछि विश्वास पनि बढ्छ । त्यसले एकताको बाटो थप खुल्छ’, नेपालले भनेका थिए ।
प्रचण्ड र नेपाल दुवैको ब्रिफिङ सुनेपछि दुवै पार्टीका प्रदेशस्तरका नेताहरूले पार्टी एकता त गर्ने तर त्यो एकता समाजवादका लागि हो कि थप संकटका लागि हो ? भन्दै प्रश्न गरेका थिए ।
‘एकता गर्नुपर्छ भन्नेमा दुईमत छैन तर एकता तत्काललाई संकटमोचन गर्न हो कि पछिसम्म नै टिक्ने वास्तविक एकता हो ? यसबारे प्रस्ट हुन जरुरी छ’, प्रदेश र विभिन्न कमिटीका नेताहरूले यस्तो प्रश्न गरेपछि प्रचण्ड र नेपाल दुवैले स्पष्ट जवाफ दिन सकेनन् ।
बुधबारको छलफलमा सहभागी एक नेताले दुवै नेताको भनाइ उद्धृत गर्दै भने, ‘हाम्रो प्रश्नको ठोस जवाफ आएन । उहाँहरू (प्रचण्ड र माधव दुवैले झालेमाले जवाफ दिएर उठ्नुभयो ।’
जवाफ दिने क्रममा प्रचण्डले नेता जनार्दन शर्माप्रति लक्षित गर्दै ढिलो गर्नुभन्दा सर्प्राइज दिनेगरी एकता गर्ने हो भने ओली र अरू दललाई चक्मा हुने बताएका थिए । ‘हाम्रो पार्टीमा पनि केही विरोधी छँदैछन्, तपाईंहरु सवैले देखिरहनुभएको छ । माधवजीकोमा पनि झलनाथ, घनश्यामहरु तत्काल एकताको विपक्षमा देखिएका छन्’, प्रचण्डले भनेका थिए, ‘वैचारिक रूपमा कुरा मिलेपछि कुनै समस्या हुन्न ।’
एकीकृत समाजवादीका नेता प्रमेश हमालले बुधबार प्रदेशस्तरीय नेतासँग छलफल भएको स्वीकार गरे । उनले भने, ‘यो हाम्रो नियमिति छलफल हो । यसअघि पनि हुँदै आएको हो । बुधबार बागमती प्रदेशस्तरीय दुवैतिरका नेतासहितको छलफल भयो । जहाँ मोर्चामा सहकार्य प्रभावकारी बनाउने भन्नेमा जोड रह्यो ।’
तर, उनले पार्टी एकताबारे विषय प्रवेश नै नभएको दाबी गरे । ‘पार्टी एकताको विषय प्रवेश नै भैसकेको छैन’, हमालले भने, ‘वैचारिक, राजनीतिक र सांगठानिक कुरा मिलेपछि बल्ल एकताको विषय प्रवेश हुन्छ ।’
माओवादी केन्द्रका महासचिव देव गुरुङले समाजवादी मोर्चालाई बलियो बनाएर लैजाने विषयमा छलफल केन्द्रित रहेको बताए । ‘पार्टी एकताको विषयमा कुनै निष्कर्षमा पुगेका छैनौँ’, गुरुङले भने, ‘राजनीतिक दलको हिसाबले उच्चस्तरीय छलफल हुनु स्वाभाविक हो । आवश्यक परेमा पार्टी एकता पनि हुन्छ । तर त्यसका लागि विचार, सिद्धान्त मिल्नु पर्यो ।’ उनले छलफललाई आवश्यकता अनुसार आगामी दिनमा पनि निरन्तरता दिने सहमति भएको बताए ।
नेकपा एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले समाजवादी मोर्चा सक्रिय बनाउँदै जतिसक्दो धेरै वामपन्थी पार्टीबिच एकता गरेर अघि बढ्नेबारे छलफल भएको बताए । ‘समाजवादी मोर्चालाई सक्रिय बनाउँदै वाम एकताका लागि दुवै दलले पहल गर्ने र धेरैभन्दा धेरै वामपन्थी पार्टीसँग एकता गरेर कम्युनिस्ट धार बलियो बनाउनेबारेमा कुराकानी भयो तर कुनै निर्णय भएन’, भट्टराईले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण