बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
दसौँ राष्ट्रिय खेलकुद

‘प्रधानमन्त्री जतिको व्यक्तिले हचुवामा स्थगित गरिदिनुभयो’

बिहीबार, १९ भदौ २०८२, १० : ०१
बिहीबार, १९ भदौ २०८२

सारांश

  • कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पटक-पटक सर्दै अन्त्यमा स्थगित भयो।
  • प्रतियोगिता स्थगित हुनुमा केन्द्रको तालमेल नमिल्नु, भौतिक पूर्वाधारको कमी र पानीको अभावलाई कारण देखाइयो।
  • कर्णाली प्रदेश सरकारले प्रतियोगिताका लागि सक्रियता नदेखाएको र केन्द्रमा नयाँ सदस्य सचिव आएपछि मात्रै मिति तय हुने सम्भावना रहेको छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दुई वर्षअघि नै तय भएको हो । तर गण्डकीको पोखराबाट लिइएको झण्डा अहिलेसम्म फहरिन पाएको छैन ।

२०८१ मंसिर ३ देखि १० गतेसम्म प्रतियोगिता गर्ने योजना सरकारले बनाए पनि केन्द्रको तालमेल नमिल्दा प्रतियोगिताको मिति चैत २३ देखि ३० हुँदै जेठ ३ देखि १० सम्म गरेर तीन पटकका लागि सारियो । 

त्यसपछि प्रतियोगिता स्थगित नै गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नै पानी अभाव देखाउँदै प्रतियोगिता गर्न नसकिने बताएका थिए । 

यता कर्णाली प्रदेश भने लामो समयदेखि प्रतियोगिता गर्न आफूहरू तयार भएको बताउँदै आएको छ । नवौँ खेलकुद समापन हुने समयमै तोकेको मिति अर्थात् २०८१ मंसिरमा कर्णालीले राष्ट्रियस्तरको प्रतियोगिता गर्न सक्षम भएको बताएको छ । 

यसै विषयमा कर्णाली प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य–सचिव विश्वमित्र संज्यालसँग कुराकानी गरेका छौँ । 

  • नवौँ राष्ट्रिय खेलकुद समापनकै समयमा कर्णाली प्रदेशमा दसौँ प्रतियोगिता हुने भनी समय तोकिएको थियो नि हैन ? 

हो, हामीले पहिलो मिति तोक्दा नै राष्ट्रिय खेलकुद गर्न सक्षम थियौँ । खेलकुदमा सबैभन्दा महत्त्वपूर्ण कुरा समय हो । खेलकुद तालिकाअनुसार चल्नुपर्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदको तालिका मिलाउन अन्य कुराहरू सहायक हुन् । हामी भौतिक रूपमा केही कमजोर थियौँ । तर, पनि हामीले सबै व्यवस्था मिलाइसकेका थियौँ । खेलाडीलाई खान, आवास, खेल मैदानलगायत कुरामा हामीले सबै राम्रो व्यवस्थापन गर्न सक्ने अवस्था थियो । 

  • भौतिक पूर्वाधारमा त्यति सक्षम थिएनौँ भन्ने कुरा गर्नुभयो, पूर्वधार नै नभई कसरी खेल हुन्छ ? 

पूर्वधार नै राम्रो थिएन भन्ने होइन । राष्ट्रियस्तरको प्रतियोगिता गर्नका लागि हामीसँग पर्याप्त पूर्वाधार छन् । यसअघि अन्य प्रदेशले जस्तो तरिकाले गर्ने गरेका थिए, हामीले पनि त्यस्तै तयारी गरेका छौँ । छैटौं राष्ट्रिय खेलकुद हुँदा राष्ट्रपतिलाई उद्घाटन गराउँदा पनि समस्या सिमेन्ट बिछ्याएर तत्काल मञ्च बनाएको नदेखेका होइनौँ । पूर्वाधार न्यूनतम भएपछि खेलकुदलाई प्राथमिकता दिनुपर्छ । खेलकुद समयमा हुनुपर्छ । देश–विदेशमा कतै पर्दाले छोपेको होला, तर प्राथमिकता समयमै गर्नुपर्छ । एउटा सानो जड समातेर प्रतियोगिता गर्न नदिने खेल मात्र हो । 

  • तोकिएकै मितिमा प्रतियोगिता भएर भौतिक तथा खेलाडीको खेल प्रदर्शनका हिसाबले असफल भएको भए त्यसको जिम्मेवारी कसले लिन्थ्यो ? 

हामीले दुई वर्षअघि घोषणा गरेको मितिमा गर्न नसकेको भए नैतिक जिम्मेवारी लिन तयार थियौँ । कर्णाली प्रदेशले प्रतियोगिता गर्न सक्दैन कहिले भनेको छैन । केन्द्रको किचलोले गर्दा मात्र तीन पटक मिति सारियो, विभिन्न बहाना बन्यो । कहिले भौतिक पूर्वाधार अपुग त कहिले पानी नपुग्ने भएकाले राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिन्छ । यो सबै बहाना हो । यदि समयमा नै प्रतियोगिता गर्न सकेको भए र असफल भए त्यो समयको सदस्य सचिवको हिसाबले मैले लिन्थेँ । 

  • खेलकुद मन्त्री र सदस्य सचिवको सम्बन्ध अहिले पनि राम्रो देखिँदैन, केन्द्रमा तालमेल नमिल्दा दसौँ खेलकुद चेपुवामा परेको हो ? 

केन्द्रमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र सदस्य सचिव टंकलाल घिसिङको तालमेल नमिलेको कुरा सबैमा जानकार नै छ । नेपाली खेलकुदका दुई सर्वाेच्च व्यक्तित्व नमिल्दा त्यसको मुख्य असर खेलकुदमा परिरहेको छ । त्यसमध्ये ठुलो असर भनेको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि हो । सदस्य सचिव र खेलकुद मन्त्री बाहिर गर्न खोजेजस्तो देखाउने तर भित्र अर्काे नियत राख्ने गरेको देखियो । सम्भवतः सदस्य सचिवको कार्यकाल मंसिर १३ गतेसम्म मात्र छ । त्यसपछि मात्र अब नयाँ मिति तय हुने देखिएको छ । खेलकुद मन्त्रीलाई आफ्नो बोली बिक्ने र आफ्नो पार्टीको मान्छे आवश्यक छ । यता मंसिरअघि प्रतियोगिता गर्न सदस्य सचिव राजी भए पनि खेलकुद मन्त्रीले बोर्ड बैठक नै बोलाउँदैनन् । 

  • कर्णाली प्रदेश सरकार प्रतियोगिताका लागि कति सकारात्मक थियो ? 

मैले १०० दिनको काउन्टडाउन सुरु गर्दा मुख्यमन्त्री यमलाल कँडेल मसँग रिसाउनुभएको थियो । प्रदेशको नै प्राथमिकतामा परेको राष्ट्रियस्तरको प्रतियोगिताको काउन्टडाउन गर्दा रिसाउनुपर्ने देखिनँ । मलाई केही शंका भने पक्कै लागेको थियो । यदि प्रदेशकै मुख्यमन्त्री आफ्नो प्रदेशमा हुने राष्ट्रियस्तरको प्रतियोगितालाई नै सकारात्मक हिसाबले लिन नसकेको हो कि ? या यो प्रतियोगितालाई विश्वकप या ओलम्पिकजस्तो ठुलो प्रतियोगिता भन्ने भ्रम भएर हो । यदि त्यो समयमा मुख्यमन्त्री सकारात्मक भएको भए झनै सहज हुने थियो । 

  • कर्णालीका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई अहिले पनि सक्रिय भएर प्रतियोगितामा लाग्ने अवसर छ होइन र ? 

मैले यही कुरा सबैलाई बुझाउन खोजिरहेको हुन्छु । दसौँ खेलकुद भनेको केन्द्रले गर्ने हो, तर त्यसको समन्वयकारी भूमिका प्रदेशले खेल्नुपर्छ । केन्द्रले मात्र गर्छ, हामीचाहिँ हेरेर बसौँ भन्ने सोच प्रदेशले राख्नु हुँदैन । एक महिनाअघि गत साउन पहिलो दोस्रो सातातिर युवा तथा खेलकुद मन्त्रीलाई प्रदेशका मुख्यमन्त्री कँडेलले प्रतियोगिता छिटो गर्नू भनेर निर्देशन दिएको जस्तो सुनेको थिएँ । त्योबाहेक हालसम्म कुनै कुरामा प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको सक्रियता देखेको छैन । 

  • प्रधानमन्त्रीले नै पानीको अभावका कारण प्रतियोगिता गर्न नसकिने भन्नुभयो, के सात दिनका लागि प्रदेशले पानी व्यवस्थापन गर्न नसक्ने थियो ? 

राखेपका केही सदस्य र उपाध्यक्षहरूलाई प्रतियोगिताका केही न केही समितिमा बस्नुपर्ने थियो । यता उपाध्यक्षलाई अन्य कुनै पार्टीको व्यक्तिले दसौँ खेलकुदको क्रेडिट लियोस् भन्ने थिएन । दसौँ खेलकुदको राम्रो समितिमा जिम्मेवारी नपाएका र प्रधानमन्त्रीको अघि राम्रो बन्न उपाध्यक्ष सहितको टोलीले पानी नपुग्ने भन्ने बहाना बनाए । देशकै प्रधानमन्त्री जतिको व्यक्तिले एक पटक राम्रोसँग अध्ययन गरेर मात्र स्थगित गर्ने आधार दिए हुनेथियो । तर, उहाँले हचुवाका भरमा पानीको कमी भनेर स्थगित गरिदिनुभयो । पानीको अभाव त छ, तर हामीले पर्याप्त पानी सुर्खेतमा उतार्न सक्ने अवस्था थियो । 

  • राष्ट्रियस्तरको प्रतियोगिता नहुँदा सम्पूर्ण खेलकुदमा नै असर परेको छ, कर्णालीको खेलकुदको अवस्थाचाहिँ कस्तो छ ? 

कर्णालीको खेलकुद एक वर्षदेखि बन्द छ । रङ्गशाला खण्डहर बन्दै छ । प्रदेशको संरचना खेलकुदका लागि बनाइएको हो । प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने हो । प्रदेशभित्र खेलकुदका गतिविधि चलायमान हुनुपर्‍यो । अहिले कर्णाली प्रदेश सरकारलाई खेलकुद भनेको दसौँ राष्ट्रिय खेलकुद मात्र हो भन्ने लागेको छ । दसौँबाहेक प्रदेश सरकारले पनि प्रदेशस्तरमा खेलकुद प्रतियोगिता गर्न सक्षम हुनुपर्छ । तर, प्रदेश सरकारले ९ महिना बित्दा पनि प्रदेश खेलकुद परिषद्मा सदस्य सचिव नियुक्त गर्न नसकिरहेको अवस्था छ ।  

  • अब दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कहिले होलाजस्तो लाग्छ ? 

यो वर्ष पनि हुने अवस्था देख्दिनँ । यदि भइहाल्यो भने पनि वर्षको अन्त्यतिर नयाँ सदस्य सचिव आएपछि मात्र । टंकलाल घिसिङ सदस्य सचिव हुँदासम्म खेलकुद मन्त्रीले मिति तोक्दैनन् । मङ्सिरपछि नयाँ सदस्य सचिवका लागि प्रयास थालनी हुन्छ । नयाँ सदस्य सचिव आउन तीन महिनासम्म लाग्छ । त्यसपछि मात्र नयाँ मिति तय हुन्छ । यदि सरकार परिवर्तन भयो भने त झनै सर्ने सम्भावना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप