बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कोशेढुंगाको अराजकता

प्रदर्शनरत फिल्म ‘कोसेढुंगा’बारे मन्त्रालयको पत्र, सेन्सरको निर्णय नै पालना नभएको विषय बाहिरियो

मन्त्रालयले पठाएको पत्रको बोर्डबाटै बेवास्ता
बिहीबार, १९ भदौ २०८२, १७ : ३६
बिहीबार, १९ भदौ २०८२

सारांश

  • फिल्म 'कोसेढुंगा'ले सेन्सर बोर्डको निर्देशन पालना नगरेको विषयमा मन्त्रालयले अनुगमन गर्न निर्देशन दिएको छ।
  • सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्र पठाएर अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।
  • सेन्सर बोर्डको निर्णय पालना नगरेको गुनासो आएपछि मन्त्रालयले बोर्डलाई कारबाहीको लागि निर्देशन दिएको हो।

काठमाडौँ । हाल प्रदर्शनरत फिल्म ‘कोसेढुंगा’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)को निर्देशन पालना नगरेको विषय बाहिरिएको छ । यस्तो विषय बाहिरिएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई पत्राचार गर्दै यस सम्बन्धमा अनुगमन गरी प्रतिवेदन पेस गर्न पत्राचार गरेको छ । 

भदौ १७ गते मन्त्रालयको श्रव्य दृश्य तथा प्रसारण शाखाका अधिकृत विशाल भण्डारीले मन्त्रालयलाई गरेको पत्राचारमा ‘कोशेढुंगा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट भएको निर्णयको पालना नगरेको गुनासो सुनिएकोले उक्त निर्णय पालना भए नभएको अनुगमन गर्दै सेन्सर बमोजिम चलचित्र प्रदर्शनीको व्यवस्था मिलाई प्रतिवेदन समेत पेस गर्न भनिएको छ । 

‘श्री नरदेवी फिल्म्स् प्रा.लिद्वारा निर्मित नेपाली भाषाको चलचित्र कोशेढुंगा’ मिति २०८२/०५/११ मा केन्द्रीय चलचित्र जाँच समितिले जाँच गरी हेर्दा ‘चलचित्रका विभिन्न स्थानमा बोलिएका समाजमा अश्लील लाग्ने संवाद तथा शब्दहरू हटाई सबै उमेर समूहका दर्शकलाई सार्वजनिक प्रदर्शनीका लागि अनुमति दिने निर्णय भएको छ’, मन्त्रालयको पत्रमा भनिएको छ ‘चलचित्रले समितिको निर्णय पालना नगरेको बुझिन आएकाले उक्त चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट भएको निर्णयको पालना गरे नगरेको अनुगमन गरी सेन्सर बमोजिम चलचित्र प्रदर्शनीको व्यवस्था मिलाई सो को प्रतिवेदन समेत पेस गर्नु हुन आदेशअनुसार अनुरोध छ ।’

मन्त्रालयको पत्र बोर्डमा मंगलबार नै २१३ नम्बरमा दर्ता छ । तर बोर्डले यस विषयमा अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको देखिएको छैन  । फिल्मको अनुगमन विषयमा मन्त्रालयले पठाएको पत्रको बोर्डले बेवास्ता गरेको केन्द्रीय सेन्सर बोर्डका सदस्य सम्पन्न श्रेष्ठले बताए । केन्द्रीय चलचित्र सेन्सर बोर्डले सेन्सर गरेर दिएको विषय पालन भए नभएको चलचित्र विकास बोर्ड आफैले अनुगमन गर्नुपर्ने नियममै भएको श्रेष्ठको भनाइ छ ।

WhatsApp Image 2025-09-03 at 16.31.23

‘राज्यको सेन्सर गरेर पठाएको कुरा पालना नगर्नु कानुनी रुपमा एउटा अपराध हो । यो गम्भीर विषय पनि हो’, सदस्य श्रेष्ठले भने, ‘सञ्चार तथा सूचना मन्त्रालयबाट बोर्डलाई दुई दिनअघि यस विषयमा पत्र पनि पठाएको छ ।’ मन्त्रालयले पत्र काट्दा पनि अनुगमन भएन भने यसमा भोलि भइपरी विषयमा बोर्ड नै जिम्मेवार हुने श्रेष्ठको धारणा छ ।

उसो त फिल्महरूको अनुगमनका लागि चलचित्र विकास बोर्डले करिब एक महिना अगाडि अनुगमन समिति पनि बनाएको थियो । त्यसको संयोजक बोर्ड सदस्य वीरेन्द्र भट्ट रहेका छन् । तर उनले मन्त्रालयको पत्रको विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

‘मन्त्रालयको पत्र अध्यक्षज्यूको पुगेको भए मलाई थाहा छैन’, भट्टले भने ‘मैले भने पाएको छैन ।’

बोर्डका अध्यक्ष दिनेश डिसीले मन्त्रालयको पत्र बुधवार आफूलाई प्राप्त भएको बताए । ‘पत्र आयो । अनुगमन समिति पुरानै चलाउने हो कि नयाँ बनाउने हो । त्यो गर्नुपर्ने छ’, डिसीले भने ‘प्रक्रिया अगाडि बढ्छ ।’ फिल्म बिहीबारदेखि प्रदर्शनमा आएको थियो । 

‘कोशेढुंगा’ हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, प्रेविल कँडेल, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मी लगायतका कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप