'रिमै'को प्रिमिएरमा गुरुङ भेषभुषामा देखिए दयाहाङ र रिश्मा
सारांश
- शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'रिमै' को बुधबार साँझ प्रिमियर गरियो, जसमा फिल्मकर्मी र कलाकारहरूको उपस्थिति थियो।
- फिल्ममा दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको छ, र रिश्माले लामो समयपछि पुनरागमन गरेकी छिन्।
- निर्देशक खिलबहादुर गुरुङले फिल्म निर्माणमा गरेको मिहिनेत र दर्शकको मायाको अपेक्षा राखेका छन्।
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'रिमै'को बुधबार साँझ प्रिमिएर गरिएको छ । न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, दीपक आचार्य (काकु), अनिल योञ्जन, अभिनेता विल्सन विक्रम राई, रोहित रुम्बा लगायतका फिल्मकर्मी र रङ्ग पत्रकारको बाक्लो उपस्थिति थियो ।
प्रिमियर अघि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरूप सोरठी नाच समेत प्रस्तुत गरिएको थियो । सो अवसरमा फिल्मको मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ गुरुङ समुदायको भेषभुषामा देखिए । फिल्म हेर्ने अधिकांश फिल्मकर्मीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।
कार्यक्रममा अभिनेत्री रिश्मा गुरुङले आफ्नो करिब ८ वर्षपछिको कमव्याकलाई लिएर उत्साहित रहेको बताइन् । ‘म लामो समयदेखि अमेरिकामा बस्दै आएकी छु । म जुन सहरमा बस्छु, त्यहाँ नेपाली समुदायको बसोबास निकै कम छ । त्यसैले अमेरिकामा रहँदा यो सबै मिस गरिरहेकी थिए’, उनले भनिन् ‘आज रिमै हेरिरहँदा त्यो सबै भुलेर नयाँ अनुभव बटुले । फिल्म निकै राम्रो बनेको छ । लामो समयपछि काजी र मैंयाको जोडी पुन पर्दामा आएकाले दर्शकलाई आकर्षित गर्ने विश्वास छ ।’
निर्देशक खिलबहादुर गुरुङले आफूले विगत ३ वर्ष यता रातदिन रिमै बाहेक अरू केही नसुनी काम गर्दाको परिणाम आज पाउँदा खुसी लागेको बताए । ‘हामीले इमानदारीताका साथ फिल्म निर्माण गरेका छौँ । दर्शकले मनपराई दिनु हुन्छ भन्ने विश्वास छ’, निर्देशक गुरुङले भने ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना रानामगर लगायतको अभिनय छ ।
_EmozMu2Qdb.jpg)
उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता रहेका छन् ।
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, मित्र डि गुरुङको सम्पादन छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण