शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पुस्तक

उज्यालो औँसीभित्रको सौन्दर्य चेतना

शनिबार, २१ भदौ २०८२, १४ : ३०
शनिबार, २१ भदौ २०८२

सारांश

  • सिन्धुलीमा रघुनाथ कोइरालाको हत्या राजनीतिक कारणले भएको थियो, जसले लामो समयसम्म मौनता ल्यायो।
  • अनिता कोइरालाको उपन्यास 'उज्यालो औँसी' ले ३० देखि ७० को दशकसम्मको नेपाली समाजको कथा प्रस्तुत गर्छ।
  • उपन्यासले लैङ्गिक विभेद, जातीय द्वन्द्व र शिक्षाको महत्त्वलाई उजागर गर्छ, मुख्य पात्र अनुको जीवन मार्फत।

२०३५ कार्तिक कृष्णपक्ष लक्ष्मी पूजाको दिन सिन्धुली जिल्लाको कमलाखुँज धामिडुमरिया क्षेत्रमा ‘अत’(अराष्ट्रिय तत्त्व)द्वारा समाजसेवी तथा राजनीतिज्ञ रघुनाथ कोइरालाको बर्बरतापूर्ण, अमानवीय र आततायी ढङ्गले हत्या गरियो । यो राजनीतिक आवरणमा वैचारिक विभेदका कारण गरिएको गैरन्यायिक हत्या थियो । यो हत्यापछि धामिडुमरिया, कमलामाई क्षेत्र धेरै वर्षसम्म निःशब्द, मौन र सन्नाटापूर्ण रह्यो । कोइरालाको हत्यापछि पनि वैचारिक द्वन्द्व, राजनीतिक युद्ध र गैरन्यायिक हत्याका शृङ्खला चलिरहे । मूलतः २०१७ सालमा प्रादुर्र्भाव भएको पञ्चायती व्यवस्था, २०३६ को जनमतसङ्ग्रह र त्यसपछिको सुधारिएको पञ्चायत, २०४२ सालको सत्याग्रह, २०४६ को परिवर्तनले ल्याएको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र हुँदै देश २०५२ सालमा सशस्त्र विद्रोहमा होमियो ।

२०५२ देखि २०६३ सम्मको एक दशक मुलुक सशस्त्र विद्रोहबाट गुज्रियो । यो समयमा देशले असीमित भौतिक तथा मानवीय क्षति बेहोर्नुपर्‍यो । यो समय हामी सबैका निमित्त अभिशप्त थियो । दश वर्षसम्म मुलुक द्वन्द्वग्रस्त रह्यो । अँध्यारोपछि उज्यालो आउँछ भनेझैँ २०३६ सालमा संवैधानिक राजतन्त्रविरुद्ध रहेका सशस्त्र विद्रोही पक्ष र संवैधानिक राजतन्त्रका पक्षधर सात दल तथा छिमेकी राष्ट्रको मध्यस्थतामा बाह्रबुँदे बृहत् शान्ति सम्झौतामार्फत मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि सबै प्रकारका द्वन्द्वको अवसान भयो र लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने सपुतहरूको सपना पूरा गर्ने प्रणका साथ हामी नयाँ नेपाल निर्माण गर्ने चरणमा प्रवेश गर्‍यौँ । 

यसै सन्दर्भमा आख्यानकार अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’ तीसको दशकदेखि ७० को दशकसम्म नेपाली समाजमा घटेका पारिवारिक, सामाजिक तथा राजनीतिक घटनाक्रमको ऐतिहासिक आख्यानीकरण गरिएको दस्ताबेज हो । यो उनको जीवन भोगाइको वास्तविक अनुभूति र स्वैरकल्पना (फेन्टासी) मिश्रित सुन्दर अभिव्यक्तिहरूको सङ्ग्रह हो । यसमा उनले भौतिक रूपमा आफू धर्तीमा जन्म लिनुअघि नै भ्रूणको क्रन्दनमार्फत पिता रघुको हत्या हुन लागेको योजना उनलाई अवगत हुन्छ । ‘उज्यालो मान्छे भन्दै थियो, ‘रघुलाई नमारी हुँदैन । त्यसलाई जीवितै छोडियो भने हाम्रो राजनीतिक भविष्य धुलिट्याम हुने निश्चित छ, (पृष्ठ १५) ।’

उपन्यासमा नेपाली समाजमा प्रमुख चुनौतीका रूपमा रहेको लैङ्गिक विभेद, जातीय द्वन्द्व, भौगोलिक विकटता तथा मानवीय चैतन्यका निम्ति अति आवश्यक शिक्षाको उज्यालो ज्योति प्राप्तिका लागि गर्नुपरेको सङ्घर्षका कथा–व्यथालाई सविस्तार व्याख्या गरिएको छ ।

उनी गर्भमा रहँदा नै पिता रघुको भौतिक रूपमा हत्या हुन्छ । उनी जन्मजात गर्भे टुहुरीको परिचय लिएर जन्मिन्छिन् । सामाजिक लाञ्छनाले उनको बालमस्तिष्कमा गहिरो आघात पर्छ, ‘कसैले एकदिन भनेको सुनेँ, यो त बाउ टोक्कुई हो (रचना गर्भ) । त्यो कालविष मभित्र आगो बनेर सल्कियो । म निकै विक्षिप्त भएँ । त्यही कालविष र विक्षिप्तपन समय प्रवाहसँगै सकारात्मक ऊर्जामा अग्निज्वालाझैँ रूपान्तरण भयो र उज्यालो औँसीको जन्म भयो ।’ 

उज्यालो औँसी एक पूर्ण औपन्यासिक कथ्यहरूको सङ्ग्रह भए पनि यसमा विभिन्न बिसवटा उपशीर्षकमा आधारित कथाहरूको एक बृहत शृङ्खला छन् । कथाहरू विभिन्न कालखण्ड, परिवेश, परिस्थिति र मनस्थितिमा लेखिएका छन् । तसर्थ यो क्रमबद्ध रूपमा एउटा लयमा सङ्ग्रहित उपन्यास नभई पृथक् परिवेशमा कथाहरूलाई संयोजन गरी कथा कृतिलाई औपन्यासिक रूप दिएको तथ्य पाठकवृन्दले सहजै अनुमान लगाउन सक्छन् । तथापि कथा संयोजन तथा अनुक्रम मिलान, पात्र सिर्जना, चरित्र चित्रण, भौगोलिक तथा आञ्चलिक परिवेशको व्याख्या र पात्रहरूको नायकत्व असाध्यै बेजोड छ ।

उपन्यासमा नेपाली समाजमा प्रमुख चुनौतीका रूपमा रहेको लैङ्गिक विभेद, जातीय द्वन्द्व, भौगोलिक विकटता तथा मानवीय चैतन्यका निम्ति अति आवश्यक शिक्षाको उज्यालो ज्योति प्राप्तिका लागि गर्नुपरेको सङ्घर्षका कथा–व्यथालाई सविस्तार व्याख्या गरिएको छ । आफ्नो सौभाग्यको प्रतीक पतिको हत्यापछिको विक्षिप्त मानसिकता लिएर एक नारीले त्यस बर्बर युगको सामाजिक मान्यतालाई शिरोपर गर्दै आफ्ना नाबालक सन्तानलाई रोग, भोक, शोक र गरिबी विरुद्धको युद्धमा मोर्चाबन्दी गर्दै शिक्षाको प्रदीप्त ज्योतितर्फ उन्मुख गराउन गर्नुपरेको सङ्घर्षको कथालाई लेखकले आफ्नो निजात्मक अनुभूति मिश्रित भाषामा सुनकोसीको छालजस्तै अर्थात् कुनै सिद्धहस्त वस्ताजले सिर्जना गरेका सङ्गीतका मूच्र्छनाजस्तै लयबद्ध गर्नुभएको छ । उज्यालो औँसीभित्रका यी सङ्घर्षका कथा पढिरहँदा विश्वप्रसिद्ध उन्यासकार म्याक्सिम गोर्कीको आमा पढेजस्तै अनुभूति भयो ।

उज्यालो औँसी एक विशुद्ध आञ्चलिक उपन्यास हो । यस उपन्यासमा उल्लिखित कथा, पूर्वकथा, पात्र, परिवेश र भूगोल नेपालको पूर्वी तराई क्षेत्र, धनुषा, जनकपुर तथा भित्री मधेसमा पर्ने सिन्धुली भिमान कमलाखुँज क्षेत्र र बागमती प्रदेशको काठमाडौँ क्षेत्र वरिपरि घुमेको छ ।

आमाको गर्भमा रहेको शक्तिशाली भ्रूणको एकालापबाट उठान गरिएको उज्यालो औँसीको कथा विभिन्न पात्र र परिवेशका माध्यमबाट अघि बढ्दै जान्छ । कथामा उल्लिखित घटनाक्रमलाई विश्लेषण गर्दा यो कथा तीसको दशकदेखि सत्तरीको दशकसम्म नेपाली समाजमा घटेका घटना, परिघटना सङ्कट, महासङ्कट, प्राकृतिक प्रकोप तथा त्यसबाट उत्पन्न भएका सकारात्मक र नकारात्मक पक्षको आख्यानीकरण गरिएको एक सशक्त औपन्यासिक कृति हो ।

उज्यालो औँसी कृतिको मुख्य पात्र ‘अनु’ हो । अनुकै अनुभव, अनुभूति र स्वैरकल्पनामा उपन्यासको कथा यात्राले उचाइ लिँदै जान्छ । अनुको जीवनयात्रामा उनलाई मार्गदर्शन गर्ने, प्रोत्साहन गर्ने तथा उनको यात्रामा अवरोध सिर्जना गर्ने तथा उनको अभिशाप हो भनेर घृणा गर्ने लाञ्छना लगाउने दुवै प्रवृत्तिका पात्रहरूको बाहुल्य देखिन्छ । छोरी भएर जन्म लिएकै कारण उनले आफन्त, परिवारजन तथा प्रियजनबाट विभेदको प्रताडना सहनुपरेको छ । यसले त्यसवेलाको समाजमा शिक्षाको स्तर, सामाजिक चेतना लैङ्गिक विभेद कस्तो थियो भन्ने तथ्यलाई उजागर गरेको छ । 

कथामा सामाजिक तथा ऐतिहासिक पात्र पनि उपस्थित छन् । साथी, सहेली तथा परिवारका सदस्यले नै कथामा मुख्य भूमिका निर्वाह गरेका छन् । जस्तै ः आमा, हजुरआमा, फुपू, दिदीहरू, दाजु, चिने, गायत्री, रमा, राजु, हेमा आदि । यसै सन्दर्भमा यहाँ मैले भन्नैपर्छ— कथामा उल्लिखित केही प्रमुख पात्र जसको चरित्र र प्रवृत्तिबारे उल्लेख गर्नु सान्दर्भिक हुन्छ । कथामा मूल नायक जसको वृत्तमा कथा घुमिरहन्छ  ‘रघु’ अर्थात रघुनाथ कोइराला जो समाजसेवी, शिक्षाप्रेमी, विचारक तथा एक दूरदर्शी राजनेता थिए । जसलाई समाजमा चेतना, समता र ज्ञानको ज्योति ल्याएर समाज रूपान्तरण गर्नु थियो । त्यही अभीष्ट पूरा गर्न उनले आफ्नो प्राण उत्सर्ग गरे ।

झुङ्गेली बाजे उनी भुइँमान्छे हुन् । एक ऐतिहासिक पात्र तत्कालीन व्यवस्थाको बहिष्करणमा परेर शक्तिहीन भएको जसको कुनै ठुलो सपना छैन । निर्भय भएर बाँच्न र स्वच्छन्द भएर हाँस्न पाए पुग्छ । कमला किनारमा पाइने माछा, घोङी र गङ्गटाबाट आफ्नो जीविकोपार्जन गर्ने आदिम मानव बस्तीमा अनुको बाल्यकाल बित्छ । जो आफैँमा मस्त, व्यस्त र सन्तुष्ट समाज छ । 

यादव सर अर्थात् रामकिशोर यादव— एकजना लगनशील कर्तव्यनिष्ठ, वैज्ञानिक विचारधारा राख्ने शिक्षक हुन्; प्रत्येक वस्तु तथा घटनालाई वैज्ञानिक चिन्तनबाट हेर्ने समाजमा ज्ञानको ज्योति प्रज्ज्वलित गर्ने एक इमानदार शिक्षक हुन् । जसले अनुलाई जीवनप्रति सकारात्मक बन्न सिकाउँछन् । अँध्यारोमा रुमलिएकी अनुलाई सान्त्वना दिन्छन् । अनुको विक्षिप्त मनस्थितिलाई बुझ्छन् ।  

‘माधव शमशेर अर्थात् माधव शमशेर जवरा ‘सी’ वर्गका राणा हुन् । सिन्धुलीको रानीचुरीमा उनको भव्य दरबार थियो । कमला किनारमा उनको विर्ता विशाल थियो । त्योबेला बेसीमा औलोको प्रकोप भएको हुँदा उनी हात्ती, घोडा तथा पालकीमा चढेर भिमान, रानीचुरी, जनकपुर, सिन्धुली सयर गर्थे । उनले भारत प्रवासबाट विभिन्न प्रजातिका आँप, अम्बा, कटहरका बिरुवा ल्याएर बगैँचा बनाएका थिए । फलफूलको रसबाट मदिरा उत्पादन गरी महँगो मूल्यमा बिक्री गरिन्थ्यो । उनको मौजा तथा बसोबास रहेको मुख्य क्षेत्रलाई अझै पनि ‘सरकारी टोल’ भनिन्छ । जुन नाम सरकारी कागजातमा समेत उल्लेख छ । उनी एक ऐतिहासिक तथा अलौकिक पात्र हुन् । जुन पात्रले अनुको परिवारलाई विखण्डित तुल्याएको छ ।

‘फूल फुल्नु र आधा रातमा झर्नुको अर्थ केलाउने उमेर त थिएन तर पनि पारिजातले जीवनको पाठ निरन्तर सिकाइरह्यो पृष्ठ (५४)’ । पारिजातले शिरिषको फूल उपन्यासमा विसङ्गति र अस्तित्ववादी जीवन दृष्टिबाट लेखेर नेपाली साहित्यमा तरङ्ग ल्याएकी थिइन् । त्यस्तै उज्यालो औँसी उपन्यासकी मूल पात्र अनु अर्थात् अनिता कोइरालाले विम्बात्मक रूपमा जीवनलाई पारिजातको फूलसँग तुलना गरेकी छन् । पारिजातको फूल साँझ फुल्ने र बिहानी नहुँदै झरिसक्ने विम्बले मानव जीवन क्षणिक छ भन्न बुझाउँछ । यसलाई जतिसक्दो सार्थक बनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्छ । अस्तित्वबाट झर्नु अघि नै मानवले स्वको अस्तित्व बोध गर्नुपर्छ भन्ने मूल सन्देश उज्यालो औँसीले प्रवाहित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गाप्रसाद घिमिरे
दुर्गाप्रसाद घिमिरे
लेखकबाट थप