शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

यूएईमा अलपत्र परेका रानाभाटलाई वडाध्यक्ष थापाले मध्यरातमा गरे उद्धार, आफ्नै खर्चमा नेपाल फर्काउने

आइतबार, २२ भदौ २०८२, ११ : ५३
आइतबार, २२ भदौ २०८२

सारांश

  • पोखरा वडा २६ का अध्यक्ष नरेन्द्र थापाले युएईमा अलपत्र परेका अमृत रानाभाटको उद्धार गरेका छन्।
  • रानाभाट सन् २०२३ मा कामको लागि युएई आएका थिए र भिसाको म्याद सकिएका कारण जरिवाना तिर्नुपर्ने भएको छ।
  • अध्यक्ष थापाले रानाभाटलाई नेपाल फर्काउन लाग्ने सबै खर्च व्यहोर्ने र उनीसँगै नेपाल फर्किने बताएका छन्।

यूएई । पोखरा वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले युनाइटेड अरब इमिरेट्स (यूएई)मा लामो समयदेखि अलपत्र परेका आफ्ना वडाका नागरिक अमृत रानाभाटको उद्धार गरेका छन् । दुबईको एक कार्यक्रममा सहभागी हुन पुगेका उनले वडाबासी अलपत्र परेको अबर सुनेपछि आफ्ना संयन्त्र प्रयोग गरी रानाभाटको खोजी गरेका हुन् ।

रानाभाट सन् २०२३ मा कामका लागि यूएई आइपुगेका थिए । उनलाई सोनापुरबाट उद्धार गरिएको वडाध्यक्ष थापाले बताए । ‘विगत केहीदिनदेखि उहाँ अलपत्र परेको भिडियो सामाजिक सञ्जालमा आयो । मैले यहाँका साथीहरूलाई उहाँको खोजी गर्न आग्रह गरेँ,’ थापाले भने, ‘अन्ततः उहाँलाई भेट्न सफल भएका छौँ । अब आफ्नै खर्चमा भएपनि नेपाल फर्काउनेछु ।’

रानाभाटको भिसा म्याद सकिएकै महिना दिन कटिसकेको छ । जसका कारण १ हजार ५ सय ५० दिराम जरिवाना लाग्नेछ । ‘उहाँको ओभर स्टे ३१ दिन भैसकेको छ । जरिवाना रकम तिर्ने र ट्राभल डकुमेण्ट बनाएर मात्रै नेपाल जान मिल्छ,’ यूएईमै रहेका विद्यार्थी नेता सागर रानाभाटले भने, ‘यसबाहेक हवाई टिकट र अन्य खर्च पनि जोडिन्छ ।’ अमृत रानाभाट सुरुमा जिप्सन बोर्ड हेल्परका लागि यूएई आएका थिए ।

कम्पनीले तोके अनुसारको (११०० दिराम) समेत नदिएपछि उनले कम्पनी परिवर्तन गरेर झुमर टेक्निकल सर्भिसमा काम गर्न थाले । त्यहाँ पनि तोकिएको तलव पाएनन् । त्यसपछि ३४ वर्षका रानाभाट कम्पनी छोडेर ५ महिनादेखि कामको लागि भौतारिन थाले । ‘मैले अहिलेसम्म बुझेको तलब भनेको ३० हजार मात्रै हो । कम्पनीसँग पैसा माग्दा घरमै पठाइदिन्छु भन्यो,’ उनले भने, ‘५ महिनाअघिसम्म खानका लागि अलिअलि पैसा दिन्थ्यो । त्यसबाहेक एक रुपैयाँ पनि पाएको छैन ।’

काम छोडेदेखि आफू सडकमै बास बस्न थालेको रानाभाट सुनाउँछन् । ‘कतिदिन त भोकै बसेँ । सडकमै सुतेँ । जहाँ ओत भेटिन्छ त्यहाँ बसेँ,’ उनी अघि भन्छन्, ‘म अब घर फर्किन्छु भनेर धेरै प्रयास गरेँ । मेरो फोन पनि ५ महिनादेखि छैन । घरमा कसैलाई सम्पर्क गर्न सकिनँ । कसैले सामाजिक सञ्जालमा भिडियो हालिदिएछ बल्ल सम्पर्क भयो ।’

वडाध्यक्ष थापाले आफूलाई भेट्न आएपछि खुसी लागेको रानाभाट सुनाउँछन् । ‘मैले त कल्पना पनि गरेको थिइनँ । अध्यक्ष ज्यू आएपछि एकछिन् त भक्कानो छुट्यो,’ उनले थपे, ‘जे होस्, जनप्रतिनिधि भनेको सुखदुखका साथी रहेछन् । हाम्रो अभिभावक नै जनप्रतिनिधि हुने रहेछन् ।’

उनी झन्डै १ लाख खर्च गरेर प्याराडाइज नामको म्यानपावरबाट यूएई आएका हुन् । वडाध्यक्षले उनको उद्धार र नेपालसम्म पुग्दा लाग्ने सबै खर्च आफै व्यहोर्ने बताएका छन् । ‘उहाँको पारिवारिक अवस्था अझै राम्रोसँग बुझ्न पाएको छैन । उहाँचाहिँ पहिला पनि विभिन्न देश गएर फर्किनुभएको रहेछ । अहिले हामी जसरी हुन्छ नेपाल लैजाने तयारीमा छौँ,’ उनले भने, ‘प्रक्रिया सुरु भैसकेको छ । उहाँ मसँगै नेपाल फर्किनुहुन्छ ।’ 

थापा आगामी ११ तारिख नेपाल फर्किन लागेका हुन् । जरिवाना र सबै खर्च हिसाब गर्दा रानाभाट नेपाल फर्काउन ७० हजार भन्दा बढी खर्च हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप