सञ्चार मन्त्रालयले भन्यो : भीपीएन प्रयोग नगर्नुहोला
सारांश
- नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन खोजेको स्पष्ट पारेको छ।
- सर्वोच्च अदालतको आदेशपछि सूचीकरण प्रक्रियालाई तीव्रता दिइएको छ, जसअनुसार निष्क्रिय गरिएका सञ्जालहरूलाई फेरि सक्रिय गराइनेछ।
- सरकारले सूचीकरण नभएका सञ्जाल चलाउन भीपीएन प्रयोग नगर्न र सम्पर्क बिन्दु तोक्न आह्वान गरेको छ।
काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्न नभई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउन खोजेको स्पष्ट पारेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने र यसको रक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ।
विज्ञप्तिमा सरकारले सामाजिक सञ्जाललाई सूचीकृत हुन पटक-पटक आह्वान गरेको र सम्मानित सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि यो प्रक्रियालाई थप तीव्रता दिइएको उल्लेख छ। गत भदौ १२ गते ७ दिनभित्र सूचीकरणका लागि दिइएको सूचनाको समयसीमाभित्र सम्पर्कमा नआएका सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय गराइएको मन्त्रालयले जनाएको छ।
हालसम्म हाम्रो पात्रो र ग्लोबल डायरी प्रालि सूचीकरण भई सक्रिय भइसकेका छन् भने एक्स र वी च्याटले सूचीकरणका लागि आवश्यक जानकारी माग गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सूचीकरण नभएका सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको भन्दै यस्ता सञ्जाल चलाउन असुरक्षित र जोखिमपूर्ण भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
मन्त्रालयले सूचीकरणका लागि कुनै शुल्क नलाग्ने र सूचीकरण हुनेबित्तिकै पुनः सक्रिय गराइने जानकारी दिएको छ। साथै, मन्त्रालयले सबै सामाजिक सञ्जालहरूलाई नेपालमा सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन अनुगमन गर्ने अधिकारी तोकेर सूचीकरण हुन पुनः आह्वान गरेको छ।
सरकारले लिएको यस निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्न पनि मन्त्रालयले आम नागरिक र सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण