शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै आयोगले गरायो सरकारको ध्यानाकर्षण

सोमबार, २३ भदौ २०८२, १७ : ४२
सोमबार, २३ भदौ २०८२

सारांश

  • राष्ट्रिय मानवअधिकार आयोगले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
  • आयोगले मृतक परिवारलाई राहत र क्षतिपूर्ति दिन, घाइतेको उपचार गर्न र घटनाको अनुसन्धान गरी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
  • आयोगले प्रदर्शनकारीलाई शान्तिपूर्ण र मर्यादित रहन तथा सरकारलाई नागरिकका आवाज सम्बोधन गर्न आग्रह गरेको छ।

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रूपमा समयमै सम्बाेधन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । 

साथै प्रदर्शनका क्रममा मृत्यु भएको परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न नेपाल सरकारलाई आयोगले निर्देशन दिएको छ । साथै आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न आयोग प्रदर्शनरत पक्षलाई अनुरोध गरेको छ ।

‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन बमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रूपमा आफ्ना विमति राख्ने अधिकार छ,’ आयोगले विज्ञप्तिमा भनेको छ- ‘लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरूलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरूको समयमै यथोचित सम्बोधन गर्नुपर्दछ । यस प्रकारका प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ ।’

आयोगले प्रहरीको गोली लागि दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौँ व्यक्तिहरू घाइते भएको जनाएको छ । आयोगले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप