तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला
सारांश
- पाल्पाको तानसेनमा महिलाहरू तरकारी र फलफूल बेचेर जीविकोपार्जन गरिरहेका छन्।
- राधिका खाँतीले तरकारी बेचेर मासिक लाखौं रुपैयाँ कमाउँछिन्, जसले उनको घर खर्च चलाउन मद्दत गरेको छ।
- कतिपय महिलाहरूले तरकारी बेचेर छोराछोरीको पढाइ खर्च र परिवारको गुजारा चलाउँदै आएका छन्।
पाल्पा । डुम्रेकी रमिता विकले तानसेनमा तरकारी र फलफूल बेचेर जीविकोपार्जन गर्दै आएकी छिन् । “बिहानै गाउँबाट तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि डोको बोकेर निस्कन्छु”, नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिएकी उनले भनिन्, “दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहान बेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी यही हो ।”
मदन पोखराकी सीता कुमाल पनि सिजनमा तरकारीको भारी बोकेर तानसेन बजार पुग्ने गर्छिन् । उनी बारीमा उत्पादित तरकारी बजारमा बिक्रीका लागि आफ्ना दौँतरीसँग बिहान ६ बजे गाउँबाट निस्किन्छिन् । ‘तरकारी आयो तरकारी आयो’ भन्दै टोलटोल पुग्छिन् । “दिनकै हिँडेर तरकारी बेच्नु दुःख कष्ट त छ”, उनले भनिन्, “तर, गुजारा गर्न यत्ति गर्नै पर्यो ।”
तानसेन नगरपालिका–११ बाँझाकी ३८ वर्षीया राधिका खाँती पनि दिनहुँ जसो घरबाट तरकारी ल्याएर तानसेनस्थित शीतलपाटी नजिकै मन्दिर छेउमा बसेर बिक्री गर्छिन् । तरकारी बिक्री गरेर आएको पैसाले सहज रूपमा उनको घरको खर्च चलेको छ । “आम्दानीको स्रोत नहुँदा केही समय अघिसम्म घर खर्च चलाउन निकै गाह्रो थियो”, उनले भनिन्, “घर खर्चका लागि श्रीमानको मुख ताक्नु पर्दथ्यो । तरकारी बेच्न थालेपछि श्रीमान्बाट घर खर्च माग्नु परेको छैन ।”
खाँती आफैँले फलाएको र केही अन्य किसानले उत्पादन गरेको तरकारी सङ्कलन गरी तानसेनमा ल्याएर बिक्री गर्दै आएकी हुन् । खाँतीले तरकारी बेचेर अहिले मासिक लाखौँ रुपैयाँ कमाउन थालेकी छिन् । मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण उनी बनेकाकी छिन् ।
लकडाउनपछि शीतलपाटी सडक नजिकैको मन्दिर आसपासमा बसेर खाँतीले ताजा तरकारी र फलफूल बिक्री गर्दै आएकी हुन्। उनले तरकारी बिक्रीबाट दैनिक दुई हजारदेखि पाँच हजारसम्म आम्दानी हुने जानकारी दिइन् । तरकारी बिक्रीबाट भएको आम्दानीले छोराछोरीलाई पढाउन, खर्च खर्च तथा चार जनाको परिवार चलाउन सहज भएको उनको भनाइ छ ।
खाँतीलाई श्रीमानले तरकारी सङ्कलनमा दैनिक सहयोग गर्दै आएका छन् । “तरकारी बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा लाज लागेको थियो”, उनले भनिन, “अहिले आफ्नो पेसा व्यापार हो भन्ने बुझेकी छु । अब सकुन्जेल यही काम गर्ने हो ।” राधिकाका अनुसार अर्ग्यानिक तरकारी किन्ने ग्राहकको यहाँ दैनिक भीड लाग्ने गर्दछ । प्रायः बजार गर्न आउने र अफिसबाट फर्कनेहरूले तरकारी किनेर लैजाने गरेको उनको भनाइ छ ।
राधिकाले झैँ आफ्नै बारीमा फलेका र अन्य कृषकद्वारा उत्पादित तरकारी बेचेर कुरुङखोलाकी जमुना बोहोराले पनि मनग्य आम्दानी गर्दै आएकी छिन् । उनले विगत डेढ दशकदेखि सडक पेटीमा तरकारी बेचेर घर खर्च चलाउँदै आएकी हुन् । उनले पनि दैनिक रु एक हजारदेखि रु तीन हजारसम्म आम्दानी गर्छिन् । उनीहरू मात्र होइन बजार आसपासमा रहेका धेरै महिला दैनिकजसो तरकारी बिक्रीका लागि बजारसम्म आउने गर्दछन्। तरकारी बिक्री गरेर आम्दानी भएको रकमले घर व्यवहार चलाउँदै आएको महिलाहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण