रौतहटमा कर्फ्यु, गोली प्रहार
सारांश
- जेनजी आन्दोलन रौतहटमा उग्र बनेपछि गौर र चन्द्रनिगाहपुरमा कर्फ्यु आदेश जारी गरिएको छ।
- आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रदर्शनकारीले प्रहरीको गाडी जलाए, भने प्रहरीले हवाई फायर र गोली प्रहार गर्यो।
- १९ जनाभन्दा बढीको मृत्यु भएपछि प्रधानमन्त्री ओलीको राजीनामाको माग गर्दै युवाहरू सडकमा उत्रिएका छन्, साथै गृहमन्त्रीले राजीनामा दिएका छन्।
रौतह । देशभर फैलिँदै गएको जेनरेशन जेनजी आन्दोलन रौतहटमा समेत उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले गौर र चन्द्रनिगाहपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम मंगलबार सिडियो विनोकुमार खड्काद्वारा हस्ताक्षरित आदेशअनुसार गौरमा दिउँसो १२ बजेदेखि र चन्द्रनिगाहपुरमा बिहान ११:३० बजेदेखि कर्फ्यु लागू गरिएको हो। गौरमा विपी चोकदेखि बसपार्क, बरहवा पुल पारी हुँदै टिकुलिया गाउँसम्म र चन्द्रनिगाहपुरमा गौर–चपुर चोकदेखि गैडाटार जाने बाटोको पानी ट्यांकी भ्यू टावर, चाँदी खोलाको पुल पारी, घोडीदेवी मन्दिर र जिल्ला ट्राफिक कार्यालयसम्मको परिधि कर्फ्यु क्षेत्र तोकिएको छ।
कर्फ्यु अवधिभर एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी, पर्यटक सवारीसाधन तथा कूटनीतिक नियोगका गाडीलाई सुरक्षाकर्मीको सहजीकरणमा निर्वाध आवागमन गर्न दिइने प्रशासनले स्पष्ट पारेको छ।
यसअघि सोमबार देशभर भएको विरोध प्रदर्शनमा सरकारी दमनका कारण १९ जनाभन्दा बढीको मृत्यु भएपछि मंगलवार गौर, चन्द्रनिगाहपुर, गरुडा र कटहरिया लगायतका स्थानमा युवाहरू सडकमा उत्रिएका थिए। सदरमुकाम गौरको विपी चोकमा टायर बाल्दै प्रदर्शन हुँदा प्रहरीसँग झडप भएको थियो । प्रदर्शनकारीले चन्द्रनिाहपुर स्थित प्रहरीको गाडीसमेत जलाएका छन्। चन्द्रनिगाहपुरमा मंगलबार पुनः झडप चर्किँदा प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेको र गोलीसमेत प्रहार गरेको छ।
कटहरियामा बिहानैदेखि युवाहरू प्लेकार्ड बोकेर सडकमा उत्रिए। इलाका प्रहरी कार्यालयको मूल गेट अगाडि नाराबाजी गर्दै उनीहरूले बजारको बीचभाग र नगरपालिकाको कार्यालय अगाडि टायर बालेर आक्रोश प्रकट गरे। "विद्यार्थी मार्न पाइँदैन", "नेपाल सरकार मुर्दाबाद", "केपी चोर देश छोड" भन्ने नारासहित उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका थिए।
स्थानीय युवा नेताहरूले आन्दोलनलाई समर्थन गर्दै भने, “जेन–जीको माग जायज छ, राज्यले युवा पुस्ताको आवाज सुन्नैपर्छ।” जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार जिल्लाका केही स्थानमा प्रदर्शन शान्तिपूर्ण रहे पनि गौर र चन्द्रनिगाहपुरमा स्थिति तनावग्रस्त बनेको छ।
काठमाडौं र बाहिर हालसम्म १९ जनाको ज्यान गएपछि सरकारले चौतर्फी आलोचना खेपिरहेको छ। संयमता गुमाउँदै दमनमा उत्रिएको आरोपसहित प्रधानमन्त्री ओलीको राजीनामाको माग बढ्दै गएको छ। यसबीच गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् भने आन्दोलन मर पार्ने उद्देश्यले लगाइएको सामाजिक सञ्जाल प्रतिबन्ध पनि हटाइएको छ।
दमन र अभिव्यक्ति नियन्त्रणले युवामा आक्रोश थप चर्काएको छ। संवाद र सहमति बिना असन्तोष अझ फैलिन सक्ने देखिन्छ।
राजधानीमै सीमित देखिएको आन्दोलन ग्रामीण बजारसम्म फैलिनु देशव्यापी असन्तोष बढ्दै गएको स्पष्ट सङ्केत हो।
यसरी गौर, चन्द्रनिगाहपुर र कटहरियामा भएको आन्दोलनले जेन–जी पुस्ता अब मौन बस्न तयार छैन भने देखाएको छ।। आफ्नो हक, अधिकार र न्यायका लागि उनीहरू सडकमा उत्रिन थालेका छन्, जसले नेपालमा राजनीतिक तथा सामाजिक परिवर्तनको नयाँ चरण प्रारम्भ भएको आभास दिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण