बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

आयोगले भन्यो– कसैले पनि हिंसात्मक कार्य नगरौँ, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो

बुधबार, २५ भदौ २०८२, १६ : ०९
बुधबार, २५ भदौ २०८२

सारांश

  • राष्ट्रिय मानव अधिकार आयोगले जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको अवस्थाबारे अनुगमन गरिरहेको छ।
  • आयोगले निषेधाज्ञाको समयमा मानव अधिकारको स्थिति र मृतक तथा घाइतेको अवस्था बुझ्ने काम गरिरहेको छ।
  • आयोगले हिंसात्मक कार्य नगर्न र लोकतान्त्रिक प्रक्रियाबाट राजनीतिक निकास खोज्न आह्वान गरेको छ।

काठमाडौँ । गत आइतबार र सोमबार (भदौ २३ र २४ गते) भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । 

बुधबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरहरुमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यमा आयोग निरन्तरता लागिरहेको बताएको हो । 

आयोगले कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन आयोगले सबैमा आह्वान समेत गरेको छ । 

आयोगका प्रवक्ता डा.टिकारम पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,'देशका विभिन्न शहरहरुमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यलाई आयोगले आज पनि निरन्तरता दिएको हो । आयोगको अनुगमन अनुसन्धान कार्यमा आवश्यक सहयोग पुर्‍याउनुका साथै मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा प्रदायकलाई आवतजावतमा सहजीकरण गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।'

आयाेगले आगामी दिनमा यस प्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन सबैमा आह्वान समेत गरेकाे छ । 

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्नेमा आयोग दृढ रहेको समेत जारी विज्ञप्तिमा उल्लेख छ । जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्नेमा आयोगले जोड दिएको छ । 

सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आम नागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सम्बद्ध सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोगले सम्बद्ध सबैलाई आग्रह समेत गरेको छ । 

NHRC Nepal Press Release-2082-5-25_page-0001

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप