पर्वत र बागलुङ जोड्न कालीगण्डकीमा नयाँ पुल बन्दै
सारांश
- पर्वत र बागलुङ जोड्ने गरी कालीगण्डकी नदीमाथि ४१५ मिटर लामो झोलुङ्गे पुल बन्ने भएको छ।
- यो पुल कुश्माको आनन्द गुम्बादेखि बागलुङको नारायणस्थान जोड्नेछ, जसको निर्माण २०८३ पुस मसान्तसम्ममा सक्ने लक्ष्य छ।
- पुल निर्माणका लागि संघीय सरकारले ५ करोड २६ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ, जसले स्थानीय आयस्रोत बढाउन मद्दत गर्नेछ।
पर्वत । पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदीमाथि अग्लो र लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी पाँचौँ पुल बन्न लागेको हो ।
कुश्माबजारस्थित वडा नं ५ मा रहेको आनन्द गुम्बादेखि बागलुङ नगरपालिका–१४ नारायणस्थानको कुकुरगाढे जोड्नका लागि ४१५ मिटर लामो पुल निर्माण सुरु भएको हो । यसअघि कुश्मा–कैया झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल, कुश्मा–बलेवा बञ्जी जम्पको पुल र शिर्सुवा–कैया झोलुङ्गे पुल निर्माण भइसकेका छन् ।
बागलुङ नगरपालिका–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीका अनुसार २०८३ साल पुस मसान्तसम्ममा पुल निर्माण सक्ने गरी स्याङ्जाको जय नेपाल ईश्वर निर्माण सेवा प्रालिले गत असारमा नै ठेक्का सम्झौता गरिसकेको छ । पुलका लागि आधारभूत संरचना तयार गर्न तथा संरचना खडा गर्नका लागि व्यवस्थापन गर्नुपर्ने पूर्वतयारी बारेमा निर्माण कम्पनीले अध्ययन सकेकाले अब छिट्टै निर्माण सुरु हुने उनले बताए ।
सङ्घीय सरकारबाट विनियोजन भएको रु पाँच करोड २६ लाख ८० हजार लागतमा उक्त पुल निर्माण हुने भएको हो । बागलुङको बलेवा, कैया, पैयुँपाटा तथा पर्वतको कुश्मातर्फको ठूलो क्षेत्रफलमा रहेको र यस अगाडि निर्माण भइसकेका पुलहरूबाट सबैले लाभ उठाउन नसकिरहेको बेलामा स्थानीय आवश्यकताको आधारमा जनप्रतिनिधिहरूको पहलमा पुल निर्माण हुन लागेको वडाध्यक्ष खत्रीले बताए ।
पुलको नजिकमा ठूलो बस्तीको सम्भावना पनि रहेको तथा कालीगण्डकी कोरिडोरको तल्लो भूमिमा राम्रो समथर जमिन समेत रहेकोले पनि पुलले स्थानीयको आयस्रोत बढाउन पनि सहयोग गर्ने उनको विश्वास छ ।
“विशेष गरी बागलुङ नगरपालिका वडा नं १२, १३ र १४ को मध्य भागमा पर्ने, गाडीको गन्तव्य भएको, कुश्मा बजारको मध्य भागमा जाने भएकोले यो पुल निकै महत्त्वपूर्ण छ”, स्थानीय कमल जिसीले भने, “प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी तथा बागलुङ र कुश्मा नगरपालिकाका प्रमुखहरूको पहलमा निर्माण हुन लागेको पुलले दुई जिल्लालाई जोडेर सेवा लिन तथा व्यापार व्यवसाय सञ्चालन गर्न झनै सजिलो हुने भएको छ ।”
अहिलेसम्म बलेवाबाट कुश्मा गन्तव्य बनाएर यान्त्रिक पुल तर्दा एकतर्फीको रु ८५ तिर्नुपर्छ भने बञ्जी पुलबाट दुईतर्फी यात्राका लागि रु १२० लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण