शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
खेलकुद

जेनजी आन्दोलनको असर : भइरहेका खेल स्थगित, तालिका प्रभावित

शुक्रबार, २७ भदौ २०८२, १८ : ००
शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले दुई वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता खेल्दै थियो । भदौ २१ गते भएको पहिलो खेल गोलरहित बराबरीमा टुंगियो । त्यसपछि २४ गतेको खेलको तयारीमा खेलाडीहरु लागेका थिए । 

तर २३ गते काठमाडौँ लगायत देशभर जेनजी समूहले गरेको विशाल आन्दोलनका कारण देशको परिस्थिति अर्कै भयो । जसको प्रभाव खेलकुद क्षेत्रमा पनि नपर्ने कुरै भएन । त्यससँगै भदौ २४ गतेको दोस्रो मैत्रीपूर्ण खेल स्थगित भयो । खेल स्थगित भएपछि बंगलादेशको टोली घर फर्कियो । 

जेनजी आन्दोलनका कारण तालिका सार्वजनिक भएका धेरै खेल प्रतियोगिता स्थगित भएका छन् । नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलदेखि एसियाकै पहिलो फेन्चाइजी फुटबल लिग स्थगित भएका छन् ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको एन्फा यू–१६ फुटबल लिग, राष्ट्रिय महिला लिग छनोटका खेलहरु प्रभावित बन्न पुगे । जेनजी प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडका घटनाले देशभर थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ । खेलाडी र खेल क्षेत्रका भवनहरूमा भने असर पुगेन । 

खेलाडीहरु अहिले क्षति पुगेका भौतिक संरचना सरसफाइ र जेनजी आन्दोलनमा घाइते भएकाहरुको सहयोगमा केन्द्रित भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ नेतृत्वको टोलीले सरसफाइ र सामान व्यवस्थापनको काम गरेका छन् । करातेको राष्ट्रिय टोलीका एरिका गुरूङ लगायत खेलाडीहरूले जेनजी आन्दोलनमा घाइतेहरूका लागि रक्तदान गरे । राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले आन्दोलनमा घाइते भएका र निधन भएकाप्रति श्रद्धान्जली व्यक्त गर्दै छानबिनको माग गरेका छन् । 

खेल तालिका प्रभावित

युवा खेलाडीलाई लक्षित गरेर सञ्चालन भएको लिग स्थगित हुन पुग्यो । एन्फाले आयोजना गरेको राष्ट्रिय महिला लिग पनि स्थगित हुन पुग्यो । यो समयमा एन्फाले विभिन्न स्थानमा रेफ्री तथा कोचिङ कोर्स पनि आयोजना गरेको थियो, त्यो पनि स्थगित भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

‘आन्दोलनले एन्फाले आयोजना गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू स्थगित भए । अब चाँडै माहोल शान्त भएमा पुनः प्रतियोगिता सञ्चालन गर्ने योजनामा छौं,’ शाहले रातोपाटीसँग भने । 

आन्दोलनले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी टुर हाललाई स्थगित गरेको छ । 

आन्दोलनअघि विराटनगर किङ्सको ट्रफी टुर सकिएको थियो । त्यसपछि अन्य टिमहरूको पालो थियो । तर आन्दोलनका कारण हाललाई नयाँ तालिका नराखेको क्यान प्रवक्ता छुम्बी लामाले बताए ।  

‘आन्दोलनका कारण ट्रफी टुरको तालिका परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । त्यसबाहेक क्यानलाई त्यति असर परेको छैन । अब ट्रफी टुरको नयाँ तालिका निकाल्नुपर्ने अवस्था छ,’ लामाले भने । 

आन्दोलनको असर नेपाली भलिबलमा पनि देखिएको छ । एसियाकै पहिलो फ्रेन्चाइजी महिला भलिबल लिगको दोस्रो संस्करणको तीन दिनको खेल भएर स्थगित हुन पुग्यो । 

भदौ २० देखि २८ गतेसम्म हुने भनिएको प्रतियोगिता २३ गतेसम्म मात्र चलेर स्थगित भएको हो । अब प्रतियोगिता यो सिजन हुने सम्भावना छैन । विदेशी खेलाडीहरू पनि आफ्नो स्थानतर्फ गएका कारण पनि आयोजकलाई असहज हुने देखिएको छ । प्रतियोगिताको दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो । 

‘प्रतियोगिता अहिले हुने या नहुने विषयमा कुनै निर्णय भएको छैन । तर खेलाडीहरू काठमाडौँमा ल्याउन सफल भएका छौं । अब विदेशी खेलाडीलाई घर पठाउने प्रक्रियामा छौं,’ आयोजक इन्फिनिटी इभेन्ट म्यानेजमेन्टका अमिर अक्तरले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप